मृत्युको मुखमा पनि परमेश्वरको सेवा गर्दै
झ्वाउ मनकोकाको वृत्तान्तमा आधारित
जून २५, १९६१ को कुरा हो, लुआन्डा, अंगोलामा हाम्रो सभा भइरहेको ठाउँमा सिपाहीहरू घुसे। हामी तीस जनालाई झ्यालखानामा लगेर यति निर्ममतापूर्वक पिटे कि कोही मऱ्यो कि भनेर हरेक आधा घण्टामा सिपाहीहरू हेर्न आउँथे। हामी मध्ये कोही पनि नमरेको हुँदा केही सिपाहीहरूले हाम्रो परमेश्वर साँचो रहेछ भनेर टिप्पणी गरेको सुनियो।
त्यसरी पिटाइ खाएपछि मलाई साऊ पाउलुको झ्यालखानामा पाँच महिनासम्म राखियो। त्यहाँदेखि अर्को नौ वर्षसम्म मलाई एक झ्यालखानादेखि अर्को झ्यालखानामा साऱ्यो र थुप्रै पटक कुट्यो, धेरै कुरादेखि वंचित राख्यो र केरकार गऱ्यो। सन् १९७० मा बन्दीगृहबाट मुक्त हुनेबित्तिकै मलाई फेरि गिरफ्तार गरियो। यसपालि मलाई हाल बेनटिआबा नाउँले चिनिने साऊ नीकूलाऊको कुख्यात मृत्यु शिविरमा पठाइयो। त्यहाँ मलाई अढाई वर्षसम्म राखियो।
म जस्तो नियम पालन गर्ने नागरिकलाई आफ्नो बाइबल आधारित विश्वासबारे अरूलाई बताउँदा किन पक्राउमा परेको होला र सुरुमा मैले परमेश्वरको राज्यको सुसमाचार कहाँ सुने होला भनेर तपाईं छक्क पर्नुहोला।
राम्रो शिक्षा पाएँ
माकेला डु जोम्बोको नजिकै पर्ने उत्तरी अंगोलामा अक्टोबर १९२५ मा मेरो जन्म भएको थियो। मेरो बुबा १९३२ मा बित्नुभएपछि मुमाले मलाई बेल्जियन कंगोमा (हाल प्रजातान्त्रिक गणतन्त्र कंगो) बस्नुहुने मेरो मामाकहाँ पठाउनुभयो। उहाँले मलाई त्यहाँ पठाउन त चाहनुभएको थिएन, तर के गर्ने मेरो लालनपालन गर्नसक्ने आर्थिक अवस्था थिएन।
मेरो मामा ब्याप्टिस्ट चर्च जानुहुन्थ्यो र उहाँले मलाई बाइबल पढ्ने प्रोत्साहन दिनुभयो। म उहाँको चर्चको सदस्य भए तापनि मैले त्यहाँ सिकेका कुराहरूले न मेरो आध्यात्मिक भोक मेटाउन सक्यो न मैले परमेश्वरको सेवा गर्ने प्रेरणा नै पाएँ। तथापि, मेरो मामाले मलाई स्कूलमा पढ्न पठाउनुका साथै राम्रो शिक्षा हासिल गर्ने मदत पनि गर्नुभयो। मैले फ्रान्सेली भाषा पनि सिकें। समयको दौडान पुर्तगाली भाषा पनि बोल्न सिकें। स्कूलको पढाइ सिद्धिएपछि मैले लापोल्डभिलको (हाल किन्शासा) केन्द्रीय रेडियो स्टेशनमा रेडियो टेलिग्राफिस्टको काम पाएँ। त्यसपछि, २० वर्षको उमेरमा मारीया पोभासित मैले विवाह गरें।
एउटा नयाँ धार्मिक अभियान
त्यही वर्ष अर्थात् १९४६ मा ब्याप्टिस्ट चर्चका एक जना अंगोलाका शिक्षित व्यक्ति तथा गायन टोलीका सञ्चालकसित मेरो भेट भयो। तिनको इच्छा उत्तरी अंगोलामा बस्ने कीकोंगो भाषा बोल्ने मानिसहरूलाई शिक्षित बनाउनु र तिनीहरूको उत्थान गराउनु थियो। तिनीसित वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित तथा यहोवाका साक्षीहरूद्वारा वितरीत राज्य, संसारको आशा नामक अंग्रेजी सानो पुस्तिका पुर्तगाली भाषामा थियो।
उक्त गायन टोलीका सञ्चालकले त्यस सानो पुस्तिकालाई कीकोंगो भाषामा अनुवाद गरेर त्यसैबाट बेल्जियन कंगोमा काम गर्ने हामी अंगोलियालीहरूसित अध्ययन गर्न थाले। समयको दौडान तिनले संयुक्त राज्यमा वाचटावर सोसाइटीका मुख्य कार्यालयमा चिठी लेखेर थुप्रै साहित्यहरू मगाए। तथापि, तिनले हामीलाई दिएका जानकारी चर्चहरूका शिक्षासित छ्यासमिस थिए। तसर्थ, साँचो मसीहीधर्म र मसीहीजगतका गैरशास्त्रीय शिक्षाबीच मैले राम्ररी भिन्नता छुट्ट्याउन सकिनँ।
तथापि, वाचटावर सोसाइटीका साहित्यमा दिइएका बाइबल सन्देश र ब्याप्टिस्ट चर्चमा मैले सुनेका कुराहरू फरक थियो भनेर मैले थाह पाएँ। उदाहरणका लागि, बाइबलले परमेश्वरको व्यक्तिगत नाउँ अर्थात् यहोवालाई महत्त्वपूर्ण ठान्छ र साँचो मसीहीहरूले आफूलाई यहोवाका साक्षीहरू भन्नु एकदमै उपयुक्त छ भनेर मैले सिकें। (भजनसंग्रह ८३:१८; यशैया ४३:१०-१२) साथै, विश्वासी भएर यहोवाको सेवा गर्नेहरूलाई पार्थिव प्रमोदवनमा अनन्त जीवन दिने बाइबलको प्रतिज्ञाबारे थाह पाउँदा मेरो हृदय खुसीले गदगद् भयो।—भजनसंग्रह ३७:२९; प्रकाश २१:३-५.
हुन त मलाई बाइबलबारे त्यत्ति थाह थिएन। तैपनि आफ्नो परमेश्वर, यहोवाबारे कुरा गर्ने तीव्र इच्छालाई थाम्न नसक्ने अगमवक्ता यर्मियाजस्तै मैले महसुस गरें। (यर्मिया २०:९) हाम्रो बाइबल अध्ययन समूहका सदस्यहरू घर-घर प्रचारको काममा मसितै सामेल भए। मानिसहरूलाई टाइप गरेको निमन्त्रणा पत्रद्वारा निमन्त्रणा दिंदै मैले मेरो मामाको आँगनमा जन सभा पनि सञ्चालन गरें। कहिलेकाहीं त त्यहाँ उपस्थित हुने मानिसहरूको संख्या ७८ सम्म पुग्थ्यो। तसर्थ, अंगोलाका त्यस गायन टोलीका सञ्चालकको नेतृत्वमा एउटा नयाँ धार्मिक आन्दोलन सुरु गरियो।
मैले सुरु सुरुतिर भोगेका जेलसजायहरू
बेल्जियन कंगोमा वाचटावर सोसाइटीसित सम्बन्ध भएको सबै आन्दोलन प्रतिबन्धित छ भनेर मलाई थाहै थिएन। यसकारण, अक्टोबर २२, १९४९ मा हामीमध्ये केहीलाई गिरफ्तार गरियो। म एउटा सरकारी कर्मचारी हुँ भनेर न्यायाधीशलाई थाह थियो। अत: तिनले मलाई एकान्तमा भेटेर मलाई छुटाउने कोसिस गरे। तर त्यसरी छुट्न हाम्रो प्रचार कार्यको फलस्वरूप सुरु भएको क्रियाकलापलाई मैले छोड्नु पर्नेथ्यो र त्यसो गर्न मैले इन्कार गरें।
कैदमा बसेको अढाई महिनापछि अख्तियारवालाहरूले हामी अंगोलियालीहरूलाई हाम्रै देशमा फर्काउने निर्णय गरे। तथापि, हामी अंगोला फर्केपछि पुर्तगाली उपनिवेशका अख्तियारवालाहरूले हाम्रो क्रियाकलापमा शंका गरेर हाम्रो स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइदियो। हाम्रो आन्दोलनका थुप्रै सदस्यहरू बेल्जियन कंगोबाट आए र अन्ततः अंगोलाभरि हामी १,००० जना भयौं।
समयको दौडान, प्रमुख धार्मिक नेता सीमोन किम्बान्गुका अनुयायीहरू पनि हाम्रो आन्दोलनमा समावेश भए। ती मानिसहरूले तन्त्र-मन्त्र गर्नेहरूले मात्र बाइबलका कुराहरू बुझाउनसक्छ भनेर विश्वास गर्थे। अतः तिनीहरूले वाचटावर सोसाइटीका साहित्यहरू पढ्न रुचाएनन्। त्यस गायन टोली सञ्चालक जो अझै पनि हाम्रो नेता थियो, ऊलगायत हाम्रो आन्दोलनका प्रायःजसो सदस्यहरूले पनि त्यस्तै विचार राखे। यहोवाले हामीलाई वाचटावर सोसाइटीका खास प्रतिनिधिसित भेट गराऊन् भनेर मैले जोडदार प्रार्थना गरें। त्यो भेटले हाम्रो आन्दोलनका सम्पूर्ण सदस्यलाई गैरशास्त्रीय क्रियाकलाप त्यागेर बाइबलको सत्य स्वीकार्न विश्वास दिलाउनेछ भन्ने मैले आशा गरेको थिएँ।
आन्दोलनका केही सदस्यहरूले हामीले गर्ने प्रचार काम मन पराएनन्। यसकारण, तिनीहरूले हामीलाई धोका दिएर अख्तियारवालाहरूलाई हाम्रोविरुद्ध उक्साए अनि हामीलाई राजनैतिक आन्दोलनका नेताहरू हुन् भनी दोष लगाए। फलस्वरूप, फेब्रुअरी १९५२ मा अगस्टिन्हो काडी र सेला रामोसलगायत हामीमध्ये कतिपयलाई गिरफ्तार गरियो। हामीलाई झ्याल नभएको कोठामा बन्द गरेर राखियो। तथापि, एक जना मित्रैलो गार्डले हाम्रो पत्नीहरूबाट खाना ल्याइदिनुका साथै वाचटावर सोसाइटीका सानो पुस्तिकाहरूको प्रतिलिपिहरू बनाउन टाइपराइटर पनि ल्याइदिए।
तीन हप्तापछि हामीलाई देश निकाला गरेर बाई डुस टीग्रेश नाउँ गरेको दक्षिण अंगोलाको मरुभूमिजस्तो ठाउँमा पठाइयो। हाम्रा पत्नीहरू पनि हामीसँगै त्यहाँ गए। हामीलाई चार वर्षसम्म माछा मार्ने कम्पनीमा कडा काम गर्न लगाइयो। बाई डुस टीग्रेशमा माछा मार्ने डुंगाको लागि कुनै बन्दरगाह नै थिएन। यसकारण हाम्रा पत्नीहरूले बिहानदेखि रातिसम्म डुंगाबाट माछाहरूको भारी बोकेर ओसारपसार गर्नुपर्थ्यो।
यो कैद शिविरमा हामीले हाम्रो आन्दोलनको अरू सदस्यहरू पनि भेट्यौं र तिनीहरूलाई बाइबल अध्ययन गरिरहन मनाउने कोसिस गऱ्यौं। तर तिनीहरूले गायन टोलीका सञ्चालक टोकोकै पछि लाग्न रुचाए। समयको दौडान, तिनीहरूलाई टोकोवादीहरू भनेर चिनिन थाल्यो।
चिरप्रतिक्षित भेट
बाई डुस टीग्रेशमा हुँदा हामीले वाचटावर सोसाइटीका उत्तरी रोडेशियाको (हाल जाम्बिया) शाखा कार्यालयको ठेगाना पत्ता लगायौं र सहायताको लागि चिठी लेख्यौं। त्यहाँबाट हाम्रो चिठीलाई दक्षिण अफ्रिकाको शाखामा पठाइयो र बाइबल सत्यमा हाम्रो चासो कसरी भयो भनेर बुझ्न हामीसित पत्राचार गरियो। न्यु योर्कस्थित वाचटावर सोसाइटीका मुख्य कार्यालयलाई पनि हाम्रोबारेमा बताइयो र हामीसित सम्पर्क गर्न विशेष प्रतिनिधिलाई पठाउने प्रबन्ध मिलाइयो। उक्त प्रतिनिधि थुप्रै वर्षदेखि विदेशी मुलुकहरूमा मिसनरी काम गर्दै आएका जोन कुक थिए।
अंगोलामा भाइ कुक आएपछि पुर्तगाली अख्तियारवालाहरूबाट हामीसित भेट गर्ने अनुमति पाउन तिनलाई हप्तौं लाग्यो। तिनी बाई डुस टीग्रेसमा मार्च २१, १९५५ मा आइपुगे र तिनलाई हामीसित पाँच दिनसम्म बस्ने अनुमति दिइयो। बाइबलबारे तिनले सिकाएका कुराहरू एकदमै सन्तोषजनक थियो र तिनी यहोवा परमेश्वरको एकमात्र साँचो संगठनको प्रतिनिधि हुन् भनेर पनि म विश्वस्त भएँ। आफ्नो भेटको अन्तिम दिनमा भाइ कुकले “राज्यको यो सुसमाचार” विषयमा जनभाषण दिए। त्यसमा बाई डुस टिग्रेसका मुख्य प्रशासकलगायत हामी जम्मा ८२ जना उपस्थित भएका थियौं। उपस्थित भएका सबैले भाषणको एक एक प्रति पाए।
अंगोलामा पाँच महिनासम्म बस्दा भाइ कुकले थुप्रै टोकोइस्ट्स र त्यसको नेतालाई पनि भेटे। तथापि, तिनीहरूमध्ये धेरैजसो यहोवाका साक्षी हुन रुचाएनन्। तसर्थ, मेरा साथीहरू र म अख्तियारवालाहरूलाई हाम्रो अडानबारे स्पष्ट जानकारी दिन बाध्य भयौं। यसको लागि हामीले जून ६, १९५६ को दिन “मुसामडिश प्रान्तका महामहिम राज्यपाललाई” औपचारिक चिठी लेख्यौं। हामीले त्यस चिठीमा टोकोका अनुयायीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र हामीलाई “यहोवाका साक्षीहरूका सोसाइटीका सदस्यहरूको” रूपमा मानिलिइयोस् भनेर लेख्यौं। उपासनासम्बन्धी स्वतन्त्रताको लागि पनि बिन्ती गऱ्यौं। तथापि, हाम्रो सजाय कम गर्नुको सट्टा अझ दुई वर्ष बढाइयो।
बप्तिस्मा लिनु अघिका घटनाहरू
अन्तमा अगस्त १९५८ मा हामीलाई छुटकारा दिइयो। त्यसपछि लुआन्डा फर्कंदा हामीले यहोवाका साक्षीहरूको सानो समूह भेट्टायौं। जोन कुकको ठाउँमा पठाइएको मिसनरी मर्भन पास्लोले उक्त समूहलाई एक वर्षअघि गठन गरेका थिए किनभने हामी त्यहाँ पुगुञ्जेल जोन कुकलाई देश निकाला गरिसकिएको थियो। त्यसपछि १९५९ मा यहोवाका साक्षीहरूको अर्को मिसनरी ह्यारी आर्नट आए। तथापि, तिनलाई भेट्न कुरिरहेका हामी तीन जनालगायत तिनलाई पनि विमानस्थलमा गिरफ्तार गरियो।
भर्खरै बप्तिस्मा लिएका पुर्तगालका साक्षीहरू, म्यान्वेल गनसाल्भिस र बेर्ता टेशेरालाई अब उपरान्त सभाहरू सञ्चालन नगर्ने चेताउनी दिएर छुटकारा दिइयो। भाइ आर्नटलाई देश निकाला गरियो। मलाई चाहिं अब साक्षी रहिनँ भन्ने कागजातमा हस्ताक्षर गर्न लगाइयो। त्यसो नगरेको खण्डमा मलाई बाई डुस टिग्रेस पठाइने चेताउनी दिइयो। मलाई सात घण्टासम्म केरकार गरेपछि कुनै कागजातमा हस्ताक्षर नगरी मुक्त गरियो। त्यसको एक हप्तापछि मेरा साथीहरू कार्लोस काडी र सेला फिलेमोनसँगै मैले बप्तिस्मा लिएँ। हामीले लुआन्डाको उपनगर मुसेके साम्बीजंगामा एउटा कोठा भाडामा लियौं र अंगोलाका यहोवाका साक्षीहरूको पहिलो मण्डली पनि यही भयो।
फेरि सतावट सुरु भयो
सभामा उपस्थित हुने इच्छुक व्यक्तिहरूको संख्या बढ्दै गयो। केही हामीकहाँ जासुसी गर्न आए। तर तिनीहरूलाई सभा मनपरेकोले पछि तिनीहरू पनि यहोवाका साक्षीहरू भए। राजनैतिक वातावरण परिवर्तन हुँदैथ्यो। अतः फेब्रुअरी ४, १९६१ मा राष्ट्रवादी उथलपुथलपछि परिस्थिति झन् गाह्रो भयो। हामीबारे झूटा कुराहरू फैलिए तापनि हामी मार्च ३० मा येशूको मृत्युको स्मरणार्थ मनाउन सक्षम भयौं। त्यतिखेर १३० जना मानिसहरू उपस्थित भएका थिए।
जून महिनाको कुरा हो, मैले प्रहरीधरहरा अध्ययन सञ्चालन गर्दै गर्दा सैन्य सिपाहीहरू हाम्रो सभामा घुसे। यस लेखको सुरुमा उल्लेख गरेअनुसार आइमाई र केटाकेटीहरूलाई छोडियो तर ३० जना पुरुषहरूलाई लगियो। हामीलाई काठको डन्डाले दुई घण्टासम्म पिटियो। त्यसको असरले तीन महिनासम्म मैले रगत छादें। म मर्छु होला भनेर सोचेको थिएँ। भनौ भने, मलाई पिट्नेले पनि त्यस्तै ग्यारेन्टी दिएका थिए। पिटाइ खाने धेरैजसो नयाँ र बप्तिस्मा अप्राप्त बाइबल विद्यार्थीहरू थिए। यसकारण, मैले तिनीहरूको लागि गम्भीर प्रार्थना गरे: “यहोवा, तपाईंको भेडाहरूको रक्षा गर्नुहोस्।”
म यहोवाप्रति कृतज्ञ छु, तिनीहरू कोही पनि मरेनन् र यो देखेर सैन्य कर्मचारीहरू छक्क परे। ती सिपाहीहरूमध्ये केही हाम्रो सुरक्षा गर्ने परमेश्वरको प्रशंसा गर्न उत्प्रेरित भए! अन्ततः धेरैजसो बाइबल विद्यार्थीहरू बप्तिस्मा प्राप्त साक्षीहरू भए र अहिले केही मसीही प्राचीनको रूपमा सेवारत छन्। तिनीहरूमध्ये सील्भेश्ट्रे सीमाऊ पनि हुन् र अंगोला शाखा समितिका सदस्य भएका छन्।
नौ वर्षसम्म भोगेको दुःखकष्ट
मैले सुरुमा उल्लेख गरेजस्तै अर्को नौ वर्षसम्म मैले अनेकन् दुःखकष्ट भोगें र एउटा झ्यालखानादेखि अर्को वा एउटा श्रम शिविरदेखि अर्कोमा सारियो। यी सबै ठाउँहरूमा मैले राजनैतिक कैदीहरूलाई साक्षी दिनसकें। तीमध्ये धेरैजना अहिले बप्तिस्मा प्राप्त साक्षीहरू भएका छन्। मेरी पत्नी मारियालाई पनि मसँगै जान दिइयो।
हामी सर्पा पीन्टु श्रम शिविरमा हुँदा चार जना राजनैतिक कैदीहरूलाई भाग्न खोज्दा पक्रिएको थियो। कसैले भाग्ने आँट पनि नगरोस् भनेर ती कैदीहरूलाई सबैको अघि निर्ममतापूर्वक मारियो। पछि त्यस शिविरको सेनापतिले मारिया र छोराछोरीको अघि मलाई यसो भन्दै धम्काए: “मैले तिमीलाई फेरि पनि प्रचार गर्दै गरेको भेट्टाएँ भने ती भाग्ने कैदीहरूलाई जस्तै मार्नेछु।”
अन्तमा नोभेम्बर १९६६ मा हामीलाई साऊ नीकूलाऊको भयानक मृत शिविरमा लगियो। हामी त्यहाँ पुग्दा त्यस शिविरको प्रशासक श्री. सीड हो भनी थाह पाउँदा मलाई धेरै डर लाग्यो। किनभने मलाई साऊ पाऊलुको झ्यालखानामा मरणासन्न पिट्ने ऊ नै थियो! हरेक महिना थुप्रैको हत्या गरिन्थ्यो र मेरो परिवारलाई जबरजस्ती हत्याको क्रुर दृश्य हेर्न लगाइन्थ्यो। परिणामस्वरूप, मारियाको मानसिक अवस्था बिग्रियो। उसको त्यो बिमार अझै पनि निको भएको छैन। अन्ततः मेरी पत्नी र छोराछोरीलाई लुआन्डा पठाउने अनुमति प्राप्त गर्न सकें। त्यहाँ मेरा दुई ठूली छोरीहरू, टेरिजा र झुआनाले तिनीहरूको रेखदेख गरे।
स्वतन्त्र तर फेरि कैदमा
त्यसको एक वर्षपछि सेप्टेम्बर १९७० मा मलाई छुटकारा दिइयो र मेरो परिवार र लुआन्डाका सम्पूर्ण भाइहरूलाई भेटें। त्यहाँ नौ वर्षसम्म मेरो अनुपस्थितिको दौडान प्रचार कार्यमा प्रगति भएको देखेर मेरा आँखा रसाए। सन् १९६१ मा मलाई कैद गर्दा लुआन्डामा चार वटा स-साना मण्डली मात्र थिए। तर अब त्यहाँ चारवटा ठूलठूला मण्डलीहरू थिए। ती मण्डलीहरू व्यवस्थित थिए र हरेक छ-छ महिनामा यहोवाका संगठनको परिभ्रमण प्रतिनिधि भेट गर्न त्यहाँ आउथे। स्वतन्त्र हुन पाएकोमा म ज्यादै हर्षित भएँ तर मेरो स्वतन्त्रता क्षणिक साबित भयो।
अहिले खारेज भइसकेको राष्ट्रिय प्रहरी अनुसन्धान तथा सुरक्षाको (पि आइ डि इ) महा-निर्देशकले एक दिन मलाई बोलाए। तिनले मलाई मेरो छोरी झुआनाको अघि फुरुक्क पारेपछि एउटा कागजातमा हस्ताक्षर गराउन खोजे। त्यसमा मलाई राष्ट्रिय प्रहरी अनुसन्धान तथा सुरक्षाको गुप्तचरको काम दिने र थुप्रै इनाम दिने भनेर लेखिएको थियो। मैले हस्ताक्षर गर्न इन्कार गर्दा मलाई कहिले नछोड्ने गरी साऊ नीकूलाऊ फर्काइदिने धम्की दिए।
छुटकारा पाएको मात्र चार महिनापछि जनवरी १९७१ मा ती धम्कीहरू पूरा भए। लुआन्डाका जम्माजम्मी ३७ जना मसीही प्राचीनहरूलाई गिरफ्तार गरेर साऊ नीकूलाऊ पठाइयो। त्यहाँ हामीहरूलाई अगस्त १९७३ सम्म कैद गरियो।
जेलमुक्त भएपछि पनि सतावट कायमै
सन् १९७४ मा पुर्तगालमा धार्मिक स्वतन्त्रता घोषणा गरियो। त्यसपछि, पुर्तगालको समुद्रपारि प्रान्तहरूमा पनि धार्मिक स्वतन्त्रता प्रदान गरियो। नोभेम्बर ११, १९७५ मा अंगोला पुर्तगालबाट स्वतन्त्र भयो। स्वतन्त्रता पाएपछि त्यस वर्षको मार्च महिनामा पहिलो क्षेत्रीय सम्मेलनमा भेला हुन पाउनु कस्तो रोमाञ्चकारी थियो! मैले लुआन्डाको रंगशालामा ती आनन्दित भीडलाई जनभाषण दिने विशेषाधिकार पाएँ।
तथापि, नयाँ सरकारले हाम्रो तटस्थ अडानको विरोध गऱ्यो र अंगोलाभरि गृहयुद्ध मच्चियो। त्यतिखेर परिस्थिति यति बिघ्न नाजुक भयो कि गोरा साक्षीहरूलाई जबरजस्ती देश निकाला गरियो। हामी तीन जना स्थानीय भाइहरूलाई यहोवाका साक्षीहरूको पुर्तगाली शाखाको नेतृत्वमा अंगोलामा प्रचार गर्न खटाइयो।
चाँडै मेरो नाउँ समाचार पत्रहरूमा छापिन र रेडियोहरूमा सुनिन थालियो। मलाई अन्तरराष्ट्रिय साम्राज्यवादको दलाल र अंगोलाका साक्षीहरूलाई हतियार नचलाउन उक्साउने व्यक्ति हो भन्ने दोष लगाइयो। फलतः मलाई लुआन्डा प्रान्तको पहिलो बडाहाकिमसामु हाजिर गराइयो। मैले तिनलाई आदरसाथ येशू ख्रीष्टका प्रारम्भिक अनुयायीहरूको जस्तै विश्वभरिका यहोवाका साक्षीहरूको तटस्थ अडानबारे बताएँ। (यशैया २:४; मत्ती २६:५२) मैले उपनिवेशको शासनकालमा कैद र श्रम शिविरमा १७ वर्ष बिताएको कुरा बताएपछि तिनले मलाई गिरफ्तार नगर्ने निर्णय गरे।
ती दिनहरूमा अंगोलामा यहोवाको साक्षी भएर सेवा गर्नु धेरै साहसको खाँचो पर्थ्यो। मेरो घरको चियो गर्ने हुँदा हामीले यहाँ सभा सञ्चालन गर्न छोड्नु पऱ्यो। तर प्रेरित पावलले भनेजस्तै ‘हामी सबैतिरबाट मिचिएका छौं, तापनि चूर्ण पारिएका छैनौं।’ (२ कोरिन्थी ४:८) हामी कहिल्यै आफ्नो सेवकाईमा निष्क्रिय भएनौं। म परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्दै तथा बेंगुएला वीला र हम्बो प्रान्तका मण्डलीहरूलाई बलियो बनाउदै प्रचारको काममा लागिरहें। त्यतिखेर म अर्को नाउँ अर्थात् भाइ फिलेमोन भनेर चिनिन्थें।
मार्च १९७८ मा हाम्रो प्रचारको काममा फेरि प्रतिबन्ध लगाइयो र भरपर्दो स्रोतबाट जानकारी पाएअनुसार कट्टर क्रान्तिकारीहरूले मलाई मार्ने योजना बनाएका रहेछन्। यसकारण, मैले नाइजेरियाका एक जना साक्षीको घरमा शरण लिएँ। तिनी अंगोलामा नाइजेरियाका राजदूतावासको कर्मचारी थिए। एक महिनापछि, परिस्थिति साम्य भयो र मैले क्षेत्रीय निरीक्षकको रूपमा भाइहरूको सेवा गर्न थाले।
प्रतिबन्ध र गृहयुद्धको बावजूद हजारौं अंगोलियालीहरूले हाम्रो प्रचारप्रति राम्रो प्रतिक्रिया देखाए। साक्षीहरूको संख्यामा वृद्धि भएकोले देशको निरीक्षण समितिलाई अंगोलामा प्रचार कामको निरीक्षण गर्न खटाइयो। त्यस समयको दौडान, विभिन्न अवसरमा पुर्तगाल गएँ। त्यहाँ मैले पोख्त सेवकहरूबाट बहुमूल्य तालिमका साथै आवश्यक चिकित्सा उपचार पनि पाएँ।
बल्ल प्रचार गर्न स्वतन्त्र!
म श्रम शिविरमा हुँदा राजनैतिक कैदीहरूले मेरो खिसी गर्दै मैले प्रचार गर्न छोडिनँ भने कहिल्यै स्वतन्त्र हुनेछैन भन्ने गर्थे। तर मैले यस्तो जवाफ दिन्थें: “यहोवाले ढोका खोल्ने समय आएको छैन। तर उहाँले खोल्नु भएपछि कसैले पनि त्यो थुन्नसक्ने छैन।” (१ कोरिन्थी १६:९; प्रकाश ३:८) सन् १९९१ मा सोभियत संघ टुक्रा टुक्रा भएपछि बिना कुनै रोकटोक प्रचार गर्ने मौका खुल्यो। त्यसबेला अंगोलामा हामीले उपासनासम्बन्धी अझ बढी स्वतन्त्रता अनुभव गर्न थाल्यौं। यहोवाका साक्षीहरूको क्रियाकलापलाई १९९२ मा कानुनी मान्यता दिइयो। अन्ततः १९९६ मा यहोवाका साक्षीहरूको अंगोलामा शाखा स्थापित गरियो र मलाई शाखा समितिको सदस्य नियुक्त गरियो।
म कैदमा परेको वर्षहरूको दौडान कुनै न कुनै तरिकामा मेरो परिवारको रेखदेख हुन्थ्यो। हाम्रो छ जना छोराछोरी थिए र पाँच जना अझै पनि छन्। हाम्रो प्रिय झुवाना क्यान्सरले गत वर्ष मरिन्। हाम्रो चार जना छोराछोरी बप्तिस्मा प्राप्त साक्षीहरू हुन् तर एक जना छोराले बप्तिस्मा लिएको छैन।
सन् १९५५ मा भाइ कुक आउनुहुँदा अंगोलामा परमेश्वरको राज्यको सुसमाचार सुनाउने जम्मा चार जना मात्र थिए। अहिले ३८,००० भन्दा बढी राज्य उद्घोषकहरू छन् र तिनीहरूले हरेक महिनामा ६७,००० भन्दा बढी बाइबल अध्ययन सञ्चालन गर्दैछन्। सुसमाचार सुनाउनेहरूमध्ये ती व्यक्तिहरू पनि छन् जसले पहिला हामीलाई सताएका थिए। यो साँच्चै इनामदायी कुरा हो र मलाई सधैं जोगाउनुभएको तथा उहाँको वचन घोषणा गर्ने मेरो तीव्र इच्छालाई पूरा गर्ने मौका दिनुभएकोमा म यहोवाप्रति एकदमै कृतज्ञ छु!—यशैया ४३:१२; मत्ती २४:१४.
[पृष्ठ २२-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
प्रजातान्त्रिक गणतन्त्र कंगो
किन्शासा
अंगोला
माकेला डु जोम्बो
लुआन्डा
साऊ नीकूलाऊ (हाल बेन्टिआबा)
मुसामडिश (हाल नामिबे)
बाई डुस टीग्रेस
सर्पा पीन्टु (हाल मेनंगु)
[स्रोत]
Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.
[पृष्ठ २४-मा भएको चित्र]
तल: जोन कुकसित १९५५ मा। बायाँतिर सेला फिलेमोन
दायाँ: जोन कुकसित ४२ वर्षपछि फेरि भेट भएको क्षण
[पृष्ठ २५-मा भएको चित्र]
मेरी पत्नी मारियासित