प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १२/८ pp. १०-१२
  • मोटोपनसितको लडाइँ—के प्रयास खेर जाँदैन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोटोपनसितको लडाइँ—के प्रयास खेर जाँदैन?
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • मोटाउनु अब राम्रो होइन
    ब्यूँझनुहोस्‌!—१९९७
  • मोटोपन—कारण के हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • के मोटोपन साँच्चै एउटा समस्या हो?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १२/८ pp. १०-१२

मोटोपनसितको लडाइँ—के प्रयास खेर जाँदैन?

ब्यूँझनुहोस्‌!-ले मोटोपनको समस्यासित लडेका धेरै व्यक्‍तिहरूको अन्तरवार्ता लियो। के तिनीहरूले असल परिणाम हात पारे? यस महामारीको सिकार हुने अरू व्यक्‍तिहरूलाई तिनीहरू कस्तो सुझाव दिन्छन्‌?

◼ हाल १३० किलो तौल भएका ६ फिट अग्लो ४६ वर्षिया माइकसँग सोधौं। उनको सबैभन्दा बढी तौल १५७ किलो सम्म पुग्यो।

माइक: “जवान छँदा पनि म ओभरवेट नै थिएँ। मेरा सम्पूर्ण परिवार नै मोटा छन्‌—मेरो दाइ र दिदी-बहिनीहरू सबै ओभरवेट छन्‌। प्लेट खानेकुराले भरिभराउ भए तापनि प्लेट रित्याउनै पर्ने हाम्रो चलनै थियो। आफ्नो खाने शैलीमा परिवर्तन ल्याउन मलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? जब डाक्टरले मलाई मधुमेह हुन सक्ने प्रबल खतरा भएको बताए! जीवनभर इन्सुलिन लिएर बाँच्नुपर्ने सम्झनाले मात्र पनि मलाई झस्कायो। मेरो कोलेस्ट्रोलको समस्या पनि निकै गम्भीर थियो अनि मैले औषधी सेवन गरिरहनु परेको थियो।

“बसी बसी काम गर्नुपर्ने खालको मेरो जागिर थियो अनि यो अहिले पनि परिवर्तन भएको छैन। तर क्षतिपूर्तिस्वरूप नियमित रूपले व्यायाम गर्ने मेरो तालिका छ जसमा हप्तामा कम्तीमा पनि तीन पटक आधा घण्टा ट्रेडमिल चलाउनु पनि समावेश छ। अर्को महत्त्वपूर्ण कदम आफूले हरेक दिन खाएको खानेकुरा म कापीमा लेख्ने गर्थें। डाइटिसियनले हरेक हप्ता मैले खाएको खानेकुराको सूची जाँच्ने कुराले मलाई आत्मसंयम कायम राख्न मदत गऱ्‍यो। एउटा उपाय मेरो दिमागमा आयो, ‘खानेकुरा खाँदै खाएन भने लेख्ने कष्ट पनि गर्नुपरेन!’

“फलतः मैले विगत १५ महिनामा २८ किलो तौल घटाएको छु तर मैले अझै आफ्नो तौल घटाउनुपर्छ किनकि म आफ्नो तौल १०२ किलोमा झार्न चाहन्छु। यसको लागि मैले कच्याङकुचुङ खानेकुरा, आलु चिप्स अनि क्यासरोल अर्थात्‌ ओभनमा बेक गरेका खानाहरू खान बन्द गरेको छु। मैले अचेल धेरै मात्रामा सलाद र तरकारीहरू खाने गरेको छु अनि यी खानेकुराहरू मैले आफ्नो जीवनमा पहिले कहिल्यै यसरी खाने गरेको थिइनँ!

“मलाई उत्प्रेरित गर्ने अर्को कुरा के हो भने म ट्रक ड्राइभर भएकोले मैले हरेक वर्ष आफ्नो चालक अनुमति-पत्र नवीकरण गर्न आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ। मधुमेहको खतराले गर्दा मेरो चालक अनुमति-पत्र नै गुम्ने खतरा थियो। अहिले स्थिति परिवर्तन भएको छ। अब आफ्नो कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न मैले औषधी खाइराख्नु पर्दैन। मेरो रक्‍तचाप घटेको छ अनि रक्‍तचापको लागि मैले अहिले त्यति धेरै औषधी खानु पर्दैन। पहिलेको तुलनामा अहिले मेरो जाँगर बढेको छ र एकदमै नराम्ररी ढाड दुख्ने समस्या पनि हटेको छ। अनि म विस्तारै मोटोपनको वर्गबाट निस्कँदै छु!”

ब्यूँझनुहोस्‌!: “तौल घटाउन के पत्नीले कुनै सकारात्मक भूमिका निभाउन सक्छिन्‌?”

माइक: “यदि तपाईं बढेको तौललाई घटाउन सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने तपाईंको होस्टेमा हैंसे गर्ने कोही हुनु आवश्‍यक छ। मेरी पत्नीलाई लाग्थ्यो, मलाई मीठो-मीठो खानेकुरा टन्‍न खुवाएर उनले मलाई माया देखाइरहेकी छिन्‌। तर अहिले उनी मेरो प्लेटमा खानाको मात्रा नियन्त्रण गर्न मदत गर्छिन्‌। आफ्नो सचेतता नगुमाउनु अत्यन्तै महत्त्वपूर्ण छ किनकि म सचेत भइनँ भने तुरुन्तै तौल बढिहाल्छ।

◼ संयुक्‍त राज्य अमेरिकाको कान्सास निवासी माइक नाउँका अर्का एक जना व्यक्‍तिलाई पनि विचार गर्नुहोस्‌।

उनको उमेर ४३ वर्ष पुग्यो र उनको उचाइ पाँच फिट आठ इन्च छ। हामीले उनलाई उनको सबैभन्दा बढी तौल कतिसम्म पुग्यो अनि उनको तौल बढ्‌नुका कारणहरू सोध्यौं।

माइक: “मेरो तौल सबैभन्दा बढी १३५ किलोसम्म पुग्यो। म सधैं थकित हुन्थें अनि कुनै काम गर्न जाँगरै हुँदैनथ्यो। श्‍वासप्रश्‍वाससम्बन्धी समस्याले गर्दा म राम्ररी सुत्न सक्दिन थिएँ। त्यसैले म डाक्टरकहाँ गएँ र उनले मेरो तौलसम्बन्धी समस्याको एउटा कारण अब्स्ट्रकटिभ स्लिप एप्नियाa भएको पत्ता लगाए। मलाई उच्च रक्‍तचाप भएको कुरा पनि पत्ता लाग्यो।

ब्यूँझनुहोस्‌!: “तपाईंको समस्याको समाधान के थियो?”

माइक: “डाक्टरले मलाई एउटा उपकरण सिफारिस गरे जसले म सुत्दाखेरि श्‍वासनलीमा हावा नरोकियोस्‌ भन्‍नको लागि पर्याप्त हावा उपलब्ध गराउँछ। यसले गर्दा मेरो घाँटीमा कुनै अवरोध हुँदैन र म सामान्य तरिकामा सास फेर्न सक्छु। फलतः दिनमा अझ बढी सक्रिय हुनुका साथै मैले आफ्नो तौल घटाउन थालें। साथै हप्ताको तीन पटक ट्रेडमिल चलाउन थालें। म परहेजमा बसें, मैले आफूले खाने खानाको अंश घटाउनुपर्थ्यो र थप्न पनि छोड्‌नुपर्थ्यो। अहिले आएर मैले १ वर्षमै २० किलो तौल घटाएको छु र अझै २० किलो तौल घटाउनुपर्छ। रातारात मेरो तौल घट्‌दैन तर मलाई थाह छ, म आफ्नो तौल घटाउन सक्छु।”

ब्यूँझनुहोस्‌!: “तौल घटाउन तपाईंले पाउनुभएको अन्य उत्प्रेरणाहरू के-के हुन्‌?”

माइक: “तपाईंको शारीरिक बनौटबारे अरूले छेडपेच गरेको अनि होच्याउँदै कुरा गरेको सुन्दा खुसी लाग्दैन। मानिसहरूले तपाईंलाई अल्छे भन्ठालान्‌। मोटोपनका अरू धेरै कारणहरू पनि हुन सक्छन्‌ भनेर तिनीहरूले विचारै गर्दैनन्‌। मेरो मोटोपनको कारण केही हदसम्म वंशाणु पनि हो किनकि मेरो परिवारका धेरैजसो सदस्यहरूको तौलसम्बन्धी समस्या छ।

“तर आफ्नो तौल घटाउन आफूलाई सक्रिय राख्नै पर्छ अनि खानपानमा नियन्त्रण गर्नै पर्छ भन्‍ने कुरा म मानिलिन्छु।”

◼ ब्यूँझनुहोस्‌!-ले ओरेगन निवासी ३८ वर्षीय वेनसित पनि अन्तरवार्ता लियो। उनी ३१ वर्षको हुँदा उनको तौल ११२ किलो थियो।

वेन: मेरो तौल किन त्यतिबिघ्न बढेको? मेरो बसी-बसी गर्नुपर्ने काम थियो र म कुनै व्यायाम गर्दैनथें। जब म डाक्टरकहाँ गएँ, मलाई उच्च रक्‍तचाप भएको अनि मटुसम्बन्धी समस्याहरू हुन सक्ने खतरा भएको थाह पाउँदा म स्तब्ध भएँ। उनले मलाई डाइटिसियनकहाँ पठाए। डाइटिसियनले मलाई व्यायाम र खानामा नियन्त्रण गर्ने कडिकडाउ नियम तोकिदिए। नटुटाई दिनमा लगातार पाँच किलोमिटर हिंड्‌न थालें र व्यायाम गर्नकै लागि हरेक बिहान सबेरै उठ्‌न थालें। खाने र पिउनेसम्बन्धमा मैले आफूलाई धेरै कुरा सिकाउनुपऱ्‍यो। मैले बजारी खानेकुरा खान ठप्प बन्दै गरें अनि पाउरोटी र सोडा खान कम गरें, त्यसको सट्टा फलफूल र तरकारीहरू खान थालें। अहिले मेरो तौल घटेर ८० किलो भएको छ।”

ब्यूँझनुहोस्‌!: “तपाईंले के कस्ता लाभहरू अनुभव गर्नुभएको छ?”

वेन: “अहिले मलाई आफू स्वस्थ्य र फेरि एक चोटि बाँच्न पाएको छु जस्तो लाग्छ। पहिले आफू मरेको हो कि बाँचेको मलाई थाह थिएन, पूरै निष्क्रिय छु जस्तो लाग्थ्यो। अर्को फाइदा मैले उच्च रक्‍तचापको औषधी खान बन्द गरेको छु। अनि तौलकै कारणले मानिसहरूको आलोचना खप्नु नपर्ने हुनाले अहिले म मानिसहरूसित आँखामा आँखा जुधाउन सक्छु जस्तो लाग्छ।”

◼ चार्ल्स (उनको वास्तविक नाउँ होइन) हाल उनको उचाइ छ फिट पाँच इन्च छ। उनको सबैभन्दा बढी तौल १६८ किलोसम्म पुगेको थियो।

चार्ल्स: “मेरो स्वास्थ्यसम्बन्धी धेरै जटिल समस्याहरू थिए र परिस्थिति झन्‌-झन्‌ बिग्रँदै गइरहेको थियो। म भऱ्‍याङ चढ्‌न सक्दिन थिएँ। आफ्नो काम पूरा गर्न बल नै हुँदैनथ्यो। मेरो बसी-बसी गर्नुपर्ने काम थियो अनि बसेरै अनुसन्धान गर्ने र व्यवस्थापन सँभाल्नुपर्ने थियो। विशेष गरी जब मैले डाक्टरलाई जचाएँ, त्यसपछि आफ्नो तौल घटाउन केही त नगरी नहुने जस्तो लाग्यो। डाक्टरले मलाई पछि गएर मस्तिष्कघात हुन सक्ने कुरामा सजग गराए। मस्तिष्कघातले मानिसलाई कस्तो हालतमा पुऱ्‍याइदिन्छ, त्यो मलाई राम्ररी थाह थियो। यसले मलाई आफूले केही कदम चाल्नैपर्ने कुरामा विश्‍वस्त गरायो। मेरो डाक्टरले उनको रेखदेखमा ट्रेडमिलमा व्यायाम गर्नुपर्ने सुझाव दिए अनि भोजनसम्बन्धी कडा पथपरहेज तोकिदिए। एक वर्षपछि हाल मेरो तौल १३६ किलो पुगेको छ अनि मलाई थाह छ, मैले आफ्नो तौल अझै घटाउनुपर्छ। प्रत्यक्षतः अनुभव गरेका फाइदाहरूले गर्दा त्याग र प्रयास व्यर्थ जानेछैन भन्‍ने कुरामा म विश्‍वस्त भएको छु। म अहिले भऱ्‍याङ चढ्‌न सक्छु र धेरै फूर्तिलो पनि भएको छु।”

◼ एल साल्भाडोर मूलकी मार्थाको तौल ८३ किलोसम्म पुग्यो। उनको पाँच फिट पाँच इन्चको उचाइलाई विचार गर्ने हो भने उनी मोटोपनको वर्गमा पर्छिन्‌।

मार्था: “म डाक्टरकहाँ गएँ अनि उनले मलाई ढिलासुस्ती नगरी तौल घटाउन थालिहाल्ने कडा सल्लाह दिए। डाक्टरले दिएको सल्लाहलाई मैले स्वीकारें। तिनले मलाई थप सल्लाहको लागि पोषण विशेषज्ञकहाँ पठाए। पोषण विशेषज्ञले मलाई मेलै किन अनि कस्तो किसिमको पथपरहेजमा बस्नुपर्छ भनेर सविस्तार बताइन्‌। मैले आफ्नो खानाको अंश कसरी घटाउने अनि हाल खाइरहेको भोजन कसरी छाड्‌ने भनी उनले बताइन्‌। सुरुमा त उनलाई मैले साप्ताहिक रिपोर्ट बुझाउनुपर्थ्यो, पछि गएर प्रगति रिपोर्ट महिना दिनमा मात्र बुझाए पुग्यो। डाक्टर र पोषण विशेषज्ञ दुवैले मेरो प्रगतिको सराहना गरे। अन्ततः मैले आफ्नो तौल १२ किलो घटाएँ र अहिले मेरो तौल ६८ किलो छ र त्यही नै कायम गरिरहेको छु।

ब्यूँझनुहोस्‌!: “व्यायाम र औषधीहरू नि?”

मार्था: “मलाई कोलेस्ट्रोलको समस्या नभएकोले औषधी खानु परेन। दिनहुँ छिट्‌छिटो हिंड्‌नुलाई मैले आफ्नो तालिकाको भाग नै बनाएँ।”

ब्यूँझनुहोस्‌!: “साथीहरूकहाँ जाँदा तिनीहरूले तपाईंलाई सधैंभन्दा बढी खान कर गरेमा के गर्नुहुन्थ्यो?”

मार्था: “म तिनीहरूलाई केवल यति भन्छु, ‘मेरो स्वास्थ्यको लागि योभन्दा बढी खाएको मेरो डाक्टर चाहँदैनन्‌’ यति भनेपछि तिनीहरू अक्सर कर गर्दैनन्‌।

अतः तपाईं ओभर वेट अथवा अचाक्ली मोटो हुनुहुन्छ भने, तपाईं के गर्न सक्नुहुन्छ? एउटा पुरानो उखान धेरै सान्दर्भिक छ, “जहाँ इच्छा त्यहाँ उपाय।” तौल घटाउन के तपाईंसित बलियो उत्प्रेरणा र आत्मबल छ? ओभरवेट बच्चा अथवा वयस्कको हैसियतमा तपाईं कुन कुरा रोज्नुहुनेछ? तौल घटाउने अथवा हुन सक्छ आयु घटाउने। सक्रिय जीवन बिताउनुहोस्‌ अनि ससाना कुरामा समेत सन्तुष्टि र सफलताको अनुभूति गर्नुहोस्‌—जस्तै सानो साइजको लुगाफाटा! (g04 11/8)

[फुटनोट]

a स्लीप एप्नियाबारे थप जानकारीको लागि अवेक! फेब्रुअरी ८, २००४, पृष्ठ १०-१२ हेर्नुहोस्‌।

[पृष्ठ ११-मा भएको पेटी]

के लिपोसक्सन तपाईंको लागि ठीक छ?

लिपोसक्सन के हो? एउटा शब्दकोशले यसलाई यसरी परिभाषित गर्छ: “साधारणतया यो एउटा सौन्दर्यप्रधान शल्यक्रिया हो जसमा शरीरको कुनै निश्‍चित भागबाट अत्यधिक बोसोयुक्‍त तन्तुहरू हटाइन्छ, जस्तै तिघ्रा अथवा पेटका बोसोहरू सोसेर निकालिन्छ। यसलाई चुसण लिपेकटोमी पनि भनिन्छ।” (अमेरिकन हेरिटेज डिक्सनरी) त्यसोभए, के यो मोटोपनको निवारण हो?

मायो क्लिनिक अन हेल्थी वेट-अनुसार लिपोसक्सन एउटा सौन्दर्यप्रधान शल्यक्रिया हो। यो कुनै तौल घटाउने योजना होइन। छालाभित्रबाट छिराइएको एउटा साँघुरो नलीद्वारा बोसोयुक्‍त कोषहरू सोसिन्छ। एकै पटकमा केही पाउन्ड बोसो निकाल्न सकिन्छ। यद्यपि, “यस्तो प्रकारको शल्यक्रिया मोटोपनको उपचार होइन।” के यो एउटा सुरक्षित उपाय हो? “लिपोसक्सनबाट मधुमेह र मुटुलगायत तौलसम्बन्धी रोगीहरूमा अझ धेरै जटिलताहरू देखापर्ने खतरा हुन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने