मध्यकालीन युरोपमा फैलिएको महाविपत्ति—ब्ल्याक् डेथ
फ्रान्सका ब्यूँझनुहोस्! संवाददाताद्वारा
सन् १३४७ को कुरा हो। यस महामारीले एसियामा उत्पात मच्चाइसकेको थियो। अब यो युरोपको पूर्वी सीमासम्म पुगिसकेको थियो।
मंगोलहरूले क्राइमियामा अहिले फियोडोसे भनिने काँफा इलाकाको व्यापारिक केन्द्र, जेनोआलाई कब्जा गरिरहेका थिए। तर एउटा रहस्यमय रोगले गर्दा मंगोलहरूको संख्या घटिरहेको हुँदा तिनीहरू फर्के। तर फर्कनुअघि तिनीहरूले एउटा अत्यन्तै खतरनाक काम गरे। बडेमाका घुयेंत्रोहरू प्रयोग गरेर तिनीहरूले यस रोगबाट मरेका मानिसहरूको आलो लास शहरको पर्खालभित्र फालिदिए। अब महामारीले ग्रस्त त्यस शहरबाट भाग्न जहाज चढेर गएका केही जेनोआली रक्षकहरू जहाँ जहाँ गए, त्यहाँ त्यहाँ रोग फैलाए।
केही महिनामै युरोपभरि मर्नेहरूको संख्या छ्यासछ्यासती हुन थाल्यो। यो रोग उत्तरी अफ्रिका, इटाली, स्पेन, बेलाइत, फ्रान्स, अस्ट्रिया, हंगेरी, स्वीट्जरल्याण्ड, जर्मनी, स्क्यान्डेनेभिया र बाल्टिक क्षेत्रहरूमा फैलिन धेरै समय लागेन। अनि लगभग दुई वर्षभित्रै युरोपको एक चौथाइभन्दा बढी जनसंख्या अर्थात् २.५ करोड मानिसहरू “मानवजातिलाई अहिलेसम्म थाह भएको सबैभन्दा क्रूर जनसांख्यिक विपत्तिको” सिकार भए। त्यो विपत्ति थियो, ब्ल्याक् डेथ।a
विपत्तिको निम्ति आधार
ब्ल्याक् डेथको संकट रोग मात्र थिएन। यस रोग चर्किनुमा अन्य थुप्रै कारण थिए। एउटा कारण थियो, धर्मप्रतिको जोस। जस्तै, पापमोचनको धर्मसिद्धान्तलाई विचार गर्नुहोस्। फ्रान्सेली इतिहासकार झाँक ले गोंफको भनाइअनुसार “१३ औं शताब्दीको अन्तसम्ममा पापमोचनको धर्मसिद्धान्त संसारभरि व्याप्त भइसकेको थियो।” अनि १४ औं शताब्दीको सुरुतिर डान्टेले आफ्नो प्रख्यात पुस्तक द डिभाइन कमिडी-मा नरक र पापमोचन स्थानको सजीव व्याख्या गरे। यसले गर्दा मानिसहरूले यो रोग परमेश्वरले दिनुभएको दण्ड ठानेर भावशून्यताका साथ सजिलै स्वीकार्ने धार्मिक वातावरण सृजना भयो। यस्तै निराशावादी विचारधाराले यो रोग अझ बढी फैलिएको रहेछ भनेर थाह पाउनेछौं। फिलिप जिग्लरले लेखेका द ब्ल्याक् डेथ नामक पुस्तकमा यस्तो टिप्पणी गरिएको छ: “रोग फैलिनको लागि योभन्दा राम्रो वातावरण अरू कुनै हुन सक्दैनथ्यो।”
अनि त्यसमाथि, युरोपमा वर्षौंपछि फसल राम्रो नभएको समस्या पनि थियो। फलस्वरूप, त्यस महादेशका बढ्दो जनसंख्या कुपोषित थियो र त्यसैले तिनीहरूसित रोग प्रतिरोध गर्ने क्षमता थिएन।
रोग फैलिन्छ
पोप क्लेमेन्ट छैठौंका निजी चिकित्सक गी द शोंल्याकका अनुसार युरोप दुई प्रकारको महामारीले पीडित भयो: निमोनिक र बुबोनिक। तिनले सजीव ढंगमा यी रोगहरूबारे व्याख्या गरे। तिनले यस्तो लेखे: “पहिलो महामारी दुई महिनासम्म रह्यो। यो महामारीबाट पीडित हुँदा लगातार ज्वरो आइरहनुका साथै रगत बान्ता हुन्छ र तीन दिन भित्रै मृत्यु हुन्छ। दोस्रोचाहिं महामारीको अवधिभरि नै रह्यो। यसबाट पीडित हुँदाचाहिं लगातार ज्वरो आइरहनुका साथै शरीरको बाहिरी भाग विशेष गरी काखी र जाँघमा खटिरा आउने र पीप जम्ने हुन्छ। यसबाट पीडित व्यक्तिको पाँच दिनमा मृत्यु हुन्थ्यो।” डाक्टरहरूले यस महामारी रोक्न केही गर्न सकेनन्।
हजारौं पीडित मानिसहरूलाई छोडेर थुप्रै मानिसहरू त्रसित हुँदै भागे। निस्सन्देह, सुरुमा भाग्नेहरू धनीमानी तथा पेशेवरहरू थिए। त्यसै गरी केही पादरीहरू भागे तापनि थुप्रैचाहिं संक्रमणबाट बच्ने आशामा चर्चहरूमै लुकेर बसे।
यस्तो त्रास मच्चिरहेकै बेला पोपले १३५० लाई पवित्र वर्षको रूपमा घोषणा गरे। रोम जाने तीर्थयात्रीहरूले पापमोचन स्थान नगई सीधै प्रमोदवनमा प्रवेश गर्न पाउने भयो! हजारौं मानिसहरूले तीर्थयात्रा गरे जसले गर्दा तिनीहरूले यात्रा गरेका सबै ठाउँमा रोग फैलियो।
निरर्थक प्रयास
ब्ल्याक् डेथ रोकथाम गर्न गरिएको प्रयास सबै निरर्थक भयो किनभने कसैलाई पनि यो रोग वास्तवमा कसरी सर्छ भनेर थाह थिएन। तर थुप्रैले के कुरा थाह पाए भने, रोगीसित हेलमेल गर्नु वा तिनको लुगा छुनुसमेत खतरनाक हुन्छ। कोही कोही त रोगीसित आँखा जुधाउन समेत डराउँथे! तथापि, इटाली फ्लोरेन्सका बासिन्दाहरूले कुकुर तथा बिरालोलाई यस महामारीको दोषी ठहऱ्याए। तिनीहरूले ती जनावरहरू मारे तर वास्तवमा त्यसो गरेर रोग फैलाउने प्राणी, मुसालाई चाहिं तिनीहरूले स्वतन्त्रै छोडिरहेका थिए।
मर्नेहरूको संख्या बढ्दै जाँदा कसै कसैले परमेश्वरलाई गुहारे। महिला तथा पुरुषहरूले परमेश्वरले तिनीहरूलाई रोगबाट बचाउनुहुन्छ वा तिनीहरूको मृत्यु भइहाले तापनि केही नभए पनि स्वर्गीय जीवनको इनाम दिनुहुनेछ भन्ने आशामा आफ्नो सर्वस्व चर्चलाई चढाए। यसले गर्दा चर्च असाध्यै धनी भयो। शुभ शकुनका चीज, ख्रीष्टको मूर्ति, जन्तरहरू पनि निकै लोकप्रिय भए। अरूचाहिं उपचारको निम्ति अन्धविश्वास, जादुगरी र कृत्रिम ओखतीतिर लाग्न थाले। अत्तर, भिनेगर र विशेष झोल पदार्थहरूले रोग भगाउँछ भन्ने हल्ला फिंजियो। रगत बगाउनु पनि अर्को लोकप्रिय उपचार हुन थाल्यो। पेरिस विश्वविद्यालयको चिकित्सा संकायले त महामारीको दोष ग्रहहरूको स्थानलाई समेत लगाए! तथापि, यस्तो झूटो स्पष्टिकरण र “उपचारहरूले” यस घातक महामारी फैलिनदेखि रोक्न सकेन।
चिरकालीन प्रभाव
पाँच वर्षपछि बल्ल ब्ल्याक् डेथ अन्त हुन लागेजस्तो देखियो। तर शताब्दीको अन्त हुनुअघि कम्तीमा पनि पुनः चार चोटि त्यो महामारी देखा पर्नेथियो। तसर्थ, ब्ल्याक् डेथका प्रभावहरूलाई प्रथम विश्वयुद्धसित तुलना गरिएको छ। सन् १९९६ मा प्रकाशित द ब्ल्याक् डेथ इन इंग्ल्याण्ड नामक पुस्तकमा यस्तो टिप्पणी गरिएको छ: “यस महामारीको आगमनले अर्थतन्त्र र समाज दुवैमा १३४८ पछि व्यापक तवरमा असर गऱ्यो भनी आधुनिक इतिहासकारहरू पूर्णतया सहमत छन्।” महामारीको कारण धेरै जनसंख्या स्वाहा भयो र शताब्दीयौं पछिसम्म पनि थुप्रै इलाकाहरूमा यसको प्रभाव हटिसकेको थिएन। कामदारहरू कम भएपछि स्वाभाविकतः श्रम ज्याला बढ्यो। एक समय धनी जमिनदारहरू टाट पल्टे र मध्ययुगको चिनारी, सामन्ती व्यवस्था समेत नामोनिसानै नहुने गरी हरायो।
अतः महामारी राजनैतिक, धार्मिक र सामाजिक परिवर्तनको निम्ति उत्प्रेरणा साबित भयो। महामारीअघि सामान्यतया बेलाइतका शिक्षित वर्ग फ्रान्सिसी भाषा बोल्थे। तर थुप्रै फ्रान्सेली भाषी शिक्षकहरूको मृत्यु हुन गएकोले बेलाइतमा फ्रान्सेली भाषाभन्दा अंग्रेजी भाषाको बाहुल्यता हुन थाल्यो। धार्मिक क्षेत्रमा पनि परिवर्तनहरू भए। फ्रान्सेसी इतिहासकार झाँक्व्लेन ब्रोसोलेअनुसार पादरीको निम्ति उम्मेदवार कम भएकोले “चर्चले अक्सर अनपढ, भावशून्य मानिसहरू स्वीकाऱ्यो।” ब्रोसोले अझ भन्छन्, “सिक्ने र विश्वासको केन्द्र [चर्चहरूको] यस्तो अवनति पनि सुधारवादको सुरुआतको एउटा कारण हो।”
ब्ल्याक् डेथको प्रभाव कला क्षेत्रमा पनि निश्चय नै पऱ्यो। मृत्यु नै विभिन्न कलाको सामान्य विषय भयो। सामान्यतया, अस्थिपञ्जर र लासले प्रतिनिधित्व गर्ने प्रख्यात दँस माकाबार कला, मृत्युको शक्ति बुझाउन लोकप्रिय प्रतीक हुनथाल्यो। भविष्यबारे अनिश्चित भएको कारण महामारीबाट बच्ने धेरैजसो मानिसहरू नैतिक तवरमा छाडा हुनथाले। तसर्थ, नैतिक अवस्था तीव्र रूपले ह्रास हुँदै गयो। ब्ल्याक् डेथ रोकथाम गर्न चर्चचाहिं असमर्थ भएको कारण “मध्य युगका मानिसहरूले, चर्चले तिनीहरूको अवहेलना गरेको महसुस गरे।” (द ब्ल्याक् डेथ) कोही कोही इतिहासकारअनुसार ब्ल्याक् डेथ महामारीपछि समाजमा मपाईं प्रवृत्ति, उद्योगधन्दा र सामाजिक तथा आर्थिक गतिशीलता बढ्यो र यो नै पुँजीवादको निम्ति अग्रदूत भयो।
ब्ल्याक् डेथको कारण सरकारहरू पनि सरसफाइको राम्रो व्यवस्था गर्न जुरमुरिए। महामारी कम भएपछि भिनसका शहरका सडकहरू सफा गर्न कदम चालियो। गुड भनिने फ्रान्सका राजा जोन द्वितीयले पनि महामारीको खतराबाट बच्न फ्रान्सका सडकहरू सफा गर्ने आदेश दिए। पुरातन ग्रीसमा एक जना डाक्टरले एथेन्सलाई महामारीबाट बचाउन सडकहरू सफा गरेको कुरा थाह पाएपछि तिनले पनि यो कदम चालेका थिए। मध्ययुगका सडकहरूमा खुला बग्ने थुप्रै ढलहरू अन्ततः सफा हुनथाले।
उहिलेको कुरा?
सन् १८९४ मा मात्र फ्रान्सेली जीवाणुविद् आलेक्जान्ड्रा यार्सांले ब्ल्याक् डेथ जीवाणुले गर्दा भएको हो भनेर पत्ता लगाउन सफल भए। तिनकै नाउँबाट त्यस जीवाणुको यार्सांनिय पेस्टिस नामाकरण गरियो। चार वर्षपछि अर्का एक फ्रान्सेली पल लूइ सिमोंले यस रोग फैलाउनमा (मुसामा हुने) उपियाँको पनि भूमिका छ भनी पत्ता लगाए। चाँडै यसको खोप विकास गरियो र यो केही हदसम्म मात्र सफल भयो।
के महामारी विगतको कुरा हो? अहँ, होइन। मानचुरिया प्रान्तमा १९१० को जाडोमा झन्डै ५०,००० मानिस महामारीको कारण मरे। अनि वर्षेनी विश्व स्वास्थ्य संघले हजारौं नयाँ बिरामीहरूको रिपोर्ट गर्छ। संख्या बढ्दै छ। अनि औषधीले छुन नसकेको यही रोगको नयाँ प्रकार पनि देखिन थालेको छ। हो, आधारभूत सरसफाइ नगरेसम्म महामारी मानिसजातिको निम्ति खतरा नै हुनेछ। झाँक्व्लेन ब्रोसोले र अन्री मोलारद्वारा संशोधित पुर्क्वा ला पेस्ट? ल रा, ला प्युस ए ल ब्युबो नामक पुस्तक (किन महामारी? मुसा, उपियाँ अनि बुबो) अन्तमा यस्तो भन्छ, “दुःखको कुरा यो महामारी मध्ययुगको युरोपको रोग हुनुको सट्टा . . . सायद भविष्यको रोग पनि हुनसक्छ।”
[फुटनोट]
a त्यतिबेलाका मानिसहरूले यसलाई महामारी वा संक्रामक रोग भन्ने गर्थे।
[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वरले रोगबाट बचाउनुहुनेछ भन्ने आशामा पुरुष तथा स्त्रीहरूले आफ्नो सर्वस्व चर्चलाई चढाए
[पृष्ठ १८-मा भएको पेटी/चित्र]
पापमोचनका लागि आफैले आफैलाई पिट्ने गुट
महामारी परमेश्वरबाट दण्ड हो भन्ने विचार राख्दै कसै कसैले परमेश्वरको रिस साम्य पार्न आफैले आफैलाई पिट्ने गर्थे। ब्ल्याक् डेथ महामारी फैंलदा आठ लाखभन्दा बढी मानिसहरू भएको यी आफैले आफैलाई पिट्ने ब्रदरहुड अफ फ्लागिलेन्ट् भनिने गुटको लोकप्रियता चरमसीमामा पुगेको थियो। यस गुटको नियमअनुसार स्वास्नीमानिसहरूसित कुरा गर्न, लुगा धुन वा फेर्न हुँदैन थियो। सार्वजनिक स्थानमा दिनको दुई चोटि आफूले आफैलाई पिट्ने गरिन्थ्यो।
“डरले त्रसित मानिसहरूको निम्ति डर मुक्त हुने एउटा तरिका आफैले आफैलाई पिट्नु थियो” भनी मेडिभियल हेरेसे नामक पुस्तक टिप्पणी गर्छ। यी फ्लागिलेन्ट्हरूले चर्चको धर्मतन्त्रको र क्षमा पाउन धेरै खर्च गर्नुपर्ने व्यवहारको पनि अति विरोध गर्थे। अतः पोपले १३४९ मा यस गुटको निन्दा गर्नु कुनै छक्क लाग्दो कुरा होइन। तर ब्ल्याक् डेथको अन्तपछि यो गुट आफै हराएर गयो।
[चित्र]
फ्लागिलेन्ट्हरूले परमेश्वरको रिस साम्य पार्ने कोसिस गरे
[स्रोत]
© Bibliothèque Royale de Belgique, Bruxelles
[पृष्ठ १९-मा भएको चित्र]
फ्रान्सको मेर्सेमा महामारी
[स्रोत]
© Cliché Bibliothèque Nationale de France, Paris
[पृष्ठ १९-मा भएको चित्र]
आलेक्जान्ड्रा यार्सांले महामारी फैलाउने जीवाणु पत्ता लगाए
[स्रोत]
Culver Pictures