तपाईंको भविष्य आफ्नै हातमा छ
“पुरातन संसारमा” तन्त्रमन्त्र विद्या “ठूलो बौद्धिक उपलब्धि ठानिए तापनि यो कलाको हिब्रू अगमवक्ताहरूले आलोचना गर्थे” भनी पुरातत्त्वविद् जोन ओट्स टिप्पणी गर्छन्। किन?
भाग्यवादमा विश्वास गर्ने छिमेकी राष्ट्रहरू भए तापनि पुरातन इस्राएलले अदृश्य शक्तिले हाम्रो जीवनलाई नियन्त्रणमा राख्छ भन्ने धारणालाई निराधार ठान्थ्यो। इस्राएल राष्ट्रलाई दिइएको निर्देशनमा परमेश्वरले यसो भन्नुभएको थियो: “जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने, अथवा बिजुवा, झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।”—व्यवस्था १८:१०, ११.
भाग्यमाथि विश्वास नगरी वा जोखना हेर्नेहरूमा भरोसा नराखे तापनि इस्राएलीहरू आफ्नो भविष्यबारे निर्धक्क हुनसक्थे। यसको कारण दिंदै फ्रान्सेली क्याथोलिक इनसाइक्लोपीडिया ताओ अनुसार इस्राएल राष्ट्रले “मानिस र संसार कुनै निराधार शक्तिको नियन्त्रणमा छ भनी विश्वास गर्दैनथ्यो। मानिसजातिको निम्ति परमेश्वरको उद्देश्य थियो।” त्यो उद्देश्य के थियो?
भाग्य अनि स्वतन्त्र इच्छा
परमेश्वरले इस्राएलीहरूलाई उहाँको व्यवस्थाप्रति आज्ञाकारी भएमा शान्ति र समृद्धिको प्रतिज्ञा गर्नुभयो। (लेवी २६:३-६) यसबाहेक तिनीहरू पृथ्वीमा धार्मिक अवस्था स्थापना गर्नुहुने ख्रीष्टको प्रतीक्षामा थिए। (यशैया अध्याय ११) तथापि, परमेश्वरले यी कुराहरू प्रतिज्ञा गर्नुभएको अर्थ मानिसहरू त्यसै केही नगरी ढुक्कसित बसे हुन्छ भन्ने होइन। त्यसको विपरीत तिनीहरूलाई यसो भनिएको थियो: “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्।”—उपदेशक ९:१०.
यस कुराको मुख्य आधार थियो आफ्नो छनौट आफै गर्ने स्वेच्छा। इस्राएलीहरू स्वेच्छाले परमेश्वरको सेवा गर्न पाउँथे र आफ्नो भविष्य निर्धारण गर्नसक्थे। परमेश्वरले तिनीहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “आज मैले तिमीहरूलाई दिएका मेरा आज्ञाहरू ध्यानसँग सुन्यौ र परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गऱ्यौ भने, औ आफ्नो पूरा मन र प्राणले उहाँको सेवा गऱ्यौ भने, उहाँले ऋतुअनुसार अघिल्लो र पछिल्लो वर्षा तिमीहरूका अन्न, दाखमद्य र तेल बटुल्नलाई दिनुहुनेछ।” (व्यवस्था ११:१३, १४) परमेश्वरप्रति आज्ञाकारी हुँदा इस्राएलीहरूले आशिष् पाए।
प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुभन्दा केही समयअघि परमेश्वरले इस्राएल राष्ट्रसामु एउटा छनौट गर्ने मौका राख्नुभयो: “हेर, आज मैले तिमीहरूको अगि जीवन र हित, औ मृत्यु र अहित राखेको छु।” (व्यवस्था ३०:१५) प्रत्येक व्यक्तिको भविष्य उसको आफ्नै कार्य र निर्णयमा निर्भर थियो। परमेश्वरलाई सेवा गर्नुको अर्थ जीवन र आशिष् थियो भने इन्कार गर्नुको अर्थ कठिनाइ थियो। तर आज नि?
कारण र परिणाम
हाम्रै भलाइको निम्ति राखिएका कतिपय प्राकृतिक नियमहरूको अधीनमा हामी छौं। तीमध्ये एउटा कारण र परिणामको सिद्धान्त हो अर्थात् बाइबलले भनेझैं “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) हामी यस सिद्धान्तलाई बुझेपछि भविष्यमा हुनसक्ने घटनाहरूबारे विचार गर्नसक्नेछौं।
सावधानीपूर्वक गाडी हाँक्दाभन्दा तेज गतिमा जथाभावी गाडी हाँक्यौं भने दुर्घटना हुने सम्भावना धेरै हुन्छ। धूम्रपान नगर्दाभन्दा गर्दा क्यान्सर हुने सम्भावना धेरै हुन्छ। हो, सुरुको लेखमा उल्लेख गरिएको जस्तो आतंककारी आक्रमण हामीलाई हुनसक्ने सम्भावना कम छ र त्यस्ता सम्भाव्यताको हिसाब राख्नु साध्य पनि हुँदैन। तथापि, भाग्यमाथि विश्वास गर्दा पनि हामीलाई केही लाभ हुँदैन। यसले हामीलाई न वर्तमान न भविष्यबारे नै केही बताउँछ। झूटा कुराहरूमा विश्वास गर्दा हामीले भविष्यबारे कुनै आश्वासन पाउँदैनौं। न ता हरेक कुरामा परमेश्वरले हस्तक्षेप गर्दा कुनै आश्वासन पाइन्छ।
तपाईंको भविष्य कस्तो हुनेछ?
हाम्रो भविष्य पहिल्यै लेखिएको नभई वर्तमानमा निर्भर हुन्छ। जीवन परमेश्वरले दिनुभएको वरदान भए तापनि हाम्रो वर्तमान र भविष्य निर्धारण गर्नुमा हामी आफैले मुख्य भूमिका खेल्छौं भनी बाइबलले स्पष्ट बताएको छ। परमेश्वरलाई आनन्दित बनाउने हो या त्यसको विपरीत उहाँलाई दुःखी बनाउने हो, हाम्रै हातमा भएको तथ्यले परमेश्वरले हामीलाई आफ्नो जीवनमाथि केही हदसम्म नियन्त्रण गर्ने स्वतन्त्रता दिनुभएको छ भन्ने कुरा स्पष्ट हुन्छ।—उत्पत्ति ६:६; भजन ७८:४०; हितोपदेश २७:११.
यसबाहेक, पवित्र धर्मशास्त्रले बारम्बार हाम्रो भविष्य आ-आफ्नो धीरज र जीवनशैलीसित सम्बन्धित छ भनी जोड दिंदै आएको छ। हाम्रो भविष्य पूर्वनिर्धारित हुँदो हो त यसको कुनै महत्त्व हुँदैनथ्यो। (मत्ती २४:१३; लूका १०:२५-२८) परमेश्वरप्रति आज्ञाकारी र विश्वासी हुने छनौट गऱ्यौं भने कस्तो भविष्यको आशा गर्नसक्छौं त?
मानिसजातिको निम्ति अत्यन्तै उज्ज्वल भविष्य छ भनी बाइबलले प्रकाश पार्छ। पृथ्वी प्रमोदवनमा परिणत हुनेछ र त्यहाँ शान्ति अनि सुरक्षा हुनेछ। (भजन ३७:९-११; ४६:८, ९) भविष्यबारे प्रतिज्ञा गरिएका यी कुराहरू पक्कै हुनेछन् किनभने सृष्टिकर्ताले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ। (यशैया ५५:११) तर प्रमोदवनमा जीवन पाउनु या नपाउनु भाग्यमा निर्भर हुँदैन। परमेश्वरको इच्छा पालन गर्न हामी अहिले आज्ञाकारी छौं या छैनौं त्यसमा निर्भर छ। (२ थिस्सलोनिकी १:६-८; प्रकाश ७:१४, १५) परमेश्वरले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ र हामीलाई यस्तो प्रोत्साहन दिनुहुन्छ: “जीवननै रोज र तिमीहरू . . . जिउनेछौ।” (व्यवस्था ३०:१९) तपाईं के रोज्नुहुन्छ? तपाईंको भविष्य भाग्यमा होइन तपाईंकै हातमा छ।
[पृष्ठ १०-मा भएको चित्र]
आज्ञाकारी मानिसजातिको निम्ति परमेश्वरले अद्भुत भविष्यको उद्देश्य राख्नुभएको छ