प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १/८ पृ. २३-२६
  • मस्कोमा कामले प्रशंसा कमाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मस्कोमा कामले प्रशंसा कमाउँछ
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मस्कोमा साक्षीहरू
  • सभा हुने नयाँ स्थान
  • काम पूरा गर्दै
  • वर्षौं लामो कानुनी लडाइँपछिको जित!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • ‘हाम्रो संसारको रूपै बेग्लै हुनेथियो’
    ब्यूँझनुहोस्‌!—२०००
  • रूसीहरू धार्मिक स्वतन्त्रतालाई मूल्यवान्‌ ठान्छन्‌
    ब्यूँझनुहोस्‌!—२०००
  • परमेश्‍वरको कृपाले उहाँलाई भेट्टायौं
    ब्यूँझनुहोस्‌!—१९९६
ब्यूँझनुहोस्‌!—२००२
g०२ १/८ पृ. २३-२६

मस्कोमा कामले प्रशंसा कमाउँछ

सन्‌ १९९८ मा मस्कोको गोलोभिन्स्की जिल्लाको नगर अदालतमा यहोवाका साक्षीहरूको गतिविधिमा प्रतिबन्ध लगाउने माग गर्दै सार्वजनिक मुद्दा दायर गरियो। त्यस गोलोभिन्स्की जिल्ला प्रशासनका स्थानीय अधिकारीहरूले हालै यहोवाका साक्षीहरूको प्रशंसा गरेको सुन्दा तपाईंलाई कुरा पटक्कै नमिलेजस्तो लाग्न सक्छ।

एकातिर केही मानिसहरूले साक्षीहरूलाई शहरबाटै नामेट पार्न खोजिरहेका थिए भने, अर्कोतिर मस्कोका अधिकारीहरूले तिनीहरूको प्रशंसा गर्नुको कारण के थियो? ती साक्षीहरूले त्यहाँ गरिरहेका कार्यबारे संक्षेपमा पुनरावलोकन गऱ्‍यौं भने त्यसको जवाफ पाउनेछौं।

मस्कोमा साक्षीहरू

सन्‌ १९५० दशकको मध्यतिर मस्को, एक जना पनि यहोवाका साक्षी नभएको संसारका केही राजधानीहरूमध्ये एक थियो। किन? किनभने सोभियत संघका अन्य भूभागमा बसोबास गर्ने साक्षीहरूलाई जस्तै मस्कोका साक्षीहरूलाई पनि देश निकाला गरिएको थियो। कहाँ? प्रायजसोलाई साइबेरियाको दास-श्रम शिविरहरूमा।

समय बित्दै जाँदा, मस्कोका केही बासिन्दाहरूले रूसमा त्यतिबेला प्रतिबन्ध लगाइएको साक्षीहरूका प्रकाशनहरूको मदतद्वारा बाइबल अध्ययन गर्न थाले। सन्‌ १९७० दशकको मध्यतिर साक्षी भइसकेका केही मानिसहरू मस्कोस्थित मुरात शाकीरोभको कोठामा बाइबल अध्ययन गर्न भेला हुन्थे। सन्‌ १९८० को दशकमा यो सानो समूहले अरू थुप्रैको पनि बाइबल अध्ययनप्रति रुचि जगायो।

सन्‌ १९९१ को मार्चमा सोभियत गणतन्त्रमा यहोवाका साक्षीहरूको क्रियाकलापलाई कानुनी मान्यता दिएपछि साक्षीहरूको विशाल मण्डली खुल्लमखुल्ला सञ्चालन हुन थाल्यो। साक्षीहरूलाई किन सताइएको थियो भनेर बुझ्न हजारौं मानिसहरू उत्सुक थिए। अनि तिनीहरू बाइबलले वास्तवमा के सिकाउँछ भन्‍ने कुरा जान्‍न चाहन्थे। त्यसैले, अगस्त १९९१ मा युक्रेनको कीभमा अधिवेशन सम्पन्‍न हुँदा ८९० किलोमिटर लामो यात्रा गरेर मस्कोबाट २,००० जना आए। त्यहाँ बप्तिस्मा लिने १,८४३ जनामध्ये मस्कोबाट आएकाहरू पनि थुप्रै थिए।

मस्कोको लोकोमोटिभ स्टेडियममा सन्‌ १९९३ मा यहोवाका साक्षीहरूको अधिवेशन सम्पन्‍न हुँदा ३० भन्दा धेरै देशहरूबाट २३,७४३ जना उपस्थित भएका थिए। त्यस सालको अन्तसम्ममा मस्को नगरपालिका क्षेत्रमा मात्रै मण्डलीहरूको संख्या बढेर २१ पुगिसकेको थियो। आज, झन्डै आठ वर्षपछि, त्यही इलाकामा मण्डलीहरूको संख्या बढेर १०४ पुगिसकेको छ।

यस वर्षको जून अनि जुलाई महिनाको दौडान मस्कोमा सम्पन्‍न भएका यहोवाका साक्षीहरूको चारवटा जिल्ला अधिवेशनमा १८,२९२ जना उपस्थित भए र ५४६ जनाले बप्तिस्मा लिए। साक्षीहरूसित बाइबल अध्ययन गर्नेहरूको संख्यामा भएको अत्यधिक वृद्धिले गर्दा रूसी अर्थोडक्स चर्चका नेताहरूले मस्कोका पदाधिकारीहरूलाई साक्षीहरूको गतिविधिमा प्रतिबन्ध लगाउन उक्साउने प्रयत्न गरेको पाइन्छ।

सन्‌ १९९८ को सुरुतिर साक्षीहरूमाथि प्रतिबन्ध लगाउन गोलोभिन्स्की अदालतमा मुद्दा दायर गरियो। अन्ततः फेब्रुअरी २३, २००१ मा न्यायाधीशले साक्षीहरू विरुद्ध दायर गरिएका अभियोगहरू गलत हुन्‌ भनेर फैसला सुनाए। तथापि, अभियोक्‍ताहरूले यस मुद्दालाई मस्कोको उच्च अदालतमा अपील गर्दा यो सुरुमा दर्ता गरिएको अदालतमै फिर्ता पठाइयो।

तैपनि, साक्षीहरूमाथि प्रतिबन्ध लगाउने केही मानिसहरूले गरेको प्रयासका बावजूद मस्कोको गोलोभिन्स्की जिल्ला प्रशासनका स्थानीय पदाधिकारीहरूले किन साक्षीहरूको प्रशंसा गरे?

सभा हुने नयाँ स्थान

डिसेम्बर १९९८ मा साक्षीहरूले मिखाइल्कोभस्के पार्क नजिकै रहेको ठूलो दुई तले भवन किने। पहिला यसलाई सांस्कृतिक केन्द्रको रूपमा प्रयोग गरिन्थ्यो। केही समयअघि साक्षी कामदारहरूले यस विशाल भवनको पुनर्निर्माण गर्न थाले। यसमा यहोवाका साक्षीहरूको २२ वटा मण्डलीले प्रयोग गर्न सक्ने पाँचवटा राज्यभवन अर्थात्‌ सभा स्थलहरू समावेश छन्‌।

गत वर्षको अप्रिल १५ मा गोलोभिन्स्की जिल्लाको एउटी प्रशासकले साक्षीहरूलाई अप्रिल २१ मा मिखाइल्कोभस्के पार्क सफा गरिदिन आग्रह गरिन्‌। रूसमा स्थानीय बासिन्दा र समुदायहरू मिलेर पार्क तथा राजमार्गहरूको व्यापक सरसफाइ गर्नु सामान्य कुरा हो। अप्रिल १७ मा यस कार्यको योजना बनाउन साक्षीहरूको सभा बस्यो। लगभग ७०० जना मानिसको आवश्‍यकता पर्न सक्छ भन्‍ने कुरा त्यस सभामा निधो गरियो।

काम पूरा गर्दै

अप्रिल १८ मा साक्षीहरूले त्यस कार्यमा आवश्‍यक पर्ने दाँते वा अन्य औजारहरूको संख्या गोलोभिन्स्की जिल्लाका पदाधिकारीहरूलाई अवगत गराउँदा, यस्तो कार्यमा लगभग ७०० कामदारहरूले भाग लेलान्‌ भनेर ती अधिकारीहरूले विश्‍वासै गरेनन्‌। तथापि, अप्रिल २१ को बिहान ९:३० बजेतिर प्रशासन विभागका कर्मचारीहरू त्यस पार्कमा आइपुग्दा त्यहाँ सयौं साक्षीहरू पुगिसकेका थिए तर तिनीहरूसित बगैंचाको सरसफाइ गर्न आवश्‍यक औजारहरू भने २०० वटा मात्र थियो। पछि थप २०० वटा दाँते उपलब्ध गरियो। ती औजारहरू नपाएकाहरूले चाहिं आफ्नै हातले फोहोर उठाएर प्लास्टिकको झोलामा जम्मा गर्न थाले। साक्षीहरूले त्यहाँको ठूलो तलाउलाई सफा गर्न पानीमा लगाउने जुत्ता र डुंगासमेत आफैले ल्याएका थिए।

त्यहाँ भइरहेको काम देखेर प्रशासकीय प्रतिनिधिहरू छक्क परे। ती मानिसहरूले त्यस ठाउँलाई आफ्नै सम्पत्तिलाई जस्तो रमाइ-रमाइ, जोसका साथ सफा गरिरहेको तिनीहरूले देखे। मिखाइल्कोभस्के पार्क सफा गर्न जम्माजम्मी एक हजार जना साक्षीहरूले भाग लिए र २५० टन फोहोर त्यहाँबाट हटाइयो। त्यस क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूले त्यो पार्क यतिबिघ्न सफा त पहिला कहिल्यै नदेखेको कुरा बताए।

सुरुमै उल्लेख गरेझैं ती पदाधिकारीहरू त्यहाँ गरिएको काम देखेर निकै प्रभावित हुनुका साथै कृतज्ञ भए। गोलोभिन्स्की जिल्लाका एक जना पदाधिकारीले यस्तो लेखे: “मिखाइल्कोभस्के पार्कको सरसफाइमा यहोवाका साक्षीहरूको धार्मिक समुदायले सहयोग गरेकोमा मस्कोको उत्तर प्रशासकीय क्षेत्रको गोलोभिन्स्की जिल्ला प्रशासन आभार व्यक्‍त गर्दछ।” तिनकै सँगी अधिकारीले पनि त्यस्तै मूल्यांकनका शब्दहरू बोल्दै निष्कर्षमा यसो भने: “यो उत्कृष्ट तथा अत्यावश्‍यक कार्यले यस पार्कमा घुम्न आउनेहरूलाई आनन्द तथा फाइदा पुऱ्‍याउँछ।”

यहोवाका साक्षीहरू आ-आफ्नो घरजग्गा भएका ठाउँहरूको वरपर यहाँ वर्णन गरिएझैं सरसफाइ गर्ने योजनामा भाग लिन उत्सुक भए तापनि आज तिनीहरूको मुख्य काम चाहिं मानिसहरूलाई यस पृथ्वीलाई प्रमोदवन बनाउने सरकार अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने काममा भाग लिनु हो। (मत्ती २४:१४) मिखाइल्कोभस्के पार्कको सरसफाइ गर्दा, आरमागेडोनपछि पूरै पृथ्वीलाई सुन्दर पार्ने कामको लागि आफूहरूले प्रशिक्षण पाइरहेको कुरा पनि कसै-कसैले गरेको सुनियो।—प्रकाश १६:१४, १६.

साँच्चै, बाइबललाई प्रेम गर्नेहरू सबै परमेश्‍वरले सुरुमा मानव जोडी सृष्टि गर्नुहुँदा बनाउन चाहनुभएको जस्तै पृथ्वी सुन्दर बगैंचाजस्तो ठाउँ बन्‍ने समयको प्रतीक्षा गर्छन्‌।—उत्पत्ति १:२८; २:८, ९, १५; प्रकाश २१:३, ४. (g01 12/22)

[पृष्ठ २३-मा भएको चित्र]

मुरात शाकीरोभको कोठामा १९७० दशकको मध्यतिर भेला हुनेहरूको पुनर्मिलन

[पृष्ठ २४-मा भएको चित्र]

यस वर्ष मस्कोमा सम्पन्‍न चारवटा अधिवेशनमा जम्मा १८,२९२ जना उपस्थित भए

[पृष्ठ २५-मा भएको चित्र]

यो पुरानो सांस्कृतिक केन्द्रलाई पुनर्निर्माण गरेर यहाँ पाँचवटा राज्यभवन बनाइयो

[पृष्ठ २६-मा भएको चित्र]

यहाँबाट २५० टनभन्दा धेरै फोहोर हटाइयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने