नामिबियाको बदलिंदो आकृति
दक्षिण अफ्रिकाको ब्यूँझनुहोस्! लेखकद्वारा
चित्रकारको शैली परिवर्तन भइरहन्छ तैपनि त्यो मनमोहक हुन्छ। चित्रकारले बालुवाबाट चित्र कोर्छ। यो चित्रकार को हो? बतास हो। यसले यताउता हुर्रिने बालुवाका थुम्कोहरूलाई विभिन्न आकार दिन्छ। सायद सबैभन्दा प्रख्यातचाहिं अर्धचन्द्राकार होला। बतासतिर फर्केको “आकृति” अलि भिरालो हुन्छ। हावा नपर्ने ठाउँचाहिं ठाडो तर होचो हुन्छ। त्यस थुम्काको माथिल्लो भाग जुत्ताले छस्स लाग्दा नै भासिने भए तापनि धारिलो चुच्चोजस्तो देखिन्छ।
यी डुलुवा बालुवाका थुम्काहरूको राम्रो दृश्य दक्षिणपश्चिमी अफ्रिकाको नामिब मरुभूमिमा देखिन्छ। यहाँ संसारकै सबैभन्दा अग्लो थुम्को देख्न सकिन्छ। कुनै कुनै त ४०० मिटरभन्दा पनि अग्ला हुन्छन्। तथापि, नामिबको क्षेत्रफल संसारका ठूलठूला मरुभूमिहरूको भन्दा सानो छ। यो एटलान्टिक महासागरदेखि करिब १६० किलोमिटर टाढासम्म फैलिएको छ र १,९०० किलोमिटर लामो छ।
काममा व्यस्त अरू चित्रकारहरू
यस विकट ‘कला केन्द्रमा’ देखिने चित्रकार हावा मात्र होइन। यी थुम्काहरूलाई नजिकबाट नियालेर हेरेको खण्डमा अरू चित्रकारहरूको विभिन्न कारीगरी पनि देख्न सकिन्छ। उदाहरणका लागि, तपाईं लामो अनि सुन्दर सुनको सिक्री जस्तो बालुवाको नागबेली देख्न सक्नुहुन्छ। तपाईं अलि धेरै समयसम्म बस्नुभयो भने ती चित्रकारहरूको काम पनि देख्नुहुनेछ। राती गोब्रे कीराहरू बालुवामा ओहरदोहर गर्दा तिनका पैतालाको छापबाट त्यो “सिक्री” बन्छ। त्यो ‘सिक्रीको केही पर बालुवामा प्वाल परेजस्तो एकनासे धर्काहरू लहरै देखिन्छन्। यी पनि पैतालाका छाप नै हुन् र यो आफ्नो गन्तव्यतिर उफ्रँदै जाने छुचुन्द्रोको हो। यो अनकन्टार बाँझो देखिने कला केन्द्रमा अब एकाएक चहलपहल भएको देख्नुहुन्छ।
उत्तरतिर स्केलेटन कोस्टमा तपाईं अरू चित्रकारहरूले काम गरिरहेको देख्न सक्नुहुन्छ। यिनीहरूले बालुवालाई जथाभावी हुऱ्याउँछन् र भताभुंग आकृति देखिन्छ। हेर्नुहोस्! तिनीहरू बालुवाको थुम्काबाट उफ्रँदै आउँदैछन्। एउटा कुरामा भने कुनै शंका छैन, तिनीहरू आफ्नो सृजनात्मक क्रियाकलापमा मग्न छन्। यी जन्तुहरू त्यस थुम्काबाट तेज गतिमा तलतिर कुद्छन् र बालुवालाई छरप्रस्ट पारिदिन्छन्। दौडेर मात्र नपुगेर यिनीहरू आफ्नो पछिल्तिरको खुट्टा घिसार्दै अनि बालुवाको ढिस्कोमा खोपिल्टा खोपिल्टा बनाउँछन्। त्यसपछि नजिकैको पानीले भरिएको खाल्टोमा फाल हाल्छन् र केटाकेटीहरूजस्तै मस्तसँग खेल्छन्। यी चित्रकारहरू झन्डै छ टन तौल भएका अफ्रिकी हात्ती हुन्!
पेरिङग्वाका विषालु सर्प अर्को प्रकारका चित्रकारहरू हुन् तर यिनीहरू छुकछुके भए तापनि त्यति हुल्याहा छैनन्। यसले बालुवामा बनाउने रूपरेखा बाङ्गो लट्ठीजस्तै देखिन्छ। सर्प घस्रँदै जाँदा आफ्नोपछाडि अनौठो प्रकारको वक्राकार रेखा बनाउँछ। अचानक त्यो मार्ग समाप्त हुन्छ र सर्पको अत्तोपत्तो हुँदैन। कहाँ गयो? बालुवामा गौरसित हेर्नुभयो भने दुइटा आँखा पिलपिल गरिरहेको देख्नुहुनेछ। सर्पको बाँकी शरीर बालुवाले छोपेको हुन्छ। यसरी रूप परिवर्तन गरेर यसले आफ्नो आहार अर्थात् माउसुली फेला पार्न ढुकेर बस्छ।
बालुवामा देखिने एउटा चित्रचाहिं त्यति कलात्मक देखिंदैन। त्यहाँ टायरको बडेमानको डोब देखिन्छ। यो, यहाँ ओहरदोहर गर्न सजिलो होस् भनेर गुडाइने तीनपांग्रे मोटरसाइकलको छाप हो। मानिसले पनि आफ्नो पदचिह्न यहाँ छोडेको छ।
सन्की चित्रकार
वर्णन गरेरै साध्य नहुने गरी बालुवामा थुप्रैले आफ्नो चिह्न छोड्छन्। यीमध्ये केही त स्केलेटन कोस्ट आरक्ष तथा अरू ठाउँमा पाइने गैंडा, सिंह, जिराफ, स्याल इत्यादिका पदचिह्न हुन्।
तर मुख्य कलाकारचाहिं बतास नै हो। यसैले त्यस कला केन्द्रको आकृति बनाउँछ र आफूले चाहेको आकारमा ढाल्छ। यसले सधैं विविधता देखाइरहन्छ। तपाईं आजभन्दा ठीक एकवर्षपछि यहाँ फर्कनुभयो भने त्यतिञ्जेल कुनै कुनै थुम्काहरू पहिलेको ठाउँभन्दा लगभग ३० मिटर टाढा पुगिसकेको पाउनुहुनेछ! यो सबै नामिबियाको बतासको कमाल हो। (g01 3/8)
[पृष्ठ १५-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
अफ्रिका
नामिबिया
[पृष्ठ १४-मा भएको चित्र]
छुचुन्द्रो
[पृष्ठ १४-मा भएको चित्रको स्रोत]
Des and Jen Bartlett