प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ९/८ पृ. १६-१७
  • परमेश्‍वरले हिंसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले हिंसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हिंसाको लामो इतिहास
  • प्रेतहरूको प्रभाव
  • परमेश्‍वरले हिंसालाई घृणा गर्नुहुन्छ
  • के हिंसाको कहिल्यै अन्त हुनेछ?
  • हिंसा
    ब्यूँझनुहोस्‌!—२०१५
  • हिंसा जताततै व्याप्त छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • हिंसाको स्थायी अन्त—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • हिंसा—तिनीहरू किन रुचाउँछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ९/८ पृ. १६-१७

बाइबलको दृष्टिकोण

परमेश्‍वरले हिंसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

हिंसा सर्वव्यापी छ अनि यसका विविध रूपहरू छन्‌। युद्धको अलावा खेलकुद, लागूपदार्थ, आपराधिक गिरोह, विद्यालय र काम गर्ने ठाउँसित सम्बन्धित हिंसादेखि लिएर मनोरञ्जनमा समेत हिंसा व्याप्त छ। अब त थुप्रै परिवारमा घरेलु हिंसासमेत सामान्य भइसकेजस्तो देखिन्छ। उदाहरणको लागि हालैको एउटा अध्ययनले देखाएअनुसार क्यानाडामा गत पाँच वर्ष भित्रमा १२ लाख पुरुष र स्त्रीहरू कम्तीमा पनि एक चोटि आफ्नो पति वा पत्नीद्वारा हिंसात्मक आक्रमणको सिकार भए। अर्को अध्ययनबाट पत्नी कुट्‌ने पुरुषहरूमध्ये ५० प्रतिशतले आफ्ना छोराछोरीमाथि पनि कुटपिट गर्ने गरेको पत्ता लागेको छ।

निश्‍चय नै अधिकांश मानिसहरूलाई जस्तै यस्ता हिंस्रक कार्यहरूले तपाईंलाई पनि स्तब्ध पारेको हुन सक्छ। तर पनि, आजका धेरैजसो मनोरञ्जनहरूमा हिंसा नै एउटा मुख्य अंश बन्‍न पुगेको छ। मानिसहरू चलचित्रहरूमा देखाइने हिंसा हेरेर मात्र होइन तर टेलिभिजनमा देखाइने साँच्चैका हिंस्रक घटनाहरू हेरेर पनि मुग्ध भएका छन्‌। अधिकांश देशमा मानिसहरू मुक्केबाजी अनि अन्य हिंस्रक खेलकुदहरू भनेपछि हुरुक्कै हुन्छन्‌। तर परमेश्‍वरले हिंसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

हिंसाको लामो इतिहास

हिंसाको इतिहास लामो छ। मानिसले पहिलो चोटि गरेको हिंस्रक कार्यको विवरण बाइबलको उत्पत्ति ४:२-१५ मा लिपिबद्ध छ। आदम र हव्वाको जेठो छोरा कयिनले आफ्नो भाइप्रति डाह गरे अनि तिनको निर्मम हत्या गरे। यसप्रति परमेश्‍वरले कस्तो प्रतिक्रिया देखाउनुभयो? आफ्नो भाइको ज्यान लिएको कारण यहोवाले कयिनलाई कठोर सजाय दिनुभयो भनी बाइबलले बताउँछ।

उक्‍त घटना घटेको करिब १५०० वर्ष पछि उत्पत्ति ६:११ मा “पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो” भनी लेखिएको छ। फेरि, परमेश्‍वरले कस्तो प्रतिक्रिया देखाउनुभयो? यहोवाले धर्मी व्यक्‍ति नूहलाई जहाज बनाउने आज्ञा दिनुभयो र उहाँले पृथ्वीमा प्रलय ल्याउनुहुँदा तिनी अनि तिनको परिवारलाई त्यस जहाजले सुरक्षित राख्ने थियो। यसरी त्यो हिंस्रक समाजमाथि यहोवाले ‘सर्वनाश ल्याउनुभयो।’ (उत्पत्ति ६:१२-१४, १७) तर यति धेरै मानिसहरूले हिंसाप्रति तीव्र झुकाउ राख्नुको कारण के हो?

प्रेतहरूको प्रभाव

उत्पत्तिको विवरणले परमेश्‍वरका पुत्र अर्थात्‌ केही अनाज्ञाकारी स्वर्गदूतहरूले भौतिक मानवको रूप धारण गरी स्त्रीहरूसित विवाह गरे अनि सन्तानहरू जन्माए भनी बताउँछ। (उत्पत्ति ६:१-४) नपीलहरू भनी चिनिने ती सन्तानहरू भीमकाय शरीर भएका कुख्यात व्यक्‍तिहरू थिए। आफ्ना प्रेत पिताहरूको प्रभावले गर्दा तिनीहरू हिंस्रक हुल्याहाहरू भएर निस्के। जब जलप्रलयको पानी बढेर पूरै पृथ्वी भरियो तब यी दुष्ट हुल्याहाहरू नष्ट भए। तर ती प्रेतहरू आत्मिक रूप धारण गरेर आत्मिक संसारमा नै फर्के।

त्यसबेलादेखि नै यी विद्रोही स्वर्गदूतहरूले मानिसजातिमाथि बलियो प्रभाव जमाइरहेको कुरा बाइबलले स्पष्टसित बताउँछ। (एफिसी ६:१२) तिनीहरूको नेता शैतानलाई प्रथम “हत्यारा” भनिएको छ। (यूहन्‍ना ८:४४) त्यसैले, पृथ्वीमा भइरहेको हिंसालाई पैशाचिक वा शैतानिक भनी संकेत गर्नु एकदमै उपयुक्‍त छ।

बाइबलले हिंसाको छली शक्‍तिबारे चेताउनी दिन्छ। हितोपदेश १६:२९ ले यसो भन्छ: “उपद्रवी मानिसले अरूलाई पनि फँसाउँछ, र तिनीहरूलाई अन्यायको बाटोतिर डोऱ्‍याउँछ।” आज धेरै मानिसहरू हिंसालाई अनुमोदन र बढवा दिने काम वा सीधै हिंसामा फसेका छन्‌। साथै, करोडौं मानिसहरू हिंसालाई महत्त्व दिने मनोरञ्जनहरूबाट आनन्द लिन लालायित छन्‌। आजको पुस्तालाई वर्णन गर्न भजन ७३:६ का शब्दहरू निकै उपयुक्‍त छन्‌। भजन रचयिताले यसो भने: “अहंकार तिनीहरूका गलामा सिक्रीझैं रहन्छ। अत्याचारले तिनीहरूलाई लुगालेझैं ढाक्छ।”

परमेश्‍वरले हिंसालाई घृणा गर्नुहुन्छ

हिंसाग्रस्त संसारमा मसीहीहरूले कस्तो आचरण देखाउनुपर्छ? याकूबका छोराहरू शिमोन अनि लेवीको बाइबल विवरणले राम्रो मार्ग निर्देशन प्रदान गर्छ। तिनीहरूका बहिनी दीनाले शकेमका अनैतिक मानिसहरूसित हिमचिम बढाइन्‌। फलतः तिनी शकेमद्वारा बलात्कृत भइन्‌। त्यसको बदला लिन शिमोन र लेवीले शकेमको घरानाका पुरुषहरूको विभत्स हत्या गरे। पछि, परमेश्‍वरबाट उत्प्रेरित भई याकूबले यी शब्दहरूद्वारा आफ्ना छोराहरूको अनियन्त्रित रिसलाई श्राप दिए: “शिमोन र लेवी दाज्यू-भाइ हुन्‌, तिनका तरवारनै उपद्रवका हतियार हुन्‌, ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, ए मेरो मान, तिनीहरूको संगतिमा नलाग्‌।”—उत्पत्ति ४९:५, ६.

यी शब्दहरूअनुरूप हिंसालाई बढवा दिने वा हिंसा गर्ने व्यक्‍तिहरूसित मसीहीहरूले संगत गर्दैनन्‌। स्पष्टतः हिंसालाई बढवा दिने व्यक्‍तिहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। बाइबलले यसो भन्छ, “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ।” (भजन ११:५) मसीहीहरूलाई सबै प्रकारको अनियन्त्रित रिसका साथै मौखिक दुर्व्यवहारबाट समेत अलग रहन सल्लाह दिइएको छ।—गलाती ५:१९-२१; एफिसी ४:३१.

के हिंसाको कहिल्यै अन्त हुनेछ?

पुरातन अगमवक्‍ता हबकूकले यहोवा परमेश्‍वरलाई यस्तो प्रश्‍न गरे: ‘उपद्रवको कारणले गर्दा तपाईं कहिलेसम्म मेरो दोहाई सुन्‍नुहुन्‍न?’ (हबकूक १:२) सायद तपाईंले पनि यस्तो प्रश्‍न सोध्नु भएको होला। परमेश्‍वरले “दुष्ट[लाई]” हटाउने प्रतिज्ञा गर्नु भएर हबकूकलाई जवाफ दिनुभयो। (हबकूक ३:१३) भविष्यसूचक पुस्तक यशैयाले पनि यस्तै आशा प्रदान गर्छ। यस पुस्तकमा परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तेरो देशमा उपद्रव सुनिनेछैन। तेरा सीमानामा उजाड़ र नष्टकारी कुरा सुनिनेछैन।”—यशैया ६०:१८.

परमेश्‍वरले छिट्टै पृथ्वीबाट सबै प्रकारको हिंसा अनि यसलाई बढवा दिने व्यक्‍तिहरूलाई हटाउनुहुन्छ भन्‍ने कुरामा यहोवाका साक्षीहरू विश्‍वस्त छन्‌। त्यसबेला पृथ्वी हिंसाले भरिनुको सट्टा, “समुद्र पानीले ढाकिएझैं पृथ्वी परमप्रभुको महिमाको शानले भरिपूर्ण हुनेछ।”—हबकूक २:१४. (g02 8/08)

[पृष्ठ १६-मा भएको चित्र]

कयिनले हाबिलको हत्या गरेपछि हिंसाको सुरुआत भयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने