प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १/८ पृ. १२-१४
  • उसले नाइँ भनेमा के गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उसले नाइँ भनेमा के गर्ने?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के ऊ तपाईंको लागि सुहाउँदो थियो?
  • आफ्ना भावनाहरूलाई के गर्ने नि
  • यहोवा—साथी र मदतगार
  • सन्तुलित हुनुहोस्‌
  • आफ्नो मनको कुरा उसलाई कसरी भनूँ?
    ब्यूँझनुहोस्‌!—२००४
  • मैले उसलाई कसरी इन्कार गर्ने?
    ब्यूँझनुहोस्‌!—२००१
  • मलाई मन पराउने केटीसित म कस्तो व्यवहार गरूँ?
    ब्यूँझनुहोस्‌!—२००५
  • उसले मेरो माया स्वीकारेन भने के गर्ने होला?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 १/८ पृ. १२-१४

युवा जनहरू सोध्छन्‌ . . .

उसले नाइँ भनेमा के गर्ने?

उसलाई तपाईं साथीको रूपमा हेर्नुहुन्थ्यो। तर तपाईंले बिस्तारै ऊप्रति रोमान्टिक चासो राख्न थाल्नुभयो। सायद उसको राम्रो बानीबेहोराको कारण वा तपाईंसित कुरा गर्दा उसको मीठो मुस्कानको कारण तपाईंले उसलाई मनपराउन थाल्नुभयो। जे होस्‌, समय बित्दै गयो तैपनि उसले तपाईंप्रति कुनै रोमान्टिक चासो देखाएन। त्यसकारण अब साथी मात्र नरहेर अझ बढी चिनजान बढाउने कि भनेर उसलाई सोध्न आफै अघि सर्ने निर्णय तपाईंले गर्नुभयो। तपाईंलाई असाध्यै निराश तुल्याउने गरी उसले दयालुपूर्वक तर दृढतासाथ तपाईंको प्रस्तावलाई नाइँ भन्यो।a

तपाईंलाई पक्कै पनि चित्त दुख्छ। तर चाहिने भन्दा बढी नै चित्त नदुखाउनुहोस्‌; यसलाई उचित दृष्टिकोणले हेर्ने कोसिस गर्नुहोस्‌। हो, एक जना युवकले ऊ तपाईंसित रोमान्टिक सम्बन्धको लागि इच्छुक नभएको कुरा बताएको छ। तर नबिर्सनुहोस्‌, उसको निर्णयले तपाईंलाई निकम्मा बनाउँदैन न त अरूले तपाईंलाई प्रेम र आदर गर्न नै छोड्‌छन्‌। वास्तवमा, तपाईंप्रति उसको दृष्टिकोणको कारणले गर्दा नभई उसका व्यक्‍तिगत लक्ष्य तथा प्राथमिकताहरूको कारण उसले यस्तो निर्णय गरेको हुन सक्छ।

तपाईं एक जना मसीही हुनुहुन्छ भने तपाईंको “काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ” तपाईंले देखाउनुभएको छ “सो बिर्सनलाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न” भन्‍ने कुरा पनि तपाईं सम्झन सक्नुहुन्छ। (हिब्रू ६:१०) यसबारे सोन्याb यसो भन्छिन्‌: “तपाईं अझै पनि मूल्यवान्‌ हुनुहुन्छ। अविवाहित व्यक्‍तिको रूपमा तपाईं यहोवाको नजरमा बहुमूल्य हुनुहुन्छ।” सर्वोच्च परमेश्‍वर र अरूले तपाईंको उच्च मूल्याङ्‌कन गर्ने हुँदा तपाईंले आफ्नो आत्मसम्मान किन गुमाउने?

तपाईं आफूलाई असफल महसुस गर्नुहोला वा आफू वैवाहिक जोडी बन्‍न योग्यको छैनँ भनेर डराउनुहोला। तर यतिबेला त्यस केटाले तपाईंलाई ‘मन पराएन’ भन्दैमा तपाईंलाई अरू कसैले पनि ‘मन पराउँदैनन्‌’ भन्‍न मिल्दैन। (न्यायकर्त्ता १४:३) त्यसकारण सुहाउँदो जोडीको लागि तपाईंले गर्नुभएको खोजी असफल भयो भन्ठान्‍नुको सट्टा तपाईंको प्रयासले एउटा फाइदा गरेको छ भन्‍ने कुरा बुझ्नुहोस्‌: यो केटा तपाईंको पति बन्‍न सुहाउँदो वा उपयुक्‍त छैन भन्‍ने कुरा तपाईंले थाह पाउनुभएको छ। किन?

के ऊ तपाईंको लागि सुहाउँदो थियो?

पतिहरूले “आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ” भनी बाइबल आज्ञा दिन्छ। (एफिसी ५:२८) यसले पतिहरूलाई आफ्नी पत्नीलाई ‘आदर दिन’ पनि आज्ञा गर्छ। (१ पत्रुस ३:७) त्यो केटाले तपाईंलाई साथीको रूपमा स्वीकार्ला। तर उसले नाइँ भन्‍नुको अर्थ तपाईंलाई पत्नीको रूपमा माया गर्न र आदर दिन यतिबेला ऊ तयार छैन भन्‍ने कुराको सङ्‌केत हो। ऊसित यस्तो निर्णय गर्ने अधिकार छ। यसो सोच्नुहोस्‌ त: उसको सोचाइ यस्तो छ भने के ऊ साँच्चै नै तपाईंको लागि योग्य पति हुन सक्छ र? धर्मशास्त्रले निर्देशन दिए बमोजिम तपाईंलाई माया नगर्ने र तपाईंको आदर नगर्ने व्यक्‍तिसित विवाह गर्नुभयो भने तपाईंले कति धेरै दुःख पाउनुहुन्छ होला, कल्पना गर्नुहोस्‌ त!

रोमान्टिक सम्बन्धबारे तपाईंले गर्नुभएको आशा वास्तविकतामा परिणत नहुने नै भएपछि त्यो केटालाई अर्को दृष्टिकोणबाट हेर्नु पनि मदतकारी हुन सक्छ। कहिलेकाहीं कुनै व्यक्‍तिप्रति आसक्‍त हुँदा अरूले स्पष्टसित देखेका व्यक्‍तिगत वा आध्यात्मिक कमी-कमजोरीहरूप्रति समेत अन्धो बनाइदिन सक्छ। उदाहरणका लागि, तपाईंले उसलाई मन पराउन थाल्नुभएको कुराबारे के ऊ अन्जान थियो वा यो कुरा थाह पाएर पनि तपाईंसित संगत गरिरहेर उसले तपाईंको यस्तो भावनालाई तीव्र बनायो? यदि पछिल्लो कुरा चाहिं सही हो भने के यसले ऊ विचारशील तथा समानुभूतिशील मसीही पति बन्‍न तयार छैन भन्‍ने कुरा सङ्‌केत गर्दैन र? यसो हो भने चाहे जतिसुकै पीडादायी किन नहोस्‌, तपाईंले सत्य कुरा थाह पाउनु नै तपाईंको लागि राम्रो हो।

एक जना युवकले मारसियाप्रति विशेष चासो देखाउन थाल्दा उनको मनमा कस्तो कस्तो भयो। उनले उसको मनसाय सोध्दा उनीसित सम्बन्ध गाँस्न इच्छुक नभएको कुरा त्यो युवकले उनलाई बतायो। यसको कारण उत्पन्‍न भएको निराशाको सामना गर्न उनलाई कुन कुराले मदत गऱ्‍यो? उनी यसो भन्छिन्‌: “मनले होइन तर दिमागले सोच्दा मैले आफ्ना भावनाहरूलाई वशमा राख्ने मदत पाएकी छु।” पतिहरूका लागि बाइबलले तोकेको आवश्‍यकताहरूबारे सम्झँदा ऊ वास्तवमा पति बन्‍न योग्यको रहेनछ भन्‍ने कुरा बुझ्ने मदत उनले पाइन्‌। यसले उनलाई आफ्नो दिग्दारी हटाउन मदत गऱ्‍यो।

एक जना युवकसित आन्ड्रियाको अनुभव पनि यस्तै रह्‍यो। उनीप्रति उसको व्यवहारमा परिपक्वताको कमी देखिन्थ्यो भन्‍ने कुरा उनले पछि गएर चाल पाइन्‌। ऊ विवाहको लागि तयार नभएको कुरा उनले बुझिन्‌ र वास्तविकता थाह पाउन यहोवाले आफ्नो आँखा खोलिदिनुभएकोमा उनी यहोवाप्रति कृतज्ञ छिन्‌। उनी यसो भन्छिन्‌: “तपाईंलाई हानि पुऱ्‍याउन सक्ने परिस्थितिहरूबाट यहोवाले तपाईंलाई जोगाउन सक्नुहुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु, तर तपाईंले उहाँमाथि भरोसा राख्नुपर्छ।” निस्सन्देह, थुप्रै अवस्थाहरूमा युवकहरूले राम्रो व्यवहार गर्छन्‌ र आदरपूर्ण कारणको लागि नाइँ भन्छन्‌। कुरा जेसुकै होस्‌, यसको कारण उत्पन्‍न हुने भावनाहरूको सामना तपाईं कसरी गर्न सक्नुहुन्छ?

आफ्ना भावनाहरूलाई के गर्ने नि

उसले नाइँ भन्दा यो वास्तविकता स्वीकार्न तपाईंलाई केही समय लाग्न सक्छ। जसरी तपाईंले उसलाई बिस्तारै-बिस्तारै मन पराउन थाल्नुभयो त्यसरी नै उसलाई बिर्सन पनि समय लाग्न सक्छ। बिजुली बत्ती एकैचोटि झ्याप्प निभाएजस्तो रोमान्टिक भावनाहरू एकै चोटि हटाउन सकिंदैन। कहिलेकाहीं रोमान्टिक भावनाले तपाईंलाई असाध्यै सताउन सक्छ! धैर्य गर्नुहोस्‌। समय बित्दै जाँदा यस्ता भावनाहरू बिस्तारै हराएर जानेछन्‌। तर तपाईं यी भावनाहरू चाँडै हटेको चाहनुहुन्छ भने यसलाई बढाउने कुराहरूदेखि जोगिनुहोस्‌।

उदाहरणका लागि, त्यस युवकलाई आफ्नो मनको कुरा बताउँदा तपाईंले चलाउनुभएका हरेक शब्द र इशाराहरू सम्झँदै आत्म-आलोचना नगर्नुहोस्‌। यदि तपाईंले यस्ता विचारहरूलाई वशमा राख्नुभएन भने उसले साँच्चिकै नाइँ भनेको होइन होला वा अर्कै तरिकामा प्रस्ताव राख्दा पो उसले स्वीकार्छ कि भन्‍ने निष्कर्षमा तपाईं पुग्न सक्नुहुन्छ। तपाईंले उसको सोचाइ परिवर्तन गर्न सक्नुहुन्‍न भन्‍ने वास्तविकता स्वीकार्नुहोस्‌। सम्भवतः तपाईंले जस्तोसुकै तरिकामा प्रस्ताव राख्नुभएको भए तापनि उसको जवाफ त्यही हुने थियो।

दिवास्वप्न अर्को पासो हुन सक्छ। अन्तमा तपाईंहरू दुवै जना खुसीसाथ सधैंभरि सँगै बसेको कल्पना तपाईं गर्नुहोला। त्यस्ता दिवास्वप्नहरूले आनन्द दिएजस्तो त लाग्ला तर ती काल्पनिक हुन्‌। जब यी टुङ्‌गिन्छन्‌ तपाईंले केही गुमाउनुभएको भाव जस्ताको तस्तै रहिरहेको हुन्छ र यसले तपाईंलाई फेरि सताउन थाल्छ। यस्ता भावनाहरूलाई रोक्ने कडा परिश्रम गर्नुभएन भने आनन्द र असह्‍य पीडाको यो चक्र लामो समयसम्म चलिरहन सक्छ।

दिवास्वप्नलाई मनबाट हटाउने कोसिस गर्नुहोस्‌। दिवास्वप्न सुरु भएमा जुरुक्क उठेर केही छिन हिंड्‌नुहोस्‌। तपाईंको ध्यान अर्कोतिर मोड्‌न कुनै शारीरिक परिश्रम हुने काम गर्नुहोस्‌। तपाईंलाई निराश तुल्याउने कुराहरूमा नभई उत्थानदायी कुराहरूमा मन लगाउनुहोस्‌। (फिलिप्पी ४:८) यसो गर्न सुरुमा गाह्रो हुन सक्छ तर समय बित्दै जाँदा तपाईंले यो सङ्‌घर्ष जित्नुहुनेछ र शान्ति पाउनुहुनेछ।

घनिष्ठ साथीहरूको प्रोत्साहनले मदत गर्न सक्छ। (हितोपदेश १७:१७, NW) तथापि, सोन्या यस्तो चेतावनी दिन्छिन्‌: “तपाईंका सबै साथीहरू अविवाहित, तपाईंकै जस्तो उमेरका र विवाह गर्न लालायित छन्‌ भने उनीहरूको सल्लाह लाभकारी हुँदैन। कुनै कुराको सही मूल्याङ्‌कन गर्न मदत गर्न सक्ने पाको उमेरका साथीहरू पनि तपाईंलाई चाहिन्छ।” अनि तपाईंको पीडा हटाउनको लागि अझ ठूलो मदत दिन सक्ने अर्को एक जना व्यक्‍ति पनि हुनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌।

यहोवा—साथी र मदतगार

पुरातन समयका एक जना विश्‍वासी व्यक्‍तिले निराशाको सामना गर्नुपर्दा मदतको लागि यहोवालाई प्रार्थना गरे। यसको नतिजा कस्तो भयो? तिनले यस्तो लेखे: “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भजन ९४:१९) विश्‍वाससाथ यहोवालाई प्रार्थना गर्नुभयो भने उहाँले तपाईंलाई पनि सान्त्वना दिनुहुनेछ र सँभाल्नुहुनेछ। आन्ड्रियाले पनि यसै गरिन्‌। उनी यसो भन्छिन्‌: “पीडा हटाएर अघि बढ्‌नको लागि प्रार्थना अत्यन्तै महत्त्वपूर्ण छ।” यसै गरी प्रार्थनाबारे सोन्या यसो भन्छिन्‌: “अरूले तपाईंलाई मन पराउँछन्‌ वा मन पराउँदैनन्‌ भन्‍ने कुरामा निर्भर नहुने खालको आत्मसम्मान विकास गर्न यसले तपाईंलाई मदत दिन्छ।”

कुनै पनि मानिसले तपाईंको भावना पूर्णतया बुझ्न सक्दैन तर यहोवाले सक्नुहुन्छ। उहाँले मानिसहरूलाई विवाहमा प्रेम आदानप्रदान गर्ने इच्छासहित सृजनुभयो। रोमान्टिक आकर्षण कत्तिको शक्‍तिशाली हुन सक्छ भन्‍ने कुरा उहाँलाई थाह छ र यसलाई कसरी नियन्त्रणमा राख्ने भनेर पनि उहाँलाई थाह छ। हृदयमा लागेको गहिरो चोटमाथि विजयी हुन उहाँले तपाईंलाई मदत गर्न सक्नुहुन्छ किनभने १ यूहन्‍ना ३:२० यसो भन्छ: “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, र सबै कुरा जान्‍नुहुन्छ।”

सन्तुलित हुनुहोस्‌

विवाह अपार आनन्दको स्रोत हुन सक्छ तर आनन्दको स्रोत यो मात्र होइन। यहोवाको सेवा गर्नेहरू सबैले आनन्द महसुस गर्छन्‌ अनि यो विवाहित व्यक्‍तिहरूले मात्र अनुभव गर्ने कुरा होइन। कुनै-कुनै तरिकामा विवाहित हुनुभन्दा अविवाहित रहनुमा फाइदा छ। तिनीहरूले १ कोरिन्थी ७:२८ बताइएअनुसार आफ्नो “शरीरमा कष्ट” भोग्दैनन्‌। यो कष्टले सबै विवाहित दम्पतीहरूले अनुभव गर्ने दबाब तथा तनावहरूलाई सङ्‌केत गर्छ। अविवाहित व्यक्‍तिहरूसित अझ बढी व्यक्‍तिगत स्वतन्त्रता हुन्छ र तिनीहरूले आफ्नो जीवनलाई यहोवाको सेवामा अझ बढी लगाउन सक्छन्‌। त्यसैले बाइबल यसरी सिकाउँछ: “जसले . . . विवाह गर्छ, उसले ठीकै गर्छ, तर जसले विवाह गर्दैन, उसले अझ असल गर्छ।” (१ कोरिन्थी ७:३८, NRV) तपाईंमा विवाह गर्ने तीव्र इच्छा छ भने पनि यी बाइबल शिक्षाहरूमा मनन गर्दा यसले तपाईंलाई सन्तुलित हुन र आफ्नो वर्तमान अवस्थाबाट सकेसम्म बढी आनन्द उठाउन मदत दिन सक्छ।

तपाईंको भलो चिताउने कुनै-कुनै साथीहरूले तपाईंलाई यसो भन्‍न सक्छन्‌: “चिन्ता नगर, एक दिन तिमीले आफ्नो सपनाको राजकुमार अवश्‍य भेट्टाउनेछ्‌यौ।” अनि यो कुरा साँचो हो कि कोही एक जनाले तपाईंलाई मन पराएन भन्दैमा यसको अर्थ तपाईं सधैंभरि एक्लो रहनुहुनेछ भन्‍ने होइन। जे होस्‌, कान्डेस नाउँकी मसीही युवती यसरी तर्क गर्छिन्‌: “म यहोवामा भर पर्छु। आनन्दित हुनको लागि यहोवाले मलाई एउटा पति दिनै पर्छ भन्‍ने आशा म गर्दिन। तर त्यो शून्यता हटाउनको लागि मलाई जे चाहिन्छ, त्यो कुरा उहाँले मलाई दिनुहुनेछ भन्‍ने कुरा मलाई थाह छ।” यस्तो सकारात्मक मनोवृत्ति राखेर सोच्दा यसले उनलाई एक जना युवकले उनीप्रति रोमान्टिक चासो देखाउन नमान्दा उत्पन्‍न भएको निराशा हटाउन मदत गरेको छ।

यस संसारमा प्रायजसो रोमान्स बीचैमा टुङ्‌गिन्छन्‌ र त्यसै गरी धेरै विवाहहरू पनि। तपाईं यहोवामा भर पर्नुभयो र उहाँको सल्लाह पालन गर्नुभयो भने उहाँले तपाईंलाई निराशा हटाएर आनन्दित हुन मदत दिन सक्नुहुन्छ। तपाईंले पनि राजा दाऊदले जस्तै अनुभव गर्न सक्नुहुन्छ, जसले यसरी लेखे: “हे परमप्रभु, मेरो सब अभिलाषा तपाईंकै सामने छ, र मेरो कंकलाशब्द तपाईंबाट लुकेको छैन। किनकि हे परमप्रभु, म तपाईंकै आशा गर्दछु, हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंलेनै जवाफ दिनुहुनेछ।”—भजन ३८:९, १५. (g04 12/22)

[फुटनोटहरू]

a “युवा जनहरू सोध्छन्‌ . . . आफ्नो मनको कुरा उसलाई कसरी भनूँ?” (नोभेम्बर ८, २००४) भन्‍ने लेखले रोमान्टिक सम्बन्धबारे केटासित कुरा गर्न केटी आफै अघि सर्नु कुनै-कुनै मुलुकको संस्कृतिमा नराम्रो मानिन्छ भनेर बताएको थियो। बाइबलले यसको विरोध नगर्ने भए तापनि अरूलाई ठेस पुऱ्‍याउनदेखि जोगिन मसीहीहरूलाई प्रोत्साहन दिन्छ। त्यसैले के गर्ने भनी निर्णय गर्दा परमेश्‍वरको आशिष्‌ पाउन इच्छा गर्नेहरूले बाइबलको सल्लाह मनमा राख्नु बेस हुन्छ।—मत्ती १८:६; रोमी १४:१३; १ कोरिन्थी ८:१३.

b केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ १४-मा भएको चित्र]

परमेश्‍वरले प्रबन्ध गर्नुहुने मदतबाट लाभ उठाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने