प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ pp. २५-२७
  • मलाई किन धर्मपुत्र बनाइएको होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई किन धर्मपुत्र बनाइएको होला?
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रिसको कारण
  • गलत अनुमानहरू सच्याउने
  • माया पाएको महसुस गर्नुको महत्त्व
  • तपाईं सफल हुन सक्नुहुन्छ
  • धर्मपुत्र हुँदाका चुनौतीहरू म कसरी सामना गर्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००३
  • नयाँ जन्म—यसको उपलब्धि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • हार्दिक अनुरोध
    ब्यूँझनुहोस्‌!—१९९७
  • मिश्र देशको खजानाभन्दा ठूलो सम्पत्ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ pp. २५-२७

युवा जनहरू सोध्छन्‌ . . .

मलाई किन धर्मपुत्र बनाइएको होला?

“यो त जिन्दगीभर असक्‍त भएर बाँच्नुसरह हो। यो हृदयको बिरामी हो र यसलाई निको पार्न सकिंदैन।”—रबर्ट।

जन्मने बित्तिकै अरू कसैले धर्मपुत्र बनाएको एक जना व्यक्‍तिले आफ्नो जीवनबारे उक्‍त कुरा व्यक्‍त गरे। तिनी अझै यसो भन्छन्‌: “हरेक दिनजसो मेरो मनमा यस्ता प्रश्‍नहरू खेलिरहन्छन्‌, मेरो साँच्चैको परिवार को हो? तिनीहरू कहाँ छन्‌? तिनीहरूले मलाई किन त्यागेका होलान्‌?”

चान्टियालको बुबालाई धर्मपुत्र बनाइएको हुँदा आफ्नो साख्खै बाजेबज्यैलाई चिन्‍न नपाएकोमा उनी बिलौना गर्छिन्‌। उनी यसो भन्छिन्‌: “मलाई आफू ठगिएजस्तो लाग्छ किनभने मैले काका, काकी र नातेदारहरू कसैलाई पनि चिन्‍न पाइनँ।” धर्मपुत्र वा धर्मपुत्री बनाइएका सबैले यस्तो महसुस गर्दैनन्‌। तर कसै-कसैले गर्छन्‌। किन?

रिसको कारण

आफ्नो साख्खै परिवारबाट छुट्याइएको थाह पाउँदा बच्चाको मनमा भावनात्मक उथलपुथल हुन सक्छ। सानै उमेरमा धर्मपुत्री बनाइएकी क्याट्रिना भन्छिन्‌: “मेरी आमाले मलाई त्याग्नुको कारण थाह नभएकोले मलाई असाध्यै रिस उठ्‌थ्यो। म कुरूप र माया गर्न लायककी नभएकोले आमाले मलाई त्याग्नुभएको जस्तो लाग्थ्यो। उहाँले मलाई एउटा मौका मात्र दिनुभए मेरो कारणले गर्व गर्न सक्ने काम गरेर देखाइदिने थिएँ। मलाई जन्म दिने आमाबारे हरेक चोटि सम्झने बित्तिकै मलाई रिस उठ्‌थ्यो।”

क्याट्रिनालाई धर्मपुत्री बनाएका आमाबाबुसितको सम्बन्ध पनि तनावपूर्ण भयो। उनी भन्छिन्‌, “मलाई धर्मपुत्री बनाउने आमाबाबुले मलाई मेरो आमाबाट खोस्नुभएको जस्तो लाग्थ्यो। त्यसैले म आफ्नो रिस उहाँहरूमाथि पोखाउँथें।” हो, धर्मपुत्र बनाइएकोमा कहिलेकाहीं अरूमाथि रिस पोखाइन्छ।

त्यस्तो रिस खतरनाक हुन सक्छ। क्याट्रिनाको अवस्थाले देखाएझैं कहिलेकाहीं तपाईंले गलत तरिकामा वा गलत व्यक्‍तिमाथि आफ्नो रिस पोखाउनु होला। बाइबल यस्तो सल्लाह दिन्छ: “रिसाउन छोड र क्रोधलाई त्याग।” (भजन ३७:८) यो कसरी सम्भव छ? परमेश्‍वरको वचनले यसो पनि भन्छ: “धीरज धारण गर्नु चातुर्य हो।” (हितोपदेश १९:११) आफ्नो अवस्थालाई राम्ररी केलाएर हेर्दा रिस कम गर्ने मदत पाउन सक्नुहुन्छ। कसरी?

गलत अनुमानहरू सच्याउने

तपाईंको रिस चर्काउने अनुमानहरू केलाउन अन्तर्दृष्टिले मदत गर्न सक्छ। उदाहरणका लागि, तपाईंलाई धर्मपुत्र वा धर्मपुत्री बनाइएको थियो भने के आफ्ना साख्खै आमाबाबुले तपाईंमा केही त्रुटि भएकोले अरूलाई दिएका हुन्‌ भन्‍ने अनुमान लगाउनुहुन्छ? क्याट्रिनालाई त्यस्तै लाग्थ्यो। तर वास्तवमा सधैं त्यसो हुन्छ? तपाईंका आमाबाबुले किन त्यसो गरेका होलान्‌ भनेर पत्ता लगाउनु सम्भव नहोला तर त्यस्ता गलत अनुमानहरू नगर्ने ठोस कारणहरू छन्‌। आखिर, आमाबाबुले किन आफ्ना छोराछोरीलाई धर्मपुत्र वा धर्मपुत्री बनाउन दिन्छन्‌? प्रायजसो, तिनीहरूले अरू कुनै विकल्पै नदेखेर त्यसो गर्छन्‌।

मोशाको उदाहरणलाई विचार गर्नुहोस्‌। प्रस्थान अध्याय २ को बाइबल विवरणले बताएअनुसार मिश्री फिरऊनले इस्राएली बालकहरूको आमसंहार गर्ने आदेश दिंदा योकेबेदले आफ्नो बच्चा मोशालाई तीन महिनासम्म लुकाइन्‌। पछि यसरी लुकाउन नसकिने भयो तर तिनी आफ्नै अगाडि बच्चाको मृत्यु भएको हेर्न चाहँदैनथिइन्‌। त्यसकारण “जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्‌ तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन्‌, र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा कुशहरूको बीचमा राखिदिइन्‌।”—प्रस्थान २:३.

यसरी आफ्नो बच्चा त्याग्नु तिनको लागि साह्रै गाह्रो कुरा थियो। तर तिनले अरू के नै गर्न सक्थिन्‌ र? आफ्नो छोराप्रतिको प्रेमको खातिर तिनले आफ्नो विचारमा सबैभन्दा राम्रो उपाय खोजिन्‌। चाखलाग्दो कुरा, बच्चालाई कसैले उठाएर लगेको नदेखुन्जेल तिनकी छोरीले नजिकै उभिएर हेरिरहि। उसले आफ्नी चिन्तित आमाको आग्रहमा त्यसो गरेकी हुन सक्छे।

निस्सन्देह, धर्मपुत्र वा धर्मपुत्री बनाउन दिइनुका पछाडि सधैं यस्ता सुस्पष्ट आपत्‌कालीन अवस्था हुँदैनन्‌ तर मनसाय भने एउटै पाइन्छ। रबर्ट यसो भन्छन्‌: “आमाले मलाई गर्भधारण गर्नुहुँदा उहाँको विवाह भएको थिएन। मलाई हुर्काउन मेरी आमाको परिवारको लागि थप भार हुने थियो किनभने परिवारमा अरू बालबच्चाहरू पनि थिए। उहाँले मलाई अरू कसैलाई धर्मपुत्र बनाउन दिनु सबैभन्दा राम्रो उपाय ठान्‍नुभएको हुन सक्छ।”

हुन त हो, छोराछोरीहरू हुर्काउने जिम्मा अरू परिवारलाई दिइनुका थुप्रै कारणहरू हुन्छन्‌। तर यी उदाहरणहरूले देखाएझैं आमाले बच्चालाई घृणा गरेको वा बच्चामा कुनै त्रुटि देखेकोले चाहिं होइन। प्रायजसो अवस्थामा आमालाई यो बच्चा अरू कुनै परिवारले हुर्काएको खण्डमा राम्रो हुनेछ भनेर भित्र मनदेखि लागेको हुन सक्छ।

माया पाएको महसुस गर्नुको महत्त्व

अन्तर्दृष्टि प्राप्त गर्दा आफू धर्मपुत्र वा धर्मपुत्री बनाइनुको कारण बुझ्ने मदत पाउन सक्नुहुन्छ। पुनः एक चोटि मोशाको उदाहरण विचार गर्नुहोस्‌। केही समयपछि “फिरऊनको छोरीले तिनलाई उठाएर लगिन्‌, र आफ्नै छोरा तुल्याएर पालिन्‌।” (प्रेरित ७:२१) फिरऊनकी छोरीलाई यो बच्चा, अपहेलित हिब्रूको सन्तान हो भनेर थाह हुँदा हुँदै पनि सुरक्षा प्रदान गर्न किन उत्प्रेरित भइन्‌? बाइबल यसो भन्छ, “त्यो बालक रोइरहेको थियो, औ तिनले दयाले भरिएर त्यसलाई हेरिन्‌।” (प्रस्थान २:६) हो, घृणित वा तिरस्कृत भएकोले नभई माया गरेको कारण मोशा कसैको धर्मपुत्र बन्‍न पुगे।

धर्मपुत्र वा पुत्री बनाइएका थुप्रै केटाकेटीले आफूलाई आजकल गरिने जस्तो त्यत्तिकै बेवारिसे छोडिएको होइन तर तिनीहरूको राम्रो हेरचाह होस्‌ भनेर कुनै संघ-संस्थामा दिइएको थियो भनेर थाह पाउँछन्‌। अनि तिनीहरूलाई कसैले माया गरेको हुँदा धर्मपुत्र वा पुत्री बनाइन्छन्‌। तपाईंको सन्दर्भमा पनि त्यस्तै भएको पो हो कि? तपाईंले पाउनुभएको प्रेमलाई ध्यान दिनुका साथै त्यसलाई मूल्यवान्‌ ठान्‍नुभयो भने पीडा केही कम गर्ने मदत पाउन सक्नुहुन्छ।

साथै, तपाईंलाई धर्मपुत्र वा धर्मपुत्री बनाइएको परिवारबाहेक अरूबाट पनि प्रेम पाउन सक्नुहुन्छ। तपाईं मसीही मण्डलीको सदस्य हुनुहुन्छ भने तपाईंलाई माया गर्ने थुप्रै आध्यात्मिक आमा, बुबा, बहिनी र भाइको संगतिबाट आनन्द उठाउन सक्नुहुन्छ। (मर्कूस १०:२९, ३०) मसीही प्राचीनहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै हुनेछ।” (यशैया ३२:२) परिपक्व सँगी मसीहीहरूलाई आफ्नो मनको कुरा पोख्न नहिचकिचाउनुहोस्‌। तपाईंको मन अनि हृदयमा खेलिरहेको कुरा बताउनुहोस्‌।

रबर्टले मसीही मण्डलीमा बलियो सम्बन्ध गाँस्नुपर्ने महत्त्व महसुस गरेका छन्‌। तिनी यसरी मानिलिन्छन्‌, “म अझै पनि शून्यता महसुस गर्छु। तथापि, मेरो आध्यात्मिक परिवारको प्रेमले त्यो शून्यतालाई कम गर्न मदत गर्छ।”

तपाईं सफल हुन सक्नुहुन्छ

त्यसकारण गलत तथा नकारात्मक सोचाइलाई पन्छाउनुहोस्‌। त्यसमा तपाईं धर्मपुत्र वा धर्मपुत्री बनाइनुभएको हुँदा सफल हुन सक्नुहुन्‍न भन्‍ने सोचाइ पनि समावेश छ। त्यस्ता नकारात्मक सोचाइहरू अत्यन्तै निरुत्साहजनक हुन सक्छन्‌। (हितोपदेश २४:१०) यसबाहेक, त्यस्तो सोचाइको कुनै आधार छैन।

नबिर्सनुहोस्‌, मोशाले आफूसामु भएका मौकाहरूको पूर्ण सदुपयोग गरे। बाइबल यसो भन्छ: “मोशालाई मिश्रीहरूका सारा विद्यामा निपुण गराए, औ मोशा आफ्ना कुरा र काममा शक्‍तिशाली भए।” (प्रेरित ७:२२) सबैभन्दा महत्त्वपूर्ण कुरा, मोशाले आध्यात्मिक निर्देशन पूरै स्वीकारेको हुँदा स्वर्गमा हुनुहुने पिता, यहोवा तिनको लागि वास्तविक हुनुभयो। (हिब्रू ११:२७) के तिनी जीवनमा सफल भए?

मोशा पछि गएर ३० लाखभन्दा बढी मानिसहरू भएको शक्‍तिशाली राष्ट्रको नेता भए। तिनी अगमवक्‍ता, न्यायकर्ता, सेनापति, इतिहासकार, व्यवस्थाको करारको मध्यस्थकर्ता र बाइबलका सुरुको पाँचवटा पुस्तकका लेखकसमेत भए। साथै, अय्यूबको पुस्तक र भजन ९० अध्याय लेख्ने श्रेय पनि तिनलाई नै दिइएको छ। हो, मोशाले अत्यन्तै सफल जीवन बिताए। त्यसरी नै, धर्मपुत्र वा धर्मपुत्री बनाइएका थुप्रै केटाकेटीहरू सफल भएका छन्‌ अनि तपाईं पनि सफल हुन सक्नुहुन्छ।

रबर्टले दुई जना बच्चालाई राम्ररी हुर्काए र हाल मसीही मण्डलीमा प्राचीनको हैसियतमा सेवारत छन्‌। धर्मपुत्रको हैसियतमा बिताएका वर्षहरूलाई सम्झँदै तिनी यसो भन्छन्‌: “आफूले सच्याउन नसक्ने कुरामा सोचिरहने होइन तर आफूले पाएका आशिष्‌हरूबारे विचार गरेर कृतज्ञ हुन मैले सिकेको छु।”

तपाईं अहिले अनाथालयमा बस्नुहुन्छ वा तपाईंलाई कसैले धर्मपुत्र वा धर्मपुत्री बनाएको छ भने कहिलेकाहीं नकारात्मक सोचाइले पिरोल्न सक्छ। तर त्यसलाई सकारात्मक सोचाइले जित्ने प्रयास गर्नुहोस्‌। फिलिप्पी ४:८, ९ ले प्रतिज्ञा गरेझैं परमेश्‍वरलाई मन पर्ने कुरामा ‘विचार गरिरह्‍यो भने’ “शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।” धर्मपुत्र वा धर्मपुत्रीको हैसियतमा सफल हुन तपाईंले गर्न सक्ने थप व्यावहारिक कदमहरू के-के हुन्‌? यस श्रृंखलाको अर्को लेखले जवाफ दिनेछ। (g03 4/22)

[पृष्ठ २६-मा भएको चित्र]

तपाईंलाई कसैले धर्मपुत्र वा धर्मपुत्री बनाउनु भनेको कसैले माया गरेर हेरचाह गर्ने इच्छा देखाएको हो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने