प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ५/१ pp. २५-२९
  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बिरामी आशिष्‌ बन्छ
  • मुस्किलले फुत्किएँ
  • आध्यात्मिक उन्‍नति
  • गिरफ्तारी र कैद
  • बेग्लै किसिमको परीक्षा
  • सावधानी अपनाउने
  • विश्‍वासी जोडी प्राप्त गर्ने
  • बेथेल सेवा
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “सुनको साटो हीरा पाएँ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवालाई जे दिनुपर्ने हो, त्यो दिएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • भरोसायोग्य परमेश्‍वरको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ५/१ pp. २५-२९

यहोवाको मायालु छत्रछायामा सेवा गर्ने

लाम्प्रोस जुम्पोसको वृत्तान्तमा आधारित

मेरो धनी काकाले उहाँको प्रशस्त जग्गा जमीनको प्रबन्धक होऊ भनी प्रस्ताव राख्नुभएको थियो। अतः त्यस बेला मैले मेरो परिवारको आर्थिक समस्या समाधान गर्न उहाँको यो प्रस्तावलाई स्वीकार्ने या यहोवा परमेश्‍वरको पूर्ण-समय सेवक बन्‍ने निर्णय गर्नुपऱ्‍यो। अन्ततः कुन कुराले मलाई निर्णय गर्न मदत दियो म बताउँछु।

मग्रीसको भोलास शहरमा सन्‌ १९१९ मा जन्मेको थिएँ। मेरो पिता पुरुषहरूले लाउने कपडाको व्यापार गर्नुहुन्थ्यो र हामी आर्थिक तवरमा सम्पन्‍न थियौं। तर सन्‌ १९२० को दशकपछि भएको आर्थिक मन्दीले गर्दा मेरो पिताको व्यापार टाट उल्ट्यो। अन्ततः उहाँले व्यापार नै छाड्‌नुपऱ्‍यो। पितालाई उदास देख्दा मेरो मनमा सधैं निराशा छाउँथ्यो।

केही समयसम्म मेरो परिवारले अत्यधिक गरिबीको सामना गर्नुपऱ्‍यो। पालो पर्खेर रासन ल्याउनुपर्ने हुनाले प्रत्येक दिन म स्कूलबाट एक घण्टाअघि निक्लन्थें। यस्तो गरिबीको चपेटामा परे तापनि हामीले शान्तिमय पारिवारिक जीवनको आनन्द उठायौं। चिकित्सक बन्‍ने मेरो लक्ष्य थियो तर पन्ध्र-सोह्र वर्ष पुग्दा नपुग्दै मैले स्कूल छाड्‌नुपऱ्‍यो र परिवारको हेरचाह गर्न काम गर्नुपऱ्‍यो।

त्यसपछि, दोस्रो विश्‍वयुद्धको दौडान ग्रीसलाई जर्मन र इटालीले कब्जा गरे। अनि ग्रीस प्रचण्ड अनिकालको भुँवरीमा पऱ्‍यो। मित्र तथा परिचित व्यक्‍तिहरू भोकले सडकमा मरिरहेको बारम्बार देख्थें। त्यो डरलाग्दो दृश्‍यलाई म शायदै भुल्नेछु! एकपल्ट हाम्रो परिवारले ४० दिनसम्म ग्रीसको मुख्य भोजन अर्थात्‌ रोटीबिना जीवन बिताउनु पऱ्‍यो। परिवारको जीवन बचाउन म र मेरो दाइ आसपासका गाउँहरूमा गएर मित्र तथा आफन्तहरूबाट आलु ल्याउँथ्यौं।

बिरामी आशिष्‌ बन्छ

सन्‌ १९४४ को प्रारम्भतिर म फोक्सोको रोगले ग्रस्त भएँ। म तीन महिनासम्म अस्पतालमा छँदा काकाको छोराले दुइटा पुस्तिका दिंदै यसो भने: “यी पुस्तिकाहरू पढ्‌नुहोस्‌; मलाई विश्‍वास छ तपाईंलाई यी मन पर्नेछ।” परमेश्‍वर को हुनुहुन्छ? (अंग्रेजी) र सुरक्षा (अंग्रेजी) नामक ती पुस्तिकाहरू वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित गरिएका थिए। ती पढिसकेपछि मैले त्यहाँका कुराहरू सँगी बिरामीहरूलाई बताएँ।

अस्पतालबाट निस्केपछि भोलासमा भएको यहोवाका साक्षीहरूको मण्डलीसित संगति गर्न थालें। महिनौंसम्म औषधालय धाउने रोगीको हैसियतमा म घरभित्र कैदीसरह बन्दी भएँ। यद्यपि, दिनमा छदेखि आठ घण्टासम्म प्रहरीधरहरा-का पुराना श्रृंखलाहरूका साथै वाच टावर सोसाइटीद्वारा प्रकाशित प्रकाशनहरू पढ्‌थें। परिणामस्वरूप, तीव्र रूपमा मेरो आध्यात्मिक उन्‍नति भयो।

मुस्किलले फुत्किएँ

सन्‌ १९४४ को बीचतिर एक दिन म भोलास पार्कको मेचमा बसिरहेको थिएँ। जर्मन सेनालाई समर्थन गर्ने अर्धसैनिक दलले अचानक घेरेर पार्कमा भएका सबैलाई गिरफ्तार गऱ्‍यो। लगभग हामी चौबीस जनालाई सुर्ती राख्ने घरमा बनाइएको गेस्तापो मुख्य कार्यालयमा लग्यो।

केही मिनेटपछि कसैले म र मसित पार्कमा कुरा गर्ने व्यक्‍तिको नाउँ बोलाएको सुनें। एक जना ग्रीक सैनिक अफिसरले हामीलाई बोलाए र हामीलाई सिपाहीहरूले पक्रेर लगेको देखेपछि मेरो एक आफन्तले त्यस अफिसरलाई तिनीहरू यहोवाका साक्षीहरू हुन्‌ भनी भनेको कुरा बताए। त्यसपछि त्यस ग्रीक अफिसरले हामीलाई घर जाने अनुमति दिए। यसरी फेरि गिरफ्तार भएमा देखाउन भनेर तिनले हामीलाई आफ्नो आधिकारिक कार्ड दिए।

ग्रीसका विपक्षी लडाकूहरूद्वारा दुइ जर्मन सिपाहीहरू मारिएको प्रतिशोधमा ती पक्राउ परेका धेरैजसोलाई जर्मनहरूले हत्या गरेछन्‌ भनेर त्यसको भोलिपल्ट हामीले थाह पायौं। सजिलैसित मृत्युको मुखबाट उम्किनका अतिरिक्‍त मैले मसीही तटस्थताको महत्त्व त्यस बेला बुझें।

सन्‌ १९४४ को अन्ततिर पानीको बप्तिस्माद्वारा परमेश्‍वरप्रतिको समर्पणलाई प्रतीकात्मक रूप दिए। त्यसपछिको ग्रीष्म ऋतुमा साक्षीहरूले मलाई पहाडी इलाकामा भएको स्क्लीथ्रो मण्डलीमा पठाउने प्रबन्ध मिलाए। त्यहाँ मैले पुनः पूर्ण स्वास्थ्य लाभ गरें। जर्मनको कब्जा हटेपछि ग्रीसमा गृहयुद्ध चर्किंदै थियो। म बस्ने गाउँ छापामार सैनिकहरूको अखडा नै भएको थियो। म सरकारी सेनाको गुप्तचर हो भनेर ममाथि स्थानीय पादरी र अर्को एक दुष्ट मानिसले दोष लगाए। अनि स्वयंनियुक्‍त छापामार सैनिक अदालतमा मलाई त्यसबारे सोधपूछ गरियो।

त्यो कृत्रिम अदालतमा त्यस इलाकाको छापामार सेनाको नेता उपस्थित थिए। म त्यस गाउँमा किन बस्दैछु र एक मसीहीको हैसियतमा गृहयुद्धमा पूर्णतया तटस्थ छु भनेर बयान दिएपछि त्यस नेताले अरूलाई भने: “कसैले यस मानिसको हानि गऱ्‍यो भने म त्यसको लेखा लिनेछु!”

पछि म शारीरिक स्वास्थ्यभन्दा विश्‍वासमा झन्‌ बलियो भएर आफू बस्ने भोलास शहर फर्कें।

आध्यात्मिक उन्‍नति

त्यसको तुरुन्तैपछि स्थानीय मण्डलीमा म लेखा सेवक नियुक्‍त भएँ। गृहयुद्धको परिणामस्वरूप कठि- नाइहरू उत्पन्‍न भए। पादरीहरूले उक्साएको धर्मपरिवर्तनको अभियोगमा म धेरै पटक गिरफ्तार भएँ। यस्ता समस्याहरूको बावजूद म र मण्डलीका बाँकी सबैले मसीही सेवकाईबाट धेरै आनन्द प्राप्त गऱ्‍यौं।

त्यसपछि सन्‌ १९४७ को प्रारम्भतिर यहोवाका साक्षीहरूका परिभ्रमण निरीक्षकले हाम्रो मण्डलीको भ्रमण गरे। दोस्रो विश्‍वयुद्धपछि यो प्रथम भ्रमण थियो। त्यस बेला भोलासको हाम्रो उन्‍नतशील मण्डली दुइ समूहमा छुट्याइयो। एउटा मण्डलीमा म अध्यक्ष नियुक्‍त भएँ। अर्धसैनिक तथा राष्ट्रवादी संगठनहरूको कारण मानिसहरू डरले थरथर थिए। पादरीले त्यस परिस्थितिको फाइदा उठाए। तिनीहरूले हामी साम्यवादी वा बामपन्थी समूहका समर्थकहरू हौं भन्‍ने हल्ला फैलाएर अख्तियारवालाहरूलाई हाम्रो विरोधी बनाए।

गिरफ्तारी र कैद

सन्‌ १९४७ को दौडान म दशपल्ट पक्राउ परें र तीन पटक अदालतमा मुद्दा लडें। तर प्रत्येकपल्ट म निर्दोष साबित भएँ। धर्मपरिवर्तनको अभियोगमा सन्‌ १९४८ को वसन्तऋतुमा मलाई चार महिनाको जेल सजाय भयो। भोलास झ्यालखानामा ती सजायका दिनहरू काटें। त्यसैबीच हाम्रो मण्डलीमा राज्य उद्‌घोषकहरूको दोबर वृद्धि भए। हर्ष र आनन्दले भाइहरू गद्‌गद थिए।

सन्‌ १९४८ अक्टोबरमा म र मण्डलीको नेतृत्व गर्ने अरू छ जना भाइहरू सभा गरिरहेका थियौं। प्रहरीहरूले एक्कासि घरभित्र घुसेर बन्दुक ताक्दै हामीलाई गिरफ्तार गरे। तिनीहरूले हामीलाई गिरफ्तार गर्नुको कारण नबताई प्रहरी चौकीमा लगेर पिटे। एक जना मुक्केबाज प्रहरीले मेरो अनुहारमा धमाधम मुक्का हाने। त्यसपछि हामीलाई साँघुरो कोठाभित्र कोचे।

पछि, झ्यालखानाको हाकिमले मलाई तिनको कार्यालयमा बोलाए। मैले ढोका खोल्नासाथ तिनले मलाई मसीदानीले हिर्काए। तर त्यो मलाई नछोई भित्तामा लागेर चक्नाचूर भयो। तिनले मलाई भयभीत पार्न त्यसो गरेका थिए। त्यसपछि तिनले मलाई एक पन्‍ना कागज र कलम दिंदै यस्तो आज्ञा दिए: “भोलासमा भएका सबै साक्षीहरूका नाउँ लेखेर भोलि बिहान मलाई दिनू। नत्र के हुनेछ तिमी जान्दछौ!”

मैले केही जवाफ दिइनँ। तर कोठामा फर्केर अन्य भाइहरूको साथमा प्रार्थना गरें। मैले कागजमा आफ्नो नाउँ मात्र लेखेर हाकिमले कहिले बोलाउला भनेर पर्खिरहें। तर हाकिमको केही अत्तोपत्तो थिएन। राती विरोधी सेनाले आक्रमण गरेछ र त्यस हाकिमले सेनाको नेतृत्व लिंदा त्यो भिडन्तमा तिनी गम्भीर रूपले घाइते भएछन्‌। तिनको एउटा खुट्टा काट्‌नुपऱ्‍यो। अन्ततः हाम्रो मुद्दा चल्यो र हामीलाई अवैध सभा गरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाइयो।

झ्यालखानामा छँदा आइतबारे मासमा उपस्थित हुन अस्वीकार गरेको हुनाले मलाई एकल बन्दीगृहमा पठाइयो। तीन दिनपछि झ्यालखानाको निर्देशकसित कुरा गर्ने अनुमति मागें। मैले तिनलाई भने, “कृपया मलाई बोल्ने अनुमति दिनुहोस्‌। आफ्नो विश्‍वासको खातिर पाँच वर्ष कैद सजाय भोग्न इच्छुक व्यक्‍तिलाई अर्को दण्ड दिनु अर्थहीन देखिन्छ।” त्यसबारे तिनले गम्भीरतापूर्वक विचार गरे अनि अन्तमा यसो भने: “भोलिदेखि तिमी मेरो कार्यालयमा काम गर्नेछौ।”

अन्ततः झ्यालखानामा चिकित्सकको सहायकको रूपमा काम पाएँ। परिणामस्वरूप, स्वास्थ्य उपचारबारे धेरै कुरा सिकें। पछि गएर त्यो एकदमै उपयोगी साबित भएको छ। झ्यालखानामा छँदा प्रचार गर्ने धेरै अवसरहरू पाएँ। त्यहाँ तीन जनाले सकारात्मक प्रतिक्रिया देखाए अनि यहोवाका साक्षीहरू भए।

लगभग चार वर्षसम्म झ्यालखानामा सेवा गरेपछि अन्ततः असल आचरणको कारण सन्‌ १९५२ मा मैले त्यहाँबाट छुटकारा पाएँ। पछि, तटस्थताको विवाद लिएर कोरिन्थको अदालतमा दाखिल हुनुपऱ्‍यो। (यशैया २:४) त्यहाँ मलाई केही समयको लागि सैनिक झ्यालखानामा राखियो। अनि फेरि दुर्व्यवहार सुरु भयो। केही अफिसरहरूले नौला धम्कीहरू दिए: “छुरीले तेरो मुटु छियाछिया पारिदिन्छु” वा “छ गोली खाएर झट्टै मर्छु भनेर नसोच्‌।”

बेग्लै किसिमको परीक्षा

तथापि, म चाँडै घर फर्कें र अर्ध-समय सांसारिक काम गर्दै भोलास मण्डलीमा सेवा गरें। एक दिन मैले वाच टावर सोसाइटीको शाखा कार्यालय एथेन्सबाट आमन्त्रणपत्र पाएँ। त्यस पत्रमा मलाई दुइ हप्ते प्रशिक्षणको लागि आमन्त्रित गरिएको थियो। र प्रशिक्षणपछि मैले परिभ्रमण निरीक्षकको हैसियतमा यहोवाका साक्षीहरूका मण्डलीहरूको भ्रमण सुरु गर्नुपर्थ्यो। त्यसै बेला आर्थिक तवरले सुसम्पन्‍न मेरो निस्सन्तान काकाले तिनको सम्पत्ति सम्हाल्ने प्रस्ताव मलाई राख्नुभएको थियो। मेरो परिवारले अझै गरिबीको सामना गरिरहेको थियो। अनि यस जागिरले तिनीहरूको आर्थिक समस्या समाधान हुनसक्थ्यो।

काकाको प्रस्तावमा कृतज्ञता प्रकट गर्न म उहाँकहाँ गएँ। तर मैले मसीही सेवकाईको विशेष काम अंगाल्ने निर्णय गरेको जानकारी उहाँलाई दिएँ। त्यसो भन्‍नासाथ उहाँ जुरुक्क उठ्‌नुभयो र मलाई शान्तभावले पुलुक्क हेरेर कोठाबाट फुत्त बाहिर निस्कनुभयो। उहाँले उदार हृदयले पैसा ल्याएर मलाई दिनुभयो। त्यस खर्चले मेरो परिवारलाई केही महिनासम्म पाल्न सकिन्थ्यो। पैसा दिंदै उहाँले भन्‍नुभयो: “यो लेऊ अनि तिम्रो इच्छानुसार यसको सदुपयोग गर।” त्यस घडी जे महसुस गरें अहिलेसम्म त्यो व्याख्या गर्न सक्दिनँ। यस्तो लाग्यो, मानौं यहोवाले मलाई यसो भन्‍नुहुँदैथियो: ‘तिमीले सही छनौट गऱ्‍यौ। म तिम्रो साथमा छु।’

परिवारको आशिष्‌ पाएर म सन्‌ १९५३, डिसेम्बरमा एथेन्स गएँ। परिवारमा मेरी आमा मात्र साक्षी हुनुभए तापनि परिवारका अरू सदस्यहरूले मेरो मसीही क्रियाकलापको विरोध गरेनन्‌। म एथेन्स शाखा कार्यालयमा पुग्नासाथ अर्को कुराले मलाई चकित पाऱ्‍यो। त्यहाँ मेरी बहिनीले टेलिग्राम पठाएकी थिई। मेरो बुबाले अवकाश भत्ताको लागि दुइ वर्षदेखि गरिरहेको संघर्ष सफल भएकोबारे लेखेकी रहिछे। योभन्दा धेरै के चाहियो र? यहोवाको सेवा जोडतोडले गर्न मेरो पखेटा पलाएकोजस्तै लाग्यो!

सावधानी अपनाउने

धार्मिक तथा राजनैतिक अख्तियारवालाहरूले यहोवाका साक्षीहरूलाई कठोरसित सताइरहेका हुनाले परिभ्रमण कार्यका प्रारम्भिक वर्षहरूमा म अत्यन्तै होशियार हुनुपऱ्‍यो। विशेष गरेर स-साना शहर तथा गाउँहरूमा बस्ने मसीही भाइहरूलाई भेट्‌न राती घण्टौं हिंड्‌थें। गिरफ्तार हुने खतरा मोलेर भाइहरू घरमा भेला भई धीरजसाथ मेरो बाटो हेरिरहेका हुन्थे। ती भेटहरूले अति उत्तम प्रोत्साहन आदानप्रदान गऱ्‍यो!—रोमी १:११, १२.

मलाई नचिनोस्‌ भनी कहिलेकाहीं म भेष बदल्थें। एक पटक प्रहरीले रोकेको मार्ग पार गर्न गोठालोको भेष धारण गरें र आध्यात्मिक गोठालोको आवश्‍यकता परेका भाइहरूकहाँ पुगें। अर्को पटक सन्‌ १९५५ मा चाहिं हामीमाथि प्रहरीको सन्देह हटाउन म र अर्को साक्षी भाइ लसुन बिक्रेता भयौं। त्यस बेला हामीलाई सानो शहर आर्गास ओरेस्टिकनका निष्क्रिय भएका मसीही भाइहरूसित सम्पर्क राख्न खटाइएको थियो।

हामीले खुल्ला बजारमा लसुनको व्यापार गर्न थाल्यौं। तथापि, एक जवान गस्ती प्रहरीले प्रत्येकपल्ट हाम्रो छेउबाट जाँदा हामीलाई शंकालु नजरले हेर्थे। अन्ततः तिनले मलाई सोधी पनि हाले: “तपाईं त लसुन बेच्नेजस्तो देखिनुहुन्‍न नि?” त्यसै बेला तीन युवतीहरू आएर लसुन किन्‍न चाहे। मैले लसुनलाई औंल्याउँदै भनें: “हेर्नुहोस्‌, लसुन खाएर यो प्रहरी भाइ कति पट्ठो र सुन्दर देखिएको छ!” प्रहरीलाई हेरेर ती युवतीहरू हाँसे। प्रहरी पनि मुसुक्क हाँसेर आफ्नो बाटो लागे।

त्यस प्रहरी गएपछि मैले सूचीकारको काम गर्ने हाम्रा आध्यात्मिक भाइहरूको स्टोरमा जाने मौका पाएँ। मैले आफ्नो कोटबाट टाँक चुँडालेर त्यहाँ एक सुचीकारलाई लगाउन लाएँ। तिनले त्यो लगाउँदै गर्दा निहुरेर कानेखुशी गर्दै मैले यसो भनें: “म तपाईंहरूलाई भेट्‌न शाखा कार्यालयबाट आएको।” सुरुमा भाइहरू डराए किनभने वर्षौंदेखि सँगी साक्षीहरूसित तिनीहरूले सम्पर्क राखेका थिएनन्‌। मैले तिनीहरूलाई सक्दो प्रोत्साहन दिएँ र थप कुराकानीको लागि शहरको मसानघाटमा फेरि भेट्‌ने प्रबन्ध मिलाएँ। खुशीको कुरा, त्यो भेट प्रोत्साहनदायी भयो र तिनीहरू मसीही सेवकाईमा पुनः जोशिला भए।

विश्‍वासी जोडी प्राप्त गर्ने

परिभ्रमण कार्य थालेको तीन वर्षपछि सन्‌ १९५६ मा निकी नाउँ गरेकी मसीही युवतीसित मेरो भेट भयो। तिनी प्रचार कार्यमा औधी भिजेकी थिइन्‌ र पूर्ण-समय सेवकाईमा जीवन अर्पण गर्ने तिनको चाहना थियो। हाम्रो माया बस्यो र सन्‌ १९५७ को जून महिनामा विवाह गऱ्‍यौं। ग्रीसमा यहोवाका साक्षीहरू विरुद्ध भइरहेको त्यस्तो तीव्र विरोधको बावजूद निकीले परिभ्रमण कार्यका मागहरू पूरा गर्नसक्छिन्‌ जस्तो मलाई लागेको थिएन। यहोवाको मदतद्वारा तिनले त्यसो गर्न सकिन्‌। त्यसैले तिनी ग्रीसमा पति सँगसँगै परिभ्रमण कार्यमा हिंड्‌ने प्रथम स्त्री भइन्‌।

ग्रीसका धेरैजसो मण्डलीहरूको सेवा गर्दै हामीले दश वर्षसम्म सँगसँगै परिभ्रमण कार्य गरिरह्‍यौं। मण्डलीहरूको भ्रमण गर्दा हामीले भेष बदल्थ्यौं र आफ्नो सामान बोकेर राती घण्टौं हिंड्‌थ्यौं। तीव्र विरोधको सामना गर्नु परे तापनि साक्षीहरूको प्रथमपल्ट अपूर्व वृद्धि देखेर हामी रोमाञ्चित भयौं।

बेथेल सेवा

सन्‌ १९६७, जनवरीमा निकी र मैले बेथेल अर्थात्‌ यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने निमन्त्रणा पायौं। यो निमन्त्रणा पाउँदा हामी दुवै चकित भयौं। तर त्यसलाई यहोवाको निर्देशन ठानेर स्वीकाऱ्‍यौं। ईश्‍वरतान्त्रिक क्रियाकलापको यस केन्द्रमा सेवा गर्नु कति महान्‌ सुअवसर रहेछ, त्यो समय बित्दै जाँदा हामीले बुझ्यौं।

हामी बेथेल सेवामा लागेको तीन महिनापछि सैनिक सरकार पार्टीले ग्रीसको सत्ता हातमा लियो। त्यसपछि यहोवाका साक्षीहरूले लुकीछिपी आफ्नो कार्य गर्नुपऱ्‍यो। हामी स-साना समूहमा भेला हुन थाल्यौं। सम्मेलनहरू जंगलमा आयोजना गर्थ्यौं। बुद्धिमत्तापूर्वक प्रचार गर्थ्यौं अनि गुप्त रूपले बाइबल साहित्य मुद्रण गर्थ्यौं तथा बाड्‌थ्यौं। ती परिस्थितिहरूको सामना गर्न हामीलाई त्यति गाह्रो भएन। किनभने वर्षौंअघि हामीले प्रयोग गरेको क्रियाकलाप प्रणालीलाई यसपटक पुनः अपनाएका थियौं। प्रतिबन्धको बावजूद पनि सन्‌ १९६७ मा साक्षीहरूको संख्या ११,००० बाट वृद्धि भएर सन्‌ १९७४ मा १७,००० भन्दा धेरै भयो।

बेथेल सेवामा लागेको झन्डै ३० वर्ष भयो। खराब स्वास्थ्य तथा वृद्धावस्थाको बावजूद पनि निकी र मैले आध्यात्मिक आशिष्‌हरूको आनन्द उठाइरहेका छौं। दश वर्षभन्दा धेरै समयसम्म हामी एथेन्सको कार्टाली स्ट्रीटस्थित शाखा कार्यालयमा बस्यौं। सन्‌ १९७९ मा एथेन्सको उपनगर मारुसीमा नयाँ शाखा निर्माण गरियो। तर सन्‌ १९९१ देखि हामीले एथेन्सदेखि ६० किलोमिटर टाढा पर्ने इलीओनास्थित नयाँ शाखा कार्यालयका सुविधाहरूको आनन्द उठाइरहेका छौं। यहाँ म बेथेल चिकित्सालयमा सेवारत्‌ छु। झ्यालखानामा छँदा चिकित्सकको सहायकको रूपमा पाएको प्रशिक्षण यहाँ एकदमै उपयुक्‍त साबित भएको छ।

पूर्ण-समय सेवामा बिताएको चार दशकको दौडान यर्मियाले जस्तै यहोवाको प्रतिज्ञाको सच्चाइलाई बुझेको छु: “तिनीहरूले तँसित युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌ किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्‍नुहुन्छ।” (यर्मिया १:१९) हो, निकी र मैले यहोवाबाट प्रशस्त आशिष्‌हरू पाएका छौं। यहोवाले गर्नुहुने मायालु चिन्ता तथा अनुग्रहमा हामी निरन्तर आनन्द मनाउँछौं।

म यहोवाको संगठनमा भएका जवानहरूलाई पूर्ण-समय सेवा गर्न प्रोत्साहन दिन्छु। यसप्रकार तिनीहरूले ‘स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष्‌हरू तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ’ भन्‍ने यहोवाको प्रतिज्ञा जाँच्न उहाँले दिनुभएको निमन्त्रणालाई स्वीकार्नसक्छन्‌। (मलाकी ३:१०) यहोवाले निस्सन्देह उहाँमा पूर्ण भरोसा गर्ने प्रत्येकलाई आशिष्‌ दिनुहुन्छ भनेर म आफ्नै अनुभवको आधारमा जवानहरूलाई आश्‍वासन दिनसक्छु।

[पृष्ठ २६-मा भएको चित्र]

लाम्प्रोस जुम्पोस र तिनकी पत्नी निकी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने