प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १२/८ पृ. २४-२७
  • ट्राफिक जामको कुनै उपाय?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ट्राफिक जामको कुनै उपाय?
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हावा विषालु बनाउँछ
  • बढ्‌दो सवारी दुर्घटना
  • बेफ्वाँकमा पैसाको नाश
  • ट्राफिक जामको पूर्वानुमान
  • केही गर्न सकिन्छ कि?
  • कमिलाको ताँती कसरी व्यवस्थित हुन्छ?
    सृष्टि या संयोग
  • सवारी-दुर्घटना—के तपाईं सुरक्षित हुनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • सृष्टिका कुराहरूले यहोवाको बुद्धिमाथिको हाम्रो भरोसा बढाउँछ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 १२/८ पृ. २४-२७

ट्राफिक जामको कुनै उपाय?

फिलिपिन्सका ब्यूँझनुहोस्‌! लेखकद्वारा

सावधान: थुप्रै सहरलाई एउटा महामारीले गाँजिरहेछ। यो कुनै सरुवा रोग होइन, न त बालीनाली स्वाह पार्ने कीराको बथान नै। तैपनि यसले करोडौंको चैन लुटिरहेको छ। यस्तो महामारी केको? ट्राफिक जामको!

अनुसन्धानकर्ताहरू भन्छन्‌, बारम्बार ट्राफिक जाममा फस्नु स्वास्थ्यको लागि हानिकर हुन्छ। हालैको अध्ययनअनुसार, एक घण्टाभन्दा बढी ट्राफिक जाममा फस्नु हृदयघात निम्त्याउनु हो। द न्यु जील्याण्ड हेराल्ड लेख्छ, “गाडीको धुवाँ, होहल्ला र तनावले हृदयघात हुने खतरा बढाउँछ।”

हावा विषालु बनाउँछ

धेरैजसो गाडीले नाइट्रोजन अक्साइड र क्यान्सर गराउने तत्त्वहरू फ्याँक्छ। खास गरी डिजेलले चल्ने गाडीबाट अत्यधिक सूक्ष्म कणहरू निस्कन्छ। कत्ति घातक! वायु प्रदूषणले गर्दा हरेक वर्ष अनुमानित ३० लाख जति मानिस मर्छन्‌ र हावा दूषित हुनुको मुख्य कारण पनि गाडी नै हो। एउटा रिपोर्टअनुसार युरोपका केटाकेटीहरूमा हुने श्‍वासप्रश्‍वास समस्याको १० प्रतिशत त सूक्ष्म कणहरूकै कारणले हुने गर्छ। ट्राफिक जामको मार खेपिरहेका सहरहरूमा त यो समस्या झनै बढी छ।

वातावरणलाई त झन्‌ के बाँकी राख्थ्यो र! गाडीले फ्याँक्ने नाइट्रोजन अक्साइड र सल्फर डाइअक्साइडले अम्ल वर्षा गराउँछ। अम्ल वर्षाले पानी दूषित हुन्छ, जलजन्तुलाई हानि गर्छ र बालीनाली सखाप पार्छ। गाडीबाट निक्लने कार्बन डाइअक्साइडले त समस्या झन्‌ चर्काएको छ। यो ग्याँसलाई पृथ्वी तातिनुको प्रमुख कारण ठानिन्छ। भनिन्छ, यसले पृथ्वीमा अन्य खतरा पनि उत्पन्‍न गर्छ।

बढ्‌दो सवारी दुर्घटना

जति धेरै ट्राफिकको चाप, त्यति नै बढी ज्यान जाने डर। हरेक वर्ष दस लाखभन्दा बढी मानिस सवारी दुर्घटनामा मर्छन्‌। यो संख्या तन्किंदै गइरहेको छ। कति ठाउँमा त सवारी दुर्घटना ज्यादै हुन्छ। जस्तै, युरोपियन आयोगको अध्ययनअनुसार “ग्रीसमा दस लाख मानिसमध्ये ६९० जना सडक दुर्घटनामा मर्छन्‌ भने स्वीडेनमा दस लाखमध्ये १२० जना।”

नचाहेर पनि आजकाल सडकमा बारम्बार देखिने घटना के हो? चालकहरू एक-अर्कालाई रिस पोखाइरहेका। यसरी रिस पोखाउनु त मामुली कुरा भइसकेको छ। अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनको सर्वेक्षणअनुसार, यसरी एक-अर्काप्रति रिसाउनुको दोष चालकहरू “ट्राफिक जाम वा बढ्‌दो सवारी संख्यालाई” दिंदा रहेछन्‌।

बेफ्वाँकमा पैसाको नाश

ट्राफिक जामले पैसा पनि नाश गर्छ। अध्ययनअनुसार, क्यालिफोर्नियाको लस एन्जलसमा मात्र ट्राफिक जामले गर्दा प्रत्येक वर्ष चार अरब लिटरभन्दा बढी इन्धन खेर जान्छ। त्यति मात्र कहाँ हो र! थाह नपाउने गरी अरू नोक्सानी पनि हुन्छ। जस्तै: कारोबारको मौका गुम्ने, प्रदूषणको कारण स्वास्थ्योपचारमा खर्च र बढ्‌दो सवारी दुर्घटनाबाट हुने क्षति।

ट्राफिक जामबाट हुने हानि-नोक्सानीले देशको आर्थिक स्थिति पनि कमजोर पार्छ। अध्ययनले देखाएको छ, अमेरिकावासीले ट्राफिक जाममा समय त्यसै खेर फाल्नुपर्दा र इन्धन खर्चनुपर्दा प्रत्येक वर्ष लगभग ६८ अरब अमेरिकी डलर (ने.रु. ७३.६) क्षति भोग्छन्‌। सुदूर पूर्वीय मुलुकहरूबारे फिलिपिन स्टार-ले यस्तो लेख्यो: “ट्याक्सीको मिटरमा जसरी पैसा खुत्रुक-खुत्रुक चढ्‌दै जान्छ, त्यसरी नै ट्राफिक जामले गर्दा ती मुलुकहरूले प्रत्येक वर्ष अरबौं नोक्सानी बेहोर्छन्‌।” युरोपमा चाहिं हरेक वर्ष लगभग ने.रु. १६० खरब नोक्सान हुने गरेको अनुमान गरिएको छ।

ट्राफिक जामको पूर्वानुमान

ट्राफिक जामको समस्या सुल्झाउन प्रयास नगरिएको होइन। तैपनि समस्या चर्किंदो छ। टेक्सस यातायात संस्थाले अमेरिकाको ७५ सहरमा गरेको राष्ट्रिय सर्वेक्षणअनुसार, ट्राफिक जाममा खेर जाने समय हरेक वर्ष बढ्‌दो छ। सन्‌ १९८२ मा सरदर १६ घण्टा थियो भने सन्‌ २००० मा आइपुग्दा ६२ घण्टा पुग्यो। हरेक दिन मानिसहरूले ट्राफिक जाममा खेर फाल्ने समय पनि साढे चार घण्टाबाट बढेर ७ घण्टा पुगेको छ। रिपोर्ट बताउँछ, “सर्वेक्षण गर्दा सबै सहरमा वर्षेनी ट्राफिक जाम झन्‌-झन्‌ बढ्‌दै गएको पाइयो। जनसंख्या बढेकोले यात्रु पनि बढेको छ। फलतः पहिला कहिल्यै जाम नहुने सडकहरूमा पनि लामो समयसम्म ट्राफिक जाम हुने गरेको छ।”

अरू मुलुकको पनि यस्तै हाल छ। युरोपियन आयोगका अनुसन्धानकर्ताहरू यो निचोडमा पुगे: “यात्रा गर्ने तरिकामा आमूल परिवर्तन नल्याए आउँदो केही वर्षभित्र सहरी क्षेत्रमा ट्राफिक जामले विकराल रूप लिनेछ।”

एसियामा पनि हालत उस्तै छ। ट्राफिक जामको लागि टोकियो त त्यसै नामुद छ! अन्य जापानी सहरमा पनि ट्राफिक जामको समस्या चर्किंदैछ। मनिला बुलेटिन-ले फिलिपिन्सको ट्राफिक बेहालको सानो झलक यसरी दिन्छ: “एकातिर गाडीको चापाचाप त अर्कोतिर गाडी कुर्नेहरूको घुइँचो। यत्ति अत्यासलाग्दो जाम, मान्छे छिर्नै नसक्ने गाडीको लाम।”

लाग्छ, अहिले ट्राफिक जामको महामारी च्वाट्टै पार्ने कुनै अचूक औषधी छैन। ट्राफिक जाममा फस्दा समयको सदुपयोग गर्ने (अङ्‌ग्रेजी) किताबका लेखक एन्थोनी डाउन्ज यस्तो नतिजामा पुगे: “ट्राफिक जामको समस्या सुल्झाउन जतिसुकै नीतिनियम तय गरे तापनि यो समस्याले पृथ्वीको हरेक कुनालाई पिरोल्छ जस्तो छ। त्यसैले म त यही सुझाव दिन्छु: वास्तविकता स्वीकार्नुहोस्‌।”

केही गर्न सकिन्छ कि?

सम्झिंदै झिंझो लागेर आउने यो समस्याको ओखती केही छ? तपाईं पनि बारम्बार ट्राफिक जाममा परिरहनु हुन्छ कि? त्यसो हो भने शारीरिक र मानसिक स्वास्थ्यको ख्याल नराखी हुन्‍न। नसुर्ताउनुहोस्‌, तल दिइएका उपाय अपनाउनुहोला:

◼ पूर्वतयारी। धेरैजसो मानिस ट्राफिक जाममा पर्नुअघि नै तनावग्रस्त भइसकेका हुन्छन्‌। ढिलो उठेपछि यस्तो त हुन्छ नै। घाम छिप्पिसकेपछि आँखा मिच्दै उठ्यो, हतारपतार नुहायो, हस्याङ्‌फस्याङ्‌ गर्दै लुगा फेऱ्‍यो र हतारमै खाना खायो। त्यतिन्जेल अफिस जान ढिलो भइसकेको हुन्छ। अब दिमाग त तात्तिने नै भयो नि! ट्राफिक जामले नै त तनाव गराउँदैन, तर बढाउने चाहिं पक्कै हो। ट्राफिक जाममा फस्ने पक्का पक्की छ भने घरबाट अलिक चाँडो निस्कनु बेस हुन्छ। यसो गर्दा के थाह, ट्राफिक जाम सुरु हुने समय अगाडि नै पो गन्तव्यमा पुगिने हो कि! यात्रुहरूलाई हुने तनावको कारण, असर र कम गर्ने तरिका (अङ्‌ग्रेजी) किताबअनुसार, “अघिल्लो रातमै चाँजोपाँजो मिलाउँदा यात्रामा तनाव कम हुन्छ।” त्यही किताब अझ यसो भन्छ: “लुगाफाटा, ब्रिफकेस, काममा जानेहरूको र बच्चाहरूको खाजा आदि बेलुकै ठिक्क गरिराखेमा बिहान चटारो हुँदैन।” राती चाँडै सुत्नुहोस्‌, मस्तले निदाउनुहोस्‌ र सबेरै उठ्‌नुहोस्‌।

बिहान चाँडो उठ्‌दा अरू फाइदा पनि हुन्छ। ट्राफिक जाममा धेरै समयसम्म बसिरहँदा जीउ गल्न सक्छ। त्यसैले बिहान-बिहान व्यायाम गरे कसो होला? नछुटाई कसरत गर्दा शरीर मजबुत बन्छ र जीउ दुख्दैन। सबेरै उठ्‌दा तागतिलो खाजा स्वाद लिई-लिई खान पनि पाइने। तर ढिला उठेकोले गर्दा खान नभ्याएर पेटमा मुसा दौडिरहेको छ अथवा कचरमचर मात्र खानुभएको छ भने चाहिं रिसको पारो झन्‌ माथि चढ्‌न थाल्छ।

ट्राफिक जाममा नि फस्नु, गाडी पनि बिग्रनु। त्यसमाथि पानी दर्किरहेको होस्‌। कत्रो आपत्‌! यस्तो बेला के होला? रुनु न हाँस्नु! त्यसैले आफ्नो गाडीको ब्रेक, टायर, एअर कन्डिसनर, हिटर, वाइपर र अन्य मुख्य पाटपुर्जाहरू राम्ररी स्याहर-सम्भार गरिराख्नुहोस्‌। यसो गर्दा अनावश्‍यक झन्झट हुँदैन। ट्राफिक जाममा सानोभन्दा सानो गडबडी समेत साह्रै झर्कोलाग्दो हुन्छ। अर्को कुरा, गाडीमा तेल छ कि छैन, सधैं हेर्नुपर्छ।

◼ पूर्वजानकारी लिनुहोस्‌। केही यस्ता कुरा छन्‌, जसको जानकारी घरबाट निस्कनुअघि नै लिइराख्नु बेस। जस्तै, मौसम सफा रहने हो या होइन, सडक निर्माण, दुर्घटना वा अन्य कुनै कारणले गर्दा बाटो पो बन्द छ कि आदि। यो जानकारी रेडियो, अखबार, टेलिभिजन जस्ता माध्यामबाट लिन सकिन्छ। सहरको नक्सा पनि बोकिराख्नुहोस्‌। अर्को बाटो थाह पाइराख्नुभो भने पनि यस्तो झन्झटमा फस्न पर्दैन।

◼ आरामले बस्नुहोस्‌। गाडीभित्र हावा खेल्न पाउने गरी झ्यालहरू खोल्नुपर्छ र सजिलो गरी बस्नुपर्छ। रेडियो, क्यासेट प्लेयर वा सी डी बजाएर मन परेको गीत वा धुन सुन्‍नुहोस्‌। कुनै-कुनै संगीतले मनलाई शीतलता दिन्छ र तनाव घट्‌छ। यसो गर्दा गाडीहरूको कानै खाने हल्लाखल्ला पनि सुन्‍नु पर्दैन।a

◼ समय सदुपयोग गर्नुहोस्‌। समय सदुपयोग गर्ने राम्रो तरिका असल कुरा मनमा खेलाउनु हो। मुर्मुरिएर के फाइदा! बरु, दिनभरि गर्ने कामबारे सोच्नुहोस्‌। एक्लै रमेर सोचमा डुबुल्की मार्दा नयाँ विचारहरू फुर्छ र कसैले नअल्मल्याउने भएकोले सही निर्णय गर्न पनि सजिलो हुन्छ।

गाडीबाट घरीघरी टाउको निकाल्यो, गाडीको ताँती हेऱ्‍यो, दिक्क मान्यो। यसो गर्दा तनाव मात्र बढ्‌छ। बरु खेर जाने समय सदुपयोग गर्नतिर लाग्नुहोस्‌। मन परेको किताब वा अखबार पढ्‌न सकिन्छ। नत्र अघिल्लो दिनको चिठी-पत्र हेर्नुहोस्‌। कतिले चिठी लेखेर त कतिले भने ल्यापटपमा काम गरेर यो झन्झटिलो समय तह लाउँछन्‌।

◼ यथार्थ स्वीकार्नुहोस्‌। ट्राफिक जामले धुरुक्कै पारेको सहरमा बस्नुहुन्छ भने तर्सिएर के नै हुन्छ र! यससित नडटी सुखै छैन। ट्राफिक जामले अधिकांश सहरलाई हायलकायल पारिसकेको छ। ट्राफिक जाममा फस्दा समयको सदुपयोग गर्ने (अङ्‌ग्रेजी) किताब भन्छ: “ट्राफिक जामले ग्रस्त सहरहरू आउँदा दिनमा पनि यो रोगबाट च्वाट्ट निको हुने छाँट छैन।” त्यसैले यसलाई जीवनको भाग ठान्‍नुहोस्‌ र जतिसक्दो फलदायी बनाउने प्रयास गर्नुहोस्‌! (g05 11/22)

[फुटनोट]

a ब्यूँझनुहोस्‌!-का थुप्रै पाठकले यसै पत्रिका र यसको सहपत्रिका प्रहरीधरहरा-को श्रव्य क्यासेट सुन्‍ने गर्छन्‌। कतिपय भाषामा यी पत्रिकाको श्रव्य क्यासेट, सी डी र एम पी थ्री पाइन्छ।

[पृष्ठ २६-मा भएको चित्र]

जाममा नपर्न पूर्वतयारी गर्नुहोस्‌

[पृष्ठ २६-मा भएको चित्र]

गाडी हाँक्नअघि मनपर्ने गीत छान्‍नुहोस्‌

[पृष्ठ २६-मा भएको चित्र]

जाममा पर्दा समयको सदुपयोग गर्नुहोस्‌

[पृष्ठ २६-मा भएको चित्र]

वशमा नभएको कुरामा टाउको नदुखाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने