युवा जनहरू सोध्छन् . . .
म निराश छु भनेर अरूलाई भनूँ कि नभनूँ?
“म निराश हुँदा सुरुमा अरूलाई नबताऊँ जस्तो लाग्छ किनभने मानिसहरूले म त समस्याको पोको रहेछु भन्ठान्लान्। तर मदतको लागि अरू कसैसित कुरा गर्नैपर्छ जस्तो पनि लाग्छ।”—एलेक्जान्ड्रो, वर्ष १३.
“म निराश हुँदा साथीहरूलाई भन्दिनँ किनभने तिनीहरूले मेरो मदत गर्न सक्दैनन् जस्तो लाग्छ। मलाई जिस्क्याउँछन् मात्र।”—आर्टुरो, वर्ष १३.
सबै मानिसहरूलाई कहिलेकाहीं दिक्क लाग्ने गर्छ।a तथापि, तपाईं जवान हुनुहुन्छ र कम अनुभवी हुनुभएकोले जीवनका दबाउहरूले गर्दा सजिलै विचलित हुन सक्नुहुन्छ। तपाईंको आमाबाबु, साथीभाइ अनि शिक्षकहरूको माग; किशोरावस्थाका शारीरिक तथा भावनात्मक परिवर्तन; अथवा कुनै सानोतिनो गल्तीले गर्दा असफलताको आभाष—यी कुराहरूले गर्दा तपाईं निराश र दुःखी हुन सक्नुहुन्छ।
यसो हुँदा आफ्नो मनको कुरा पोख्नसक्ने व्यक्ति पाउनु राम्रो हो। “आफ्ना समस्याहरूबारे अरू कसैसित कुरा गर्न पाइनँ भने मलाई उकुसमुकुस हुन्छ होला” भनी १७ वर्षीया बियाट्रीस भन्छिन्। तर दुःखको कुरा, थुप्रै युवकयुवतीहरूले आफ्ना समस्याहरू मनैमा गुम्साएर राख्छन् अनि झन् झन् निराश हुन्छन्। म्याड्रिडको चिकित्सा विभागका प्राध्यापक, मारिया दे जिजस मार्डोमेंगोले अध्ययन गरेअनुसार आत्माहत्या गर्ने हदसम्म पुगेका जवानहरू असाध्यै एक्लो हुन्छन्। आत्महत्या गर्नदेखि बचेका जवानहरू कुराकानी गर्न र आफ्नो मनको बह पोख्न एक जना पनि वयस्क नपाएको दुखेसो व्यक्त गर्छन्।
तपाईं नि? के दिक्क लाग्दा तपाईंको मनको कुरा सुनिदिने कोही छ? छैन भने आफ्नो दुःख कसलाई पोख्न सक्नुहुन्छ?
तपाईंको आमाबाबुसित कुरा गर्नुहोस्
सुरुमा उल्लिखित एलेक्जान्ड्रो आफू निराश हुँदा के गर्छन् भनी यसरी बताउँछन्: “म आमाकहाँ जान्छु किनभने म जन्मेदेखि नै उहाँले मलाई आडभरोसा दिंदै आउनुभएको छ। म बुबाकहाँ पनि जान्छु किनभने उहाँले मैले जस्तै अनुभव गर्नुभएको छ। दुःख लागेको बेला कसैलाई केही भनिनँ भने मलाई अझ बढी दुःख लाग्छ।” एघार वर्षीय रुडोल्फो यसो भन्छन्: “कहिलेकाहीं शिक्षकले हेला गरेर गाली गर्नुहुँदा म दुःखी हुन्थें। म बाथरुममा गएर रुन्थें। पछि आमालाई सबै बताएँ र उहाँले मलाई समस्या समाधान गर्न मदत गर्नुभयो। मैले उहाँसित कुरा नगरेको भए झनै दुःखी हुन्थें।”
के तपाईंले आफ्नो आमाबाबुसित मनको सबै कुरा पोख्ने विचार गर्नुभएको छ? तपाईंलाई उहाँहरूले समस्या बुझ्नुहुन्न जस्तो लाग्ला। तर वास्तवमा त्यसो हो त? वर्तमान संसारमा जवानहरूले भोग्ने सबै प्रकारका दबाउ उहाँहरूले बुझ्नुहुन्न होला; तथापि, यो संसारमा उहाँहरूले जति अरू कसले तपाईंलाई चिनेको छ र? एलेक्जान्ड्रो भन्छन्: “कहिलेकाहीं आमाबाबुलाई मेरो कुरा बुझ्न गाह्रो पर्छ।” तर जे होस्, तिनी मानिलिन्छन्: “चाहिएको बेला उहाँहरूसित मदत माग्न सक्छु भनेर मलाई ढुक्क छ।” आमाबाबुले तिनीहरूका समस्याहरू कति राम्ररी बुझ्नुहुन्छ भनेर थाह पाउँदा युवाजनहरू छक्कै पर्छन्! तिनीहरूको उमेर र अनुभवले गर्दा लाभकारी सल्लाह दिनसक्छन् अनि तिनीहरूले बाइबल सिद्धान्तहरू पालन गर्छन् भने त झनै बेस हो।
“आमाबाबुसित कुरा गर्दा प्रोत्साहन र समस्याको व्यावहारिक समाधान पाउँछु” भनी माथि उल्लिखित बियाट्रीस बताउँछिन्। त्यसैकारण बाइबलले युवाहरूलाई यस्तो सल्लाह दिनु एकदमै उचित छ: “हे मेरो छोरो, आफ्ना पिताको आज्ञा पालन गर्, औ आफ्नी आमाको अर्तीलाई इन्कार नगर्। तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।”—हितोपदेश ६:२०; २३:२२.
हो, आमाबाबुसित राम्रो सम्बन्ध छैन भने उहाँहरूलाई आफ्नो कुरा पोख्न सजिलो हुँदैन। डा. क्याटलिना गोन्जालेज फोर्टेजाअनुसार उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूसित लिइएको सर्वेक्षणले आत्मसम्मानको कमी र आमाबाबुसित राम्रो सम्बन्ध नभएका युवाजनहरूले आत्महत्या गर्ने प्रयास गरेको पाइयो। यसको विपरीत, त्यस्तो आत्मघाती सोचाइ नराख्नेहरूको सामान्यतया “आमा र बुबासित राम्रो सम्बन्ध भएको” पाइयो।
तसर्थ, आमाबाबुसित राम्रो सम्बन्ध कायम राख्ने प्रयास गर्नुहोस्। उहाँहरूसित नियमित तवरमा कुराकानी गर्ने बानी बसाल्नुहोस्। आफ्नो जीवनमा के के भइरहेको छ, बताउनुहोस्। उहाँहरूलाई प्रश्न सोध्नुहोस्। यस्तो साधारण कुराकानी गर्ने बानी गर्नुभयो भने पछि गम्भीर समस्याहरू आइपर्दा पनि कुरा गर्न सजिलो हुनेछ।
साथीसित कुरा गर्ने
तर आफ्नो समस्याबारे साथीहरूसित कुरा गर्न सजिलो छ होइन र? भरोसायोग्य साथीहरू हुनु राम्रो हो। हितोपदेश १८:२४ ले बताएअनुसार “मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ।” साथीहरूले सहानुभूति र सहयोग देखाउलान् तर तिनीहरूको सल्लाह सधैं सर्वोत्तम हुन्छ भन्ने छैन। आखिर, तिनीहरू पनि तपाईं जत्तिकै मात्र अनुभवी हुन्। तपाईंलाई यारोबामको बारेमा थाह छ? तिनी बाइबलकालीन राजा थिए। तिनले अनुभवी, पाको मानिसहरूको सल्लाह सुन्नुको साटो आफ्ना साथीहरूको कुरा सुने। परिणाम के भयो? विपत्ति! यारोबामले आफ्नो राष्ट्रको समर्थन अनि परमेश्वरको अनुमोदन गुमाउनुपऱ्यो।—१ राजा १२:८-१९.
साथीहरूलाई आफ्नो कुरा पोख्नुको अर्को समस्या गोपनीयता पनि हुनसक्छ। माथि उल्लिखित आर्टुरो भन्छन्: “मैले चिनेका प्रायजसो केटाहरू आफूलाई दुःख लाग्दा साथीहरूसित कुरा गर्छन्। तर पछि यी साथीहरूले सबै कुरा अरूलाई बताउँछन् र तिनीहरूलाई जिस्क्याउन थाल्छन्।” तेह्र वर्षीया गब्रिएलाले पनि यस्तै अनुभव गरिन्। उनी भन्छिन्: “मेरो साथीले मेरा व्यक्तिगत कुराहरू उसको अर्को साथीलाई बताइरहेको भेट्टाएँ। त्यसैले, मैले उसलाई आफ्नो कुरा भन्नै छोडें। हो, म आफ्ना दौंतरीहरूसित कुरा गर्छु तर तिनीहरूले मेरो कुरा अरूलाई बताएर ममाथि नकारात्मक असर पार्नसक्ने सबै कुरा ओकल्दिनँ।” त्यसकारण, मदत खोज्नुहुँदा “अरू मानिसको गुप्त” कुरा प्रकट नगर्ने व्यक्ति खोज्नु महत्त्वपूर्ण छ। (हितोपदेश २५:९) त्यस्तो व्यक्ति सम्भवतः तपाईंभन्दा ठूलो उमेरको हुनसक्छ।
कुनै कारणवश तपाईं आफ्नो घरमा सहयोग पाउन सक्नुहुन्न भने आफ्नो दुखेसो पोख्न साथी खोज्नु ठिकै हो तर तिनी अनुभवी अनि तिनीसित बाइबल सिद्धान्तको ज्ञान छ कि छैन, पक्का गर्नुहोस्। यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा तपाईंले यस्ता व्यक्तिहरू थुप्रै पाउनुहुनेछ। सोह्र वर्षीया लिलियाना भन्छिन्: “मैले कोही कोही मसीही बहिनीहरूसित आफ्नो कुरा पोखेकी छु र यसो गर्नु राम्रो भएको छ। उहाँहरू मभन्दा ठूलो उमेरको हुनु भएकाले उहाँहरूको सल्लाह व्यावहारिक हुन्छ। उहाँहरू मेरो साथी हुनुभएको छ।”
तपाईंको आध्यात्मिकतामा पनि असर पर्न थालेको छ भने नि? हुनसक्छ, तपाईंले असाध्यै दुःखी भएर प्रार्थना गर्न वा बाइबल पढ्न छोड्नुभएको छ। याकूब ५:१४, १५ मा बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीको धर्म-गुरुहरूलाई बोलाओस्, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्। औ विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई उठाउनुहुनेछ।” यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा प्राचीनहरू छन् र तिनीहरूसित निराश वा आध्यात्मिक तवरमा बिरामीहरूलाई मदत गर्ने अनुभव छ। तिनीहरूसित कुरा गर्न नहिचकिचाउनुहोस्। बाइबलले बताएअनुसार ती पुरुषहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ” हुनसक्छन्।—यशैया ३२:२.
“प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्”
तथापि, मदतको सर्वोत्तम स्रोत “सबै सान्त्वनाका परमेश्वर” हुनुहुन्छ। (२ कोरिन्थी १:३) तपाईं दुःखी र निराश हुनुहुँदा फिलिप्पी ४:६, ७ को यो सल्लाह पालन गर्नुहोस्: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” यहोवा तपाईंको कुरा सुन्न सधैं इच्छुक हुनुहुन्छ। (भजन ४६:१; ७७:१) अनि कहिलेकाहीं मनबाट बोझ हटाउन प्रार्थना मात्र पनि पर्याप्त हुन्छ।
तपाईं कहिलेकाहीं दुःखी र निराश हुनुहुँदा अरू युवायुवतीहरूले पनि यस्तै महसुस गर्छन् भनी कहिल्यै नबिर्सनुहोस्। समय बित्दै जाँदा ती भावनाहरू बिस्तारै हराउनेछन्। तर त्यतिञ्जेल आफ्नो मनका कुराहरू गुम्साएर नराख्नुहोस्। तपाईंलाई चित्त दुखेको कुरा अरू कसैलाई बताउनुहोस्। हितोपदेश १२:२५ यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” तपाईं प्रोत्साहनको “दयालु वचन” कसरी पाउन सक्नुहुन्छ? आफूलाई चाहिएको सान्त्वना र मदतको लागि अनुभव, ज्ञान र ईश्वरीय बुद्धि भएको व्यक्तिलाई आफ्नो मनको कुरा बताएर।
[फुटनोट]
a दुःखी भावनाहरू लामो समयसम्म रहिरहनु गम्भीर भावनात्मक वा शारीरिक समस्याको चिह्न हुनसक्छ। यस्तो अवस्थामा तुरुन्तै उपचार गरिहाल्नुपर्छ। यो पत्रिकाको सह-पत्रिका, प्रहरीधरहरा!-को मार्च १, १९९० अंकमा “निराशा विरुद्ध विजयी हुने” विषयक लेख हेर्नुहोस्।
[पृष्ठ १४-मा भएको चित्र]
“आमाबाबुसित कुरा गर्दा प्रोत्साहन र समस्याको व्यावहारिक समाधान पाउँछु”
[पृष्ठ १५-मा भएको चित्र]
साथीहरूले भन्दा ईश्वरभीरु आमाबाबुले प्रायजसो तपाईंलाई राम्रो सल्लाह दिनसक्छन्