प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 २/८ pp. १२-१३
  • के तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सफल हुन मदतकारी तत्त्वहरू
  • मदतकारी साधनहरू
  • भाषामा पोख्त हुने
  • नयाँ भाषा सिक्न असम्भव छैन!
    ब्यूँझनुहोस्‌!—२००७
  • के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • “विदेशीहरू”-का छोराछोरीलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 २/८ pp. १२-१३

के तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ?

बेलाइतका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

“भन्‍न सजिलो, गर्न गाह्रो!” नयाँ भाषा सिक्न एक चोटि कोसिस गरिसकेका थुप्रैले प्रायजसो त्यसो भन्छन्‌। हो, नयाँ भाषा सिक्नु चुनौतीपूर्ण छ भन्‍नु मात्र पनि पर्याप्त नहोला। तर नयाँ भाषा सिक्न सफल भएकाहरूले यो प्रयास खेर जाँदैन भन्छन्‌।

नयाँ भाषा सिक्नुका विभिन्‍न कारणहरू छन्‌। उदाहरणका लागि, एन्ड्रुले फ्रान्समा बिदा मनाउने विचार गरे र तिनी त्यहाँका स्थानीय मानिसहरूसित त्यहाँकै भाषामा कुरा गर्न चाहन्थे। ग्वेडोको जन्म बेलाइतमा भएको थियो तर तिनको परिवारको पृष्ठभूमि इटालेली हो। तिनी भन्छन्‌, “मलाई त्यो भाषाबारे अलि अलि ज्ञान त थियो तर म फड्‌कारेर इटालेली भाषा बोल्न चाहन्थें।” हालै जोनाथनको भाइ अर्कै देशमा बसाइँ सरे र एउटी स्पेनी केटीसित विवाह गरे। जोनाथन भन्छन्‌: “भाइलाई भेट्‌न जाँदा म आफ्नो नयाँ नातेदारहरूसित तिनीहरूकै भाषामा बोल्न चाहन्थें।”

तर नयाँ भाषा सिक्नुको अन्य फाइदाहरू पनि हुनसक्छन्‌। लुइज भन्छिन्‌: “यसले मलाई समानुभूति देखाउन मदत गऱ्‍यो। विदेशीहरू बेग्लै भाषा बोल्ने नयाँ देशमा आउँदा कस्तो महसुस गर्छन्‌, अब म बुझ्छु।” पामेलाले त नयाँ भाषा सिक्दा व्यक्‍तिगत तवरमा लाभ उठाइन्‌। बेलाइतमा हुर्केकी पामेलालाई आफ्नो परिवारको चिनियाँ भाषा आउँदैनथ्यो। फलस्वरूप, पामेला र तिनको आमा झन्‌ झनै टाढा हुनथाल्यो। पामेला भन्छिन्‌: “हामीबीच त्यति कुराकानी नै हुँदैनथ्यो। तर अहिले चिनियाँ भाषा सिकेपछि हामी एकअर्काको नजिक हुनुका साथै सम्बन्ध पनि राम्रो भएको छ।”

सफल हुन मदतकारी तत्त्वहरू

नयाँ भाषा सिक्दा सफल हुन तपाईंलाई के चाहिन्छ? सफल भएका थुप्रैले निम्न कुरामा जोड दिन्छन्‌।

• प्रेरणा। आफ्नो लक्ष्य प्राप्त गर्न तपाईंलाई प्रेरणा अर्थात्‌ एउटा ठोस कारण चाहिन्छ। साधारणतया, लक्ष्य हासिल गर्ने कडा उत्प्रेरणा भएका विद्यार्थीहरूले राम्रो गर्छन्‌।

• नम्रता। आफूबाट बढी आशा नगर्नुहोस्‌, विशेष गरी सुरु सुरुतिर त गल्तीहरू भइहाल्छन्‌। आलिसन भन्छिन्‌, “मानिसहरू हाँस्छन्‌। तर मन नखुम्च्याउनुहोस्‌!” भ्यालेरी पनि यस कुरामा सहमत छिन्‌। तिनी भन्छिन्‌: “तपाईं भर्खर हिंड्‌न सकेको बच्चा जस्तै हो। तपाईं पटक पटक लड्‌नुहुनेछ तर उठेर फेरि हिंड्‌ने कोसिस गर्नुबाहेक अरू उपाय नै छैन।”

• धैर्य। डेभिड भन्छन्‌, “मलाई पहिलो दुई वर्ष त गाह्रो भयो र कहिलेकाहीं सिक्न छोडूँ जस्तो लाग्यो।” तैपनि तिनी यसो भन्छन्‌: “बिस्तारै बिस्तारै सजिलो हुँदो रहेछ!” जील पनि त्यस्तै महसुस गर्छिन्‌। तिनी भन्छिन्‌, “यसो हेर्दा त केही प्रगति नभएको जस्तो लाग्छ तर सुरु र अहिले कत्तिको फरक भयो भनेर हेऱ्‍यो भने प्रगति स्पष्ट हुन्छ।”

• अभ्यास। नियमित तवरमा अभ्यास गर्नुभयो भने नयाँ भाषा फरर्र बोल्न सक्नुहुनेछ। केही मिनेटको लागि भए पनि दिनहुँ अभ्यास गर्ने कोसिस गर्नुहोस्‌। एउटा पुस्तकले भनेझैं, “ ‘धेरै तर आकलझुकल’ भन्दा ‘कम तर नियमित’ अभ्यास गर्नु बेस हो।”

मदतकारी साधनहरू

के तपाईं नयाँ भाषा सिक्ने चुनौती स्वीकार्न तयार हुनुहुन्छ? त्यसो हो भने, निम्न साधनहरू तपाईंको प्रगतिको निम्ति मदतकारी हुनसक्छन्‌।

• स्मरण पत्ती। प्रत्येक पत्तीको एकापट्टि शब्द वा वाक्य हुन्छ र अर्कोपट्टि त्यसको अनुवाद हुन्छ। तपाईं बस्नुहुने ठाउँमा यो उपलब्ध छैन भने अलि बाक्लो कागतमा तपाईं आफै बनाउन सक्नुहुन्छ।

• सिकाउने श्रव्य तथा भिडियो क्यासेट। यसले तपाईंलाई बोलीचालीको सही भाषा सिक्न मदत गर्छ। उदाहरणका लागि, डेभिडले गाडी चलाउने बेला जापानी भाषाको आधारभूत कुराहरू पर्यटकहरूको निम्ति शब्दहरूको पुस्तकको श्रव्यक्यासेट सुनेर सिके।

• अन्तरक्रियात्मक कम्प्युटर प्रोग्राम। केही यस्ता प्रोग्रामहरूमा तपाईंले आफ्नो आवाज रेकर्ड गरेर स्थानीय भाषा बोल्ने मानिसहरूको उच्चारणसित आफ्नो उच्चारण तुलना गर्न सक्नुहुन्छ।

• रेडियो तथा टेलिभिजन। तपाईं बस्नुहुने ठाउँमा तपाईंले सिकिरहनुभएको भाषाको रेडियो अथवा टेलिभिजन कार्यक्रमहरू छन्‌ भने तपाईंले कति बुझ्नुहुन्छ भनेर जाँच गरे कसो होला?

• पत्रिका तथा पुस्तक। आफूले सिकिरहनुभएको भाषाका पत्रिकाहरू पढ्‌ने कोसिस गर्नुहोस्‌। तर तपाईंले पढ्‌नुहुने विषयवस्तु बुझ्न एकदम सजिलो वा एकदम गाह्रो पनि नहोस्‌।a

भाषामा पोख्त हुने

निस्सन्देह, तपाईंले एक न एक दिन आफूले सिकिरहनुभएको भाषा बोल्ने मानिसहरूसित कुरा गर्नैपर्छ। यसको लागि तपाईं त्यही देशमै जानुपर्छ भन्‍ने छैन। बरु, तपाईंको आफ्नै देशमा भएका यहोवाका साक्षीहरूको विदेशी भाषीका मण्डलीमा जान सक्नुहुन्छ।

तर जे होस्‌, तपाईंको लक्ष्य नयाँ भाषाका शब्द तथा वाक्यहरू तपाईंको मातृभाषाबाट उल्था गर्ने मात्र होइन, बरु नयाँ भाषामै सोच्ने हुनुपर्छ। सम्भवतः तपाईंले सिकिरहनुभएको भाषा बोल्ने मानिसहरूको चलन वा आनीबानीबारे केही सिक्ने कोसिस गर्नुभयो भने पनि मदतकारी हुनसक्छ। भाषाविद्‌ रबर्ट लेडो भन्छन्‌: “सिकिरहेको भाषाका मानिसहरूको चालचलन, आनीबानी केही पनि बुझ्नुभएको छैन भने साँच्चै भाषा सिकेको हुनेछैन।”

अन्तमा: तपाईंको प्रगति ढिला भइरहेको जस्तो लागेमा हतोत्साहित नहुनुहोस्‌। आखिरमा नयाँ भाषा सिक्नु भनेको कहिल्यै टुंगो नलाग्ने कुरा हो। बीस वर्षअघि सांकेतिक भाषा सिकेकी जील यसो भन्छिन्‌: “सिक्न अहिलेसम्म सिद्धिएको छैन। भाषा भन्‍ने कुरा त सधैं विकास भइरहन्छ।”

त्यसोभए के तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, सबैभन्दा चुनौतीपूर्ण तर अत्यन्तै इनामदायी काम आँट्‌न कम्मर कस्नुहोस्‌।

[फुटनोट]

a ब्यूँझनुहोस्‌! अहिले ८२ भाषामा उपलब्ध छन्‌ भने यसको सहपत्रिका प्रहरीधरहरा १३२ भाषामा प्रकाशित हुन्छन्‌। नयाँ भाषा सिक्दा थुप्रैले यी पत्रिकाहरूको स्पष्ट लेखाइ मदतकारी पाएका छन्‌।

[पृष्ठ १२, १३-मा भएको चित्र]

तपाईं आफ्नो शब्द भण्डार बढाउन चाहनुहुन्छ भने . .

. . .सिकिरहेको नयाँ भाषा आफ्नो मातृभाषासित तुलना गर्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने