प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ६/१ pp. २०-२४
  • यहोवा मसित हुनुहुन्थ्यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा मसित हुनुहुन्थ्यो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नेदरल्याण्डमा अग्रगामी सेवा गर्दा
  • थप सुअवसरहरू
  • नाजी नियन्त्रणअन्तर्गत
  • झ्यालखाना र यातना शिविरहरू
  • युद्धपछिका क्रियाकलापहरू
  • सच्चाइभन्दा उत्तम अरू केही छैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “विश्‍वासको लागि पछि नहट्‌ने”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • सतावटको बाबजुद यहोवाको सेवा गर्न पाएकोमा कृतज्ञ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ६/१ pp. २०-२४

यहोवा मसित हुनुहुन्थ्यो

म्याक्स हेनिङको वृत्तान्तमा आधारित

सन्‌ १९३३ को कुरा हो। एडोल्फ हिटलर भर्खरै मात्र जर्मनीको सत्तामा आएको थियो। तथापि, बर्लिन क्षेत्रका लगभग ५०० यहोवाका साक्षीहरू आफ्नो विश्‍वासबाट ढलपल भएनन्‌। थुप्रै जवानहरू अग्रगामी वा पूर्ण-समय सेवकहरू भए र केहीले युरोपेली देशहरूमा गएर सेवा गर्ने कार्यभारसमेत स्वीकारे। मेरो साथी भर्नर फ्लाटन र म एकअर्कालाई यसरी सोध्थ्यौं: “किन हामी त्यसै हल्लिएर समय खेर फाल्दैछौं? अग्रगामी गरेर यस समयको सदुपयोग किन नगर्ने?”

मेरो जन्म सन्‌ १९०९ मा भएको हो। जन्मेको आठ दिनपछि मेरो पालनपोषण मायालु धर्मआमाबाबुले गर्न थाल्नुभयो। सन्‌ १९१८ मा मेरी सानी धर्मबहिनीको अकस्मात्‌ मृत्यु भएकोले परिवारमा दुःखको भेल उर्ल्यो। त्यसको तुरुन्तैपछि त्यति बेला बाइबल स्टुडेन्ट्‌सको रूपमा चिनिने यहोवाका साक्षीहरू हाम्रो घरमा आए र मेरो धर्मआमाबाबुले बाइबल सच्चाइलाई सहर्ष ग्रहण गर्नुभयो। उहाँहरूले मलाई पनि आध्यात्मिक कुराहरूको मूल्यांकन गर्न सिकाउनुभयो।

मैले धारा मिस्त्रीको तालिम लिएँ र त्यसैलाई पेशा बनाएँ। तर त्योभन्दा महत्त्वपूर्ण कुरा, मैले आध्यात्मिक अडान लिएँ। भर्नर र मैले सन्‌ १९३३ मे ५ तारिखदेखि अग्रगामी गर्न थाल्यौं। हामी साइकल चढेर बर्लिनदेखि लगभग १०० किलोमिटर टाढा एउटा शहरमा गयौं। त्यहीं बसेर हामीले दुइ हप्तासम्म प्रचार गऱ्‍यौं। त्यसपछि हामी आवश्‍यक कुराहरू देखभाल गर्न बर्लिन आयौं। तत्पश्‍चात्‌ फेरि दुइ हप्ताको लागि हामी आफ्नो प्रचार क्षेत्रमा फर्क्यौं।

अर्को देशमा सेवा गर्न चाहन्छौं भनेर हामीले निवेदन दियौं। सन्‌ १९३३ को डिसेम्बरमा हामीलाई तत्कालीन युगोस्लाभियामा खटाइयो। तथापि, त्यहाँ जानअघि नै हामी नेदरल्याण्डको उट्रेच्टमा खटियौं। त्यसको तुरुन्तैपछि मैले बप्तिस्मा लिएँ। त्यस बेला बप्तिस्मालाई त्यति प्राथमिकता दिइँदैनथ्यो। सेवकाईलाई नै बढी महत्त्वपूर्ण ठानिन्थ्यो। यहोवामा भरोसा गर्नु अहिले मेरो जीवनको अटल विशेषता भएको छ। बाइबल भजनरचयिताका यी शब्दहरू मलाई अति आरामदायी लाग्थ्यो: “हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्छ। परमप्रभु मेरो प्राण सह्‍माल्ने हुनुहुन्छ।”—भजन ५४:४.

नेदरल्याण्डमा अग्रगामी सेवा गर्दा

नेदरल्याण्डमा आइपुग्ने बित्तिकै हामीलाई रोटर्ड्‌याम शहरमा खटाइयो। हामी बसेको परिवारमा बुबा र छोरा दुवै अग्रगामी थिए। केही महिनापछि उट्रेच्ट नजीकै पर्ने लिर्सममा अग्रगामीहरूको बासस्थानको लागि एउटा ठूलो घर किनेपश्‍चात्‌ भर्नर र म त्यहाँ सऱ्‍यौं।

अग्रगामी घरमा बस्दा निकटवर्ती क्षेत्रमा साइकल लिएर जान्थ्यौं। टाढा क्षेत्रमा जाँदा चाहिं सात जना अटाउने गाडी प्रयोग गर्थ्यौं। त्यस बेला नेदरल्याण्डभरिमा जम्मा साक्षीहरू एक सय मात्र थिए। अग्रगामी घरमा बस्दा हामीले काम गर्ने गरेका क्षेत्रमा आज ६० वर्षपछि लगभग ५० मण्डलीहरूमा ४,००० भन्दा धेरै प्रकाशकहरू छन्‌!

हामी कडा परिश्रम गर्थ्यौं। हरेक दिन १४ घण्टा सेवकाईमा बिताउँथ्यौं र त्यसले हामीलाई आनन्दित पार्थ्यो। हाम्रो मुख्य लक्ष्य थियो, यथाशक्य धेरैभन्दा धेरै साहित्यहरू प्रस्तुत गर्नु। साधारणतया, हरेक दिन हामी इच्छुक व्यक्‍तिहरूलाई एक सयभन्दा बढी पुस्तिकाहरू प्रस्तुत गर्थ्यौं। पुनःभेट गर्नु र बाइबल अध्ययन सञ्चालन गर्नु त्यतिखेर हाम्रो नियमित क्रियाकलापमा समावेश थिएन।

एक दिन मेरो साथी र म फ्रेस्भेकको शहरमा प्रचार गर्दैथियौं। तिनले सैनिक शिविरको फाटकमा एक पुरुषलाई साक्षी दिंदा म चाहिं बाइबल पढ्‌न थालें। मैले आफ्नो बाइबलमा रातो र निलो रंगले थुप्रै ठाउँमा कच तानेको थिएँ। तत्पश्‍चात्‌, नजीकै घरको छानामा काम गरिरहेको सिकर्मीले फाटकमा भएको मानिसलाई सम्भवतः म गुप्तचर हो भनेर होशियार गरायो। परिणामस्वरूप, त्यसै दिन एक पसलेलाई साक्षी दिंदै गर्दा म पक्राउ परें र मेरो बाइबल जफत गरियो।

म अदालतमा लगिएँ। मेरो बाइबलमा लगाइएको चिह्नलाई शिविरको चित्र बनाउने चेष्टा गरेको हो भनेर तिनीहरूले मलाई अभियोग लगाए। म दोषी ठहरिएँ र दुइ वर्षको जेल सजाय भयो। तथापि, मुद्दाको निवेदन चढाइयो र म निर्दोष साबित भएँ। मुक्‍त हुन पाउँदा जति खुशी भएँ, त्योभन्दा पनि मेरो बाइबललगायत त्यसका सबै टिप्पणीहरू फिर्ता पाएकोले झन्‌ खुशी भएँ!

सन्‌ १९३६ को ग्रीष्म याममा अग्रगामी घरमा बस्ने अग्रगामी रिकार्ट ब्राउनिङ र मैले देशको उत्तरी भागमा प्रचार गरेर ग्रीष्मकालीन समय बितायौं। सेवकाई सुरु गरेको पहिलो महिनामा हामीले २४० घण्टा बितायौं र थुप्रै साहित्य प्रस्तुत गऱ्‍यौं। हामी पालमा बस्थ्यौं र लुगा धुने, पकाउने तथा अन्य त्यस्तै आवश्‍यक काम आफै गर्थ्यौं।

पछि, म लाइटबिअरर नामक डुंगामा स्थानान्तरण भएँ। नेदरल्याण्डभरि त्यस डुंगा चिरपरिचित थियो। त्यस डुंगामा पाँच जना अग्रगामी बस्थे। त्यसैबाट हामी दुर्गम क्षेत्रमा जानसक्यौं।

थप सुअवसरहरू

सन्‌ १९३८ मा म प्रान्तीय सेवक अर्थात्‌ यहोवाका साक्षीहरूको तत्कालीन क्षेत्रीय निरीक्षकको हैसियतमा खटिएँ। अतः त्यो लाइटबिअरर डुंगामा बस्न छाडें र मण्डलीहरूमा तथा दक्षिणी तीन दुर्गम प्रान्तका साक्षीहरूकहाँ भ्रमण गर्न थालें।

हाम्रो यातायातको एक मात्र साधन साइकल थियो। एक मण्डली वा इच्छुक व्यक्‍तिहरूको समूहदेखि अर्को मण्डलीमा पुग्न दिनभरि लाग्थ्यो। मैले भ्रमण गरेका शहरहरूमध्ये ब्रेडा एउटा हो र अहिले म त्यहीं बस्छु। त्यस बेला ब्रेडामा मण्डली थिएन। त्यहाँ एक वृद्ध साक्षी दम्पती मात्र थिए।

लिम्बर्गमा भाइहरूको सेवा गर्दा खानीमा काम गर्ने योहान पीपर नाउँ गरेका मानिसका थुप्रै प्रश्‍नहरूको जवाफ दिन मलाई आमन्त्रित गरियो। तिनले बाइबल सच्चाइप्रति बलियो अडान लिए र एक जोशिलो प्रचारक बने। चार वर्षपछि तिनलाई यातना शिविरमा पठाइयो। त्यहाँ तिनले साढे तीन वर्ष बिताए। त्यहाँबाट रिहाइ भएपछि तिनले फेरि जोशिलो भई प्रचार गर्न थाले। अहिले पनि तिनी एक विश्‍वासी प्राचीनको हैसियतमा सेवारत छन्‌। बाह्र जना मात्र साक्षीहरू भएको लिम्बर्गको त्यो सानो मण्डली अहिले बढेर १७ वटा भएको छ र त्यहाँ झन्डै १,५५० प्रकाशकहरू छन्‌!

नाजी नियन्त्रणअन्तर्गत

सन्‌ १९४० को मे महिनामा नाजीहरूले नेदरल्याण्डमाथि आक्रमण गरे। म एम्स्टर्ड्‌यामस्थित वाच टावर सोसाइटीको शाखा कार्यालयमा खटिएँ। असाध्यै सावधान भएर हामीले काम गर्नुपर्थ्यो। फलतः हामीले बाइबल हितोपदेशको मूल्य बुझ्यौं: साँचो “मित्र . . . चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।” (हितोपदेश १७:१७) त्यस संकटको दौडान आनन्ददायी एकताको बन्धनले हामीलाई सशक्‍त बनायो। त्यसले मेरो आध्यात्मिक उन्‍नतिमा गहिरो प्रभाव पार्नुका साथै त्यसपछिका कठिन समयहरूमा पनि मैले त्यसबाट निकै कुरा सिकें।

मण्डलीहरूमा साहित्य पठाउने कार्यभार मेरो थियो, जुन काम साधारणतया कुरियरहरूद्वारा गरिन्थ्यो। जर्मनीमा बलजफ्ती श्रमिक बनाएर लैजान गेस्तापोले जवान पुरुषहरू खोजिरहेका हुन्थे। तसर्थ, कुरियरको लागि हामीले मसीही बहिनीहरूको सहायता लियौं। त्यसै बखत नोनी नाउँले चिरपरिचित भिल्हेल्मीन बाकरलाई हेगबाट हामीकहाँ पठाइयो। मैले तिनलाई हाम्रो शाखा निरीक्षक आर्तुर भिङक्लेर भूमिगत भएको ठाउँमा लगें। यथासम्भव नचिनोस्‌ भनेर मैले डच कृषकको भेष पहिरें। काठको जुत्तालगायत कृषकले लाउने कुरा जति सबै पहिरें र नोनीलाई कारमा चढाएर पठाएँ। त्यस बेला नोनीलाई हाँसो रोक्न कठिन परेको कुरा पछि थाह पाएँ किनभने म सजिलैसित चिनिन्थें।

सन्‌ १९४१, अक्टोबर २१ मा एम्सटर्ड्‌यामस्थित हाम्रो साहित्य तथा कागज राख्ने भण्डार नाजीको हातमा पऱ्‍यो। गेस्तापोले छापा मार्दा भिङक्लेर र नोनी गिरफ्तार भए। तिनीहरूलाई झ्यालखानामा लाँदा गेस्तापोका दुइ सदस्यहरू आफूले “कालो कपाल भएको सानो कदको व्यक्‍तिलाई” सडकको भीडमा लखेट्‌न नसकेको कुरा एकअर्कामा बताएको भिङक्लेर र नोनीले सुने। स्पष्टतः तिनीहरू मेरैबारे कुरा गरिरहेका थिए। तसर्थ, भिङक्लेरले भाइहरूकहाँ सन्देश पठाए। तुरुन्तै मलाई हेगमा स्थानान्तरण गरियो।

त्यसैबीच नोनी कैदबाट रिहाइ भइन्‌ र अग्रगामी सेवा गर्न हेग फर्किन्‌। मैले तिनलाई फेरि त्यहाँ भेटें। तर रोटर्ड्‌यामका मण्डली सेवक गिरफ्तार भएपछि तिनको ठाउँमा म खटिएँ। पछि, गौडा मण्डलीका मण्डली सेवक गिरफ्तार भएपछि तिनको कार्यभार सँभाल्न म त्यहाँ स्थानान्तरण भएँ। अन्ततः सन्‌ १९४३, मार्च २९ मा म पनि गिरफ्तार भएँ। बाइबल साहित्यको स्टक जाँच गरिरहेको बेला गेस्तापोले अचानक छापा मारेर मलाई गिरफ्तार गऱ्‍यो।

टेबलभरि बाइबल साहित्य छरिएका थिए। त्यसका साथै भाइबहिनीहरूको नाउँको सूची पनि त्यहाँ थियो। यद्यपि, ती नाउँहरू सांकेतिक रूपमा लेखिएका थिए। गिरफ्तार नभएका भाइबहिनीहरूलाई जोगाउने तरिका दिनुहोस्‌ भनेर यहोवालाई व्याकुल हुँदै प्रार्थना गरें। तिनीहरूले चाल नपाउनेगरि त्यो नाउँहरूको सूची लेखिएको कागजसम्म जसोतसो हात पुऱ्‍याएँ र त्यसलाई मुठीमा पोको पारें। त्यसपछि शौचालय जाने अनुमति मागेर त्यहाँ त्यस कागजलाई च्यातेर बगाएँ।

बितेका दिनमा आफ्ना मानिसहरूसित यहोवाले गर्नुभएको व्यवहार र छुटकाराको प्रतिज्ञाहरूबाट मैले यस्तो संकटको समयमा बल प्राप्त गर्न सिकें। मेरो हृदयलाई सधैं घचघचाउने प्रेरित आश्‍वासनमध्ये यो एक हो: “परमप्रभु हाम्रातर्फ नहुनुभएता, जब मानिसहरू हाम्रा विरुद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए।”—भजन १२४:२, ३.

झ्यालखाना र यातना शिविरहरू

मलाई रोटर्ड्‌याम झ्यालखाना लगियो। त्यहाँ आफ्नो बाइबल सँगै लान पाएकोमा म कृतज्ञ थिएँ। मसित मुक्‍ति (अंग्रेजी), केटाकेटी (अंग्रेजी) पुस्तकहरू थिए र ती साहित्यहरू पढ्‌ने प्रशस्त समय पाएँ। छ महिनापछि म सिकिस्त बिरामी भएँ र मलाई अस्पताल लैजानुपऱ्‍यो। अस्पताल जानअघि मैले साहित्यहरू मेरो बिछौनामुनि लुकाएँ। मेरो कोठामा अर्को साक्षी पेट ब्रुर्टजेसलाई सारेको र ती साहित्य तिनले फेला पारेको कुरा मैले पछि थाह पाएँ। अतः अरूलाई विश्‍वासमा बलियो पार्न ती साहित्यहरू प्रयोग भइरहेका थिए।

निको भएपछि मलाई हेग झ्यालखानामा स्थानान्तरण गरियो। मैले त्यहाँ कानुन विषय लिएर अध्ययन गरिरहेका लाओ सी. भान्‌ डर टासलाई भेटें। नाजीहरूले गरेको कब्जाको विरोध गर्दा तिनी कैद भएका थिए। तिनले यहोवाका साक्षीहरूबारे कहिल्यै सुनेका थिएनन्‌ रहेछ र तिनलाई साक्षी दिने अवसर पाएँ। कहिलेकाहीं तिनी मलाई आधा रातमा उठाएर प्रश्‍नहरू सोध्थे। विशेषतः आफ्नो विश्‍वासलाई त्याग्यौं भनेर प्रलेखमा हस्ताक्षर गरे मात्र पनि हामी रिहाइ हुनसक्छौं भन्‍ने कुरा थाह पाएपछि तिनले साक्षीहरूको प्रशंसा नगरी बस्न सक्दै सकेनन्‌। युद्धपछि लिओ वकिल बने। तिनले उपासनाको स्वतन्त्रताबारे वाच टावर सोसाइटीका पक्षमा दर्जनौं कानुनी मुद्दाहरू लडे।

सन्‌ १९४४, अप्रिल २९ मा जर्मनी लगिने पीडादायी १८ दिने रेल यात्रा सुरु भयो। मे १८ तारिख बुकेन्वाल्ड यातना शिविरमा थुनिएँ। लगभग एक वर्षपछि संयुक्‍त सेनाले मुक्‍त नगरूञ्जेल जीवन कति बीभत्स थियो, वर्णन गरेर साध्य छैन। हाम्रै आँखाको सामुन्‍ने हजारौं मरे। मैले यातना शिविर नजीकै युद्धका सामानहरू उत्पादन गर्ने कारखानामा काम गर्न अस्वीकार गरेकोले मलाई ढलको काम गर्न लगायो।

एक दिन त्यो कारखानामा बम हान्यो। थुप्रै मानिसहरू बच्नका लागि शिविरहरूमा घुसे। अरू चाहिं जंगलतिर भागे। उछिटिएका बमहरू शिविरहरूमा पड्‌के र बमहरूले गर्दा जंगलमा आगो लाग्यो। कति डरलाग्दो दृश्‍य थियो! थुप्रै मानिसहरू जिउँदै जले। मैले भने लुक्ने सुरक्षित स्थान पाएको थिएँ। आगलागी कम भएपछि अनगिन्ती लाशहरू नाघ्दै शिविरमा फर्कें।

त्यस नाजी विध्वंशको त्रासबारे आजका अधिकांश मानिसहरूलाई थाह छ। मेरो सोच्ने क्षमतालाई बलियो पार्नुभएकोमा यहोवाप्रति म कृतज्ञ छु। किनभने मैले अनुभव गरेको त्रासले वर्षौंको दौडान पनि मेरा सोचाइहरूलाई दबाउन सकेको छैन। जब म झ्यालखानामा बिताएका क्षणबारे सोच्छु तब यहोवाप्रति निष्ठावान्‌ भएर उहाँको नाउँको महिमा गरे वापत्‌ प्राप्त महान्‌ आनन्दले विभोर हुन्छु।—भजन १२४:६-८.

युद्धपछिका क्रियाकलापहरू

छुटकारापछि एम्स्टर्ड्‌याम फर्कें र मेरो कार्यभारबारे शाखा कार्यालयमा सीधै रिपोर्ट गरें। मेरो अनुपस्थितिमा के भयो त्यसको जानकारी प्राप्त गर्न म आतुर थिएँ। नोनी त्यहाँ पहिल्यैदेखि कार्यरत थिइन्‌। युद्धको अन्तिम वर्षको दौडान तिनी बाइबल साहित्यहरू मण्डलीहरूमा पुऱ्‍याउने सेवा गर्दैथिइन्‌। तिनी पुनः गिरफ्तार भएकी थिइनन्‌। यद्यपि, तिनी दर्जनौं पटक मुश्‍किलले फुत्केकी थिइन्‌।

मैले हार्लेममा केही समयसम्म अग्रगामी सेवा गरें। तर सन्‌ १९४६ मा मलाई ढुवानी विभागमा काम गर्न एम्स्टर्ड्‌यामस्थित शाखा कार्यालयमा बोलाइयो। सन्‌ १९४८ को अन्ततिर नोनी र मैले विवाह गऱ्‍यौं। सँगै अग्रगामी सेवा गर्ने उद्देश्‍य राखेर हामी दुवैले शाखा कार्यालय छाड्यौं। हामी अग्रगामी सेवा गर्न एसनमा खटियौं। बाह्र वर्षअघि त्यहाँ रिकार्ट ब्राउनिङ र मैले पालमा बसेर तथा प्रचार गरेर ग्रीष्मकालीन समय बिताएका थियौं। ब्राउनिङलाई यातना शिविरमा लाँदालाँदै गोली हानी हत्या गरेको कुरा त्यहाँ थाह पाएँ।

स्पष्टतः झ्यालखानामा बसेकोले मेरो स्वास्थ्य खराब भएको थियो। छ वर्षपछि बुकेन्वाल्ड झ्यालखानाबाट रिहाइ भएँ र चार महिनासम्म बिमारीको कारण बिछ्‌यौनामा परें। वर्षौंपछि सन्‌ १९५७ मा क्षयरोगले ग्रस्त भएँ। मेरो शरीर क्षीण भएर गए तापनि अग्रगामी गर्ने मनोवृत्ति भने अझै तीव्र थियो। बिरामी हुँदा पनि हर मौकामा साक्षी दिएँ। मलाई लाग्छ, त्यति बेला मलाई अल्छे बिरामी नबनाउने महत्त्वपूर्ण तत्त्व अग्रगामी मनोवृत्ति हो। स्वास्थ्यले भ्याएसम्म पूर्ण-समय सेवामा लागिरहन नोनी र मैले संकल्प गरेका छौं।

मेरो स्वास्थ्य लाभपछि हामी ब्रेडा शहरमा खटियौं। त्यही शहरमा मैले २१ वर्षअघि प्रान्तीय निरीक्षकको हैसियतमा भ्रमण गरेको थिएँ। सन्‌ १९५९ मा हामी त्यहाँ आउँदा ३४ प्रकाशकहरू भएको एउटा सानो मण्डली थियो। आज ३७ वर्षपछि त्यो सानो मण्डली बढेर छ मण्डलीहरू र ५०० साक्षीहरू भएका छन्‌ अनि तिनीहरू तीनवटा राज्यभवनमा भेला हुन्छन्‌। हाम्रा केही प्रयासहरूको परिणामस्वरूप बाइबल सच्चाइको ज्ञान स्वीकार्नेहरूलाई स्थानीय सभा र सम्मेलनहरूमा देख्छौं। प्रेरित यूहन्‍नाले झैं हामी बारम्बार यस्तो महसुस गर्छौं, जसले यसो लेखे: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।”—३ यूहन्‍ना ४.

अहिले हामी डाँडाको घाम भइसकेका छौं। मेरो उमेर ८६ र नोनीको उमेर ७८ पुगेको छ। तर अग्रगामी सेवा स्वास्थ्यकर पेशा हो भनेर मैले भन्‍नैपर्छ। ब्रेडामा बस्न थालेदेखि कैदको दौडान उब्जिएका स्वास्थ्य समस्याहरूबाट मुक्‍त भएको छु। यहोवाको सेवामा मैले धेरै फलदायी वर्षहरूको आनन्द पनि उठाएको छु।

फलदायी सेवाले भरिएका विगतका वर्षहरूलाई हेर्नु हामी दुवैको आनन्दको स्रोत भएको छ। एक मुठी सास छऊञ्जेल यहोवाको सेवा गरिरहन हामीलाई मनोवृत्ति र बल दिनुहोस्‌ भनी हामी सधैं उहाँलाई प्रार्थना गर्छौं। विश्‍वस्त भएर हामी भजनरचयिताका यी शब्दहरू व्यक्‍त गर्छौं: “हेर, परमेश्‍वर मेरा सहायक हुनुहुन्छ। परमप्रभु मेरो प्राण सह्‍माल्ने हुनुहुन्छ।”—भजन ५४:४.

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९३० को दशकमा अग्रगामी गर्दा प्रयोग गरेको पालको छेउमा उभिरहेको

[पृष्ठ २३-मा भएको चित्र]

दुर्गम क्षेत्रमा पुग्न प्रयोग गरेको डुंगा

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९५७ को अधिवेशन कार्यक्रममा अन्तरवार्ता दिंदा

[पृष्ठ २४-मा भएको चित्र]

मेरी पत्नीसित आज

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने