प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 नोभेम्बर pp. ३-५
  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • घरधनीले अर्कै भाषा बोल्दा
    हाम्रो राज्य सेवकाई—२००८
  • हाम्रो सेवकाईमा निष्पक्षता दर्साउँनु
    हाम्रो राज्य सेवकाई—१९९३
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—बेग्लै भाषा बोल्ने मानिसलाई साक्षी दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 नोभेम्बर pp. ३-५

विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्नुहोस्‌

१. हामीलाई सुम्पिएको इलाकामा प्रचार गर्दा कस्तो अवसर आएको छ?

१ सारा संसारमा “सब जातिहरूलाई साक्षीको निम्ति” सुसमाचार प्रचार गरिनेछ भनेर येशू ख्रीष्टले भविष्यवाणी गर्नुभयो। प्रचार गर्ने र सिकाउने काममा भाग लिने हरेक राज्य सेवकको कानमा यी शब्दहरू गुञ्जिरहन्छ। (मत्ती २४:१४; २८:१९, २०) प्रचार गर्ने र चेला बनाउने काममा भाग लिंदा, हाम्रोभन्दा फरक भाषा बोल्ने विभिन्‍न राष्ट्रका मानिसहरू भेट्‌न सक्छौं। यिनीहरूले पनि यहोवाको महा र डरलाग्दो दिन आउनुअघि नै राज्य सन्देश सुन्‍ने र सत्यको लागि दृढ अडान लिने अवसर पाउनुपर्छ। (मला. ३:१८) हामीलाई सुम्पिएको इलाकामा हामी कसरी विदेशी भाषा बोल्नेहरूको क्षेत्र विकास गर्न सक्छौं?

२. अर्कै भाषा बोल्नेहरूसित कुराकानी गर्दा हामी कसरी यहोवाको अनुकरण गर्छौं?

२ अर्कै भाषा बोल्नेहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌: हाम्रो इलाकाका सबै मानिसप्रति निष्पक्ष भएर यहोवाको प्रेम झल्काउन मानिसहरू साँचो परमेश्‍वर यहोवाको सही ज्ञानमा आऊन्‌ भन्‍ने उत्कट इच्छा हामीमा हुनैपर्छ—चाहे उनीहरूको भाषा जुनसुकै होस्‌। (भज. ८३:१८; प्रेरि. १०:३४, ३५) हुन त हामी मुख्यतया आफ्नै मण्डलीको भाषा बोल्नेहरूलाई ध्यान दिन्छौं तर अर्कै भाषा बोल्ने व्यक्‍तिहरूको आवश्‍यकताप्रति पनि सजग हुँदै तिनीहरूलाई परमेश्‍वरको राज्यको सन्देश सुनाउने तरिकाहरू खोज्नैपर्छ। अर्कै भाषा बोल्ने मानिसहरूलाई बेवास्ता गर्नु, सबै जातिका मानिसहरूलाई साक्षी दिनुपर्ने यहोवाको उद्देश्‍यसित पटक्कै मेल खाँदैन। त्यसोभए हामी कसरी हाम्रोभन्दा फरक भाषा बोल्नेहरूलाई मदत गर्न सक्छौं?

३. हाम्रो लागि कुन उपयोगी पुस्तिका प्रबन्ध गरिएको छ र यसलाई प्रयोग गर्न हामी आफूलाई कसरी तयार राख्न सक्छौं?

३ गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ प्रयोग गर्नुहोस्‌: हाम्रोभन्दा फरक भाषा बोल्ने मानिसहरूलाई भेट्‌दा प्रयोगमा ल्याउन सकियोस्‌ भनेर यो पुस्तिका तयार पारिएको हो। यो पुस्तिका हर समय आफूसितै राख्नुहोस्‌, यसका विभिन्‍न भागसित परिचित हुनुहोस्‌ र यसलाई प्रयोग गर्न तम्तयार हुनुहोस्‌। छिट्टै भेट्टाउन सकियोस्‌ भनेर इलाकामा प्रयोग भएका भाषाहरूमा चिन्ह लगाउनुहोस्‌। यदि साहित्यहरू यी भाषामा उपलब्ध छन्‌ भने यस पुस्तिकामा दिइएको सन्देश प्रयोग गरेपछि उक्‍त व्यक्‍तिलाई दिनको लागि केही साहित्य बोक्नु व्यावहारिक हुन सक्छ।

४. नेसन्स्‌ पुस्तिका हाम्रो प्रचारकार्यमा कसरी प्रयोग गर्न सकिन्छ?

४ यदि तपाईंले प्रचारकार्यमा अर्कै भाषा बोल्ने मानिस भेट्‌नुभयो तर तिनको भाषाचाहिं ठम्याउन सक्नुभएन भने यस पुस्तिकाको आवरण पृष्ठ देखाएर प्रस्तुति सुरु गर्नुहोस्‌। त्यसपछि आफूतर्फ संकेत गर्दै आफू बस्ने देश बताउनुहोस्‌। अनि घरधनी कुन देशका हुन्‌ र कुन भाषा बोल्छन्‌, त्यसबारे आफूले जान्‍न चाहेको कुरा संकेत गर्नुहोस्‌। तिनको भाषा पत्ता लागेपछि पुस्तिकाको विषयसूची खोल्नुहोस्‌, पृष्ठ संख्या हेर्नुहोस्‌, पुस्तिकाको सिरानमा भएको मोटो अक्षरमा लेखिएको वाक्यतर्फ घरधनीको ध्यान खिच्नुहोस्‌ र घरधनीले त्यहाँ दिइएको सन्देश पढिदिएको तपाईं चाहनुहुन्छ भनेर संकेत गर्नुहोस्‌। तिनले पढेर सिध्याएपछि तिनको भाषाको पर्चा दिनुहोस्‌ वा खरानी रंगले ढाकेको वाक्यतर्फ संकेत गर्नुहोस्‌ जहाँ तपाईं तिनकै भाषाको प्रकाशन ल्याइदिन खुसी हुनुहुन्छ भनेर लेखिएको छ। त्यसपछि “मेरो नाउँ” भनेर मोटो अक्षरमा लेखिएको वाक्यांश देखाउनुहोस्‌ र स्पष्टसँग आफ्नो नाउँ भन्‍नुहोस्‌। अनि “तपाईंको नाउँ” भनेर मोटो अक्षरमा लेखिएको वाक्यांश देखाउनुहोस्‌ र घरधनीको जवाफ पर्खनुहोस्‌। पुनःभेटको लागि निश्‍चित प्रबन्ध मिलाउनुहोस्‌।

५. अर्कै भाषा बोल्ने कसैले चासो देखाएमा तिनीहरूलाई थप मदत गर्न के गर्नुपर्छ?

५ फेरि भेट्‌ने प्रबन्ध: मानिसहरूले जुनसुकै भाषा बोलुन्‌, राज्य सन्देशप्रति चासो देखाएकाहरूलाई फेरि भेट्‌ने हर प्रयास गर्नैपर्छ। उक्‍त व्यक्‍तिमा परमेश्‍वर र उहाँको वचन बाइबलप्रति चासो छ भनेर पक्का भएपछि ती व्यक्‍तिलाई तिनकै भाषा बोल्ने कसैले भेट्‌न सकून्‌ भनेर प्लीज फलो अप (S-43) फाराम भर्नुपर्छ र शाखा कार्यालयमा बुझाउन तुरुन्तै मण्डलीको सचिवलाई दिनुपर्छ। त्यसपछि शाखा कार्यालयले उक्‍त फाराम सम्बन्धित भाषाको समूहलाई पठाउनेछ। यसलाई प्राप्त गरेपछि ढिलासुस्ती नगरी उक्‍त व्यक्‍तिलाई भेटिहाल्नुपर्छ। खास भाषा समूहले देखाएको चासोबारे सेवा निरीक्षकलाई जानकारी होस्‌ भनेर सचिवले उक्‍त फारामको नकल सेवा निरीक्षकलाई पनि उपलब्ध गराउन सक्छन्‌। कुनै व्यक्‍तिले साँच्चै चासो देखाएको खण्डमा मात्र यो फाराम प्रयोग गर्नुपर्छ।

६. चासो देखाउने अर्कै भाषा बोल्ने मानिस भेट्‌दा हाम्रो जिम्मेवारी कस्तो हुन्छ?

६ S-43 फाराम बुझाएको समयदेखि चासो देखाएका उक्‍त व्यक्‍तिलाई तिनकै भाषा बोल्ने प्रकाशकले नभेटुन्जेल केही समय बित्न सक्छ। त्यसकारण उक्‍त व्यक्‍तिलाई तिनकै भाषा बोल्ने प्रकाशकले नभेटुन्जेल चासो कायमै राख्न, S-43 फाराम बुझाएको प्रकाशकले नै तिनलाई भेटिरहन सक्छन्‌। केही अवस्थामा चासो देखाउने व्यक्‍तिसित बाइबल अध्ययन पनि गर्न सकिन्छ। तथापि, अरू कसैले तिनलाई नभेटेसम्म तिनले बोल्ने भाषाको साहित्यहरू प्रकाशकले कसरी प्राप्त गर्न सक्छन्‌?

७. हामीले भेट्‌न सक्ने मानिसहरूकै भाषामा साहित्य प्राप्त गर्ने कस्तो प्रबन्ध छ?

७ अन्य भाषाका साहित्य: मण्डलीले अन्य भाषाका साहित्य ठूलो मात्रामा स्टक राख्नुहुँदैन। तथापि, कुनै भाषा समूहका मानिसहरूले सत्यप्रति चासो देखाउँदै गरेको सेवा निरीक्षकले निर्क्यौल गरेमा उचित मात्रामा उक्‍त भाषाको साहित्य प्रकाशकहरूको प्रयोगको लागि स्टकमा राख्न सकिन्छ। यदि मण्डलीमा साहित्य उपलब्ध छैन भने मगाउन सकिन्छ। निश्‍चित भाषाको साहित्य आउन केही समय लाग्न सक्छ। त्यसकारण www.watchtower.org वेब साइटबाट साहित्य छाप्न सक्ने प्रबन्ध मिलाइएको छ। यस वेब साइटमा, थुप्रै प्रकाशन सयौं भाषामा उपलब्ध छन्‌ जसलाई प्रकाशक तथा जिज्ञासु व्यक्‍तिले तुरुन्तै पाउन सक्छन्‌। अर्कै भाषा बोल्नेहरूको चासो बढाउन यो प्रबन्ध उपयोगी साबित हुनेछ भन्‍ने कुरामा कुनै शंका छैन।

८. अर्कै भाषा बोल्नेहरूको चासो बढाउन मण्डलीले कस्तो भूमिका खेल्छ?

८ मण्डलीको भूमिका: विदेशी भाषा बोल्नेहरूको जमात बढ्‌दै गएको कुनै-कुनै अवस्थामा त्यही भाषामा सभाहरू सञ्चालन गर्ने मण्डली नजिकै नहुन सक्छ। त्यस्तो अवस्थामा अर्कै भाषा बोल्ने जिज्ञासु व्यक्‍तिलाई तपाईंको सभामा उपस्थित हुन निम्तो दिनुपर्छ। तिनीहरूलाई न्यानो स्वागत गर्दा र व्यक्‍तिगत चासो देखाउँदा नियमित रूपमा संगत गर्न प्रोत्साहन मिल्न सक्छ। सुरुमा त भाषिक र सांस्कृतिक तगारो उत्पन्‍न हुन सक्छ; तैपनि यहोवाका साक्षीहरूको विश्‍वव्यपी भाइचारामा साँचो ख्रीष्टियान प्रेम देखाउन केही कुराले बाधा दिंदैन। (सप. ३:९; यूह. १३:३५) के तपाईं अर्को भाषा फरर्र बोल्नुहुन्छ? बोल्नुहुन्छ र त्यस भाषा बोल्ने व्यक्‍तिलाई भेटेर तिनकै भाषामा कुराकानी गर्न इच्छुक हुनुहुन्छ भने कृपया आफ्नो मण्डलीको सचिवलाई जानकारी दिनुहोस्‌। यसो गर्दा उक्‍त जानकारी शाखा कार्यालयलाई दिन सकिन्छ। चासो बढाउन मदत दिने कुनै प्रकाशकको पर्खाइमा बसिरहेको बेला शाखा कार्यालयको लागि यो मदतकारी हुनेछ।

९. प्रकाशकहरूका लागि भाषा सिक्ने कक्षा कहिले मदतकारी हुन सक्छ र यसको प्रबन्ध कसरी मिलाइन्छ?

९ भाषा सिक्ने: अर्कै भाषा बोल्नेहरूलाई मदत गर्दा व्यावहारिक रूपमा सम्भव भएसम्म उनीहरूकै भाषाको मण्डलीमा उपस्थित हुन प्रोत्साहन दिनु बेस हुन्छ। तर यो सम्भव छैन भने केही प्रकाशकले त्यो भाषा सिक्ने निर्णय गर्न सक्छन्‌ जसले गर्दा चासो दिनेहरूलाई अझ राम्ररी मदत दिन सक्नेछन्‌। नजिकै कुनै मण्डली छैन भने शाखा कार्यालयलाई ठूलो संख्याका आप्रवासी वा स्वदेशीहरूका लागि भाषा कक्षा सञ्चालन गर्नु मदतकारी लाग्न सक्छ। यस्तो अवस्थामा शाखा कार्यालयले नजिकैका मण्डलीहरूलाई तत्कालको आवश्‍यकताबारे जानकारी गराउन सक्छ र भाषा कक्षाबारे घोषणा गर्ने प्रबन्ध मिलाउन सक्छ। भाषा कक्षामा उपस्थित हुन निवेदन दिनेहरूको लक्ष्य त्यस भाषा बोल्नेहरूको क्षेत्र विकास गर्न उक्‍त समूह वा मण्डलीमा सर्ने हुनु पर्छ।

१०. विदेशी भाषाको समूह कहिले गठन हुन सक्छ र यो कसरी निर्धारण गरिन्छ?

१० समूह गठन प्रक्रिया: कुनै खास भाषाको समूह गठनको लागि चार आधारभूत आवश्‍यकता पूरा भएको हुनैपर्छ: (१) त्यहाँका मानिसहरूमा प्रशस्त चासो हुनुपर्छ र त्यस भाषा समूहको वृद्धि हुने सम्भावना देखिनुपर्छ। (२) केही प्रकाशकले त्यो भाषा जानेको हुनुपर्छ वा सिक्दै गरेको हुनुपर्छ। (३) नेतृत्व लिन सक्ने र कम्तीमा पनि कुनै एउटा साप्ताहिक सभा त्यही भाषामा सञ्चालन गर्न सक्ने योग्य प्राचीन वा सेवकाई सेवक हुनुपर्छ। (४) प्राचीनहरूको निकाय त्यो समूह आयोजना गर्न इच्छुक हुनुपर्छ। यी आवश्‍यकताहरू व्यावहारिक हदसम्म पूरा गरेपछि प्राचीनहरूको निकायले उक्‍त समूहको विवरणबारे शाखा कार्यालयलाई पत्र लेख्नेछन्‌, जसमा विदेशी भाषाको समूह आयोजना गर्ने मण्डलीको रूपमा उनीहरूले औपचारिक मान्यताको लागि आग्रह गर्नेछन्‌। ( हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००७, पृष्ठ ९ हेर्नुहोस्‌) नेतृत्व लिइरहेका प्राचीन वा सेवकाई सेवकलाई “समूह निरीक्षक” वा “समूह सेवक” भनिनेछ। तिनीहरू त्यस समूहको हेरविचार गर्न जिम्मेवार हुनेछन्‌।

११. हामीलाई सुम्पिएको इलाकामा विदेशी भाषाको क्षेत्र विकास गर्नु किन सम्मानको कुरा हो?

११ हामीलाई सुम्पिएको इलाकामा विदेशी भाषाको क्षेत्र विकास गर्नु हाम्रो उदाहरण येशू ख्रीष्टले सुरु गर्नुभएको विश्‍वव्यापी प्रचार अभियानको एउटा महत्त्वपूर्ण भाग हो। हामी आफ्नोतर्फबाट जोसका साथ आफ्नो भूमिका निर्वाह गरौं र यहोवाले जातिहरूलाई हल्लाएर उहाँका धनसम्पत्तिहरू कसरी जम्मा गर्नुहुनेछ हेरौं। (हाग्गै २:७) यस काममा पूरापूर भाग लिनु कत्ति सन्तोषजनक! आ-आफ्नो मण्डलीको इलाकामा विदेशी भाषाको क्षेत्र विकास गर्न हामीले गर्ने संयुक्‍त प्रयासमा यहोवाले हामीलाई आशिष्‌ देऊन्‌। मानव भाषाको तगारोको बाबजुद परमेश्‍वरले बढाउन सक्नुहुन्छ भनी सधैं सम्झौं।—१ कोरि. ३:६-९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने