प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ७/८ पृ. १५-१७
  • उफ्रने बेरी चाख्नुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उफ्रने बेरी चाख्नुभएको छ?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हिलाम्मे जमिनमा फल्ने बेरी
  • खाना, औषधीका साथै बिग्रन नदिने तत्त्वको रूपमा प्रयोग गर्न मिल्ने
  • किन उफ्रने बेरी भनिएको?
  • पोलिया बेरिको चहकिलो निलो रङ्‌ग
    ब्यूँझनुहोस्‌!—२०१७
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००२
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
  • ‘तिमीहरूले धेरै फल फलाइरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
ब्यूँझनुहोस्‌!—२००५
g05 ७/८ पृ. १५-१७

उफ्रने बेरी चाख्नुभएको छ?

क्यानाडाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

माटोको अम्लीयपन बढाउन किसानले जमिनमा गन्धक छर्छन्‌। शरद्‌ ऋतु लागेपछि जसै बाली पाक्न थाल्छ, तिनले बारीलाई जलमग्न बनाउँछन्‌। कटनी गरिसकेपछि तिनले उफ्रिन्छ कि उफ्रिंदैन भनेर हेर्न फललाई जानाजानी भुइँमा उफार्छन्‌।

हैन, किसान पागल त भएनन्‌? कहाँ हुनु, विनाशकारी जस्तो देखिने तिनको त्यस चालाले तिनको उत्पादन उच्च गुणस्तरको छ कि छैन, सो पक्का गर्छन्‌। तिनले लगाएको बाली क्रानबेरी अर्थात्‌ बयर परिवारको एउटा फल हो। के तपाईं यी जब्बर बेरीहरूबारे अझ बढी बुझ्न चाहनुहुन्छ?

हिलाम्मे जमिनमा फल्ने बेरी

उत्तर अमेरिकाको उत्तरपूर्वी तटमा युरोपेलीहरू पहिलो चोटि आएको बेला त्यहाँका रैथाने आदिवासीहरूले उनीहरूलाई व्यापार गर्ने हेतुले स्वादिलो ताजा रातो बेरी टक्र्‌याएका थिए। हाल त्यस क्षेत्रमा बसोबास गर्ने केप कोड भनेर चिनिने पिक्योट आदिवासीहरूले त्यस फललाई इबीमी अथवा “तीतो फल” भन्थे। त्यस फलको रूखको डाँठ र फूल क्रेन अर्थात्‌ सारस चराको घाँटी र टाउको जस्तै भएकोले होला पिलग्रिमहरूले त्यस फललाई क्रेनबेरी भन्‍ने नाउँ दिए। साथै, त्यहाँ पाइने क्रेन चराहरूको मनपर्ने आहार त्यही बेरी थियो र यस फललाई क्रेन चराको नाउँ दिनुको पछाडि यो पनि अर्को कारण हुन सक्छ।

आदिवासीहरूले कुहिएको झारपात हुने हिलाम्मे जमिनबाट बेरी बटुल्थे। हिलाम्मे जमिनमा भएका कुहिएका वनस्पतिले गर्दा माटोमा अम्लीयपन अत्यधिक मात्रामा बढ्‌छ जसको कारण अरू बोटबिरुवा पलाउन सक्दैनन्‌। तर क्रानबेरी भने यस्तो माटोमा फस्टाउँछ। स्ट्रबेरीजस्तो देखिने, जमिनमा फैलिने यो फल दक्षिणमा अहिलेको भर्जिनियासम्म र उत्तरमा क्यानाडासम्मै फस्टाएको थियो।

सन्‌ १६८० मा, न्यु जर्सीका बासिन्दा मालोन स्टेसीले इङ्‌गल्यान्डमा बसोबास गर्ने आफ्नो दाइलाई यस बेरीबारे निकै बखान गरेका थिए। तिनले चिठीमा यस्तो लेखे: “रङ र साइज हेर्दा चेरीजस्तै देखिने क्रानबेरीलाई अर्को चोटि यो फल नपाकुन्जेलसम्म सञ्चय गरेर राख्न सकिन्छ। मृग, टर्की चरा र खान हुने चराहरूको मासुमा यस बेरीको सस एकदमै मीठो हुन्छ अनि गुसबेरी अथवा चेरीको भन्दा क्रानबेरीको टार्ट मीठो हुन्छ। हामी आदिवासीहरूबाट धेरै बेरी किन्छौं।”

खाना, औषधीका साथै बिग्रन नदिने तत्त्वको रूपमा प्रयोग गर्न मिल्ने

अमेरिकी आदिवासीहरूले बिग्रन नदिने क्रानबेरीको प्राकृतिक गुणलाई सदुपयोग गरे। तिनीहरूले पेमिकन भन्‍ने खानेकुरा बनाए। त्यो खानेकुरा सुकेको मासु र माछालाई क्रानबेरीसित पिंधेर एकसाथ मिसाइएको एउटा मिश्रण थियो। त्यस मिश्रणलाई केकको आकारमा ढालेर घाममा सुकाइन्थ्यो। लामो हिउँद महिनाभरि त्यस केकबाट मानिसहरूले सन्तुलित मात्रामा प्रोटिन अनि भिटामिन प्राप्त गर्न सक्छन्‌। बेरीले कुनै पनि कुरालाई बिग्रन दिंदैन किनभने यसमा पर्याप्त मात्रामा पेक्टिन भन्‍ने तत्त्व हुन्छ। यसमा प्रचुर मात्रामा भिटामिन सी पनि पाइन्छ। त्यसैकारण त, वर्षौं वर्षसम्म स्कर्भीका रोगीहरूले लामो समुद्री यात्रा गर्दा ड्रमका ड्रम क्रानबेरी आफ्नो साथमा लैजान्थे।

अमेरिकी आदिवासीहरू क्रानबेरीलाई औषधीको रूपमा पनि प्रयोग गर्थे। रगत विषाक्‍त हुन नदिन उनीहरूले क्रानबेरीलाई मकैको पिठोसँग मिसाएर घाउहरूमा लगाउँथे। हालै गरिएका चिकित्सासम्बन्धी अध्ययनले देखाएअनुसार क्रानबेरीको जूस पिउँदा केही हदसम्म मुत्रनलीमा सङ्‌क्रमण हुन पाउँदैन किनभने त्यस जूसले मुत्रनलीका भित्ताहरूमा ब्याक्टेरिया टाँसिन दिंदैन।

किन उफ्रने बेरी भनिएको?

क्रानबेरीलाई दुई टुक्रा पार्नुभयो भने भित्र तपाईंले चारवटा प्वाल देख्नुहुनेछ। क्रानबेरीका व्यावसायिक किसानहरूका लागि यी प्वालहरू दुई तरिकामा लाभदायी साबित हुन्छन्‌। पहिलो, हातले बेरी टिप्नुको सट्टा किसानहरूले जमिनलाई जलमग्न बनाउँछन्‌ र मेसिनले बेरीको बोटलाई बेस्सरी हल्लाउँछन्‌। यसो गर्दा पाकेका बेरीहरू जति भुइँमा खस्छन्‌ र ती प्वालको कारण पानीमाथि तैरिन्छन्‌।a किसानहरूले पानीमाथिबाट बेरी बटुल्छन्‌ र त्यसलाई छुट्याउँछन्‌।

प्वालहरूको दोस्रो फाइदा चाहिं क्रानबेरीका किसानहरूले सन्‌ १८०० दशकको अन्ततिर पत्ता लगाएका थिए। कथाअनुसार एक जना किसानको दुर्घटनावश एक बाल्टी बेरी भऱ्‍याङमा पोखिएछ र राम्रो-राम्रो बेरीचाहिं भऱ्‍याङको फेदसम्मै उफ्रिंदै-उफ्रिंदै गएछन्‌ तर गिलो वा बिग्रेका बेरीचाहिं भऱ्‍याङबाट तल नझरेको देख्दा ती किसान तीन छक परे। राम्रो-राम्रो बेरीमा भएका प्वालहरूले गर्दा ती टन्‍न हावा भरेको टायरजस्तै गरी उफ्रेका थिए। बिग्रेका फलहरूचाहिं हावा नभएको टायरजस्तै साबित भए।

सन्‌ १८८१ मा एउटा यस्तो मेसिन बन्यो जसले बेरीको उफ्रने क्षमताबाट फाइदा उठायो। फल छुट्याउने मेसिनहरूले अझै पनि त्यही तरिका अपनाउँछ अर्थात्‌ राम्रो-राम्रो बेरीलाई कुनै कुरामाथि उफारेर राम्रो फलको रूपमा बेच्न त्यसलाई एकसाथ बटुल्ने गरिन्छ। गिलो फलचाहिं मेसिनबाट तल खस्छ, जसलाई जूस अथवा जेली बनाउन प्रयोग गरिन्छ।

उत्तरपूर्वदेखि लिएर उत्तरपश्‍चिम संयुक्‍त राज्य अमेरिका अनि क्यानाडाका विशेष किसिमले तयार पारिएका जमिनहरूमा किसानहरूले एक वर्षमै २५ करोड किलोग्रामभन्दा बढी क्रानबेरी उत्पादन गर्छन्‌। यदि तपाईंले यो स्वादिलो बेरी कहिल्यै चाख्नुभएको छैन भने, चाखिहेर्नुहोस्‌ न हुन्‍न? यस फलमा प्रचुर मात्रामा भिटामिन तथा खनिज पदार्थ पाइन्छ अनि यसमा भरपूर अन्टिअक्सिडेन्ट हुन्छ जसले तपाईंलाई मुटुको रोग अनि क्यान्सरबाट जोगाउँछ। यो फल खाएर तपाईं पनि क्रानबेरीजस्तै उफ्रिने अर्थात्‌ स्वस्थ अनि जाँगरिलो बन्‍न सक्नुहुन्छ। (g05 6/22)

[फुटनोट]

a कटनीको समयमा क्रानबेरी फल्ने जमिनलाई जलमग्न बनाउने चलनले बेरी पानीमुनि फल्छन्‌ भन्‍ने गलत धारणालाई टेवा पुऱ्‍याएको छ।

[पृष्ठ १७-मा भएको पेटी]

के क्रानबेरी उत्तर अमेरिकामा मात्रै पाइन्छ?

परम्पराअनुसार, थ्याङ्‌क्सगिबिङ डे अर्थात्‌ धन्यवाद दिवसमा क्रानबेरी पनि खाने गरिन्छ र यो दिवस संयुक्‍त राज्य अमेरिकामा नोभेम्बर महिनाको चौथो बिहीबार पर्छ भने क्यानाडामा चाहिं अक्टोबर महिनाको दोस्रो सोमबार पर्छ। एउटा कथाअनुसार सन्‌ १६२१ मा प्लाइमाउथ कोलनीका गभर्नर विलियम ब्राडफोर्डद्वारा आयोजित भोजभतेर र मनोरञ्जनको तीन दिने उत्सव थ्याङ्‌क्सगिबिङ डे-मा पहिलो चोटि उपस्थित हुँदा अमेरिकी आदिवासीहरूले क्रानबेरी पनि आफ्नो साथमा लिएर आएका थिए। क्रानबेरीसित सम्बन्धित थुप्रै रीतिथिति अथवा परम्परा हुनुका साथै व्यावसायिक हिसाबले खेती गरिने उत्तर अमेरिकामा मात्र पाइने फलफूलका थोरै प्रजातिहरूमध्ये क्रानबेरी पनि एक भएकोले यो फल यस महादेशमा मात्रै पाइन्छ भन्‍ने धेरै मानिसहरूको सोचाइ छ।

तथापि, अलि सानो खाले क्रानबेरीचाहिं (भी. ओक्सिकोकस) उत्तर अमेरिकामा मात्र होइन तर एसिया अनि उत्तरी तथा मध्य युरोपमा पनि पाइन्छ। उत्तर अमेरिकामा खानपिनमा क्रानबेरी प्रयोग गर्नु कुनै नौलो कुरा होइन। इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “क्रानबेरीको सस र जेली अमेरिकीहरूले मात्र खान्छन्‌ होला भन्‍ने सोचाइ थियो तर स्केन्डीनेवीहरूले पनि आफ्नो लिङ्‌गोनबेरीलाई (भी. भिटसीडाइया) अत्यन्त महत्त्वपूर्ण ठान्छन्‌ र लिङ्‌गोनबेरी अमेरिकी क्रानबेरी [ भी. म्याक्रोकार्पन] जस्तो-जस्तै तर त्योभन्दा अलि बढी स्वादिलो हुन्छ।”

[पृष्ठ १५-मा भएको चित्र]

क्रानबेरी फुलेको दृश्‍य

[पृष्ठ १७-मा भएको चित्र]

जलमग्न हिलाम्मे जमिनमा क्रानबेरी कटनी गर्दै

[पृष्ठ १७-मा भएको चित्र]

सेतो क्रानबेरी कटनी गर्दै

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने