प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ६/८ पृ. २६-२७
  • कस्तो खाऊँ-खाऊँ लाग्ने!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कस्तो खाऊँ-खाऊँ लाग्ने!
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अहिलेको खाद्यान्‍न अभावबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • खानेकुरालाई सुरक्षित राख्न र पोसिलो खानेकुरा खान गर्नै पर्ने सात कुराहरू
    थप लेखहरू
  • १९९५ जिल्ला सम्मेलन सरलीकरण
    हाम्रो राज्य सेवकाई—१९९५
ब्यूँझनुहोस्‌!—२००५
g05 ६/८ पृ. २६-२७

कस्तो खाऊँ-खाऊँ लाग्ने!

जापानका ब्यूँझनुहस्‌! लेखकद्वारा

एकदमै स्वादिष्ट देखिने खानामा तपाईंको आँखा परेको छ। तपाईंको भोक जाग्न थाल्छ अनि मुख रसाउन थाल्छ। तर अचम्मको कुरा, यो “भोजनको” कुनै बास्ना, स्वाद छैन अनि यसले पोषण पनि दिंदैन। यो भोजन कहिल्यै बिग्रँदैन अनि फ्रिजमा पनि राख्नु पर्दैन। यो के हो? जापानमा यसको एउटै जवाफ हुन सक्छ—प्लास्टिकको नमुना खाना। यो रेस्टुराँको मेनुमा पाइने खानाको दुरुस्त नक्कल गरेर बनाइएको प्लास्टिकको खाना हो। यो रेस्टुराँमा पाइने खाना जस्तै साइज, आकार र रङको हुन्छ।

यसरी सजाइने खानाहरू विभिन्‍न किसिमका हुन्छन्‌—सुशीजस्ता परम्परागत जापानी खानादेखि लिएर पिजा र स्पेगेटीजस्ता पश्‍चिमेली खानाहरू। पेयपदार्थ, चमेना र मिठाईका नक्कलहरू पनि पाइन्छन्‌। यी किसिम-किसिमका हुन्छन्‌। हुन पनि, एउटा उत्पादकले १०,००० भन्दा बढी किसिमका खानाको नक्कल बनाउँछ!

प्लास्टिकको खाना साँच्चिकै जस्तो देखिन्छ। एकदमै मसिना कुराहरू पनि एकदमै निपुणतापूर्वक बनाइएको हुन्छ—जस्तै, बेक गरेको कुखुराको छालामा देखिने फोकाफोकीहरू, खरबुजाका यत्रतत्र छरिएका दानाहरू, जिरीको सागका गुजुमुज्ज पातहरू। तर जापानका रेस्टुराँहरूमा प्लास्टिकका खानाहरू कसरी यत्तिको लोकप्रिय हुन पुगे?

उन्‍नाइसौं शताब्दीको अन्ततिर कुनै-कुनै रेस्टुराँहरूले जापानी जनसाधारणलाई विदेशी खानाहरूबारे थाह दिन विभिन्‍न किसिमका साँच्चैका खानाका नमुनाहरू सजाउन थाले। रेस्टुराँभित्र नछिरीकनै बटुवाहरूले ती कस्ता खाना हुन्‌ भनेर थाह पाउन सक्थे। यसरी सजाइएका खानाहरूले मानिसहरू मात्र होइन तर जनावर तथा झिंगालाई पनि आकर्षित गऱ्‍यो। गर्मी र आद्रताले गर्दा खाना बिग्रियो अनि दिनदिनै खानाका नमुनाहरू बनाउन महँगो पऱ्‍यो।

समय बित्दै जाँदा साँच्चैको खानाको सट्टामा रङ्‌गीचङ्‌गी मैनले बनाइएका नमुना खानाहरू राख्न थालियो। तर मैनको एउटा ठूलो अवगुण थियो। त्यो हो, गर्मीमा पग्लने। पछि गएर मैनको सट्टा भिनिल प्लास्टिक प्रयोग गरियो। बल्ल, एउटा टिकाउ सामग्री भेटियो जुन गर्मीमा पनि बिग्रँदैनथ्यो अनि सही किसिमका ग्राहकहरू अर्थात्‌ मानिसहरूलाई आकर्षित गर्न सक्थ्यो! तर यी प्लास्टिकका नमुनाहरू कसरी बनाइन्छन्‌?

सबैभन्दा पहिला, खानाको साँचो बनाइन्छ। उदाहरणका लागि, एउटा स्टेक अर्थात्‌ एक टुक्रा मासु चारकुने भाँडोमा राखिन्छ अनि स्टेक पुरै डुब्ने गरी त्यसमाथि सिलिकन खन्याइन्छ। साँचो कडा भएपछि यो पल्टाइन्छ। अनि स्टेक झिकिन्छ तर यसको छाप भने बसिसकेको हुन्छ। त्यसपछि रङ्‌गिन भिनिल त्यो साँचोमा खन्याइन्छ अनि ८२ डिग्री सेन्टिग्रेडमा बेक गरिन्छ। चिसो भएपछि यो प्लास्टिकको स्टेक निकालिन्छ। अब यसमाथि रङ लगाउन मिल्छ।

स्याण्डवीच बनाउनको लागि यसमा चाहिने प्रत्येक थोक; जस्तै—पाउरोटी, मासु, चीज र जिरीको सागको लागि छुट्टाछुट्टै साँचो तयार पार्नुपर्छ। त्यसपछि साँच्चैको स्याण्डवीच बनाउने जस्तै गरी पाउरोटीको बीच-बीचमा ती सबै थोक राखिन्छ। तर प्लास्टिकको स्याण्डवीच बनाउँदा भने ती विभिन्‍न कुराहरू गमले टाँसिन्छ।

एउटा अर्थमा भन्‍ने हो भने, प्लास्टिकको खाना बनाउनु एउटा कला हो। यस्तै व्यापारमा लगभग २३ वर्ष बिताइसकेका कात्सुजी कानेयामा यसो भन्छन्‌, “प्लास्टिकको खानालाई साँच्चैको जस्तो देखाउनको लागि महत्त्वपूर्ण कुरा भनेको साँच्चैको खानालाई एकदम ध्यान दिएर नियाल्नु हो। मानिसहरूको लागि खाना भनेको खाने चीज हो। तर हामी चाहिं खानालाई उत्पादन गर्ने एउटा वस्तुको रूपमा हेर्छौं।”

भर्खरै पाकेको जापानी भातलाई राम्ररी हेर्दा भातको एक-एक सिता राम्ररी छुट्टिएको हुन्छ। कचौरामा राखिएको भात “छेउबाट अलि अलि गरेर बीचमा अलि उठेको हुन्छ” भनी कानेयामा बताउँछन्‌। प्लास्टिकको खाना पनि यस्तै देखिनको लागि हरेक सिताको लागि छुट्टाछुट्टै साँचो बनाउनुपर्छ। भातको सिता एक ठाउँमा भेला गरेर मात्र पुग्दैन किनभने त्यसो गर्दा त सम्म हुने गरी फिंजिन्छ। यसो नभई साँच्चैको भात बीचमा अलि उठेको जस्तै देखाउनको लागि हरेक सिता ठ्याक्क मिलाएर गम लगाउनुपर्छ। प्लास्टिकको खाना साँच्चैको जस्तो देखाउन सकियो भने एकदमै नियालेर हेर्ने व्यक्‍तिको लागि यो खाना अझ बढी आकर्षक हुन्छ।

प्लास्टिकको खाना बनाउन खप्पिस हुनको लागि वर्षौंको अनुभव चाहिन्छ। सिकारुले सुरुका केही वर्षहरू आधारभूत सीप सिक्न बिताउनुपर्ने हुन सक्छ, जस्तै सुरुमा च्याउजस्ता सजिलो कुराहरू बनाउन सक्छन्‌। भर्खरै समातेको माछाको जस्तै कत्ला र रङ भएको जटिल संरचना बनाउनको लागि लगभग दस वर्षको अध्ययन चाहिन्छ। यस क्षेत्रको विशेषज्ञ कहलिनको लागि १५ वर्षसम्म लाग्न सक्छ

जापानको रेस्टुराँबाहिर सजाइएका यी मुखै रसाउने खानाहरू देख्नुहुँदा यो कला सृजना गर्न कति कडा मेहनत गरिएको थियो होला भनेर सोच्नुहोस्‌। यसपछि साँच्चैको खाना वा साँच्चैको जस्तो देखिने प्लास्टिकको खाना बनाउँदा, कुन चाहिंलाई बढी निपुणता चाहियो होला भनेर तपाईं सोच्नुहोला! (g05 5/8)

[पृष्ठ २७-मा भएको पेटी]

फिल्म खिच्दा

अर्को पटक कुनै चलचित्र, टेलिभिजन कार्यक्रम वा विज्ञापनमा खाना देखाइँदा राम्ररी नियालेर हेर्नुहोस्‌। यो खाना साँच्चैको नहुन पनि सक्छ। लस एन्जलेसका फुड स्टाइलिस्ट क्रिस अलिभरअनुसार कुनै एउटा दृश्‍य खिच्न घण्टौं लाग्ने हुँदा प्लास्टिकको खाना सबैभन्दा उपयुक्‍त हुन्छ। तिनी यसो भन्छन्‌, “यो साँच्चैको खाना किन्‍नुभन्दा महँगो हुन्छ तर बढी उपयुक्‍त हुन्छ। निस्सन्देह, फिल्म खिच्दा बालिने चर्को बत्तीले साँच्चैको खाना बिग्रन सक्ने हुँदा प्लास्टिको खाना नै कता हो कता बेस हुन्छ।

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

कुन चाहिं साँच्चैको हो, भन्‍न सक्नुहुन्छ? (उत्तर पृष्ठ २७ मा)

उत्तर: साँच्चैको खाना चाहिं आइमाईले आफ्नो दायाँ हातमा बोकेको ट्रेमा छ।

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Bottom photos: Hachiman Town, Gujyo City, Gifu Prefecture, Japan

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने