विश्वदर्शन
स्फूर्तिदायी झप्की
दिउँसो झपझप निद्रा लाग्दा निद्रा भगाउन कफी पिउनु फाइदाजनक होइन भनी द न्यु योर्क टाइम्स बताउँछ। कर्नेल विश्वविद्यालयका निद्रा विशेषज्ञ डा. जेम्स मास यसो भन्छन्, “कफी पिएपछि थकाइ लाग्छ। निद्राको कमीलाई अप्राकृतिक साधनहरूले क्षतिपूर्ति गर्न सक्दैन।” मास कफी पिउनुको साटो एकछिन झप्की लिने सल्लाह दिन्छन् किनभने तिनको विचारमा “त्यसो गर्दा सानातिना कुरा पनि ध्यान दिएर सुन्न र अत्यावश्यक निर्णयहरू गर्न मदत मिल्छ।” दिउँसो लगभग ३० मिनेटको लागि झप्की लिंदा स्फूर्ति प्राप्त हुनुका साथै निद्राबाट ब्यूँझन गाह्रो हुँदैन अनि रातको निद्रा पनि गोलमाल गर्दैन भनी टाइम्स टिप्पणी गर्छ। मास अझ यसो भन्छन्, “झप्की लिनुप्रति नकारात्मक दृष्टिकोण राख्नु ठीक होइन। यसलाई दैनिक व्यायाम जत्तिकै महत्त्वपूर्ण ठान्नुपर्छ।”
चलचित्र र चर्च
“किशोरकिशोरीहरू परम्परागत चर्चबाट भन्दा टर्मिनेटर टु, टाइटानिक र स्टार वर्स जस्ता चलचित्रहरूबाट बढी धार्मिक अनुभव प्राप्त गरेको महसुस गर्छन्” भनी लण्डनको अखबार दी इन्डिपेन्डेन्ट बताउँछ। कोलोराडो विश्वविद्यालयका आमसञ्चार अनुसन्धान केन्द्रका डा. लिन क्लार्कले कुन चलचित्र तिनीहरूको धार्मिक विश्वाससित मिल्दोजुल्दो थियो भनी २०० जना जवानहरूसित सोधे। थुप्रैले टर्मिनेटर टु भने किनभने यसमा असल र खराबबीचको द्वन्द्व चित्रण गरिएको छ अनि यसको प्रमुख पात्रले मसीहरूपी बालकलाई बचाउँछन्। स्कटल्याण्डको एडिनबरमा आयोजना गरिएको सम्मेलनमा डा. क्लार्कले अन्तमा यसो भने: “जवान मानिसहरू जीवनसम्बन्धी प्रश्नहरूको जवाफ पाउन डार्थ भेडर र एक्स-फाइल्स-का मुख ताकिरहेका छन्। एक्स-फाइल्स मन पर्नुको कारण यसमा एउटा अज्ञात शक्तिले ब्रह्माण्डलाई नियन्त्रण गरिरहेको छजस्तो देखाइनु हो। विज्ञानले अझै बताउन नसकेका कुराहरू पनि छन् भनेर यसले देखाउँछ। यो धर्मसित सम्बन्धित प्रश्न हो तर धर्मले त्यसको जवाफ दिने प्रयास गरेको छैन।”
भेडाको जीउमा कपास?
जवान किसानहरूको युरोपेली निकायले हालै गरेको सर्वेक्षणअनुसार “[युरोपियन युनियनका] ५० प्रतिशत केटाकेटीहरूलाई चिनी कसरी बन्छ भनेर थाह छैन, पचहत्तर प्रतिशतलाई . . . कपास कहाँ उम्रन्छ भनेर थाह छैन र यसमध्ये २५ प्रतिशतले भेडाको जीउमा कपास उम्रन्छ भन्ठान्छन्।” साथै, बेलाइत र नेदरल्याण्ड्सका नौ/दश वर्षका केटाकेटीहरू सुन्तला र जैतुन आफ्नै देशमा फल्छ भन्ठान्छन्। केटाकेटीहरूले यस्ता उत्पादनहरू खेतमा होइन तर सुपरमार्केटमा मात्र देखेका हुन्छन् र कृषिबारे मुख्यतः स्कूलमा सिक्छन्। हुनसक्छ, यसैकारण थुप्रै युरोपेली केटाकेटीहरू खेतीपातीलाई आफ्नो पेसा बनाउन चाहँदैनन्। उक्त निकाय भन्छ, “औसतमा हेर्दा युरोपियन निकायका १० प्रतिशत केटाकेटी मात्र भविष्यमा ‘साँच्चै’ किसान बन्न चाहन्छन्।”
हात्ती “चित्रकार”
भारतको ओट्टापलाम भन्ने ठाउँमा छावाहरूलाई सुँडले बुरुस समाएर चित्रहरू कोर्न सिकाइन्छ। संरक्षकहरूले हात्तीहरूले बनाएका चित्रहरू बेचेर हात्तीको संरक्षण गर्न एसियन एलफेन्ट आर्ट एण्ड कन्जर्भेशन प्रोजेक्ट खडा गरेका छन् भनी दी इन्डियन एक्स्प्रेस-को रिपोर्ट बताउँछ। छ वर्षीय दाह्रावाल गनेसनलाई यस्तो “कलात्मक” कृति कोर्न रमाइलो लाग्छ जस्तो देखिन्छ। उसको चित्र कोर्ने मुड हुँदा कान हल्लाउँछ र आफ्नो प्रशिक्षकबाट बुरुस लिन्छ। चित्र कोरिरहेको बेला चराचुरुंगी वा लोखर्के इत्यादिले अल्मलाएको समेत गनेसनलाई मन पर्दैन। रंगीचंगी रङ बनाएपछि एकछिन बिसाएर गनेसन आफ्नो काम अध्ययन गरेजस्तो गर्छ। तथापि, सबै छावाहरूले “चित्रकार” बन्ने चासो देखाउँदैनन्। कुनै कुनैले आफूलाई मन पर्दैन भनी देखाउन बुरुसै भाँचिदिन्छन्।
के दोस्रो राय लिनु महत्त्वपूर्ण छ?
“औषधीमूलोको सन्दर्भमा दोस्रो राय लिनुपर्दा हामीमध्ये धेरै जसो हिचकिचाउँछौं। तर यो कदम नचाल्दा कहिलेकाहीं बिरामीहरूको ज्यान जान सक्छ” भनी मेक्सिको शहरको द न्युज बताउँछ। दोस्रो राय लिने इच्छा व्यक्त गर्दा पहिलो डाक्टर रिसाउला कि भन्ठान्छन्। तर “प्रायजसो डाक्टरहरूले यस्तो महसुस गर्दैनन्” भनी उक्त अखबार बताउँछ। “तपाईंको डाक्टरले त्यसो गरेको चाहँदैन भने त्यसले पछि समस्या खडा गर्नसक्छ।” आजकाल, डाक्टर तथा बिमा कम्पनीहरू दुवैले दोस्रो राय लिनु आफ्ना बिरामीहरूको सर्वोत्तम उपचार गर्ने तरिका हो भन्छन्। जर्जिया सोसाइटी अफ क्लिनिकल अन्कोलजीका अध्यक्ष, डा. माइकल एन्ड्रु बिरामीहरूलाई दोस्रो राय लिने प्रोत्साहन दिन्छन् किनभने यसो गर्दा बिरामीहरू डाक्टरप्रति अझ बढी विश्वस्त हुनसक्छन्। सार्वजनिक स्वास्थ्य समूहका निर्देशकले यसो भने: “खतरा त आफ्नो शरीरलाई पो हो भनेर बिरामीहरूले बिर्सनुहुँदैन।”