प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ pp. ४-७
  • जब बाल्यावस्थामा हतार गरिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब बाल्यावस्थामा हतार गरिन्छ
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हतार गरेर शिक्षा दिइन्छ
  • जित्न हतार
  • बाल्यावस्थाबाहेक सबै कुरा पाएका बालबालिकाहरू
  • “वयस्क” बन्‍न बाध्य तुल्याइँदा
  • जब बाल्यावस्था गुम्छ
    ब्यूँझनुहोस्‌!—२००३
  • जब बाल्यावस्थाको कदर गरिन्छ
    ब्यूँझनुहोस्‌!—२००३
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • छोराछोरीसितको बिछोड सहन सिक्ने
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ pp. ४-७

जब बाल्यावस्थामा हतार गरिन्छ

अँध्यारो आकाश छ, एउटा इन्जिन भएको हवाईजहाज तेज गतिमा हुइँकिएर धावनमार्गबाट माथि उचालिंदा ठूलो आवाज सुनियो। यो समारोहको खुबै प्रचारप्रसार गरिएको थियो। सञ्चारकर्मीहरू पूरै ओइरिनुका साथै चारैतिर क्यामराले घेरिएको थियो अनि संवाददाताहरूले प्रशंसाका साथै प्रश्‍नहरू वर्षाइरहेका थिए। कसलाई यति धेरै ध्यान दिइँदै थियो? हवाईजहाजमा भएको अनुमतिपत्र चालक वा एक्लो यात्रु अर्थात्‌ पुरुष वयस्क थिएनन्‌ तर ती यात्रुकी छोरी थिइन्‌। उनी सात वर्षकी थिइन्‌।

यी सानी बच्चीले हवाईजहाज उडाउन लागेकी थिईन्‌। उनले एउटा पुरानो रेकर्ड तोड्‌न लागेकी थिइन्‌ र यसो गर्नको लागि नियमहरू असाध्यै कडा थिए। यसपछिको अवतरण स्थानमा सञ्चारकर्मीहरू पर्खिरहेका हुनेथिए। खराब मौसमको बावजुद तीनै जना जहाजमा चढे अनि ती सानी केटीले अगाडिका उपकरण राम्ररी देख्न सकून्‌ भनेर पाउदानमा खुट्टाले भ्याउने गरी चकटीमा बसेकी थिइन्‌।

दुःखको कुरा, यो उडान एकदमै छोटो भयो। अकस्मात्‌ ठूलो आँधी आएपछि हवाईजहाज अर्कै दिशातर्फ मोडिएर दुर्घटनाग्रस्त भयो अनि तीनै जनाको ज्यान गयो। सञ्चारजगत्‌ले प्रशंसा गर्नुको साटो तुरुन्तै खेद प्रकट गऱ्‍यो। केही संवाददाता तथा सम्पादकहरूले यो दुर्घटना हुनुमा केही हदसम्म सञ्चारजगत्‌ पनि दोषी थियो कि भन्‍ने शंका व्यक्‍त गरे। बच्चालाई हवाईजहाज उडाउन दिनु हुँदैन भनेर धेरैले भन्‍न थाले। यसलाई समर्थन गर्दै संयुक्‍त राज्य अमेरिकामा नियम लागू गरियो। तर त्यसले उत्पन्‍न गरेको सनसनी र सरल समाधानको पछाडि गहन विषयहरू मुछिएका थिए।

त्यस विपत्तिले केही मानिसहरूलाई हाम्रो समयको लहडबारे गम्भीरतापूर्वक सोच्न लगायो। आजकल बालबालिकालाई बाल्यावस्थामा हतार गरिन्छ अनि सानै उमेरमा वयस्कको भूमिका निर्वाह गराउन हडबड गरिन्छ। हुन त हो, परिणाम सधैं उल्लेखनीय वा दुःखदायी हुँदैन। तर त्यसले गहन तथा चिरकालीन असर गर्न सक्छ। आउनुहोस्‌, बाल्यावस्थामा हतार गरिने केही तरिकाहरू विचार गरौं।

हतार गरेर शिक्षा दिइन्छ

आमाबाबुहरू आफ्ना छोराछोरी सफल भएको हेर्न उत्सुक हुन्छन्‌। तर त्यो उत्सुकता, चिन्तामा परिणत भयो भने आमाबाबुले छोराछोरीलाई चाँडचाँडो गह्रौं बोझले लाद्‌न सक्छन्‌। यो प्रक्रिया अक्सर कुनै गलत मनसाय नराखी सुरु हुन्छ। उदाहरणका लागि, आमाबाबुले आफ्ना स-साना छोराछोरीलाई खेलकुददेखि लिएर संगीत वा ब्याले सिकाउन स्कूलपछिका क्रियाकलापमा भर्ना गराउने चलन दिनप्रतिदिन सामान्य हुँदै गइरहेको छ। प्रायजसो, थप पढ्‌न पनि लगाइन्छ।

निस्सन्देह, बच्चाको खुबी वा चासोलाई प्रोत्साहित गर्नु गलत कुरा होइन। तर के सीमा नाघ्ने खतरा छ? छ। किनभने कुनै-कुनै बालबालिका अस्तव्यस्त वयस्क जत्तिकै बोझले दबिएका देखिन्छन्‌। टाइम पत्रिका यस्तो टिप्पणी गर्छ: “कुनै समय बाल्यावस्थाको आनन्द उठाउन सक्ने बालबालिकाहरू अहिले पाठ्यक्रमले लादिएका छन्‌; युवावस्थाको चञ्चलता हुनुपर्ने केटाकेटीहरूमा अहिले कारिन्दा माहुरीको जस्तो उच्च उद्देश्‍य छ।”

कोही-कोही आमाबाबुहरू आफ्ना छोराछोरी खेलकुद, संगीत वा चलचित्रजगत्‌मा लागोस्‌ भन्‍ने आशा राख्छन्‌। आफ्ना बच्चाहरूले सफलता हासिल गर्ने सम्भावना बढ्‌छ भन्‍ने आशमा आमाबाबुले बच्चा जन्मनुअघिनै तिनीहरूलाई पूर्व-शिशुशालामा भर्ना गरिदिन्छन्‌। साथै, कोही-कोही आमाबाबु गर्भका बच्चालाई संगीत प्रशिक्षण दिन “गर्भावस्थाको लागि विश्‍वविद्यालयमा” भर्ना हुन्छन्‌। यसको लक्ष्य, विकास भइरहेको दिमागलाई उत्तेजित पार्नु हो।

कुनै-कुनै मुलुकमा बालबालिकाहरू छ वर्ष नपुग्दै तिनीहरूको पढाइ र गणितको क्षमता जाँच्न परीक्षण गरिन्छ। त्यस्तो दबाबले गर्दा हुन सक्ने भावनात्मक क्षतिबारे आवाज उठाइँदैछ। उदाहरणका लागि, किन्डरगार्टेनमा “फेल” हुने बच्चालाई के हुन्छ? द हरिड चाइल्ड पुस्तकका लेखक, डेभिड एल्किन्डले टिप्पणी गरेअनुसार स्कूलहरूले बालबालिकालाई एकदमै हतारमा वा सानै उमेरमा खास खास समूहमा वर्गीकरण गर्छन्‌। तिनीहरूले बालबालिकालाई प्रभावकारी ढंगमा सिकाउन नभई व्यवस्थापकीय दृष्टिकोणले त्यसो गर्छन्‌ भन्‍ने एल्किन्डको तर्क छ।

के यी साना बालबालिकाहरूलाई समयअघिनै प्रतिस्पर्धी साना वयस्कहरू हुने दबाब दिंदा कुनै मूल्य चुकाउनुपर्छ? बालबालिकालाई वयस्कको जिम्मेवारी वहन गर्न लगाउन समाजले अंगालेको परिपाटी देखेर एल्किन्ड चिन्तित छन्‌। तिनी यसो भन्छन्‌: “आजका स-साना केटाकेटीमाथि थोपरिएको बढ्‌दो तथा तीव्र दबाबलाई ‘सामान्य’ ठानेर स्वीकार्ने स्वीकार्ने हाम्रो झुकाव झल्काउँछ।” निस्सन्देह, बालबालिकाको लागि सामान्य के हो भन्‍ने धारणामा आमूल परिवर्तन आइरहेको छ।

जित्न हतार

थुप्रै आमाबाबुले सबै कुरामा र विशेष गरी खेलकुदमा जित्नैपर्छ भनी सिकाउनु सामान्य हो र यस्तो सुझाव दिनु बेस समेत ठान्छन्‌। आज थुप्रै केटाकेटीले ओलम्पिक पदक जित्ने लक्ष्य राखेका हुन्छन्‌। विजयको क्षणिक अनुभूति तथा वयस्क जीवनमा राम्रो सम्पत्ति आर्जन गर्न कोही-कोही बालबालिकाले बाल्यावस्था राम्ररी बिताउन नपाई हतार गरिएको पाइन्छ।

महिला जिम्नास्टहरूलाई विचार गर्नुहोस्‌। तिनीहरूले एकदमै कलिलो उमेरमा कडा मेहनत गर्न थाल्छन्‌ जसले तिनीहरूको सानो शरीरमा भीषण दबाब सृजना गर्छ। तिनीहरू ओलम्पिक प्रतियोगितामा भाग लिन वर्षौंअघिदेखि मानसिक र शारीरिक तयारी गर्छन्‌। निस्सन्देह, हातमा गन्‍न मिल्ने थोरै मात्र विजयी हुन्छन्‌। के हार्नेहरूले आफ्नो बाल्यावस्था बलिदान दिएकोमा गर्व गर्न सक्छन्‌? समयको दौडान, विजयी हुनेहरूको मनमा समेत शंका उपशंका पैदा हुन सक्छ।

भावनात्मक दृष्टिकोणबाट हेर्ने हो भने, प्रख्यात खेलाडी बन्‍ने तीव्र इच्छाको कारण यी साना केटीहरूले बाल्यावस्था राम्ररी बिताउन पाउँदैनन्‌। तर शारीरिक तवरमा भने कडा प्रशिक्षणले शरीरको विकास राम्ररी हुन सक्दैन। कोही-कोही केटीहरूको हड्डीको विकास रोकिन्छ। खानपान गर्ने असन्तुलित बानी सामान्य समस्या हो। थुप्रै अवस्थामा केटाकेटीको यौवन सुरु हुने उमेरमा वर्षौंसम्म ढिलाइ हुन जान्छ। तथापि, थुप्रै केटीहरूले भने अहिले भोगिरहेको समस्या उल्टो छ: तिनीहरूको यौवन चाँडै सुरु हुन्छ।—माथि दिइएको पेटी हेर्नुहोस्‌।

बाल्यावस्थाबाहेक सबै कुरा पाएका बालबालिकाहरू

मनोरञ्जन जगत्‌को कुरा पत्याउने हो भने, आदर्श बाल्यावस्था भनेको सबै प्रकारका भौतिक सुखसुविधा पाउनु भन्ठान्‍नु होला। कोही-कोही आमाबाबुहरू आफ्ना छोराछोरीको लागि सुविधासम्पन्‍न घर, प्रशस्त मनोरञ्जन तथा महँगा लुगाफाटाजस्ता सबै भौतिक सुविधा प्रबन्ध गर्न असाध्यै कडा मेहनत गर्छन्‌।

यद्यपि, त्यसरी हुर्काइएका कतिपय केटाकेटीहरू मद्यपान, लागू पदार्थको दुर्व्यसनी हुनुका साथै निराश, विद्रोही व्यवहार गर्छन्‌। किन? थुप्रै जना आफ्नो बेवास्ता भएको हुँदा द्वेषको भावनाले भित्रभित्रै छियाछिया हुन्छन्‌। छोराछोरीलाई आफ्नो प्रेम अनि हेरचाह गर्ने आमाबाबुको चाहना हुन्छ। यसो गर्न फुर्सतै नभएका आमाबाबुले छोराछोरीको आनन्दको लागि कडा मेहनत गरिरहेको भन्ठान्छन्‌ तर वास्तवमा ठीक विपरीत भइरहेको हुन्छ।

डा. जुडिथ पाफाजीले वर्णन गरेअनुसार, “सम्पन्‍न सामाजिक-आर्थिक समूहका र जागिरे आमाबाबुहरूले परिवारलाई पूरा ध्यान दिन नसकिरहेको महसुस गर्ने हुँदा त्यसको क्षतिपूर्ति गर्न आफ्ना छोराछोरीलाई सकेसम्म सबै भौतिक चीजबीजहरू दिन खोज्छन्‌।” उनको दृष्टिकोणमा त्यस्तो अवस्थाका आमाबुबाहरू “आफ्नो जिम्मेवारीबाट पन्छिरहेका हुन्छन्‌।”

फलस्वरूप छोराछोरीले प्रायजसो ठूलो मोल चुकाउँछन्‌। तिनीहरूसित थुप्रै भौतिक सुखसुविधा होलान्‌ तर राम्रो बाल्यावस्थाका सबैभन्दा अपरिहार्य तत्त्व गुमाइरहेका हुन्छन्‌: त्यो हो, आमाबाबुसँग बिताउने समय र माया। डोऱ्‍याइ, अनुशासन र निर्देशनको अभावमा तिनीहरूले चाँडै, खासै तयारी नभएको अवस्थामा वयस्कहरूले सामना गर्नुपर्ने प्रश्‍नहरूको जवाफ दिनुपर्ने हुन्छ। ‘के म लागू पदार्थ सेवन गरूँ? यौनसम्बन्ध राखूँ? मलाई रिस उठ्‌दा हिंस्रक व्यवहार गरूँ?’ तिनीहरूले यी प्रश्‍नहरूको जवाफ आफै, आफ्ना साथीसँगी, टिभी वा चलचित्रबाट पाउँछन्‌। फलस्वरूप तिनीहरूको बाल्यावस्थाको अकस्मात्‌, दुःखद अन्त हुन्छ।

“वयस्क” बन्‍न बाध्य तुल्याइँदा

आमाबुबा दुवै जना भएको परिवारमा एक जनाको मृत्यु, बिछोड वा सम्बन्ध विच्छेदको कारण अकस्मात्‌ एकल परिवारको सृजना हुँदा छोराछोरीले भावनात्मक क्षति भोग्छन्‌। निस्सन्देह, थुप्रै एकल परिवारहरूले राम्रै गरिरहेका छन्‌। तर कुनै-कुनै अवस्थामा केटाकेटीलाई हतार हतार वयस्क हुन लगाइन्छ।

हुन त हो, एक्लो आमा वा बुबाले कहिलेकाहीं एकाकीपनको सामना गर्नुपर्ने हुन्छ। परिणामस्वरूप, कसै-कसैले अक्सर जेठो सन्तानलाई परिवारको अर्को “वयस्क” व्यक्‍तिको भूमिका निर्वाह गर्न लगाउँछन्‌। हतास खाएका आमा वा बुबाले जवान छोरा वा छोरीलाई आफ्नो मनको बह पोखेर बच्चामाथि समस्याहरूको बोझ थोपर्न सक्छन्‌ जबकि तिनी त्यो बोझ बोक्न तयार भइसकेका हुँदैनन्‌। कोही-कोही एक्लो आमाबुबाहरू भावनात्मक तवरमा आफ्नो बच्चामा अत्यन्तै निर्भर हुन्छन्‌।

अरू आमाबाबुले भने आफ्नो जिम्मेवारीबाट पन्छिएर बच्चालाई नै परिवारमा वयस्कको भूमिका निर्वाह गर्न लगाउँछन्‌। माथि उल्लिखित कार्मेन र उनकी दिदी त्यस्तै अवस्थाको कारण घर छोडेर सडकमा बस्न पुगे। तिनीहरू आफै बच्चै भए तापनि आफ्ना भाइबहिनीको लागि आमाबुबाको भूमिका निर्वाह गर्नुपर्ने थियो। यो भार तिनीहरूको निम्ति असह्‍य थियो।

निस्सन्देह, छोराछोरीलाई बाल्यावस्थामा हतार गराउनु खतरनाक कुरा हो र यथासम्भव यसो नगर्नु बेस हो। तर एउटा सुसमाचार छ: आफ्ना छोराछोरीको बाल्यावस्था रमाइलो बनाउन वयस्कहरूले उठाउन सक्ने केही सकारात्मक कदमहरू छन्‌। कस्ता कदमहरू? आउनुहोस्‌, समयको दौडान सत्य साबित भइसकेका केही जवाफहरू केलाऔं। (g03 4/22)

[पृष्ठ ६-मा भएको पेटी]

यौवन चाँडो सुरु हुँदाको चुनौती

के आजकालका केटीहरूको यौवन चाँडै सुरु हुँदैछ? यो प्रश्‍नको जवाफमा वैज्ञानिकहरू एकमत हुन सकेका छैनन्‌। कोही भन्छन्‌, १९ औं शताब्दीको बीचतिर १७ वर्षको उमेरमा केटीको यौवन सुरु हुन्थ्यो भने अहिले १३ वर्षको उमेरमा सुरु भएको छ। सन्‌ १९९७ मा १७,००० केटीहरूसित गरिएको अध्ययनअनुसार संयुक्‍त राज्य अमेरिकाको १५ प्रतिशत गोरा केटीहरू र ५० प्रतिशत अफ्रिकी-अमेरिकी केटीहरूमा आठ वर्षको उमेरमै यौवन सुरु भएको पाइयो! तथापि, कोही डाक्टरहरू यी कुराहरूमा सहमत छैनन्‌ र यौवन एकदमै चाँडो सुरु हुँदा त्यसलाई “सामान्य” ठान्‍नदेखि सतर्क रहन आमाबाबुलाई चेतावनी दिन्छन्‌।

कुरा जे भए तापनि, यो अवस्थाले आमाबाबु र छोराछोरी दुवैलाई चुनौती दिन्छ। टाइम पत्रिका यस्तो टिप्पणी गर्छ: “शारीरिक परिवर्तनभन्दा चिन्ताजनक कुरा के हो भने, परिकथा पढ्‌नुपर्ने बच्चाहरू समयअघिनै शारीरिक तवरमा परिपक्व हुँदा सामना गर्नुपर्ने मनोवैज्ञानिक असरहरूका साथै ब्वाँसाहरूबाट आफूलाई जोगाउनु परिरहेको छ। . . . बाल्यावस्था यसै पनि एकदमै छोटो समयावधि हो।” उक्‍त लेखले यो गहन प्रश्‍न खडा गर्छ: “साना केटीहरूको मन र हृदय तयार हुनुअघिनै तिनीहरूको शरीर वयस्कको जस्तो देखिन थाल्यो भने तिनीहरूले के गुमाउँछन्‌?”

प्रायजसो तिनीहरूसँग यौनको नाजायज फाइदा उठाइने हुँदा तिनीहरूले आफ्नो बचपन गुमाउँछन्‌। एउटी आमाले ठाडै यसो भनिन्‌: “आफ्नो उमेरभन्दा पाको देखिने केटीहरू [माहुरीको लागि] महजस्तै हुन्छन्‌। तिनीहरूप्रति ठूला केटाहरू आकर्षित हुन्छन्‌।” सानो उमेरमै यौन गतिविधिमा संलग्न हुँदा ठूलो मोल चुकाउनुपर्छ। युवतीले आफ्नो आत्म-सम्मान, सफा अन्तस्करण अनि शारीरिक तथा भावनात्मक स्वास्थ्य गुमाउन सक्छिन्‌।

[पृष्ठ -मा भएको चित्र]

तीन थुप्रो कुराको तालिका मिलाउँदा समस्या उत्पन्‍न हुन सक्छ

[पृष्ठ -मा भएको चित्र]

छोराछोरीलाई एकदमै प्रतिस्पर्धात्मक हुन सिकाउँदा तिनीहरूले खेलकुदको आनन्द नै गुमाउँछन्‌

[पृष्ठ -मा भएको चित्र]

आमाबाबुको भूमिका राम्ररी निभाउनुको विकल्प भौतिक सरसाधन जम्मा गर्नु होइन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने