हिंसाको स्थायी अन्त—कसरी?
बढ्दो हिंसालाई रोक्न संयुक्त राज्यका थुप्रै शहरहरूमा एउटा नौलो कार्यक्रमको परीक्षण गरियो। त्यो हो, बन्दुक फिर्ता गर्नेलाई कुनै सोधपुछ नगरी रकम वा सरसामान दिने। त्यसको परिणाम? उदाहरणका लागि, सेन्ट लुइस शहरले ३,४१,००० अमेरिकी डलर खर्च गरेर ८,५०० बन्दुकहरू संकलन गऱ्यो। अनि न्यु योर्कमा सञ्चालित त्यस्तै कार्यक्रमले एक हजारभन्दा बढी हातहतियार संकलन गऱ्यो।
यसले अपराधमा कत्तिको असर गऱ्यो त? दुःखको कुरा, ज्यादै कम। उपरोक्त नौलो कार्यक्रमको लगत्तै अर्को वर्ष सेन्ट लुइसमा बन्दुकले गर्दा जति नरहत्या भए, त्यो पहिले कहिल्यै भएको थिएन। न्यु योर्क शहरका जनसाधारणसित अझै पनि २० लाख बन्दुकहरू छन् भन्ने अनुमान गरिएको छ। संयुक्त राज्यमा झन्डै २० करोड बन्दुक निजी सम्पत्तिको रूपमा छन् अर्थात् हरेक पुरुष, स्त्री तथा बच्चाको लागि एउटा बन्दुक। अन्य मुलुकहरूमा बन्दुकले हुने हिंसा तीव्र दरमा बढिरहेको छ। दी इकोनोमिस्ट यसो भन्छ, बेलाइतमा “सन् १९८३ देखि १९९३ बीच प्रहरीहरूले रिकर्ड गरेका अपराधहरूमध्ये बन्दुक प्रयोग भएका अपराधहरूको संख्या झन्डै दुगुना भएर १४,००० पुग्यो।” यस मुलुकमा नरहत्याको दर तुलनात्मक हिसाबमा कम भए तापनि झन्डै दश लाख अवैध हातहतियारहरू छन्।
त्यस्तो विकराल संख्यामा केही मात्र कटौती भयो भने पनि त्यसलाई प्रगति मान्नैपर्छ। तथापि, माथि उल्लिखित कदमहरू हिंसाको मूल कारणहरूसम्म भने पटक्कै पुग्न सकेका छैनन्। ती कारणहरू के के हुन्? थुप्रै कारणहरू उल्लेख गरिएका छन् तर त्यसमध्ये कमै मात्र मूलभूत साबित भएका छन्। पारिवारिक स्थिरता तथा नैतिक निर्देशनको कमीले गर्दा धेरै जवानहरू घनिष्ठ सम्बन्धको लागि डफ्फाको सदस्य हुन्छन्। हिंसा गर्दा निकै मुनाफा कमाउन सकिने भएकोले केही त्यसो गर्छन्। अरू भने अन्यायको शिकार भएकोले कामकुरा सुल्झाउन हिंसात्मक कार्यहरू गर्छन्। देश, जाति वा प्रतिष्ठाको घमण्डले केहीलाई अरूका दुःखहरूप्रति असंवेदनशील तुल्याउँछ। यी गहन कारणहरू हुन जसका सरल समाधानहरू छैनन्।
के गर्न सकिन्छ?
प्रहरीहरूको संख्यामा वृद्धि, कडा जेल सजाय, बन्दुकको किनबेचमा कानुनी प्रतिबन्ध, मृत्युदण्डजस्ता थुप्रै प्रस्तावहरू राखिएका छन् र हिंसा अनि अपराध कम गर्न ती लागू पनि गरिएका छन्। त्यसबाट विभिन्न हदसम्म सफलता हासिल भएको छ। तर दुःखको कुरा, हिंसाले अझै पनि हामीलाई पिरोलिरहेको छ। किन? किनभने यी कदमहरू समस्याको जरासम्म पुग्न सकेका छैनन्।
अर्कोतर्फ, धेरै विशेषज्ञहरूको सोचाइमा हिंसाको अन्त गर्ने कुञ्जी, शिक्षा हो। यो विचार सुन्दा राम्रै लाग्ला तर प्रशस्त शिक्षा उपलब्ध नभएका मुलुकहरूमा मात्र हिंसा सीमित छैन। वास्तवमा, सबैभन्दा उच्च शैक्षिक स्तर भएका केही मुलुकहरूमा नै हिंसा बढी भएको देखिन्छ। त्यसकारण शिक्षा मात्र होइन तर सही प्रकारको शिक्षा चाहिएको छ भनेर बुझ्न गाह्रो पर्दैन। तर कस्तो प्रकारको सही शिक्षा? के मानिसहरूलाई शान्तिप्रिय तथा सोझा व्यक्तिहरू हुन सिकाउनसक्ने कुनै व्यक्ति छ त?
“म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!” (यशैया ४८:१७, १८) यहोवा परमेश्वरले मानिसहरूलाई शान्तिप्रिय तथा धर्मी हुन कसरी सिकाउनुहुन्छ? मुख्यतया, उहाँको वचन, बाइबलद्वारा।
परमेश्वरको वचनको शक्ति
बाइबल, कामै नलाग्ने तथा असान्दर्भिक दन्त्यकथा र कथनहरूले मात्र भरिएको पुस्तक पटक्कै होइन। यसमा मानवजातिको सृष्टिकर्ताले दिनुभएका सिद्धान्त तथा विचारधाराहरू छन् र उहाँलाई मानव स्वभावबारे जति ज्ञान छ, त्यो अरू कसैलाई छैन। यहोवा परमेश्वर यसो भन्नुहुन्छ, “जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरीनै मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अल्गो छ।”—यशैया ५५:९.
यसैकारण प्रेरित पावलले यसरी पुष्टि गरे, “परमेश्वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) हो, परमेश्वरको वचनमा मानिसको हृदय छुने र सोचाइ तथा आचरण परिवर्तन गर्नसक्ने शक्ति छ। आज मानिसहरूका हिंस्रक तौरतरिका परिवर्तन गर्न चाहिएको कुरा नै त्यही होइन त?
अहिले यहोवाका साक्षीहरू २३० भन्दा बढी मुलुकहरूमा झन्डै ५० लाख जति छन्। परमेश्वरको वचनले मानिसको जीवनमा राम्रो परिवर्तन गर्नसक्छ भनेर तिनीहरूले ज्वलन्त प्रमाण दिइरहेका छन्। तिनीहरूबीच विभिन्न राष्ट्रियता, भाषा र जातिका मानिसहरू छन्। तिनीहरूको बेग्लाबेग्लै आर्थिक तथा सामाजिक पृष्ठभूमि छ। तिनीहरूमध्ये केही पहिले हिंस्रक तथा संकटमय जीवन बिताउँथे। तर अहिले त्यस्ता कुराहरूले गर्दा वैरभाव, शत्रुता, भेदभाव र घृणा जगाउनुको साटो तिनीहरूले ती अवरोधहरूमाथि विजय हासिल गर्न सिकेका छन् र संसारभरि शान्तिप्रिय तथा एकताबद्ध मानिस भएका छन्। कुन कुराले गर्दा त्यो सम्भव भयो?
हिंसा अन्त गर्ने अभियान
परमेश्वरको वचन, बाइबलमा प्रकटित उहाँको उद्देश्यको सही ज्ञान प्राप्त गर्ने मदत दिन यहोवाका साक्षीहरू समर्पित छन्। तिनीहरूले पृथ्वीको कुनाकाप्चामा त्यस्ता व्यक्तिहरूलाई खोजिरहेका छन् जो यहोवाका मार्गहरू सिकेर उहाँबाट सिकाइएका हुन चाहन्छन्। तिनीहरूका प्रयासहरू फलदायी साबित भएका छन्। यस शैक्षिक अभियानको फलस्वरूप एउटा अद्भुत भविष्यवाणी पूरा भइरहेको छ।
झन्डै २,७०० वर्षअघि अगमवक्ता यशैया यी शब्दहरू लेख्न प्रेरित भएका थिए: “पछिल्ला दिनमा . . . सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं।”—यशैया २:२, ३.
यहोवाबाट सिकाइँदा र उहाँको बाटोमा हिंड्दा मानिसहरूको जीवनमा अद्भुत परिवर्तनहरू हुनसक्छन्। एउटा परिवर्तनबारे त्यही भविष्यवाणीमा यसरी भनिएको छ: “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” (यशैया २:४) धेरैले यो शास्त्रपद पढिसकेका छन्। भनौं भने, न्यु योर्क शहरस्थित संयुक्त राष्ट्र संघको भित्तामा यो पद खोपिएको छ। संयुक्त राष्ट्रले प्राप्त गर्न खोजेको तर असफल साबित भएको प्रयासलाई यसले स्मरण गराउँछ। मानवनिर्मित कुनै पनि राजनैतिक संगठनले युद्ध र हिंसाको अन्त गर्न सक्नेछैन। यहोवा परमेश्वरले मात्र त्यसलाई हटाउन सक्नुहुन्छ। तर उहाँले त्यो काम कसरी गर्नुहुनेछ?
हो, “परमप्रभुको पर्वतमा उक्लेर” ‘उहाँको मार्ग’ सिक्न र “उहाँको बाटोमा” हिंड्न सबै जना इच्छुक हुनैछैनन्। नता “आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया” बनाउन नै तयार हुनेछन्। यहोवाले त्यस्ताहरूलाई के गर्नुहुनेछ? उहाँले तिनीहरू परिवर्तन होस् भनेर सधैंभरि पर्खनुहुनेछैन। हिंसाको अन्त गर्न यहोवाले हिंस्रक मार्गमा लागिरहनेहरूको अन्त गर्नुहुनेछ।
अत्यावश्यक पाठ
परमेश्वरले नूहको दिनमा जे गर्नुभयो त्यसले आज हामीलाई चेताउनीमूलक पाठ सिकाउँछ। बाइबलले त्यति बेलाको पृथ्वी कस्तो थियो भनेर यसरी बताउँछ: “परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले [हिंसा, न्युव] भरिएको थियो।” यसकारण परमेश्वरले नूहलाई यस्तो सुचना दिनुभयो: “सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु।”—उत्पत्ति ६:११, १३.
हामीले एउटा महत्त्वपूर्ण कुरा बिर्सनु हुँदैन। परमेश्वरले त्यस पुस्तामाथि जलप्रलय ल्याउनुहुँदा नूह र तिनको परिवारलाई जोगाउनुभयो। किन? बाइबल यस्तो जवाफ दिन्छ: “नूह धर्मी र निर्दोष मानिस थिए। औ तिनी परमेश्वरको साथै हिंड़नेगर्थे।” (उत्पत्ति ६:९; ७:१) त्यति बेला सबै मानिसहरू हिंस्रक थिएनन् तर नूह र तिनको परिवार मात्र “परमेश्वरको साथै हिंड़नेगर्थे।” त्यसैकारण त्यस हिंस्रक संसारको अन्त हुँदा तिनीहरू मात्र बचे।
हामीले पृथ्वी पुनः “हिंसाले भरिएको” देखिरहेका छौं तर यो परमेश्वरको नजरबाट लुक्न सक्दैन। नूहको दिनमाझैं उहाँले चाँडै हिंसाको स्थायी अन्त गर्नुहुनेछ। साथै अहिले ‘परमेश्वरसँग हिंड्न’ सिक्नेहरू र शान्तिको लागि उहाँले थाल्नुभएको महान् शैक्षिक अभियानलाई समर्थन गर्नेहरूलाई उहाँले बचाउनुहुनेछ।
भजनरचयिताद्वारा यहोवा यस्तो आश्वासन दिनुहुन्छ: “किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:१०, ११.
यहोवाका साक्षीहरू तपाईंसित बाइबल अध्ययन गर्न खुशी हुनेछन्। त्यसपछि तपाईं पनि तिनीहरूसँगै यसो भन्न सक्नुहुनेछ: “आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्नेछौं।” (यशैया २:३) त्यसो गरेर तपाईं पनि दुष्टता र हिंसाको अन्त देख्ने मानिसहरूमध्ये हुन सक्नुहुन्छ। अनि “प्रशस्त शान्तिमा आफै खुशी” हुन सक्नुहुनेछ।
[पृष्ठ ५-मा भएको चित्रको स्रोत]
Reuters/Bettmann