प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १०/८ pp. २२-२३
  • आहा! लसुन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आहा! लसुन
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गुणकारी जडीबुटी
  • कोन्स्टान्साको लसुन खेती
  • सानु लसुनको उधुम गन्ध
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००५
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
ब्यूँझनुहोस्‌!—२००५
g05 १०/८ pp. २२-२३

आहा! लसुन

डोमिनिकन रिपब्लिकका ब्यूँझनुहोस्‌! लेखकद्वारा

घरबाट टाढा भोकले रन्थनिंदा तपाईंलाई के खाऊँ-खाऊँ लाग्छ? तपाईंकै घरतिर पाइने ताजा फलफूल र सागसब्जीहरू अथवा आमाले पकाउनुहुने स्वादिलो मासु-भात? तर लसुन सम्झँदा के तपाईंको मुख रसाउँछ?

लगभग ३,५०० वर्षअघि इस्राएलीहरू सीनैको उजाडस्थानमा यात्रा गर्दा यसो भनेका थिए, “हामीले मिश्रदेशमा सित्तैंमा खानपाएको माछा, काँक्रा, खरबुजा, कन्दहरू, प्याज, लसून हामी सम्झन्छौं।” (गन्ती ११:४, ५) हो, तिनीहरूलाई लसुनको तलतल लाग्यो। यहूदीहरूलाई लसुन यति धेरै मन पर्थ्यो कि तिनीहरू आफैलाई लसुने भन्‍न रूचाउँथे।

तर इस्राएलीहरूलाई कहिलेदेखि लसुन खाने बानी पऱ्‍यो? मिस्रमा २१५ वर्षसम्म बस्दा तिनीहरूलाई दिइने दैनिक खुराकमा लसुन पनि हुन्थ्यो। पुरातात्त्विक प्रणामअनुसार याकूब र तिनको परिवारले मिस्रमा पाइला टेक्नुअगावै मिस्रीहरू लसुन उमार्थे। युनानी इतिहासकार हेरोडोटसअनुसार फिरऊनहरूको चिहान अर्थात्‌ पिरामिड बनाउने दासहरूलाई खुवाउन मिस्री सरकारले प्रशस्त मात्रामा प्याज, मूला अनि लसुन किन्थे। धेरै लसुन खाएकोले होला, त्यसताका कामदारहरू पनि काममा निकै खट्‌न सक्थे। फिरऊन टुटानखामेनलाई चिहानमा राख्दा मिस्रीहरूले थुप्रै बहुमूल्य सर-सामानहरूका साथै लसुन पनि राखेका थिए। मुर्दालाई लसुन? तर जिउँदाहरूको लागि भने लसुन साँच्चै गुणकारी साबित भएको छ।

गुणकारी जडीबुटी

वैद्यहरूले बिरामीको उपचार गर्न लसुन प्रयोग गरेको धेरै भइसक्यो। सयौं वर्षअघि युनानी वैद्य हिपोक्रेट्‌स र डायोस्कोरिडसले पाचनसम्बन्धी समस्या भएकाहरू, कुष्ठ रोगी, क्यान्सर रोगी, संक्रमण भएकाहरू र हृदय रोगीहरूलाई लसुन खाने सल्लाह दिन्थे। उन्‍नाइसौं शताब्दीमा फ्रान्सेली रसायनशास्त्री लुई पाश्‍चरले लसुनको अध्ययन गरेर त्यसमा कीटाणु नाश गर्न सक्ने क्षमता पत्ता लगाए। अफ्रिकामा २० औं शताब्दीतिर धर्मप्रचारक डाक्टर अल्बर्ट श्‍वाइट्‌जरले रगतमासी भएका र अन्य रोग लागेका बिरामीहरूलाई निको पार्न लसुन प्रयोग गरेका थिए। दोस्रो विश्‍वयुद्धताका पर्याप्त औषधी नहुँदा घाइते सिपाहीहरूको उपचार गर्न रूसी डाक्टरहरूले पनि लसुन नै प्रयोग गरेका थिए। त्यसैले पछि गएर लसुनलाई रूसी ओखती भन्‍न थालियो। हालै वैज्ञानिकहरूले लसुनको अध्ययन गरेर त्यसले रक्‍त सञ्चार प्रणालीलाई कसरी फाइदा पुऱ्‍याउँछ, पत्ता लगाएका छन्‌।

भन्‍नै पर्दैन, लसुन त्यसै खाँदा पनि फाइदा, औषधीको रूपमा प्रयोग गर्न त झनै काइदा। अनि यसको भिन्‍नै स्वाद र बास्नाको त कुरै नगरौं! त्यसोभए, लसुनको खेती कहाँबाट सुरु भयो? लसुन खेती मध्य एसियाबाट सुरु भएर संसारभर फैलियो भनी केही वनस्पतिशास्त्रीहरू विश्‍वास गर्छन्‌। आउनुहोस्‌, धेरै लसुन खेती हुने एउटा सुन्दर ठाउँ घुम्न जाऔं।

कोन्स्टान्साको लसुन खेती

डोमिनिकन रिपब्लिक देशको कोन्स्टान्सा उपत्यकाको हावापानी न ता धेरै चिसो छ, न तातो। चारैतिर डाँडाकाँडाले घेरिएको यो ठाउँको माटो पनि निकै मलिलो छ र यहाँ प्रशस्तै पानी पर्छ। त्यसैले कोन्स्टान्सा लसुन खेतीको लागि राम्रो मानिन्छ।

असोज/कात्तिकतिर कोन्स्टान्साका कृषकहरू बारी जोतेर सम्म्याउँछन्‌। त्यसपछि एक/एक मिटरको फरकमा अग्लो-अग्लो ड्याङ बनाउँछन्‌। अनि तिनै ड्याङमाथि तीन-चारवटा थोरै गहिराइ भएको कुलेसो खनेर लसुन रोप्छन्‌। यी सब भइन्जेल अर्कोतिर चाहिं लसुनको पोटीबाट बिजुला छुट्याउने र रोप्नअघि बिजुलाहरूलाई आधा घण्टाजति पानीमा भिजाउने काम भइरहेको हुन्छ। डोमिनिकन रिपब्लिकको मन्द चिसो मौसममा लसुन हुर्कन थाल्छ।

चैत/वैशाखतिर लसुन उखेल्ने काम सुरु हुन्छ। उखेलेको लसुनलाई कृषकहरू पाँच/छ दिनसम्म बारीमै सुकाउँछन्‌। त्यसपछि लसुन बटुलेर त्यसको जरा र डाँठ काट्‌छन्‌ अनि सफा पोटीलाई नाङ्‌लोजस्तै भाँडोमा राख्छन्‌ जसलाई स्थानीय भाषामा क्रीबास भनिन्छ। तर लसुनलाई अझ राम्ररी सुकाउन क्रीबासलाई दिनभरि घाममा राखिन्छ। अब भने लसुन बिक्रीको लागि तयार भो।

सानु लसुनको उधुम गन्ध

खान बस्दा स्वादिलो तरकारी वा सलाद ल्याउने बित्तिकै, त्यसमा लसुन छ कि छैन, नाकले तुरुन्तै चाल पाइहाल्छ। तर लसुनको पोटी नछोडाउन्जेल किन गन्ध आउँदैन? लसुनको बिजुलोमा कडा रासायनिक पदार्थहरू हुन्छन्‌। तर लसुन नछोडाउन्जेल वा नपिसुन्जेल ती रासायनिक पदार्थहरू आपसमा मिसिन पाउँदैनन्‌। लसुन पिस्दा एलिनेज नाउँको इन्जाइम र एलिन नाउँको पदार्थ आपसमा मिसिन्छ। ती पदार्थहरूबीच तुरुन्तै रासायनिक प्रतिक्रिया हुन्छ र एलिसिन नाउँको पदार्थ बन्छ। यही एलिसिनले गर्दा लसुनको राग आउँछ।

काँचो लसुन चपाउनुहुँदा एलिसिनले गर्दा तपाईंको जिब्रो पर्पराउँछ। जिब्रो पर्पराएको तपाईंलाई मन परोस्‌ या नपरोस्‌, त्यसपछि तुरुन्तै तपाईंको जीऊ नै लसुन गनाउन थाल्छ। यसरी सास गनाउँदा के गरी रोक्ने होला? सायद, लसुनको गन्ध दबाउन तपाईं ल्वाङ-सुकुमेल चपाउनुहुन्छ होला।

तर नबिर्सनुहोस्‌, लसुनको राग फोक्सोसम्म पुगेकोले नै सास गनाएको हो। किनकि, लसुन खाएपछि त्यसको गन्ध रगतमा मिसिएर तुरुन्तै फोक्सोसम्म पुग्छ। त्यसकारण, सास फेर्दा तपाईंको सास ठ्‌वास्स गनाउँछ। त्यसकारण, मुख कुल्ला गरेर वा ल्वाङ-सुकुमेल चपाएर केही फाइदा छैन। त्यसोभए के गर्ने? लसुनको गन्ध हटाउने कुनै उपाय छैन त? छैन भन्दा पनि हुन्छ। तर एउटा उपाय चाहिं छ, सबैलाई लसुन खुवाइदिनुस्‌, लसुन गनाएको पत्तै हुन्‍न!

थुप्रै मुलुकहरूमा लसुन नहालेको परिकार त कल्पनै गर्न सकिन्‍न। लसुनको फाइदा धेरै भएकोले फाट्टफुट्ट लसुन खाइने ठाउँहरूमा समेत लसुनको दुर्गुणलाई बिर्सेर अचेल निकै लसुन खान थालिएको छ। (g05 9/22)

[पृष्ठ २३-मा भएको चित्र]

लसुन उखेलेर सुकाएको

[पृष्ठ २३-मा भएको चित्र]

कोन्स्टान्सा उपत्यका

[पृष्ठ २३-मा भएको चित्र]

पिसेपछि मात्र लसुनको गन्ध आउँछ। किन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने