युवा जनहरू सोध्छन् . . .
आफ्नो मनको कुरा उसलाई कसरी भनूँ?
“म एउटा प्रश्नको जवाफ पाउन चाहन्छु, म तिमीलाई मन पराउँछु भनेर पहिला कसले भन्नुपर्छ—केटाले वा केटीले?”—लोरा।a
उ सलाई तपाईंले भर्खरै मात्र भेट्नुभएको वा पहिल्यैदेखि चिन्दै आउनुभएको पनि हुन सक्छ—तर जे होस् ऊ तपाईंको साथी मात्र नभई अझ नजिक भएको तपाईं चाहनुहुन्छ। उसको मनमा पनि तपाईंप्रति त्यस्तै भावनाहरू छन् तैपनि आफ्नो मनको कुरा भन्न ऊ डराइरहेको छ वा लाज मानिरहेको छ भन्ने कुरामा तपाईं विश्वस्त हुनुहुन्छ। त्यसैले पहिला आफै अघि सर्नु कस्तो होला भनेर तपाईं विचार गर्नुहुन्छ।b
अरू कुराहरूबारे छलफल गर्नुभन्दा पहिले आउनुहोस्, तपाईं वरपरका मानिसहरू अर्थात् तपाईंको परिवारका सदस्यहरू र तपाईंको समाजका मानिसहरूको सोचाइबारे विचार गरौं। उदाहरणका लागि, स्थानीय प्रचलनअनुसार तपाईंको लागि जोडी खोजिदिने काम के तपाईंको आमाबाबुको हो?c हुन त हो, विवाहपूर्वको भेटघाट र विवाह भनेका व्यक्तिगत कुराहरू हुन् भन्ने तपाईंलाई लाग्ला। तैपनि, अरूलाई अनावश्यक ठेस पुऱ्याउनदेखि मसीहीहरू जोगिन चाहन्छन्। तिनीहरू परिवारका सदस्य र प्रियजनहरूको भावनालाई पनि बेवास्ता गर्न चाहँदैनन्।
यद्यपि, आज थुप्रै मुलुकहरूमा विवाह गर्ने कि नगर्ने भनी निर्णय गर्नुअघि विवाहपूर्वको भेटघाटको लागि आफैले जोडी रोज्नु एउटा सामान्य चलन हो। केटाप्रति रोमान्टिक चासो व्यक्त गरेर केटी आफै अघि सर्नु के गलत हुनेछ? फेरि पनि परिवार र समाजको सोचाइलाई ध्यान दिनुपर्ने हुन सक्छ। के यसो गर्दा थुप्रै व्यक्तिहरू एकदमै छक्क पर्नेछन् वा तिनीहरूलाई रिस उठ्नेछ?
केटी आफै अघि सर्न उचित हुन्छ कि हुँदैन भन्ने प्रश्नबारे बाइबलले कुन थप कुरा प्रकाश पार्छ? बाइबल समयमा रूथ नाउँ गरेकी एक जना ईश्वर-भीरु स्त्री विवाहको कुरा लिएर बोअज नाउँ गरेको पुरुषकहाँ गइन्। अनि यहोवा परमेश्वरले तिनको प्रयासमा आशिष् दिनुभयो! (रूथ ३:१-१३) निस्सन्देह, रूथ बच्ची थिइनन्; तिनी विधवा थिइन् र पक्कै पनि तिनको विवाह गर्ने उमेर भइसकेको थियो। न त तिनले बोअजसँग देखावटी प्रेम वा प्रेमालाप मात्र गरेकी थिइन्। बरु, तिनले विवाहसम्बन्धी परमेश्वरको नियम होसियारीपूर्वक पालन गरिन्।—व्यवस्था २५:५-१०.
सायद तपाईं विवाहबारे सोच्न योग्य उमेरको भइसक्नुभएको होला र तपाईं कुनै एक जना युवकलाई मन पराउनुहुन्छ होला। तैपनि यस्तो व्यक्ति जसले तपाईंले जस्तै सोचिरहेको नहुन पनि सक्छ उसलाई आफ्नो मनको कुरा बताउनु भनेको संवेदनशील र जोखिमपूर्ण काम हो। यसो गर्नु भनेको आफ्नो मुटु अरू कसैको हातमा सुम्पनु सरह हो। उसले कोमलतासाथ यसको जतन गर्नेछ वा फ्यात्त भुइँमा फालिदिनेछ? अनावश्यक सङ्कोच वा भावनात्मक क्षतिदेखि जोगिने सबैभन्दा उत्तम तरिका बाइबलका सिद्धान्तहरू पछ्याउनु हो।
समझदारीपूर्वक पाइला चाल्नुहोस्
कसैसित प्रेम गरेको रोमान्टिक दिवास्वप्न देख्नु सजिलो छ। आफ्नो विवाहको दिन अनि त्यसपछिका कुराहरू पनि तपाईं कल्पना गर्नुहुन्छ होला। तथापि, यस्तो प्रकारको दिवास्वप्न रमाइलो हुने भए तापनि यी केवल भ्रम मात्र हुन्। तपाईंले कुनै पनि हालतमा पूरा गर्न नसक्ने तीव्र इच्छाहरू यसले जगाउन सक्छ। बाइबलले बताएअनुसार “आशा साकार नहुँदा मन मर्छ।” (हितोपदेश १३:१२) दिवास्वप्नले तपाईंको निर्णय गर्ने क्षमतालाई पनि बङ्ग्याइदिन सक्छ। तथापि, हितोपदेश १४:१५ (NRV) यसो भन्छ: “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” समझदार हुनुको अर्थ सही निर्णय गर्नु हो। रोमान्सको दुनियाँमा तपाईं कसरी समझदार हुन सक्नुहुन्छ?
पहिलो, “ज्ञानद्वारा काम” गर्ने कोसिस गर्नुहोस्। (हितोपदेश १३:१६, NRV) एउटी युवतीले बताएअनुसार “राम्ररी नचिनीकन तपाईं कुनै व्यक्तिलाई साँचो प्रेम गर्न सक्नुहुन्न।” कसैलाई आफ्नो मुटु सुम्पनुअघि उसले के गर्छ र कसरी बोल्छ भन्ने कुरामा ध्यान दिनुहोस्। अरूसित उसले कस्तो व्यवहार गर्छ, याद गर्नुहोस्। “उसका साथीहरू र उसलाई राम्ररी चिन्ने वयस्कहरूसित उसबारे सोध्नुहोस्” भनी एक जना युवक सल्लाह दिन्छन्। मसीही मण्डलीमा के उसको “असल नाउँ चलेको” छ? (प्रेरित १६:२) साथै, इसाबेल नाउँ गरेकी एउटी युवतीले सल्लाह दिएअनुसार “समूहमा कतै घुम्न जानु र उसको परिवारलाई राम्ररी चिन्नु मदतकारी हुन सक्छ।” समूहमा हुँदा तपाईंले धेरै दबाब महसुस नगरीकनै उसलाई नियाल्न सक्नुहुन्छ।
यसरी कुनै व्यक्तिलाई चिन्न समय र धीरज चाहिन्छ। तर यसो गर्दा तपाईंले उसको मनोवृत्ति, आनीबानी र गुणहरू हेर्न सक्नुहुन्छ, जसको कारण कि त तपाईंको चित्त बुझ्नेछ कि भने आफ्नो सोचाइ परिवर्तन गर्नुहुनेछ। हितोपदेश २०:११ यसो भन्छ: “निर्दोष वा दोषी मानिस उसको कामबाट थाह गर्नसकिन्छ।” हो, ढिलो होस् वा चाँडो, वास्तवमा ऊ कस्तो व्यक्ति हो भन्ने कुरा उसको आनीबानीद्वारा देखिनेछ।
त्यसकारण, झट्टै अघि सरेर समय नहुँदै आफ्नो मनको कुरा बताउने प्रलोभनलाई बुद्धिमानीपूर्वक दबाउनुहोस्। तपाईंले हतार गर्नुभयो र उसले पनि सकारात्मक प्रतिक्रिया देखायो भने तपाईंले पछि गएर मात्र ऊ विवाहको लागि योग्य जोडी रहेनछ भनेर थाह पाउन सक्नुहुन्छ।d तपाईंले आफ्नो प्रेम व्यक्त गरिसकेपछि यो सम्बन्ध टुटाउँदा त्यो युवकको चित्त दुख्न सक्छ—सायद धेरै नै।
तपाईंले पार्ने प्रभाव
सम्भवतः ती युवकले पनि तपाईंलाई याद गरिरहेका हुन सक्छन्! के तपाईंले आफूलाई तपाईंका ईश्वरीय गुणहरू प्रकट हुने तरिकामा प्रस्तुत गरिरहनुभएको छ? “थुप्रै केटीहरूले उचित पहिरन नलगाएको कुरा मैले याद गरेकी छु,” इसाबेल बताउँछिन्। “आध्यात्मिक झुकाव भएको व्यक्तिले तपाईंलाई याद गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले भद्र पहिरन लगाउनै पर्छ।” संसारको फेसन जस्तोसुकै भए तापनि “साधा पहिरनमा लज्जालु र सरल भई” सिंगारिंदा, ईश्वरीय गुण भएको पुरुषको नजरमा तपाईं अझ आकर्षक बन्नुहुनेछ।—१ तिमोथी २:९.
बाइबलले जवान मसीहीहरूलाई “बोलीवचन[मा] . . . उदाहरण” बन्न पनि प्रोत्साहन दिन्छ। (१ तिमोथी ४:१२, NRV) तपाईं कसरी बोल्नुहुन्छ त्यसले पनि तपाईंबारे थुप्रै कुराहरू प्रकट गर्छ। त्यस युवकसित कुराकानी गर्ने मौका मिल्दा तपाईंले के गर्नुपर्छ? ऊ लज्जालु खालको छ भने उसले अप्ठ्यारो महसुस गर्न वा हडबडाउन सक्छ। अबी नाउँ गरेकी एउटी युवती यसो भन्छिन्: “उसले कस्तो प्रतिक्रिया देखाउँछ भनेर हेर्नको लागि तपाईं आफैले कुराकानी थाल्नुपर्ने हुन सक्छ।”
कुराकानी कसरी थाल्ने? आफ्नैबारे मात्र प्यारप्यार बोलिरहनुभयो भने तपाईं आफ्नोबारेमा मात्र सोच्ने र सोचविचारै नगरी बोल्ने खालको हुनुहुँदो रहेछ भन्ने निष्कर्षमा ऊ पुग्न सक्छ। “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देऊ” भनी बाइबलले सल्लाह दिन्छ। (फिलिप्पी २:४) उसको बारेमा वा उसको चासोको विषयमा केही उपयुक्त प्रश्नहरू सोध्दा यसले उसलाई खुलस्त भएर बोल्न मदत गर्न सक्छ।
‘झूट बोल्नु’ वा चापलुसी गरेर ‘छल गर्नु’ उपयुक्त हुँदैन। (भजन १२०:२) विवेकी व्यक्तिले यस्ता कपटपूर्ण बोलीहरू चिनिहाल्छ। यसको साथै, कुनै कुरा उसलाई सुन्न मन पर्छ होला जस्तो लागेकोले गर्दा मात्र त्यो कुरा नभन्नुहोस्। तपाईंहरूको कुराकानीले गम्भीर मोड लियो र तपाईंहरूले आफ्ना व्यक्तिगत आध्यात्मिक लक्ष्य जस्ता कुराहरूबारे छलफल गर्न थाल्नुभयो भने यो कुरा विशेष गरी लागू हुन्छ। इमानदार, सत्यवादी र निष्कपट भएर सधैं आफू जस्तो हुनुहुन्छ त्यस्तै देखिनुहोस्। यसो गरेमा मात्र तपाईंहरू दुवै जनाको जीवन एउटै दिशातर्फ लक्षित छ कि छैन भनेर थाह पाउन सक्नुहुन्छ।
कुनै प्रत्युत्तर नपाउँदा
यद्यपि, यस्तो विवेकशील प्रयत्न गर्दा पनि उसमा तपाईंप्रति कुनै रोमान्टिक चासो जागेन भने नि? सायद हप्तौं वा महिनौं बितिसकेको छ र अझै पनि उसले तपाईंप्रति कुनै चासो देखाउँदैन। सायद ऊ लजाएको होला भनेर मात्र के तपाईं भन्न सक्नुहुन्छ? तपाईं आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ: ‘यदि ऊ साँच्चै नै त्यत्तिको डरपोक छ भने के ऊ विवाहको लागि तयार भइसक्यो र? मैले ऊसित विवाह गरें भने के उसले परिवारको शिरको रूपमा नेतृत्व लिन सक्छ वा त्यो काम मैले नै गरेको पो ऊ चाहन्छ कि?’ (१ कोरिन्थी ११:३) विचार गर्नुपर्ने अर्को प्रश्न यो हो: ‘के ऊ साँच्चै लजाएको हो वा मप्रति कुनै रोमान्टिक चासो नै नभएको हो?’ पछिल्लो चाहिं निष्कर्ष पीडादायी हुन सक्छ। तर यो तथ्यलाई स्वीकार्दा तपाईंप्रति कुनै रोमान्टिक चासो नै नभएको व्यक्तिलाई आफ्ना रोमान्टिक भावनाहरू बताउँदा महसुस हुन सक्ने अप्ठ्याराहरूदेखि जोगिन सक्नुहुनेछ।
तपाईंले उसमा रोमान्टिक चासोका प्रमाणहरू देखेको महसुस गर्नुहोला। तर आफ्नो कुरा बताउन उसले असाध्यै लोसे गरेको र अलिकति प्रोत्साहन पाएको खण्डमा उसले त्यो बताउँछ जस्तो तपाईंलाई लाग्ला। कारण यो पनि हुन सक्छ। तर आफै अघि सर्ने निर्णय गर्नुभयो भने यो काम जोखिमपूर्ण हुन सक्छ भनेर तपाईंले थाह पाउनै पर्छ। तपाईंले के भन्नुहुनेछ भन्ने कुरामा मात्र नभई कति बेला यो कुरा भन्नु सबैभन्दा उपयुक्त हुनेछ भन्ने कुरा पनि तपाईंले होसियारपूर्वक विचार गर्नै पर्छ।
उदाहरणका लागि, “म तिमीलाई माया गर्छु” भनेर हत्त न पत्त बताइहाल्नुको सट्टा उसले ध्यान दिएमा आफू निकै खुसी हुनेछु भन्ने कुराको सङ्केत दिनु राम्रो हुनेछ भन्ने निर्णय तपाईं गर्नुहोला। अनौपचारिक र उपयुक्त मौका हेरेर आफूले उसलाई अझ राम्ररी चिन्न चाहेको कुरा तपाईं उसलाई बताउन सक्नुहुन्छ। तपाईंले त्यत्ति कुरा मिलाएर भन्न नजाने जस्तो देखिए तापनि चिन्ता नगर्नुहोस्। तपाईंले व्यक्त गर्नुभएका शब्दहरू पछाडिको भावनाले तपाईंले बताउनुभएका शब्दहरूले भन्दा बढी कुरा प्रकट गर्न सक्छ। तपाईंले विवाहपूर्वको भेटघाटको लागि मात्र प्रस्ताव राख्दै हुनुहुन्छ, विवाहकै प्रस्ताव राख्नुभएको होइन भन्ने कुरा पनि नबिर्सनुहोस्। यसो भए तापनि तपाईंको कुरा सुनेर ऊ अचम्ममा पर्न पनि सक्छ, त्यसैले उसलाई तपाईंले भन्नुभएको कुराबारे सोच्ने समय दिनुहोस्।
तपाईंले यस युवकलाई साँच्चै चिन्नुभयो र ऊ दयालु तथा विचारशील रहेछ भन्ने कुरा आफैले देख्नुभयो भने तपाईंले प्रेम प्रस्ताव राख्दा उसले नराम्रो प्रतिक्रिया देखाउला वा अपमान गर्ला भनेर डराउनु पर्दैन। तथापि उसले दयालु तर दृढ भएर तपाईंको प्रस्ताव इन्कार गऱ्यो भने नि? अनि यस्तो अवस्थामा युवकले चाहिं कस्तो व्यवहार गर्नुपर्छ? अर्को लेखमा यी प्रश्नहरूबारे विचार गरिनेछ। (g04 10/22)
[फुटनोटहरू]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
b यो लेख युवतीहरूप्रति लक्षित भए तापनि यसमा दिइएका धर्मशास्त्रीय सल्लाहहरू विवाहपूर्वको भेटघाटबारे विचार गरिरहेका युवकहरू तथा अरूको लागि पनि मदतकारी हुनेछ।
c मागी विवाह गर्नेहरू सुखी हुनै सक्दैनन् भन्ने छैन। उदाहरणका लागि, बाइबल समयमा इसहाक र रिबेकाले मागी विवाह गरेका थिए र तैपनि इसहाकले “तिनलाई प्रेम गरे।” (उत्पत्ति २४:६७) यसबाट सिक्न सकिने पाठ? जबसम्म परमेश्वरको नियमसित बाझिंदैन, स्थानीय प्रचलनहरूको बेवास्ता गर्न हतार नगर्नुहोस्।—प्रेरित ५:२९.
d कुनै व्यक्ति उपयुक्त वैवाहिक जोडी हुन सक्छ कि सक्दैन भनी निर्णय गर्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तकको अध्याय २८ देखि ३१ ले तपाईंलाई मदत गर्न सक्छ।
[पृष्ठ २४-मा भएको चित्र]
अरूसित उसले कस्तो व्यवहार गर्छ भन्ने कुरा याद गर्दा ऊप्रति तपाईंको सोचाइ परिवर्तन हुन सक्छ
[पृष्ठ २४-मा भएको चित्र]
तपाईं कसैप्रति रोमान्टिक चासो राख्नुहुन्छ भने उसलाई राम्ररी चिन्ने जिम्मेवार वयस्कसित कुरा गर्नुहोस्