प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ९/८ पृ. २४-२७
  • खेलौना—विगत र वर्तमानमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खेलौना—विगत र वर्तमानमा
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खेलौनाको इतिहास
  • खेल किन खेल्नुपऱ्‍यो र खेलौनाहरू किन चाहियो?
  • खेलौना छान्‍ने
  • आफैले खेलौना बनाए कसो होला?
  • सबैभन्दा राम्रो खेलौना
    ब्यूँझनुहोस्‌!—२००४
  • खेलौनारहित शिशु पाठशाला
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००५
  • हामीले किन काम गर्नुपर्छ?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ९/८ पृ. २४-२७

खेलौना—विगत र वर्तमानमा

ऊन डल्लो पारेर आफैले बनाएको भकुण्डो उफ्रेको देखेर रमेशa र तिनका साथीहरू दङ्‌ग पर्छन्‌। तिनीहरू रमाइ-रमाइ त्यस डल्लोको फुटलब खेल्न थाल्छन्‌। आफ्नो हातको रिमोट कन्ट्रोलको आदेश एउटा फुच्चे मोटरले खुरुखुरु मानेको देखेर दिनेश छक्क पर्छन्‌। कति सजिलै उनी त्यो मोटर अघि-पछि कुदाउन सक्छन्‌। ठूली भएपछि कस्तो लुगा लगाउने भनेर भलाकुसारी गर्दै सरिता र तिनका साथीहरू पुतलीलाई लुगा र जुत्ता लगाइदिन्छन्‌।

यी सबै बच्चाहरूबीच एउटा समान कुरा चाहिं के हो? तिनीहरूसँग भएका घण्टौं भुल्न सकिने खेलौनाहरू हुन्‌। कहिलेकाहीं भुवादार कपडाले बनाइएका भालु जस्ता खेलौनाहरू बच्चाहरूको जीवनको अभिन्‍न साथी बन्छ। कुनै-कुनै खेलौनाहरूको त फोटो खिचेर एल्बममा समेत राखिन्छ। खेलौनाको इतिहास कस्तो छ? बच्चाहरूको लागि खेलौना किन महत्त्वपूर्ण छ?

खेलौनाको इतिहास

एउटा इन्साइक्लोपीडिया यसो भन्छ: “खेलौना अक्सर खेलमा प्रयोग गरिने एउटा उपकरण हो। धेरै पुरानो इतिहास बोकेर अनि विभिन्‍न संस्कृतिहरूलाई छिचोल्दै खेलौना र खेल आज यहाँसम्म आइपुग्यो। खेलौनाहरू साह्रै सरलदेखि लिएर अत्यन्तै जटिल, एउटा साधारण लठ्ठीदेखि लिएर हबी हर्स र धेरै उच्च अनि जटिल प्रविधिसम्मका हुन्छन्‌।” त्यसैले मनोरञ्जन दिने र खेल्नको लागि प्रयोग गर्न सकिने जुनसुकै वस्तुलाई पनि खेलौना भन्‍न सकिन्छ। अनि मनोरञ्जन खोज्ने मानवीय झुकाव नै भएकोले सम्भवतः मानिसजातिको सुरुवातदेखि नै खेलौनाहरू थियो।

पुरातन बेबिलोन र मिश्र जस्ता ठाउँहरूमा पुतलीका केही भागहरू फेला परेका छन्‌। सम्भवतः संसारकै सबैभन्दा पुरानो खेलौना पुतली हो। अर्को पुरानो खेलौना भकुण्डो हो। भकुण्डोको सुरुवात कहाँबाट भयो, थाह नभए पनि एक प्रकारको बाऊलिङ्‌ग जस्तो खेलमा ढुङ्‌गाको भकुण्डोले ढुङ्‌गाकै स्तम्भहरूलाई ढाल्ने खेल-सामाग्रीहरू मिश्रमा रहेका बच्चाहरूको पुरातन चिहानमा फेला परेका छन्‌।

तीन हजार वर्षअघि नै ग्रीसमा ढुङ्‌गाले बनेको योयो अस्तित्वमा थियो र पुरातन चीनमा पनि योयोको अस्तित्वका धेरै प्रमाणहरू पाइन्छन्‌। रोमी बच्चाहरूले कठपुतली र हस्तिहाडबाट बनाइएका विभिन्‍न ज्यामितीय आकारहरू मिलाएर खेल्थे। ग्रीक र रोमन केटाहरू गुडाउन मिल्ने स-साना गाडाहरू तानेर खेल्थे। यातायातसम्बन्धी खेलौनाहरू पहिलादेखि नै लोकप्रिय थिए भनी बुझ्न यसले मदत गर्छ। एउटा सङ्‌ग्रहालयमा पुरानो मेक्सिकन संस्कृतिसित सम्बन्धित पाङ्‌ग्रामा चढिरहेको जनावरको आकृति राखिएको छ। यो खेलौना हुन सक्छ। रोचक कुरा, पाङ्‌ग्रासित सम्बन्धित अन्य सामग्री भने यस संस्कृतिमा पाइँदैन। मध्ययुगमा जनावरहरूको मुत्राशयमा हावा भरेर अण्डाकार र गोलाकार भकुण्डो बनाइन्थ्यो। आजको भकुण्डो जस्तै यसलाई हिर्काउँदै लक्ष्यसम्म पुऱ्‍याइन्थ्यो।

पछि, १८ औं शताब्दीतिर इङ्‌गल्याण्डमा शैक्षिक उद्देश्‍यले पजल्स बनाइयो। यसले धेरै लोकप्रियता पनि कमायो। त्यसपछि बीसौं शताब्दीको सुरुतिर चित्र कोर्ने क्रेयन रङ्‌गहरू पनि लोकप्रिय हुन थाले। संयुक्‍त राज्य अमेरिकाको एउटा कम्पनीले मात्र हजारौं यस्ता रङ्‌गहरू उत्पादन गरेको छ। आज हामीले खेल्ने केही खेलौनाहरूको सुरुवात धेरै पहिले भइसेकको अनि त्यसले मानिसको जीवनमा खेलेको भूमिका तपाईंले थाह पाउनुभयो।

खेल किन खेल्नुपऱ्‍यो र खेलौनाहरू किन चाहियो?

उपयुक्‍त खेलौना छान्‍नेबारे एउटा सरकारी गाइडले खेलौनाको महत्त्व यसरी दर्शाउँछ, “हरेक बच्चाको लागि खेल स्वाभाविक हो। खेलले बच्चालाई शारीरिक, मानसिक र सामाजिक रूपमा सक्षम हुन र हुर्कन प्रशस्त अवसर दिन्छ। खेल बच्चाको काम हो भने खेलौना चाहिं बच्चाको औजार हो अनि उपयुक्‍त खेलौनाले बच्चाहरूलाई जुनसुकै काम सही ढङ्‌गमा गर्न मदत गर्छ।”

हो, खेल्दा रमाइलो भएकोले नै खेलौनाहरू यति लोकप्रिय भएको हो। तर खेलले बच्चाको विकासमा पनि ठूलो योगदान दिन्छ। केही उदाहरणहरू विचार गर्नुहोस्‌: बच्चाले खेलौना गाडासित खेल्दा मांशपेशीहरूको विकास हुन्छ। डोरी खेल्दा शरीरको सुसंगत विकास हुन्छ। भकुण्डो हान्‍न एउटा खुट्टा उचाल्दा अथवा साइकल चलाउँदा बच्चाले सन्तुलन सिक्छ। ब्लकहरू मिलाउँदा अथवा चित्र कोर्दा बच्चाले आफ्नो चाल सही ढङ्‌गमा नियन्त्रण गर्न सिक्छ।

बच्चाको बौद्धिकता नि? गीत गाउँदै वा कविता भट्याउँदै खलिने खेलहरूले बच्चाको भाषासम्बन्धी क्षमता विकास गर्छ, जस्तै डोरी खेल्दा अथवा छोइडुम खेल्दा गीत गाउँदै खेल्न सकिन्छ। ब्लकका विभिन्‍न आकारहरू बनाउँदा, खेल-निर्देशनहरू पालन गर्दा, पजल्स मिलाउँदा, अभिनय गर्दै कथा पढ्‌दा अथवा वेषभूषासहित अभिनय गर्दा बच्चाको सोच्ने क्षमता र सृजनशीलताको पनि विकास हुन्छ। बाजा बजाउँदा अथवा चित्र कोर्दा र हस्तकलासम्बन्धी कामहरू गर्दा पनि यस्ता दक्षताहरूको विकास हुन्छ।

अर्को महत्त्वपूर्ण कुरा, समूहमा खेल्दा बच्चाहरूले धेरै सामाजिक दक्षताहरू विकास गर्छन्‌। जस्तै: समूह मिलेर भकुण्डो खेल्दा आपसमा कुराकानी गर्ने सामाजिक दक्षताको विकास हुन्छ। डा. ब्रुक डन्कन पेरी यसो भन्छन्‌: “यसो गर्दा बच्चाहरूले आफू वरपरका मानिसहरूलाई बुझ्छन्‌ अनि अझ बढी समानुभूतिशील र निस्स्वार्थ हुन सिक्छन्‌। साथीहरूसित खेल्दा बच्चाले सामाजिक व्यवहारहरू सिक्नुका साथै आफूलाई संयममा राख्ने, सामाजिक परिवेशमा आफ्ना नैराश्‍यहरूसित डट्‌न सिक्छन्‌।”

वयस्कहरूलाई हेरेर नक्कल गर्न पनि बच्चाले खेलौना नै चलाउँछ। युनानी दार्शनिक अरस्तुले यसो भने: “बाल्यकालदेखि नै अरूको नक्कल गर्ने त मानवीय स्वभावै हो।” हो, दैनिक जीवनका धेरैजसो गतिविधिहरू अनुकरण गरिन्छ र यो कला पनि बच्चाहरूले खेलबाट नै सिक्छन्‌। सानी फुच्चीले आफ्नो पुतली झुलाइरहकी छे भने पछि गएर उसले त्यसरी नै बच्चा झुलाउन सक्छे। अथवा ऊ आफ्ना साना साथीहरूसित भाँडाकुटी खेलिरहेकी हुन सक्छे। त्यस्तै, केटाहरूले खेलौना “गाडी” गुडाउँछन्‌ र गाडीले जस्तै आवाज पनि निकाल्छन्‌ र यो सब पछि गाडी हाँक्नको लागि अभ्यास हो। तर, बच्चाहरूको लागि खेलौना छान्दा केही कुराहरूमा ध्यान दिनुपर्छ। अनि ध्यान दिनुपर्ने कारण चाहिं के हो?

खेलौना छान्‍ने

लण्डनको द डेली टेलिग्राफ यसो भन्छ, “अचेलका खेलौनाहरूले हिंसा र अराजकपूर्ण समाजलाई बढवा दिन्छ। सबै खेलौनाहरूमा यो लागू नभए पनि बजारमा परम्परागत खेलौनाहरू त्यति धेरै पाइँदैनन्‌ र पाइने खेलौनाहरू पनि अक्सर “कुरूप, डरलाग्दा, आक्रोशित रूपरङ्‌गका हुन्छन्‌,” भनी मेक्सिन अखबार ला जर्नडा-मा प्रकाशित एउटा लेखले बतायो। यस लेखले जोसीमिल्को अटोनोमस युनिभर्सिटीका एक शिक्षक र अनुसन्धाताको भनाइ उद्धृत गरेको छ। उनले अचेल बजारमा पाइने अधिकांश खेलौनाहरूले अरूमाथि प्रभुत्व जमाउने, शक्‍ति, आक्रोश, अरूलाई दबाउने र डर जस्ता कुराहरूलाई बढवा दिन्छन्‌ भनी बताए।

संयुक्‍त राज्य अमेरिकामा रहेको नेसनल एसोसिएसन अफ स्कूल साइकोलोजिस्टले पुष्टि गरेअनुसार हिंसालाई बढवा दिने खेलौनाहरूले “बच्चाको सिक्ने क्षमता र विकासमै नकारात्मक असर गर्छ र हानिकारक परिणामहरू निम्त्याउन सक्छ।” धेरै अध्ययनअनुसार हिंस्रक भिडियो र कम्प्युटर गेमहरूले आक्रोशित आचरण र अपराधतिर धकेल्छ। त्यसैले, बच्चाको देखभाल गर्ने प्रत्येक वयस्कले खेलौना छान्दा राम्ररी विचार पुऱ्‍याउनै पर्छ।—पृष्ठ २६ को पेटी हेर्नुहोस्‌।

आधुनिक प्रविधिले गर्दा खेलौनाहरू अझ किसिम-किसिमका र अत्याधुनिक भएका छन्‌। तर यस्ता खेलौनाहरू पारिवारिक बजेटले नभ्याउने र बच्चालाई तुरुन्तै झ्याउँ लाग्ने पनि हुन सक्छन्‌। अथवा बच्चाहरूको लागि ती खेलौनाहरू लाभदायक नहुन पनि सक्छन्‌। अष्ट्रेलियामा पाँच छोराछोरीकी एक्ली आमा लियान यसो भन्छिन्‌: “अलि ठूला भइसकेका मेरा छोराहरू विज्ञापनबाट प्रभावित हुन्छन्‌ र मंहगो कम्प्युटर गेमहरूको माग गर्छन्‌। तर मलाई लाग्छ, घरको आँगनमा सस्तो ब्याट र रबरको बल खेल्दा तिनीहरू अझ रमाउँछन्‌। मलाई लाग्छ, साधारण खेलौना नै टिकाउ हुन्छ अनि यसैले बच्चाको कल्पनाशक्‍ति जगाउँछ।”

आफैले खेलौना बनाए कसो होला?

तपाईं बच्चा हुनुहुन्छ र बजारमा भर्खरै निक्लेका खेलौनाहरू किन्‍न सक्नुहुन्‍न भने पनि आफ्नो सृजनशीलता र कल्पनाशक्‍ति चलाएर तपाईं रमाउन सक्नुहुन्छ। तपाईंहरू जस्तै बच्चाहरूले संसारका धेरै ठाउँमा आफैले खेलौना बनाइरहेका छन्‌।

यहाँका चित्रहरू हेर्नुहोस्‌ त! के यहाँ बच्चाहरू रमाइरहेका छन्‌ जस्तो तपाईंलाई लाग्दैन? कुनै-कुनै “गाडीहरू” जोडजाड गर्न सजिलो त छैन। पुराना तारहरू बटुलेर ठीक आकारमा बङ्‌ग्याउनुपर्ला। पाङ्‌ग्रा बनाउन तपाईंले रबर अथवा प्लास्टिकलाई गोलो पारेर काटे पुग्छ। पेय पदार्थ र दुधको खाली बट्टाबाट रेल बनाउने हो कि? अथवा काठका टुक्राहरूबाट बनेको ट्रक नि? कहिलेकाहीं त यी खेलौनाहरू हाँक्न पनि सकिन्छ। जस्तै, घरमै बनाइएको अफ्रिकन स्कुटर। रमाइलो गर्न खेलौना महँगो हुनैपर्छ भन्‍ने छैन भनी यी बच्चाहरूलाई थाह छ। अनि यस्तो खेलौना बनाउनुको बेग्लै मज्जा छ। प्रयास गर्ने हो कि? (g05 8/8)

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

राम्रो खेलौना त्यो हो जुन . . .

● बच्चाको उमेर, क्षमता र शारीरिक अवस्था सुहाउँदो र सुरक्षित हुन्छ

● राम्ररी बनाइएको र टिकाउ हुन्छ (बच्चाले खेलौना बिगार्न सक्छ)

● बच्चाको ध्यान खिच्ने खालको आकर्षक र रोचक हुन्छ

● बच्चाको सृजनशीलता र कल्पनाशक्‍ति जगाउने खालको हुन्छ

● धेरै महँगो हुँदैन

● विषमुक्‍त हुन्छ

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

खेलौनाले गर्ने हानि-नोक्सानीबाट जोगिन . . .

● ठूला बच्चाहरूको खेलौना साना बच्चाहरूले नभेट्‌ने गरी राख्नुपर्छ

● सकिन्छ भने, आफ्ना बच्चासँगै बसेर सुरक्षा लेबल र निर्देशनहरू राम्ररी पढ्‌नुहोस्‌

● आफ्ना बच्चा र तिनका साथीहरूलाई खेलौना कसरी खेल्ने र थन्काउने सिकाउनुहोस्‌

● श्रवण-शक्‍तिलाई हानि गर्ने आवाज निकाल्ने खेलौनाहरू प्रयोग नगर्नुहोस्‌

● खेलौनाहरू समय-समयमा जाँच्नुहोस्‌। बिग्रिएको खेलौना मर्मत गर्नुपर्ने अथवा तुरुन्तै फ्याक्नुपर्ने हुनसक्छ

● निसानाबाज, धारिलो औजार र बिजुलीबाट चल्ने खेलौना जस्ता खतरा निम्त्याउने खेलौनाहरू वयस्कहरूको निरीक्षणमा खेल्नुपर्छ

● बच्चाहरूले निल्न सक्ने ससाना पाटपुर्जा भएका खेलौनाहरू बच्चाहरूबाट पर राख्नुहोस्‌

[पृष्ठ २४-मा भएको चित्र]

गुड्‌ने गाडामा सिंह र दुम्सी, ई.पू. २०००, इरान

[स्रोत]

Lion and hedgehog: Erich Lessing/Art Resource, NY

[पृष्ठ २५-मा भएको चित्र]

माटोको पुतली, ई.पू. ६०० तिरको, इटाली

[पृष्ठ २५-मा भएको चित्र]

लट्टू (भुरुङ), पुरातन युनानीकालको, ई.पू. ४८० तिर

[पृष्ठ २५-मा भएको चित्र]

मकैको खोस्टाबाट बनाइएको पुतली, कलोनियल अमेरिका

[पृष्ठ २५-मा भएको चित्र]

क्रेयन रङ्‌गहरू, सन्‌ १९०० दशकको सुरुतिर, संयुक्‍त राज्य अमेरिका

[पृष्ठ २६-मा भएको चित्र]

घरैमा बनाएको खेलौनासित बच्चा

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

Clay doll: Erich Lessing/Art Resource, NY; top: Réunion des Musées Nationaux/ Art Resource, NY; corn husk doll: Art Resource, NY

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने