गोलभेंडा—अत्यन्तै बहुउपयोगी “तरकारी”
बेलाइतका ब्यूँझनुहोस्! लेखकद्वारा
“गोलभेंडा नभइदिएको भए म के गर्थें होला!” भनी इटालीकी एउटी गृहिणी उद्गार गर्छिन्। संसारभरका अरू थुप्रै भान्छेहरू पनि यो भनाइसित सहमत छन्। हुन पनि धेरैजसो संस्कृतिको खानेकुरा पकाउने विधिमा गोलभेंडाको नाउँ उल्लेख भएकै हुन्छ। करेसाबारी लगाउनेहरूले सबैभन्दा धेरै गोलभेंडा नै रोप्छन्। तर यो फल हो कि तरकारी?
वनस्पति जगत्को क्षेत्रबाट हेर्ने हो भने गोलभेंडा एउटा फल हो किनभने यसमा बीउ हुन्छ। तथापि, अक्सर मुख्य भोजनसित खाइने हुनाले अधिकांश व्यक्तिहरू यसलाई तरकारी भन्ठान्छन्। यो स्वादिलो खानाको रमाइलो इतिहास छ।
रोचक इतिहास
मेक्सिकोमा एज्टेकहरूले खानाको रूपमा यो वनस्पतिको खेती गर्न थाले। त्यहाँबाट फर्केका स्पेनी विजेताहरूले १६ औं शताब्दीको सुरुतिर यसलाई स्पेन लगे अनि नाहाल्ट भाषाको टोमाटल शब्दबाट अपभ्रंश भएर टोमाटे भन्न थालियो। चाँडै इटाली, उत्तर अफ्रिका र मध्यपूर्वका स्पेनी प्रवासीहरूमाझ पनि यो नयाँ स्वाद लोकप्रिय भयो।
त्यस शताब्दीको बीचतिर गोलभेंडा उत्तर युरोप पुग्यो। सुरुमा यसलाई विषालु ठानिन्थ्यो र बगैंचाको सजावटको लागि रोपिन्थ्यो। यो कडा बास्नादार पात र विषालु डाँठहरू हुने सोलानासिया परिवारको सदस्य भए तापनि यसको फल भने पूर्णतया अहानिकारक साबित भयो।
भर्खरै युरोप भित्रिएका यी गोलभेंडाहरू सम्भवतः पहेंलो रङका थिए होलान् किनभने इटालियनहरूले यसलाई पोमोडोरो (सुनौलो स्याउ) भन्थे। अङ्ग्रेजहरूले यसलाई टोमाटे भन्थे र पछि गएर टोमाटो भन्न थालियो तर “लभ याप्पल” अर्थात् “प्रेम स्याउ” भन्ने पदावली पनि निक्कै लोकप्रिय भयो। पछि आन्ध्र महासागर पार गरेर गोलभेंडा उत्तर अमेरिका पुग्यो अनि १९ औं शताब्दीको दौडान त्यहाँको एउटा महत्त्वपूर्ण भोजन बन्यो।
उल्लेखनीय विविधता र लोकप्रियता
गोलभेंडाको रङ कस्तो हुन्छ भनेर तपाईंले कसैलाई सोध्नुभयो भने सायद “रातो” भन्ने जवाफ आउँछ होला। तर गोलभेंडा पहेंलो, सुन्तला रङ, गुलाफी, प्याजी, खैरो, सेतो वा हरियो रङको हुन सक्छ र कुनै-कुनै त पाटे समेत हुन सक्छ भनेर के तपाईंलाई थाह थियो? सबै गोलभेंडाहरू गोलो नै हुन्छन् भन्ने छैन। कुनै-कुनै गोलभेंडाहरू चेप्टो, अण्डाकार वा भेट्नोतिर चुच्चो परेको नासपाती आकारका हुन्छन्। गोलभेंडाहरू केराउको गेडा जत्तिको सानोदेखि लिएर मुठी जत्रो ठूलोसम्म हुन सक्छन्।
यो लोकप्रिय भोजन उत्तरमा आइसल्याण्डदेखि लिएर दक्षिणमा न्यु जील्याण्डसम्म उमारिन्छ। संयुक्त राज्य अमेरिका र दक्षिणी युरोपका देशहरू गोलभेंडाका प्रमुख उत्पादकहरू हुन्। चिसो हावापानी भएका ठाउँहरूमा सिसाको घरभित्र गोलभेंडा उमारिन्छ भने सुख्खा ठाउँहरूमा हाइड्रोपोनिक प्रविधि प्रयोग गरिन्छ, जुन प्रविधिमा माटोमा नभई पौष्टिक पदार्थहरूको घोलमा बिरुवा हुर्काइन्छ।
सोखको लागि करेसाबारी लगाउनेहरूमाझ गोलभेंडा सधैं नै लोकप्रिय रहिआएको छ। गोलभेंडा हुर्काउन त्यति गाह्रो छैन अनि दुई-चारवटा बोट भयो भने एउटा सानो परिवारलाई चाहिने गोलभेंडा घरैमा फलाउन सकिन्छ। तपाईंको घरमा रोप्ने ठाउँ छैन भने कौसीमा वा झ्यालमा गमलामा उमार्न सकिने गरी विकास गरिएका गोलभेंडाका बोटहरू रोज्नुहोस्।
सुझाव र स्वास्थ्यसम्बन्धी जानकारीहरू
चिसोले गोलभेंडाको स्वाद बिगार्ने भएकोले यसलाई फ्रिजमा नराख्नुहोस्। चाँडै पकाउनु छ भने तपाईंले गोलभेंडालाई राम्ररी घाम लाग्ने झ्यालमा राख्न सक्नुहुन्छ वा पाकेको गोलभेंडा वा केरासित एउटा भाँडोमा राख्न सक्नुहुन्छ वा बाक्लो खालको कागजको झोलामा बन्द गरेर केही दिनको लागि कोठाको तापक्रममा राख्न सक्नुहुन्छ।
गोलभेंडा तपाईंको स्वास्थ्यको लागि निक्कै फाइदाजनक छ। यसमा भिटामिन ए, सी र ई का साथै पोटासियम, क्याल्सियम र खनिज लवणहरू पाइन्छन्। यसमा अक्सीकरण हुन नदिने एउटा शक्तिशाली तत्त्व लाइकोपिन हुन्छ भन्ने कुरा पनि अनुसन्धाताहरूले पत्ता लगाएका छन् जसले क्यान्सर र मुटुसम्बन्धी रोगजस्ता केही बिमारहरूको खतरालाई कम गर्छ। गोलभेंडामा ९३ देखि ९५ प्रतिशत पानी हुन्छ र यसमा थोरै क्यालोरी हुन्छ भन्ने कुरा थाह पाउँदा आफ्नो वजनबारे सजग मानिसहरू खुसी हुनेछन्।
स्वादमा विविधता
गोलभेंडा किन्दा तपाईं कस्तो किसिमको रोज्नुहुन्छ? सबैलाई थाह भएको रातो खालको गोलभेंडा सलाद, सुप र ससको लागि उपयुक्त हुन्छ। चिनीको मात्रा धेरै हुने गुलियो स्वादका रातो, सुन्तला वा पहेंलो रङको सानो गोलभेंडा काँच्चै खान मीठो हुन्छ। तपाईं पिज्जा वा पास्ता बनाउँदै हुनुहुन्छ भने कडा खालको गुदी भएको अण्डाकार गोलभेंडा राम्रो हुन सक्छ। कडा बाक्लो गुदी हुने ठूलो खालको गोलभेंडा अरू कुनै चीजभित्र खाँदेर त्यसपछि आगोमा सेकाएर खान राम्रो हुन्छ। पाटाहरू भएको कुनै-कुनै हरियो गोलभेंडा अचार बनाएर खान मीठो हुन्छ। वास्तवमा, तरकारी, अण्डा, पास्ता, मासु र माछा जस्ता विभिन्न परिकारहरूमा गोलभेंडाले बेग्लै स्वाद र रङ थपिदिन्छ। तपाईंले ताजा गोलभेंडा पाउन सक्नुहुन्न भने पनि नजिकैको पसलमा डब्बामा पाइने प्रशोधन गरिएको गोलभेंडा पक्कै किन्न सक्नुहुन्छ होला।
हरेक भान्छेसित गोलभेंडाको परिकार बनाउने आ-आफ्नै विधि छ, तर यहाँ केही तरिकाहरू दिइएका छन् जुन तपाईं प्रयोग गर्न चाहनुहुन्छ होला।
१. पातलो गरी काटिएको गोलभेंडा, मोजारेल्ला चिज र एभोकाडो मिलाएर तुरुन्तै तयार पार्न सकिने र रङ्गीचङ्गी एपिटाइजर तयार पार्नुहोस्। जैतुनको तेल र मरिच छर्कनुहोस् अनि बेसिलको पातले सजाउनुहोस्।
२. गोलभेंडा, काँक्रो र फिटा चिजको टुक्रालाई कालो जैतुन र पातलो गरी काटिएको रातो प्याजसित मिसाएर ग्रीक सलाद बनाउनुहोस्। स्वादअनुसार नुन र मरिच छर्कनुहोस् अनि जैतुनको तेल र कागतीको रसको ड्रेसिङसित सर्व गर्नुहोस्।
३. भर्खरै टुक्रा पारिएको गोलभेंडा, प्याज, हरियो खुर्सानी र धनियाँलाई अलिकता कागतीको रससित मिसाएर मेक्सिकन साल्सा तयार पार्नुहोस्।
४. डब्बामा पाइने टुक्रा पारिएको गोलभेंडा, एक चिम्टी चिनी (वा केचप), अलिकता जैतुनको तेल, एक पोटी पिंधिएको लसुन अनि केही जडीबुटीहरू जस्तै: बेसिल, तेजपात वा सजिवनलाई ताप्केमा राख्नुहोस् र त्यसमा स्वादअनुसार नुन र मरिच हालेर पास्ताको लागि चाहिने साधारण तर स्वादिलो गोलभेंडाको सस तयार पार्नुहोस्। त्यस मिश्रणलाई उमाल्नुहोस् र त्यसपछि सस बाक्लो नहोउन्जेल लगभग २० मिनेट सानो आगोमा पाक्न दिनुहोस्। पकाएर पानी फ्याँकिसकेको पास्तामाथि यो सस खन्याउनुहोस्।
विभिन्न किसिमको गोलभेंडा हाम्रो लागि सृष्टि गरिएको अचम्मलाग्दो विविधतायुक्त खानाहरूको एउटा उदाहरण मात्र हो। (g05 3/8)