मैले आशा गरेभन्दा ठूलो कुरा पाएको छु
भिलम भान सालको वृत्तान्तमा आधारित
सन् १९४२ को कुरा हो, हाम्रो देश दोस्रो विश्वयुद्धमा पूर्णतया मुछिएको थियो। हामी पाँच जना केटाहरू नाजीहरूबाट बच्न नेदरल्याण्ड्सको ग्रोनिगेन भन्ने ठाउँमा लुकिरहेका थियौं। सानो कोठामा बसेर हाम्रो बच्ने सम्भावना कति छ भनेर कुरा गर्न थाल्यौं।
स्पष्टतः हामी बाँच्ने सम्भावना अत्यन्तै कम थियो। हुन पनि हाम्रो समूहको तीन जनाको असामयिक मृत्यु भयो। साँच्चै भन्ने हो भने, बूढो होउञ्जेल बाँचेको त म मात्रै हो। आशा गरेभन्दा बढी पाएको यो एउटा उदाहरण मात्र हो।
माथि उल्लेख गरिएको घटना हुँदा म १९ वर्षको मात्र थिएँ र मलाई बाइबल वा धर्मबारे केही ज्ञान थिएन। वास्तवमा, बुबा सबै धर्मको विरोध गर्नुहुन्थ्यो। अनि आमाचाहिं धर्मको खोजीमा प्रेतवादतिर लाग्नुभयो। मेरोचाहिं केही आशा नै थिएन। म बम आक्रमण वा त्यस्तै अरू कुनै बेला मरें भने परमेश्वरले मलाई सम्झने कारणै हुँदैन जस्तो लाग्थ्यो। मैले उहाँबारे सिक्ने कोसिस समेत गरेको थिइनँ।
मेरो खोजको इनाम पाएँ
ती चार जना केटाहरूसित कुराकानी गरेको केही समयपछि नै मलाई नाजीहरूले समाते र जर्मनीमा इमरिक नजिकै कार्य शिविरमा लगे। हाम्रो काम संयुक्त सेनाको बम वर्षाले भएका क्षतिहरू मर्मत गर्ने अनि कंकडहरू हटाउने थियो। सन् १९४३ को अन्ततिर युद्ध जोडतोडले चलिरहेकै बेला म भागेर बल्लतल्ल नेदरल्याण्ड्स फर्कें।
कसरी हो कुन्नि मैले प्रश्नहरू तथा बाइबल पदहरू भएको एउटा सानो पुस्तिका फेला पारें। यो यहोवाका साक्षीहरूले प्रकाशित गरेको उद्धार नामक पुस्तक अध्ययन गर्न चलाइन्थ्यो। प्रश्न पढ्दै शास्त्रपदहरू हेर्दा मलाई बाइबल भविष्यवाणीहरूको पूर्तिमा अत्यन्तै चासो लाग्न थाल्यो।
आफूले पढिरहेको कुरा मैले बिहे गर्न लागेकी केटी क्रालाई बताएँ तर उनले सुरुमा त्यति चासो देखाइनन्। आमाले भने त्यो पुस्तिका ध्यानमग्न भएर पढ्न थाल्नुभयो। उहाँले यस्तो उद्गार गर्नुभयो, “मैले वर्षौंदेखि खोजिरहेको सत्य यही हो!” मैले सिकिरहेको कुरा आफ्ना साथीहरूलाई पनि बताएँ र केहीले अझ बढी सिक्ने इच्छा गरे। एक जना त साक्षीसमेत भए र तिनको १९९६ मा मृत्यु नहोउञ्जेल नियमित चिठीपत्र र भेटघाटद्वारा हाम्रो कुराकानी भइरहन्थ्यो।
यसैबीच क्राले पनि बाइबल अध्ययन गर्न थालिन् र फेब्रुअरी १९४५ मा हामी दुवैले बप्तिस्मा लियौं। त्यसको केही महिनापछि युद्ध अन्त भयो। बिहेपछि हामी पूर्ण-समय सेवकाई गर्न चाहन्थ्यौं, यहोवाका साक्षीहरूको भाषामा भन्ने हो भने अग्रगामी हुने इच्छा थियो। तर हामीले बिमारी र आर्थिक समस्याजस्ता बाधाहरू सामना गर्नुपऱ्यो। साथै, धेरै पैसा कमाउने मौका पनि नमिलेको होइन। आर्थिक रूपमा आफू अलिकति बलियो भएपछि मात्र अग्रगामी सुरु गर्ने हो वा तुरुन्तै सुरु गर्ने भन्ने प्रश्न उठ्यो।
नेदरल्याण्ड्समा हाम्रो सेवकाई
हाम्रो निर्णय तुरुन्तै अग्रगामी गर्न थाल्ने थियो र त्यसैअनुरूप सेप्टेम्बर १, १९४५ मा सुरु गऱ्यौं। त्यही दिन राती ढिला घर फर्कंदा मलाई पेय पदार्थ पिउन मन लागेकोले म रेष्टुराँ भित्र छिरें। मैले वेटरलाई एक गिल्डरको नोट भन्ठानेर त्यो दिएँ र तिनलाई यसो भनें: “फिर्ता पैसा राख्नू।” मैले त तिनलाई १०० गिल्डरको नोट पो दिएको रहेछु भनेर घर पुगेपछि पो थाह भयो! अब हामीसित अग्रगामी थाल्न एक गिल्डर मात्र बाँकी थियो!
मैले १९४६ मा जनभाषण दिन थाल्दा मसित एउटा छालाको ज्याकेट मात्र थियो। मेरो जस्तै कद भएको साथी मेरो भाषणमा अध्यक्ष हुन्थ्यो। मेरो भाषणको परिचय दिएर तुरुन्तै मञ्चको पछिल्तिर आई तिनको कोट मलाई दिन्थे। त्यसपछि मैले भाषण दिन्थें। अनि मेरो भाषण सिद्धिने बित्तिकै मैले पनि त्यस्तै गर्थें!
मार्च १९४९ मा क्रा र मलाई परिभ्रमण कार्यको निम्ति बोलाइयो। यस कार्य अन्तर्गत यहोवाका साक्षीहरूको मण्डलीहरूमा गई तिनीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउनु पर्नेथियो। युद्ध हुनु धेरै वर्षअघिदेखि र युद्धको बेला सेवा गरेका विश्वासी सेवक फ्रिट्स हार्टस्ट्याङले मलाई क्षेत्रीय कामको लागि प्रशिक्षण दिए। तिनले मलाई राम्रो सल्लाह दिए: “भिलम, यहोवाको संगठनबाट आएको सल्लाह आफूलाई सुरुमा ठीक नलागे तापनि त्यसैअनुसार गर। त्यसो गर्दा तिमीले कहिल्यै पछुताउनुपर्ने छैन।” तिनको कुरा सही थियो।
सन् १९५१ मा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका तत्कालीन अध्यक्ष नेथन एच. नोर नेदरल्याण्ड्स आउनुभयो। त्यतिबेला क्रा र मैल संयुक्त राज्यमा मिसनरी प्रशिक्षणको निम्ति आवेदन दियौं। चाँडै वाचटावर बाइबल स्कूल अफ गिलियडको २१ औं कक्षामा उपस्थित हुन निमन्त्रणा पायौं। हामीले १९४५ मा अग्रगामी कार्य थाल्दा नेदरल्याण्ड्समा सालाखाला २,००० साक्षीहरू थिए तर १९५३ सम्ममा ७,००० भन्दा बढी पुगिसकेका थिए। साँच्चै हामीले आशा गरेभन्दा कता हो कता धेरै!
नयाँ ठाउँमा सेवकाई
अहिले इन्डोनेसियाको प्रान्त डच न्यु गिनियामा हामीलाई खटाइएको थियो तर हामीले त्यहाँ प्रवेश गर्न अनुमति पाएनौं। त्यसैले हामीलाई दक्षिण अमेरिकाको उष्ण प्रदेशीय देश सुरिनाममा खटाइयो। हामी त्यहाँ डिसेम्बर १९५५ मा पुग्यौं। त्यतिबेला सुरिनाममा जम्मा सय जना जति मात्र साक्षीहरू थिए तर अत्यन्तै मदतकारी थिए। हामीलाई यो ठाउँ आफ्नै घरजस्तो लाग्न थाल्यो।
हो, हामीले अनुभव गर्नुपरेको बेग्लाबेग्लै परिस्थितिअनुसार छाँटकाँट गर्नुपऱ्यो र कहिलेकाहीं त्यसो गर्न गाह्रो पनि हुन्थ्यो। उदाहरणका लागि, क्रा कीराफट्यांग्रा भन्यो कि असाध्यै डराउँथिन्। नेदरल्याण्ड्समा हाम्रो सुत्ने कोठामा एउटा सानो माकुरो देख्यो भने मैले त्यो नफालेसम्म उनी सुत्नै सक्दैनथिन्। तर सुरिनामका माकुराहरू दस गुणा ठूला छन् र कुनै कुनै त विषालु छन्! हाम्रो मिसनरी गृहमा साङ्लो, मुसा, कमिला, लामखुट्टे र फट्यांग्रा पनि टन्नै थियो। कहिलेकाहीं त हाम्रो घरमा सर्प पनि घुस्थे। अब त क्रालाई त्यस्ता कीराहरू देखेर डर लाग्दैन, ती कीराफट्याङ्ग्रा हटाउनु त सामान्य दिनचर्याजस्तो भइसक्यो।
यहाँ बसेको ४३ वर्षभन्दा बढी भइसक्यो र अब त यहाँका कतिपय स्थानीय बासिन्दाहरूले भन्दा यो देशबारे बढी कुरा थाह पाइसक्यौं। अब हामीलाई यहाँको नदी, उष्ण कटिबन्धीय जंगल र तटसँगैको दलदल मजा लाग्छ। अनि यहाँ प्रशस्त पाइने जनावरहरू जस्तै दुम्सी, भालु, ज्यागुअर र रंगीचंगी विभिन्न प्रकारका सर्पहरू पनि अनौठो लाग्दैन। तर हामीले विशेष गरी यहाँका विभिन्न जातिका मानिसहरूसित घुलमिल हुँदा आनन्द महसुस गरेका छौं। यिनीहरूमध्ये कोही कोहीका पुर्खाहरू अफ्रिकालगायत भारत, इन्डोनेसिया, चीन र अन्य देशहरूका थिए। अनि कोही यहाँका खास बासिन्दाहरूको सन्तान आमेरिन्डियनस छन्।
मसीही सेवकाईमा भाग लिंदा यी सबै पृष्ठभूमिका मानिसहरू भेट्छौं। हाम्रो राज्यभवनहरूमा पनि विभिन्न पृष्ठभूमिका मसीही भाइ तथा बहिनीहरूको संगति पाइन्छ। यहाँ १९५३ मा एउटा मात्र राज्यभवन थियो र त्यो पनि पुरानो भइसकेको तर अहिले वृद्धि भएर ३० वटाभन्दा बढी आकर्षक राज्यभवन, एउटा सुन्दर सम्मेलन भवन र सुविधा सम्पन्न शाखा कार्यालय छ। यो शाखा कार्यालय फेब्रुअरी १९९५ मा समर्पण गरिएको थियो।
मैले सिकेका पाठ
सुरिनामको भित्री भागमा बुस निग्रो भन्नेहरूको केही मण्डलीहरू छन्। तिनीहरू अफ्रिकी दासहरूका सन्तान हुन्, तिनीहरू बगानहरूबाट नदीको किनारासम्म बसोबास गरेका मानिसहरू हुन्। म अझै पनि तिनीहरूको कार्यशैली देखेर छक्क पर्छु। जस्तै, तिनीहरूले नदी वारपार गर्ने तरिका र उष्ण कटिबन्धीय जंगलमा घर बनाएको देख्दा, छक्क पर्छु। तिनीहरूले रूख ढालेर डुंगा बनाउँछन् र झरना तथा नदीका तीव्र धारहरूमा डुंगा चलाउँछन्। तिनीहरूले सिकार खेलेर र माछा मारेर खानेकुरा भेट्टाउँछन्। अनि खाना पकाउन तिनीहरूसित कुनै आधुनिक सुविधाहरू छैन र अन्य थुप्रै कामकुराहरू गर्छन्, जुन हामीलाई साह्रै गाह्रो लाग्छ।
वर्षौंको दौडान हामीले यहाँ सुरिनाममा बस्ने अरू मानिसहरू, तिनीहरूको रहनसहन, सोचाइ र तिनीहरूको जीवनशैलीबारे थाह पाएका छौं। सन् १९५० तिर अमेरिन्डियनसहरूको गाउँमा गएको थिएँ। मध्यरातमा म रेन फरेस्टको सुनसान शिविरमा आइपुगें अनि त्यहाँबाट म र मेरो अमेरिन्डियनस गाइडले डुंगाबाट यात्रा सुरु गर्नुपर्ने थियो। तिनले आगो बाले, खाना पकाए, सुत्न झोलुंगे बाँधे। मेरोनिम्ति यी सबै कुरा गरिदिनु तिनको लागि सामान्य कुरा थियो किनभने मलाई गर्न आउँदैन भनी तिनलाई थाह थियो।
मध्यरातमा म झोलुंगेबाट खस्दा तिनी हाँसेनन्। बरु मेरो लुगामा लागेको धूलो टकटकाइदिए र झोलुंगे फेरि बाँधे। हामी साँघुरो नदीमा यात्रा गर्दा यस्तो अँध्यारो थियो कि मैले आफ्नो हातसम्म पनि देख्न सक्दिनँ थिएँ तर मेरो गाइडले त मजाले सबै मोड तथा रोकावटहरू छलाउँदै डुंगा खियाए। तिनले कसरी चलाउन सकेको भनी प्रश्न गर्दा यस्तो जवाफ दिए: “तपाईं गलत ठाउँमा हेर्दै हुनुहुन्छ। माथि हेर्नुहोस् र रूखको टुप्पा र आकाशबीचको भिन्नतालाई याद गर्नुहोस्। अनि तपाईंले नदीमा भएको मोड देख्न सक्नुहुन्छ। त्यस्तै तल छालहरू हेर्नुहोस्। त्यसबाट तपाईंले चट्टान वा अन्य केही रोकावट छ कि भनी थाह पाउन सक्नुहुन्छ। अनि सुन्नुहोस्। आवाज सुनेर पनि तपाईं अगाडि के छ भनी थाह पाउन सक्नुहुन्छ।”
रूख खोक्रो पारी बनाएको डुंगामा, नदीको धार र झरनाहरू पार गर्दै यात्रा गर्नु खतरनाक हुन्छ र थकाइ पनि लाग्छ। तर यात्राको अन्तमा हामीलाई स्वागत गर्न कुरिरहेका मसीही भाइबहिनीहरू देख्दा स्फूर्ति प्राप्त हुन्छ। पाहुनाहरूको लागि खानेकुरा त भइहाल्छ, हुनसक्छ एक कचौरा सुरुवा। मिसनरी कार्य अक्सर कठिन र गाह्रो भए तापनि निराशाजनक कहिल्यै भएको छैन।
हामीलाई आफ्नो कार्यमा लागिरहन कुन कुराले मदत गरेको छ
हामी सधैं सुस्वस्थ तन्दुरुस्त हुँदैनौं। हामीले आफ्नो परिवारका सदस्यहरूबाट पनि खासै प्रोत्साहन पाएका छैनौं किनभने परिवारमा साक्षीको नाउँमा आमा मात्र हुनुहुन्छ। तैपनि, हाम्रा प्रिय मित्रहरूको मदत तथा प्रोत्साहनले हाम्रो आवश्यकताहरू पूरा गर्न र हाम्रो कार्यमा लागिरहन सधैं मदत गरेको छ। आमा विशेष गरी प्रोत्साहनदायी हुनुहुन्थ्यो।
हामी आफ्नो मिसिनरी कार्यमा लागेको झन्डै छ वर्षपछि आमा सिकिस्त बिरामी हुनुभयो। उहाँलाई अन्तिम चोटि हेर्न साथीहरू हामी घर फर्कोस् भन्ने चाहन्थे तर आमाले यस्तो पत्र लेख्नुभयो: “बिन्ती छ, तिमीहरूले आफ्नो काम नछोड। बिरामी हुनुअघिको आमालाई सम्झ। म तिमीहरूलाई पुनरुत्थानपछि भेट्ने आशा गर्छु।” उहाँ बलियो विश्वास भएकी आइमाई हुनुहुन्थ्यो।
हामी बिदा मनाउन सन् १९६६ मा मात्र नेदरल्याण्ड्स फर्कन पायौं। पुराना साथीहरू भेट्न पाउँदा असाध्यै खुसी लाग्यो तर हाम्रो घर त सुरिनाम नै हो जस्तो लाग्यो। अतः हामीले मिसनरीहरूलाई तीन वर्षपछि मात्र आफ्नो मातृभूमि फर्कनु भन्ने संगठनको सल्लाहमा बुद्धिमानी देख्छौं।
हाम्रो कार्यभारबाट आनन्द उठाउन मदत गरेको अर्को कुरा हो, हँसी मिजास। आफै र अरू कुराहरू देखेर हाँस्न सक्नु। यहोवाले हँसी मिजासका अन्य सृष्टिहरू पनि राख्नुभएको छ। जस्तै, चिङपानजी, पानी बिरालो र अन्य थुप्रै पशुका साना बच्चाहरूलाई हेरिरह्यौं भने तपाईं त्यतिकै हाँस्न थाल्नुहुनेछ। साथै, कामकुराको सकारात्मक पक्ष हेर्नु र आफूलाई अत्यन्तै महत्त्वपूर्ण नठान्नु पनि महत्त्वपूर्ण छ। वर्षौंको दौडान हामीले सिकेका कुराहरू यी पनि हुन्।
हाम्रो असाइनमेन्टमा लागिरहन विशेष गरी क्षेत्र सेवकाईमा प्राप्त इनामहरूले पनि मदत गरेको छ। क्राले पारामारिबोको एउटा वृद्धाश्रममा नौ जनासित बाइबल अध्ययन थालिन्। सबै जना ८० वर्ष नाघिसकेका थिए। सबै जना पहिले बालाटाब्लिडर (रबरको बोटबाट गुँद निकाल्नेहरू) वा सुन खानीमा काम गर्ने मानिसहरू थिए। प्रत्येकले आफूले सिकेको कुरा मन पराउन थाले र बप्तिस्मा लिए अनि मृत्युसम्मै प्रचारकार्यमा विश्वासीपूर्वक भाग लिए।
न्यु चर्च अफ स्वीडेनबर्गका रिभर्स नाउँका बूढा प्रचारक अध्ययनको बेला सुनिरहन्थे अनि व्यंगात्मक टिप्पणीहरू गर्थे। तर हरेक हप्ता तिनी अलि नजिक आएर बस्न थाले र तिनका खिसीहरू पनि कम हुन थाले। अन्ततः तिनी सबैसित बसेर अध्ययनमा भाग लिन थाले। तिनी ९२ वर्षका थिए र राम्रोसित देख्न वा सुन्न पनि सक्दैनथे तर आफूले पढेजस्तै गरी सबै पदहरू बताउनसक्थे। पछि तिनी हामीसित सेवकाईमा आउन थाले र तिनको कुरा सुन्ने जति सबैलाई प्रचार गर्थे। तिनको मृत्युभन्दा केही क्षणअघि तिनले हामीलाई भेट्न आउनु भन्ने खबर पठाए। हामी त्यहाँ पुग्दा तिनी मरिसकेका थिए तर तिनको तकियामुनि तिनले गरेका त्यो महिनाको क्षेत्र सेवकाई रिपोर्ट पायौं।
पूर्ण-समय प्रचारकार्यमा २५ वर्षभन्दा लामो समय बिताइसकेपछि १९७० मा मलाई सुरिनाम शाखा कार्यालयको निरीक्षण गर्न नियुक्त गरियो। टेबलमा बसेर काम गर्न सकस हुन्थ्यो र अझ त्यसमाथि क्रा दिनकादिन प्रचार गइरहेको देख्दा आफू पनि जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो। तर अहिले त क्रा पनि शाखा कार्यालयमै काम गर्छिन् र बूढो हुँदै गए तापनि हामी दुवैले यहाँ अर्थपूर्ण काम गरिरहेका छौं।
निस्सन्देह, विश्वभरि १९४५ तिर १,६०,००० भन्दा कम सक्रिय राज्य प्रचारकहरूको तुलनामा अहिले झन्डै ६०,००,००० साक्षीहरू देख्दा, मैले साँच्चै आशा गरेभन्दा बढी कुरा पाएको छु। अनि सुरिनाममा पनि सेवकाईमा भाग लिनेहरूको संख्या हामी १९५५ मा आइपुगेको भन्दा १९ गुणा वृद्धि भएको छ। त्यतिबेला झन्डै १०० मात्र थियो भने अहिले १,९०० भन्दा बढी छन्!
हामी परमेश्वरप्रति विश्वासी रह्यौं भने उहाँका प्रतिज्ञाहरूको अझ महान् पूर्ति देख्नेछौं भनी म विश्वस्त छु। अनि हाम्रो त्यसै गर्ने विचार छ।
[पृष्ठ ११-मा भएको चित्र]
सन् १९५५ मा हामी सुरिनाम पुग्दा
[पृष्ठ १३-मा भएको चित्र]
सेवकाईमा डुंगाहरू चलाउँदै
[पृष्ठ १३-मा भएको चित्र]
मेरी श्रीमतीसित