बाइबलको दृष्टिकोण
विवाहमा धार्मिक एकता—किन महत्त्वपूर्ण
एउटा परिवार साँझको खाना खान बस्छन्। बाबुले सबैको लागि एउटा भगवानलाई प्रार्थना गर्छन् भने आमाले मनमनै अर्कै देवतालाई प्रार्थना गर्छिन्। त्यस्तै अर्को परिवारलाई विचार गर्नुहोस्, पत्नी चर्च जान्छिन् तर तिनको पति भने सभाघर जान्छन्। कुनै कुनै परिवारहरू यस्तो पनि हुन्छ जहाँ छोराछोरीलाई आमाले शान्त क्लजबारे सिकाउँछिन् भने बाबुले हनुक्काबारे सिकाउँछन्।
हालैका अध्ययनहरू अनुसार थुप्रै मानिसहरूले बेग्लै धर्म मान्नेसित विवाह गरेकाले यस्ता कुराहरू सामान्य भएका छन्। एउटा सर्वेक्षण अनुसार संयुक्त राज्यमा २१ प्रतिशत क्याथोलिकहरूले आफ्नोभन्दा बेग्लै विश्वासका मानिससित विवाह गर्छन्। यस्तो अवस्था मर्मन धर्ममा ३० प्रतिशत, मुस्लिममा ४० प्रतिशत र यहूदीहरूमा ५० प्रतिशतभन्दा बढी छ। शताब्दीयौंसम्म भएको धार्मिक वैरभावलाई विचार गर्दा कसै कसैले अन्तर-विश्वास विवाहलाई धार्मिक सहिष्णुताको विजय ठान्छन्। एउटा अखबारको स्तम्भकारले यस्तो लेखे: “दुइटा बेग्लाबेग्लै धर्म, पृष्ठभूमि इत्यादि भएका मानिसहरू बीचको विवाहलाई हामीले सराहाना गर्नुपर्छ।” के बाइबलको दृष्टिकोण यही हो?
बाइबलले राष्ट्रिय वा जातीय पूर्वाग्रहको समर्थन गर्दैन भनेर बिर्सनु हुँदैन। परमेश्वरको वचनले कुनै पनि जातिको पक्षपात गर्दैन। प्रेरित पावलले यसबारे यसरी स्पष्टसित भनेका छन्: “साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) साथै बाइबलले यहोवाका उपासकहरूले “प्रभुमा मात्र” विवाह गर्नुपर्छ भनेर सिकाउँछ। (१ कोरिन्थी ७:३९) किन?
विवाहको उद्देश्य
परमेश्वरले वैवाहिक जीवनमा घनिष्ठ सम्बन्ध होस् भन्ने चाहनुभएको थियो। (उत्पत्ति २:२४) परमेश्वरले संगतिको लागि मात्र वैवाहिक प्रबन्ध मिलाउनुभएको थिएन। यहोवाले पहिलो दम्पतीलाई छोराछोरी जन्माउने र पार्थिव घरको रेखदेख गर्ने काम पनि अह्राउनुभएको थियो। सो काम अह्राउनुहुँदा दुवै जना मिलेर उहाँको इच्छा पूरा गर्नुपर्छ भनेर उहाँले देखाउनुभयो। (उत्पत्ति १:२८) यसरी मिलेर परमेश्वरको सेवा गर्दा पुरुष र स्त्रीले संगतिको आनन्द मात्र उठाउने थिएन। तर तिनीहरूले घनिष्ठ र अनन्त सम्बन्धको पनि आनन्द उठाउने थिए।—मलाकी २:१४ तुलना गर्नुहोस्।
येशूले यी लोकप्रिय शब्दहरू भन्नुहुँदा उक्त सम्बन्धलाई संकेत गर्नुभयो: “ती दुइ अब दुइ होइन, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।” (मत्ती १९:६) येशूले उपमा चलाएर वैवाहिक सम्बन्धलाई एउटा जुवासित तुलना गर्नुभयो जसमा एउटै भारी तान्न दुइटा जनावरलाई बाँधिएको हुन्छ। यसो गर्दा उहाँले लाक्षणिक भाषा चलाउनुभयो। एउटै जुवामा बाँधिएका दुई जनावरले विपरीत दिशामा तान्दा तिनीहरूमा कत्तिको तनाउ पर्छ होला, कल्पना गर्नहोस् त! त्यस्तै गरी, साँचो विश्वासमा नभएका व्यक्तिसित विवाह गर्नेहरूले बाइबल सिद्धान्तअनुरूप चल्न गाह्रो महसुस गर्नसक्छन्। किनभने तिनको पति वा पत्नीले विरोध गरिरहेको हुन्छ। त्यसकारण बाइबलले यसो भन्नु उपयुक्त छ: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।”—२ कोरिन्थी ६:१४.
उत्तम विवाह
साँचो उपासनामा एकताबद्ध हुदाँ वैवाहिक बन्धन निकै बलियो हुन्छ। एक जना लेखकले टिप्पणी गरेअनुसार “स्वस्थ र सुखी परिवारको एउटा मुख्य पक्ष सँगै उपासना गर्नु हो।” उपदेशक ४:९, १० ले यसो भन्छ: “एकभन्दा दुइ असल हो। तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्, किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्न सहायता गर्छ।”
मसीही दम्पतीले उपासनालाई आफ्नो जीवनको मुख्य भाग बनाउँदा तिनीहरू शारीरिक तवरमा मात्र नभई आध्यात्मिकतामा पनि एक हुन्छन्। तिनीहरूले सँगै प्रार्थना गर्दा, परमेश्वरको वचन सँगै पढ्दा, सँगी मसीहीहरूसित संगत गर्दा र आफ्नो विश्वासबारे अरूलाई बताउँदा तिनीहरू आफ्नो वैवाहिक जीवनलाई अझ घनिष्ठ बनाउने आध्यात्मिक बन्धन कायम गर्छन्। एक जना मसीही आइमाईले यस्तो टिप्पणी गरिन्: “साँचो उपासना भनेको हाम्रो जीवनशैली हो। म मेरो मूल्य तथा मान्यताको कदर नगर्ने मानिससित विवाह गर्नुबारे सोच्न पनि सक्दिनँ।”—मर्कूस ३:३५ तुलना गर्नुहोस्।
“प्रभुमा” विवाह गर्नेहरूले आफ्नो पति वा पत्नीले येशूको आचरणको अनुकरण गर्ने आशा गर्नसक्छन्। येशूले मायालु ढंगमा मण्डलीको रेखदेख गर्नुभएजस्तै मसीही पतिहरूले पनि आ-आफ्ना पत्नीसित मायालु व्यवहार गर्नुपर्छ। मसीही पत्नीहरूले पनि आ-आफ्ना पतिको आदर गर्नुपर्छ। (१ कोरिन्थी ११:३; एफिसी ५:२५, २९, ३३) मसीहीहरूले आफ्नो पति वा पत्नीलाई खुसी बनाउने चाहनाले मात्र यसो गर्दैनन्। तर दम्पतीले एकअर्कासित गर्ने व्यवहारको लागि जिम्मेवार ठहराउनुहुने परमेश्वरलाई प्रसन्न पार्न तिनीहरू यसो गर्छन्।—मलाकी २:१३, १४; १ पत्रुस ३:१-७.
दुवैको समान विश्वास हुँदा मसीही दम्पतीले भिन्नताहरूलाई शान्तपूर्वक समाधान गर्नसक्छन्। बाइबलले मसीहीहरूलाई “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ” भन्ने सुझाउ दिन्छ। (फिलिप्पी २:४) व्यक्तिगत चाहनाहरू जस्तोसुकै भए तापनि एउटै विश्वास भएका पति पत्नीहरूले कुनै पनि मतभेद सच्याउन परमेश्वरको वचनको मदत लिन्छन्। (२ तिमोथी ३:१६, १७) यसरी तिनीहरूले मसीहीहरू “एउटै मनका” हुनुपर्छ भन्ने बाइबलको सल्लाह पालन गर्छन्।—१ कोरिन्थी १:१०; २ कोरिन्थी १३:११; फिलिप्पी ४:२.
आकर्षण र समान मूल्य तथा मान्यता
हुन त हो, एउटै विश्वास भएर मात्र पुग्दैन। पारस्परिक आकर्षण पनि एउटा मुख्य पक्ष हो। (श्रेष्ठगीत ३:५; ४:७, ९; ५:१०) तर स्थायी वैवाहिक जीवन हुनको लागि एउटै मूल्य तथा मान्यताले ठूलो महत्त्व राख्छ। के तिमी नै मेरो लागि हौ? पुस्तकअनुसार “एउटै मूल्य तथा मान्यता भएको दम्पतीको सुखी, सुव्यवस्थित र अनन्त सम्बन्ध कायम हुने बढी सम्भावना हुन्छ।”
दुःखको कुरा, एक अर्काप्रति आकर्षित भएका व्यक्तिले विवाहपछि मात्र तिनीहरूबीच भएको भिन्नता याद गर्छन्। तुलनात्मक हिसाबमा भन्ने हो भने, एकदमै राम्रो देखिएकोले तपाईंले एउटा घर किन्नुभयो। तथापि, त्यहाँ बस्न थालेपछि मात्र तपाईंले त्यस घरको जग कमजोर रहेछ भनेर थाह पाउनुहुन्छ। जग नै कच्चा भएपछि घरका अन्य सबै पक्षहरू बेकार हुन्छ। त्यस्तै गरी, हेर्दा मिलनसार देखिने बेग्लै विश्वासका व्यक्तिसित कोही आकर्षित हुनसक्छ। तर विवाहपछि तिनीहरूको सम्बन्धमा गम्भीर त्रुटिहरू रहेछन् भनेर प्रस्ट हुनसक्छ।
दुइटा बेग्ला बेग्लै धर्म मान्ने व्यक्तिहरूको विवाहमा उत्पन्न हुन सक्ने यस्ता केही गम्भीर समस्याहरूलाई विचार गर्नुहोस्: परिवार मिलेर कहाँ उपासना गर्ने? छोराछोरीलाई कुन धर्म सिकाउने? परिवारले आर्थिक रूपमा कुन विश्वासको समर्थन गर्ने? के पत्नीलाई गैरमसीही जस्तो लाग्ने कुनै धार्मिक रीति र बिदालाई पतिले जबरजस्ती मान्न लगाउने? (यशैया ५२:११) हरेक वैवाहिक जीवनमा पति पत्नीले उचित छाँटकाँटहरू गर्नु पर्ने हुन्छ। तथापि, चाहे वैवाहिक जीवन सफल बनाउन नै किन नहोस् बाइबल सिद्धान्तहरूको सम्झौता गर्नु परमेश्वरको इच्छाविरुद्ध हो।—व्यवस्था ७:३, ४; नहेम्याह १३:२६, २७ तुलना गर्नुहोस्।
धार्मिक तवरमा विभाजित वैवाहिक जीवनमा शान्ति कायम राख्न केही दम्पतीहरूले आ-आफ्ना इच्छाअनुसारको बेग्लाबेग्लै धर्म मान्ने गर्छन्। तर दुःखको कुरो, आ-आफ्नो इच्छाअनुसार धर्म मान्दा वैवाहिक जीवनमा आध्यात्मिक शून्यता आउँछ। बेग्लै धर्म मान्ने पुरुषसित विवाह गरेकी एक जना मसीही स्त्रीले यसो भनिन्: “हामीले विवाह गरेको ४० वर्ष बितिसक्दा पनि मेरो पतिले मलाई राम्ररी चिन्नै सक्नुभएन।” त्यसको विपरीत, पति पत्नी, दुवैले “आत्मा र सत्यतामा” पुज्छन् भने तिनीहरूको वैवाहिक जीवनमा परमेश्वरको मुख्य स्थान हुन्छ। बाइबलले कवितामय भाषामा भनेअनुसार, “तीन सुताले बाटिएको डोरी सजिलै चुँड़िदैन।”—यूहन्ना ४:२३, २४; उपदेशक ४:१२.
छोराछोरी नि?
अन्तर-विश्वास विवाह गर्नेबारे विचार गरिरहेकाहरूले छोराछोरीलाई दुवै जनाको धर्म सिकाउने र पछि तिनीहरू आफैले छनौट गरोस् भन्ने सोचाइ राखेको हुनसक्छ। हो, आमाबाबु दुवैसित धार्मिक तालिम दिन कानुनी र नैतिक हक छ र अन्तमा छोराछोरी आफैले निर्णय गर्छन्।a
बाइबलले छोराछोरीलाई “प्रभुमा” आफ्ना आमा-बाबुको आज्ञा पालन गर भन्ने शिक्षा दिन्छ। (एफिसी ६:१) हितोपदेश ६:२० ले यसबारे यसो भन्छ: “हे मेरो छोरो, आफ्ना पिताको आज्ञा पालन गर्, औ आफ्नी आमाको अर्तीलाई इन्कार नगर्।” विभिन्न सिद्धान्तहरू सिकाउनुको सट्टा एउटै विश्वासमा भएका आमाबाबुले सिकाएको छोराछोरी बाइबलले भनेजस्तै “एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा[मा]” एकताबद्ध हुन्छन्।—एफिसी ४:५; व्यवस्था ११:१९.
साँच्चै “प्रभुमा”
एउटै मूल्य तथा मान्यता हुनु सफल वैवाहिक जीवनको कुञ्जी हो। त्यसो भए, कसैले मसीही हुँ भनी दाबी गर्दैमा त्यो व्यक्तिसित विवाह गर्नु बुद्धिमानी होला र? बाइबलले यस्तो जवाफ दिन्छ: “[येशू]मा रहन्छु भन्नेले आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।” (१ यूहन्ना २:६) तसर्थ, विवाह गर्नेबारे विचार गरिरहेका मसीहीले येशूको अनुकरण गर्न साँच्चै कोसिस गर्ने सँगी मसीहीलाई खोज्नुपर्छ। यस्तो भावी पति वा पत्नीले परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिइसकेको हुन्छ। तिनले येशूको मायालु व्यक्तित्व र परमेश्वरको राज्य प्रचार गर्ने उहाँको जोसको अनुकरण गर्छन्। येशूले जस्तै तिनले पनि परमेश्वरको इच्छा पूरा गर्नु नै आफ्नो जीवनको मुख्य भाग बनाएको हुनुपर्छ।— मत्ती ६:३३; १६:२४; लूका ८:१; यूहन्ना १८:३७.
परमेश्वरको उपासकहरूको परिवारभित्रै सुयोग्य पति वा पत्नी खोज्दा विवाह गर्ने बारे विचार गरिरहेकाहरूले आ-आफ्ना जीवनमा परमेश्वरको इच्छालाई प्रथम स्थान दिएको नमुना बसाल्छन्। अन्ततः यस्तो नमुनाले सुखी र सन्तोषजनक विवाहमा योगदान पुऱ्याउनेछ।—उपदेशक ७:८; यशैया ४८:१७, १८.
[फुटनोट]
a ब्यूँझनुहोस्! अप्रिल ८, १९९७, पृष्ठ १४-१५ मा “बाइबलको दृष्टिकोण: के बच्चाहरू आफैले कुन धर्म मान्ने, त्यसको छनौट गर्नुपर्छ?” भन्ने लेख हेर्नुहोस्। साथै, वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित यहोवाका साक्षीहरू तथा शिक्षा पुस्तकको पृष्ठ २४-५ पनि हेर्नुहोस्।
[पृष्ठ १९-मा भएको पेटी]
धार्मिक तवरमा विभाजित परिवारहरूको लागि मदत
आज विभिन्न कारणहरूले थुप्रै विवाहित दम्पतीहरू धार्मिक तवरमा विभाजित भएका छन्। कसैले बेग्लै धर्म मान्ने व्यक्तिसित विवाह गरेको हुनसक्छ। तर एउटै विश्वासमा विवाह गरेका थुप्रै दम्पतीहरूले पछि गएर तिनीहरूमध्ये एक जनाले अर्कै धर्म अपनाउँदा पनि धार्मिक तवरमा विभाजन हुन्छ। परिवारमा धार्मिक विभाजन ल्याउने अरू परिस्थितिहरू पनि हुनसक्छन्। कारण जेसुकै होस्, पति वा पत्नीले धर्म मन पराएन भन्दैमा विवाहको करार तोड्नु वा त्यसलाई बेवास्ता गर्नु हुँदैन। बाइबलले विश्वासमा पति पत्नी एकताबद्ध नभए तापनि विवाहको पवित्रता र स्थायित्वको आदर गर्छ। (१ पत्रुस ३:१, २) प्रेरित पावलले यस्तो लेखे: “यदि कुनै भाइकी ख्रीष्टमा विश्वास नगर्ने पत्नी छ, र तिनी ऊसँग बस्न चाहन्छिन् भने, उसले त्यसलाई नत्यागोस्।” (१ कोरिन्थी ७:१२) बाइबलमा पाइने सिद्धान्तहरू पालन गर्नाले सबै विवाहित दम्पतीले मायालु र आदरणीय सम्बन्धको आनन्द उठाउन सक्नेछन्।—एफिसी ५:२८-३३; कलस्सी ३:१२-१४; तितस २:४, ५; १ पत्रुस ३:७-९.