प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १/८ पृ. ४-९
  • जोर्नीशोथलाई बुझ्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जोर्नीशोथलाई बुझ्ने
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जोर्नीको संरचना
  • बाथ
  • सन्धिबाथ
  • उपचार
  • जोर्नीशोथ—अशक्‍त बनाउने रोग
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • जोर्नीशोथ भएकाहरूका लागि आशा
    ब्यूँझनुहोस्‌!—२००२
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ १/८ पृ. ४-९

जोर्नीशोथलाई बुझ्ने

“बेलुकी सुत्ने बेलामा म आफ्ना कुरूप हातखुट्टालाई हेरेर सधैं रुने गर्छु।”—मिडोरी, जापान।

जोर्नीशोथले मानिसहरूलाई पिरोलेको शताब्दीयौं भइसक्यो। यो रोग शताब्दीयौंअघिदेखि नै अस्तित्वमा थियो भन्‍ने कुरा इजिप्टको चिहानका लासहरूले प्रमाणित गर्छ। प्राप्त प्रमाणहरूअनुसार अन्वेषक क्रिस्टोफर कोलम्बस पनि यस रोगबाट पीडित थिए। अनि आज पनि करोडौं मानिसहरू यसको सिकार भएका छन्‌। आखिर यो अशक्‍त पार्ने रोग के हो?

जोर्नीशोथ अर्थात्‌ “अर्थ्राइटीस” शब्द “जलन भएका जोर्नीहरू” भन्‍ने अर्थ लाग्ने युनानी शब्दबाट लिइएको हो र यो १०० भन्दा धेरै प्रकारको बाथ तथा त्यसका असरहरूसित सम्बन्धित छ।a यी रोगहरूले जोर्नीलाई मात्र नभई जोर्नीलाई टेवा दिने मांसपेशी, हाड, टेन्डन र लिगामेन्टहरूलाई पनि असर गर्छ। कुनै-कुनै प्रकारको जोर्नीशोथले त छाला, भित्री अंगहरू र आँखालाई समेत क्षति पुऱ्‍याउन सक्छ। आउनुहोस्‌, हामी जोर्नीशोथसित सम्बन्धित दुई प्रकारका रोगहरूलाई ध्यान देऔं। ती हुन्‌, ओस्टियोअर्थ्राइटीस अर्थात्‌ सन्धिबाथ र रुमाटोइट अर्थ्राइटीस अर्थात्‌ बाथ।

जोर्नीको संरचना

जोर्नी भनेको दुई हड्डीको सन्धिस्थल हो। सिनोभियल जोर्नीलाई बलियो तर लचकदार खालको क्याप्सुलले छोपेर सुरक्षा तथा टेवा पुऱ्‍याइरहेको हुन्छ। (पृष्ठ ४ को चित्र हेर्नुहोस्‌।) यस जोर्नीको क्याप्सुलमा सिनोभियल झिल्लीहरू पनि टाँसिएर रहेका हुन्छन्‌। यस झिल्लीले चिप्लो रस निकाल्छ। यस जोर्नीको क्याप्सुलमा, दुवै हड्डीको टुप्पामा लचकदार तन्तु अर्थात्‌ कुरकुरे हाड हुन्छ। यसले हाडहरूलाई एकअर्कासित रगडिएर खिइनदेखि जोगाउँछ। हाडका टुप्पाहरूमा रहेका कुरकुरे हाडले कुनै पनि प्रकारको झट्‌काको तीखो प्रहार सीधै हड्डीमा पर्न नदिई रोक्ने वा दुखाइलाई एकै ठाउँमा मात्र केन्द्रित नगरी अन्य ठाउँहरूमा फैलाउने गर्छ।

उदाहरणका लागि, हिंड्‌दा, दौड्‌दा वा उफ्रँदा तपाईंको नितम्ब र घुँडामा पर्ने दबाउ तपाईंको शरीरको तौलभन्दा चारदेखि आठ गुणा बढी हुन सक्छ! यसको अत्यधिक धक्का वरपरका मांसपेशी तथा टेन्डनहरूले थाम्छ तर कुरकुरे हाडले स्पन्जजस्तै खुम्चेर तपाईंका हड्डीहरूलाई यो बोझ थाम्न मदत गर्छ।

बाथ

रुमाटोइड अर्थ्राइटीस अर्थात्‌ बाथ हुँदा शरीरको रोग प्रतिरोध प्रणालीले जोर्नीहरूमा प्रत्यक्ष आक्रमण गर्छ। किन हो कुन्‍नि, शरीरको रोग प्रतिरोध प्रणालीका प्रमुख तत्त्व, यी टी कोषहरूलगायत अत्यधिक मात्रामा रक्‍तकोषहरू जोर्नीभित्र छिर्न थाल्छन्‌। यसले गर्दा त्यहाँको रासायनिक प्रक्रियामा उथलपुथल मच्चिन्छ र जोर्नीहरूमा जलन हुन थाल्छ। त्यसपछि सिनोभियल कोषहरू जथाभावी बढेर मासुको ढिक्काजस्तो डल्लो बन्छ जसलाई पानस भनिन्छ। यो पानसले कुरकुरे हड्डीलाई हानि गर्ने विनाशकारी रस पैदा गर्छ। यसो हुँदा हड्डीका टुप्पाहरू जोडिन थाल्छन्‌ र हड्डीलाई चलहल गर्न समस्या हुन्छ भने यसले गर्दा धेरै असह्‍य पीडा हुन थाल्छ। यस विनाशकारी प्रक्रियाले लिगामेन्ट, टेन्डन र मांसपेशीहरूलाई कमजोर बनाउनुका साथै जोर्नीलाई लुलो बनाइदिन्छ र हड्डीको ठाउँ सर्छ जसले गर्दा कुरूप देखिन्छ। बाथ भयो भने नाडी, घुँडा र खुट्टाका जोर्नीहरूमा एकैसाथ एकैनासले दुख्न थाल्छ। बाथ लागेका रोगीहरूमध्ये ५० प्रतिशतभन्दा बढीको छालामुनि डल्लो गाँठो परेको वा सुन्‍निएको समेत पाइयो। कसै-कसैलाई चाहिं रक्‍तअल्पता हुनुका साथै आँखा र घाँटी सुक्खा भएर दुख्ने गर्छ। बाथ हुँदा थकान र रुघाखोकीका लक्षणहरू देखिनुका साथै ज्वरो आउँछ र मांसपेशी दुख्छ।

बाथ सुरु हुने तरिका र समयावधि एकदमै फरक-फरक हुन्छ। कसै-कसैलाई हप्तौं र वर्षौंको दौडान बिस्तारै दुख्न थालेपछि हातगोडा कक्रक्क हुन्छ। कसै-कसैलाई भने यो अचानक हुन सक्छ। कोही-कोही मानिसहरूलाई बाथले केही महिना दुःख दिन्छ त्यसपछि फेरि खासै कुनै क्षति नपुऱ्‍याई आफै निको भइहाल्छ। अरू कसै-कसैलाई भने छिनमा चर्क्क दुख्ने छिनमा निको भएझैं हुन्छ। अनि कति जना रोगीहरूलाई भने यस रोगले वर्षौंसम्म सताएर चलहलै गर्न गाह्रो हुने गरी अशक्‍त बनाउँछ।

बाथ रोग लाग्ने खतरा सबैभन्दा बढी कसलाई हुन्छ? “प्रायजसो अधबैंसे महिलाहरूमा यो रोग बढी देखिन्छ” भनी डा. माइकल शिफ टिप्पणी गर्छन्‌। तथापि, “यस रोगले पुरुष, केटाकेटीदेखि लिएर कुनै पनि उमेरका मानिसहरूलाई असर गर्न सक्छ” भनी शिफ बताउँछन्‌। बाथ रोग लागेको व्यक्‍तिका नातेदारहरूलाई यो रोग लाग्न सक्ने सम्भावना धेरै हुन्छ। धुम्रपान, अत्यधिक मोटोपन र पहिला रक्‍तक्षेपन गरेका मानिसहरूलाई यस रोगले असर गर्न सक्ने सम्भावना झन्‌ धेरै हुन्छ भन्‍ने कुरा थुप्रै अध्ययनहरूले देखाउँछ।

सन्धिबाथ

वेस्टर्न जर्नल अफ मेडिसिन यसो भन्छ, “सन्धिबाथ धेरै तरिकामा मौसमसित तुलना गर्न सकिन्छ किनभने यो सर्वव्यापी छ, जसलाई प्रायजसो वास्ता गरिंदैन र यसले कहिलेकाहीं भयानक असर पनि पार्छ।” सन्धिबाथ अर्थात्‌ अस्टिओअर्थ्राइटीस र बाथ एकैनासे हुँदैन। सन्धिबाथ शरीरका विभिन्‍न भागहरूमा सर्दैन तर यसले कुनै एउटा वा केही जोर्नीहरूलाई मात्र घात पुऱ्‍याउँछ। कुरकुरे हाड बिस्तारै खिइँदै जाँदा हड्डीहरू घिस्रिन थाल्छन्‌। साथै, स-साना हड्डीहरू बढ्‌न थाल्छन्‌ जसलाई अस्टिओफाइट्‌स भनिन्छ। गिर्खाहरू निस्कनुका साथै भित्रका हड्डीहरू बाक्लो भएर कुरूप हुन सक्छ। यसका अन्य लक्षणहरूमा औंलाका जोर्नीहरूमा गाँठो पर्नु, सुजन भएका जोर्नीहरूमा घिस्रेको आवाज निस्कनु र मांसपेशी अचानक बटारिनुका साथै दुख्नु, कडा हुनु र चलहल गर्न नसक्नु आदि कुराहरू पर्छन्‌।

विगतमा सन्धिबाथलाई बुढेसकालमा हुने रोग भनिन्थ्यो। तथापि, अहिले विशेषज्ञहरू त्यो पुरानो धारणासित सहमत छैनन्‌। दी अमेरिकन जर्नल अफ मेडिसिन यसो भन्छ: “शारीरिक दबाउ वा तनाउले गर्दा सामान्य अवस्थाको जोर्नी उमेर बित्दै जाँदा टुक्रिन्छ भन्‍ने कुराको कुनै प्रमाण पाइँदैन।” उसोभए, सन्धिबाथ हुनुको कारण के हो त? द लान्सेट नामक बेलाइती पत्रिकाअनुसार यसको कारणबारे “बेग्लाबेग्लै धारणा” पाइन्छ। केही अनुसन्धाताहरू सुरुमा हड्डीमा सानातिना चिराहरू पर्न थाल्छन्‌ भन्छन्‌। पछि गएर हड्डी बढ्‌ने अनि कुरकुरे हाड खिइन थाल्छ। अरूको विचारमा चाहिं सन्धिबाथका लक्षणहरू सबैभन्दा पहिले कुरकुरे हाडमै देखिन्छ। यो खिएर छियाछिया भएपछि भित्र हड्डीमा बोझ बढ्‌न थाल्छ भनी तिनीहरू तर्क गर्छन्‌। शरीरले क्षतिग्रस्त कुरकुरे हाडहरूको मर्मत गर्न खोज्दा रोगसम्बन्धी अन्य लक्षणहरू देखिन थाल्छन्‌।

सन्धिबाथ हुने सम्भावना सबैभन्दा बढी कसलाई हुन्छ? उमेरले गर्दा मात्र सन्धिबाथ हुने होइन तर उमेर ढल्कँदै जाँदा कुरकुरे हाडको जोर्नी पनि खिइँदै जाने सम्भावना बढी हुन्छ। मानिसमा यसले असर गर्नसक्ने अरू कुराहरूमा चाहिं जोर्नीका सतहहरू असामान्य किसिमका हुनु वा खुट्टा तथा जाँघका मांसपेशीहरू कमजोर हुनु, खुट्टाहरू बराबर नहुनु वा मेरुदण्ड सीधा नहुनु हुन्‌। दुर्घटनाले गर्दा जोर्नीमा चोट वा धक्का लागेपछि वा जोर्नीलाई एकोहोरो चलाइराख्नुपर्ने हुनाले पनि सन्धिबाथ हुन सक्छ। एकपल्ट हड्डी खिइन थालेपछि शरीरको वजन बढ्‌नुले पनि सन्धिबाथ हुन सक्ने खतरा झनै बढ्‌छ।

डा. टिम स्पेक्टर यसो भन्छन्‌: “सन्धिबाथ एउटा जटिल रोग हो, जसलाई बाह्‍य कुराहरूले बढी असर गर्छ तर यसको पछाडि आनुवंशिक तत्त्वहरूको पनि ठूलो हात छ।” सन्धिबाथ हुन सक्ने खतरा विशेष गरी अधबैंसे तथा वृद्ध आइमाईहरूलाई हुन्छ, जसको बाजेबराज्यूहरूमध्ये कसैलाई यो रोग लागेको थियो। सन्धिबाथमा हड्डीको घनत्व बढी हुन्छ भने अस्टियोपोरोसिसमा यसको ठीक उल्टा हुन्छ। केही अनुसन्धाताहरू हाडभित्र अक्सिजनका साथै भिटामिन सी र डी तत्त्वहरूको कमीले गर्दा पनि यस्तो क्षति हुन सक्ने कुरा औंल्याउँछन्‌।

उपचार

जोर्नीशोथको उपचारको लागि साधारणतया औषधोपचार, व्यायाम र जीवनशैलीमा छाँटकाँट गर्नुपर्ने हुन्छ। शारीरिक चिकित्सकले व्यायाम गर्ने तरिकाहरू सिकाउन सक्छन्‌। यसअन्तर्गत आइसोमेट्रिक, एरोबिक र आइसोटनिक वा गह्रौं वस्तु उचालेर गर्ने उपचारहरू पर्न सक्छन्‌। जोर्नीको दुःखाइ र सुनिने, थकान, बिरामी भएजस्तो महसुस हुने र तनाउलगायत असंख्य लक्षणहरू कम गर्न यी तरिकाहरूले मदत गरेको पाइन्छ। वृद्धहरूलाई समेत व्यायामले धेरै फाइदा पुऱ्‍याएको पाइन्छ। व्यायामले हड्डीको घनत्वलाई केही हदसम्म कम हुनदेखि रोक्छ। तातो र चिसो थेरापी र अकुपंक्चरले पनि दुखाइलाई धेरै हदसम्म कम गर्छ भनी कोही-कोही दाबी गर्छन्‌।b

वजन घटाउँदा जोर्नीको दुखाइ अत्यधिक मात्रामा कम गर्न सकिने भएकोले जोर्नीशोथ भएकाहरूले खानपिनमा विशेष ध्यान दिनुपर्छ। क्याल्सियम प्रशस्त मात्रामा पाइने भोजन जस्तै, गाढा हरियो रङको सागपात, ताजा फलफूल तथा शरीरलाई उपयोगी हुने ओमेगा थ्री फेट्टी एसिड पाइने चिसो पानीमा बस्ने माछा र प्रशोधित अनि धेरै मात्रामा चिल्लो भएको खाना कम खाने गर्नाले तौल घटाउन मात्र नभई दुखाइ कम गर्न पनि त्यसले मदत गर्छ भनी कसै-कसैले भन्‍ने गरेका छन्‌। कसरी? त्यस्तो भोजनले जलन हुन दिंदैन भन्‍ने कति जनाको भनाइ छ। मासु, दूधका परिकार, गहुँ र सोलानासे जातमा पर्ने गोलभेंडा, आलु, खुर्सानी र भन्टाजस्ता तरकारीहरू नखानु पनि कसै-कसैको लागि प्रभावकारी साबित भएको पाइन्छ।

कुनै-कुनै अवस्थामा आर्थ्रोस्कोपी भनिने शल्यक्रिया गर्ने सुझाउ पनि दिइन्छ। यस विधिअनुसार शल्यचिकित्सकले जोर्नीमा एउटा साधन घुसारेर विनाशकारी इन्जाइम उत्पादन गर्ने सिनोभियल तन्तु हटाउँछ। तथापि, यो प्रक्रिया त्यत्ति प्रभावकारी हुँदैन किनभने यसो गरिसकेपछि पनि जोर्नीमा फेरि-फेरि जलन भइरहन्छ। योभन्दा प्रभावकारी प्रक्रिया त जोर्नीको आर्थ्रोप्लास्टी हो। यस प्रक्रियाअनुसार पूरै जोर्नीलाई (विशेष गरी कम्मर वा घुँडा) निकालेर त्यसको ठाउँमा अर्को कृत्रिम जोर्नी हालिन्छ। यस शल्यक्रियाले १० देखि १५ वर्षसम्म काम गर्छ र दुखाइ कम गर्ने सन्दर्भमा यो एकदमै प्रभावकारी हुन्छ।

हालै डाक्टरहरूले भिस्कोसप्लिमेन्टेशनजस्ता कम जटिल उपचारहरू गर्ने प्रयास गरेका छन्‌ र यस प्रक्रियामा सीधै जोर्नीमा ह्‍यालुरोनिक फ्लुइडको सुई दिइन्छ। यो प्रायजसो घुँडामा गरिन्छ। केही युरोपेली अध्ययनहरूअनुसार कुरकुरे हाड बढाउने तत्त्वहरू (कोन्ड्रोइटिन भएको तत्त्व) भएको सुई दिंदा पनि निकै सन्चो भएको पाइयो।

जोर्नीशोथ पूर्णतया निको पार्ने कुनै पनि औषधी पत्ता लागिसकेको छैन, तैपनि थुप्रै औषधीहरूले दुखाइ र जलन कम गर्छ र कुनै-कुनै औषधीले त यो रोग चर्किनदेखि पनि रोक्छ। जोर्नीशोथका लक्षणहरूबाट हुने पीडा कम गर्न एनाल्जेशिक वा पेन किलरका साथै कोर्टिकोस्टेरोइड थेरापी, स्टेरोइड नभएको एन्टी-इन्फ्लामेटरी औषधी (एन एस ए आई डि), रोग कम गर्ने एन्टीरुमाटिक औषधी (डि एम ए आर डि), इम्युनोसप्रेसान्ट, जैविक प्रतिक्रिया सहायक तथा रोग प्रतिरोध प्रक्रियाहरूलाई नियन्त्रण गर्न आनुवंशिक तवरमा तयार पारिएका औषधीहरू प्रयोग गरिंदै आएका छन्‌। तथापि, यी सबै किसिमका औषधीहरूको गम्भीर साइड इफेक्टहरू हुने हुँदा कुनै उपचारविधि पनि खतरामुक्‍त छैनन्‌। सम्भावित लाभ तथा जोखिमहरूको विचार गर्नु रोगी तथा डाक्टर दुवैको लागि चुनौतीपूर्ण हुन्छ।

जोर्नीशोथले गर्दा विनाशकारी असर भोगिसकेका कसै-कसैले यस पीडादायी रोगको सामना कसरी गरेका छन्‌? (g01 12/08)

[फुटनोटहरू]

a यी रोगहरूमध्ये सन्धिबाथ, बाथ, सिस्टेमिक लुपस एरिथेमाटोसस्‌, जुभेनाइल रुमाटोइड अर्थ्राइटीस, गाउट, बुर्सिटीस, बाथ-ज्वरो, लाइम डिजिज, कार्पल टनेल सिन्ड्रोम, फाइब्रोमायालजिया, राइटर्स सिन्ड्रोम र एन्किलोजिङ स्पोन्डिलाइटीस पनि पर्छन्‌।

b ब्यूँझनुहोस्‌!-ले कुनै पनि उपचार, औषधी वा शल्यक्रियाको सिफारिस गर्दैन। उपलब्ध जानकारीहरू नियाल्दै उचित उपचारको खोजी गर्ने र होसियारीसाथ छान्‍ने काम हरेक रोगीको व्यक्‍तिगत जिम्मेवारी हो।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

अचाक्ली मोटोपन, धुम्रपान र पहिला रक्‍तक्षेपन गरेका मानिसहरूलाई बाथ हुन सक्ने सम्भावना झन्‌ धेरै हुन्छ

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

वैकल्पिक उपचारविधिहरू

केही थेरापीहरूका साइड इफेक्टहरू थोरै हुने भएकोले परम्परागत उपचारहरूभन्दा यो सुरक्षित ठानिन्छन्‌। यिनीहरूमध्ये मुखबाट खुवाइने टाइप टु कोलाजेन, बाथले गर्दा जोर्नीको सुनाइ र दुखाइ कम गर्न सफल भएका केही अनुसन्धाताहरू दाबी गर्छन्‌। कसरी? जलन तथा इन्टरल्युकिन-१ र ट्युमर नेक्रोसिस α जस्ता विनाशकारी साइटोकिनलाई रोकेर। रिपोर्टहरूअनुसार केही प्राकृतिक पोषणहरूमा पनि यी विनाशकारी तत्त्वहरूलाई रोक्ने क्षमता पाइन्छ। ती प्राकृतिक पोषणहरू हुन्‌, भिटामिन ई, भिटामिन सी, नियासिनामाइड र इकोसापेन्टेनोइक एसिड तथा ग्यामालिनोलेनिक एसिड प्रशस्त मात्रामा पाइने माछाको तेल, बोरेज भनिने एक प्रकारको फूलको बीउको तेल र साँझतिर फक्रने वासन्ती गुलाबको तेल। चीनमा ट्रिप्टेरिजियम विलफोर्डी हुक एफ नामक जडीबुटीको औषधोपचार वर्षौंदेखि प्रयोग हुँदै आइरहेको छ। प्राप्त रिपोर्टअनुसार यसको प्रयोगले पनि बाथका असरहरूलाई केही हदसम्म भए पनि कम गर्न सकेको पाइन्छ।

[पृष्ठ ४, ५-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

स्वस्थ जोर्नी

बुर्सा

मांसपेशी

कुरकुरे हाड

टेन्डन

जोर्नीको क्याप्सुल

सिनोभियल झिल्ली

सिनोभियल फ्लुड

हड्डी

बाथ भएको जोर्नी

ठाउँ साँघुरिंदै गएको

हाड र कुरकुरे हाडको क्षय

जलन भएको सिनोभियल झिल्ली

सन्धिबाथ भएको जोर्नी

टुक्रा भएको कुरकुरे हाड

कुरकुरे हाडको क्षय

हड्डी बढेको

[स्रोत]

Source: Arthritis Foundation

[पृष्ठ ७-मा भएको चित्र]

जोर्नीशोथले कुनै पनि उमेरका मानिसलाई असर गर्न सक्छ

[पृष्ठ ८-मा भएको चित्र]

व्यायाम गर्ने र सन्तुलित आहार खाने गरेमा केही हदसम्म भए पनि सन्चो हुन सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने