प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ९/८ pp. २८-३०
  • सवारी-दुर्घटना—के तपाईं सुरक्षित हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सवारी-दुर्घटना—के तपाईं सुरक्षित हुनुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • निदाउरो चालक
  • अनुभवी तैपनि वृद्ध
  • विचार गर्नुपर्ने निर्णय
  • थकाइ—चालकहरूलाई पत्तै नभई आइपर्ने फन्दा
    ब्यूँझनुहोस्‌!—१९९७
  • रिसाहा चालक—सामना कसरी गर्ने?
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—२००२
g०२ ९/८ pp. २८-३०

सवारी-दुर्घटना—के तपाईं सुरक्षित हुनुहुन्छ?

“गाडी चलाउने सन्दर्भमा मेरो रेकर्ड एकदमै राम्रो छ त्यसैले सवारी-दुर्घटनामा परूँला भन्‍ने त चिन्ता लिनै पर्दैन।” “दुर्घटना भनेको त जवान अनि लापरवाह चालकहरूलाई मात्र हुन्छ।” थुप्रै मानिसहरू आफू सवारी दुर्घटनामा कहिल्यै पर्दिन भन्‍ने विचार गर्छन्‌। के तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ? के तपाईं पनि सवारी दुर्घटनामा कहिल्यै पर्नुहुन्‍न भन्‍न सकिन्छ?

तपाईं विकसित मुलुकको बासिन्दा हुनुहुन्छ भने, आफ्नो जीवनकालमा कम्तीमा पनि एकपल्ट ट्राफिक-दुर्घटनामा पर्न सक्ने सम्भावना धेरै छ भनेर तथ्यांकहरूले देखाउँछ। थुप्रैको लागि त्यस्तो दुर्घटना प्राणघातक साबित हुन सक्छ। विश्‍वभरि वर्षेनी पाँच लाखभन्दा बढी प्राणघातक ट्राफिक-दुर्घटनाहरू हुने गरेका छन्‌। सायद गत वर्ष मारिनेहरूमध्ये धेरैले आफूलाई कहिल्यै पनि त्यस्तो हुने छैन भन्‍ने सोचेका थिए होलान्‌। तपाईं त्यस्तो खतरालाई कम गर्न के गर्न सक्नुहुन्छ? रोकथाम महत्त्वपूर्ण कुरा हो। निदाउरो भएर वा वृद्धावस्थाका असरहरूले गर्दा हुने दुर्घटनालाई तपाईं कसरी रोक्न सक्नुहुन्छ विचार गर्नुहोस्‌।

निदाउरो चालक

निदाउरो चालक जँड्याहा चालकहरू जत्तिकै खतरनाक साबित हुन सक्छन्‌ भनेर केही विज्ञहरू भन्‍ने गर्छन्‌। निद्राले झपक्क छोप्दा नै धेरैभन्दा धेरै दुर्घटनाहरू हुने गरेको कुरा प्रतिवेदनहरूले जनाएका छन्‌। फ्लीट मेन्टेनान्स एण्ड सेफ्टी रिपोर्ट-ले उल्लेख गरेअनुसार हालसालै नर्वेमा एक वर्षभित्र हरेक १२ जना सवारीचालकमध्ये १ जना गाडी चलाउँदा चलाउँदै निदाएको कुरा बताए। दक्षिण अफ्रिका जोहानेसबर्गको द स्टार पत्रिकाअनुसार त्यस देशमा हुने कुल सवारी-दुर्घटनाको एक तीहाई दुर्घटना चालकहरूलाई निद्राले छोप्दा हुने गरेको छ। जहाँतहीं चालकहरूलाई निद्राले असर गरिरहेको कुरा अन्य मुलुकका प्रतिवेदनहरूले पनि देखाउँछ। किन त्यति धेरै निदाउरो चालकहरू भएका?

यस समस्याको कारक तत्त्व आजको व्यस्त जीवन शैली हो। हालसालै न्युजवीक पत्रिकाले अमेरिकीहरू “हरेक रात यस शताब्दीको सुरुतिर भन्दा साढे १ घण्टा कम सुत्ने गर्न थालेका छन्‌ र यो समस्या झन बढ्‌दै जाने देखिन्छ” भनी रिपोर्ट गऱ्‍यो। किन? उक्‍त पत्रिकामा निद्रा विशेषज्ञ टेरी यङको यस भनाइलाई उद्धृत गरिएको थियो: “मानिसहरूले निद्रा नपुगे पनि केही हुँदैन भन्ठान्छन्‌। कुनै व्यक्‍तिले धेरै समय नसुतिकनै काम गर्न सक्यो भने उसलाई उन्‍नतिशील व्यक्‍ति मान्‍ने गरेको पाइन्छ।”

भनिन्छ, सरदर मानिसहरूलाई हरेक रात साढे छ देखि ९ घण्टासम्मको निद्रा चाहिन्छ। निद्रा पुगेन भने “निद्राको ऋण” थपिंदै जान्छ। ए ए ए फाउन्डेशन फर ट्राफिक सेफ्टीले वितरण गरेको प्रतिवेदनमा यस्तो लेखिएको छ: “साताको दौडान राती ३० वा ४० मिनेटमात्र निद्रा पुगेन भने पनि सप्ताहन्तमा ३ देखि ४ घण्टा थप सुत्नुपर्ने हुन्छ र त्यसबाहेक दिउँसै निद्राले लट्ठ पार्छ।”

कहिलेकाहीं तपाईं राती राम्ररी सुत्न सक्नुहुन्‍न। निद्रा नलाग्ने समस्या, बिरामी बच्चालाई स्याहार्नुपर्ने वा अन्य कुराहरूले तपाईंको निद्रा हरण हुन सक्छ। भोलिपल्ट तपाईं गाडी चलाउँदै गर्नुहुँदा निद्राले झप्प छोप्न सक्छ। यस्तो भएमा तपाईंले के गर्नुपर्छ?

निद्रा भगाउन कफि पिउने, झ्याल खोल्ने, चुइंगम चपाउने वा अमिलो खाने प्रचलित तरिकाहरूले तपाईंलाई जागा राख्न सक्दैन। यी कुनै पनि तरिकाले खास समस्यालाई सुल्झाउँदैन। तपाईंलाई आवश्‍यक कुरा भनेको सुत्नु नै हो। त्यसैले दिउँसो एक निद्रा सुते कसो होला? द न्यु योर्क टाइम्स यस्तो सुझाउ दिन्छ: “कामका दिनहरूमा दिउँसो पुनः स्फूर्तिको लागि ३० मिनेट भन्दा बढी समय सुत्नु हुँदैन किनभने बढी सुतियो भने पूरै शरीर गहिरो निद्रामा पर्छ र त्यसबाट ब्यूँझिन धेरै गाह्रो हुन्छ।” यसरी सुत्दा तपाईं आफ्नो गन्तव्य स्थानमा पुग्न अलि ढिला त होला तर यसले तपाईंको आयु बढाउँछ।

तपाईंको जीवन शैलीले तपाईंलाई निदाउरो चालक बनाउने सम्भावना बढी हुन्छ। के तपाईं घण्टौं इन्टरनेटमा बिताउनुहुन्छ अथवा राती अबेरसम्म टेलिभिजन हेर्ने गर्नुहुन्छ? के तपाईं बिहानीपख मात्र सिद्धिने सामाजिक जमघटहरूमा जाने गर्नुहुन्छ? त्यस्ता बानीहरूले तपाईंको निद्रा हरण गर्न नपाओस्‌। बुद्धिमान्‌ राजा सुलेमानले एकपल्ट “एक मुठी विश्राम” लिनुको महत्त्वमाथि जोड दिए।—उपदेशक ४:६, NW.

अनुभवी तैपनि वृद्ध

बाटोमा गाडी चलाउनेहरूमध्ये सबैभन्दा अनुभवी वृद्ध चालकहरू हुन्‌। तिनीहरू खतरा मोल्दैनन्‌ र आफ्ना सिमितताबारे ख्याल राख्छन्‌। तथापि, वृद्धहरू पनि सवारी-दुर्घटनाको खतराबाट मुक्‍त छैनन्‌। वास्तवमा, उमेर ढल्कँदै जाँदा दुर्घटनाहरूमा पर्ने खतरा त्यति नै बढ्‌दै जान्छ। अमेरिकी पत्रिका कार एण्ड ट्राभल-ले यस्तो प्रतिवेदन प्रस्तुत गऱ्‍यो: “कुल जनसंख्यामा ७० वर्षमाथिका मानिसहरू ९ प्रतिशत मात्र छन्‌ तर सवारी-दुर्घटनामा भने १३ प्रतिशत मुछिएका छन्‌।” दुःखको कुरा वृद्ध चालकहरूको दुर्घटना संख्या बढ्‌दै गइरहेकोछ।

असी वर्षीया मार्टेलको अनुभवलाई विचार गर्नुहोस्‌।a तिनले गाडी चलाउन थालेको ६० वर्षभन्दा बढी भइसक्यो र हालसम्म कुनै पनि दुर्घटनामा परेकी छैनन्‌। यद्यपि, अरूजस्तै तिनले पनि वृद्धावस्थाका असरहरू महसुस गर्न थालेकी छिन्‌ जसले तिनलाई दुर्घटनामा पार्न सक्छ। तिनले हालसालै ब्यूँझनुहोस्‌!-लाई यसो भनिन्‌: “उमेर ढल्कँदै गएपछि जीवनमा [गाडी चलाउनुलगायत] सम्पूर्ण कुराहरू चुनौतीपूर्ण बन्‍न थाल्छ।”

सवारी-दुर्घटनामा पर्नसक्ने खतरा कम गर्न तिनले के गरेकी छिन्‌? “मेरो ढल्दो उमेरसँगसँगै मैले थुप्रै काँटछाँटहरू गरेकी छु,” भनी मार्टेल बताउँछिन्‌। उदाहरणका लागि, तिनले विशेष गरी रातको समयमा लामो समयसम्म गाडी चलाउन छोडेकी छिन्‌। यस्तो सानो फेरबदलले गर्दा तिनलाई गाडी चटक्कै चलाउन छोड्‌नु नपर्ने गरी सुरक्षित रेकर्ड कायम गर्न मदत गरेको छ।

वृद्धावस्थाले हरेकलाई कुनै न कुनै तरिकामा असर पारेकै हुन्छ भनी स्वीकार्न गाह्रो हुन्छ। (उपदेशक १२:१-७) विभिन्‍न किसिमका स्वास्थ्य समस्याहरू उब्जन्छन्‌, हामीले झट्टै प्रतिक्रिया देखाउन सक्दैनौं र हाम्रा आँखाहरू कमजोर हुन्छन्‌ र यी जम्मै कुराहरूले गाडी सुरक्षितसाथ चलाउन कठिन पारिदिन्छ। तथापि, वृद्ध हुँदैमा कुनै पनि चालक अयोग्य हुँदैन। चालकले गाडी कसरी चलाउँछ भन्‍ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हो। आफ्ना शारीरिक क्षमतामा आउने परिवर्तनहरूलाई स्वीकारेर आवश्‍यक छाँटकाँटहरू गरेको खण्डमा गाडी राम्रोसित चलाइरहन सक्नेछौं।

तपाईंलाई याद नभए पनि तपाईंको हेर्ने शक्‍तिमा भने परिवर्तन भइरहेको हुन्छ। जसै तपाईं वृद्ध हुँदै जानुहुन्छ, तपाईंको दृष्टि साँघुरिंदै जान्छ र रेटिनालाई अझ बढी प्रकाशको आवश्‍यकता पर्दछ। द ओल्डर एण्ड वाइजर ड्राइभर विषयक पुस्तिका यसो भन्छ: “जवानहरूले जस्तै स्पष्टसित देख्ने हुन ६० वर्षका चालकलाई तीन गुणा बढी प्रकाशको आवश्‍यकता पर्छ भने प्रकाशबाट अन्धकारमा दृष्टि पुऱ्‍याउँदा राम्रोसित ठम्याउन दुई गुणा बढी समय लाग्छ।” तपाईंको आँखामा हुने यस्ता परिवर्तनहरूले राती गाडी चलाउन मुस्किल हुन्छ।

हेनरी ७२ वर्ष पुगिसके र तिनले ५० वर्षसम्म सुरक्षित रूपमा गाडी हाँकेको रेकर्ड छ। उमेर ढल्कँदै जाँदा, अगाडिबाट आइरहेका अरू गाडीहरूका हेडलाइटको कारण राती गाडी चलाउन गाह्रो भएको कुरा तिनले चलाउँदा महसुस गरे। आँखा जँचाएपछि राती त्यस्ता प्रकाशहरूको चमक कम गर्ने चश्‍मा लगाउनुपर्ने कुरा तिनले थाह पाए। “अब राती गाडी चलाउन केही गाह्रो छैन,” भनेर हेनरी बताउँछन्‌। यो सानो काँटछाँटले तिनलाई गाडी चलाउन निकै सजिलो बनाइदिएको छ। मार्टेलजस्तै अरूको लागि भने राती गाडी चलाउन छोड्‌नु नै बेस हुन सक्छ।

वृद्धावस्थाले कुनै व्यक्‍तिको प्रतिक्रिया जनाउने क्षमतामा पनि असर पार्छ। वृद्धहरूको दिमाग जवानहरूको भन्दा तीखो र चेतनशील हुन सक्छ। तथापि, जतिजति वृद्ध होइन्छ कुनै जानकारी हासिल गरेर त्यसप्रति प्रतिक्रिया देखाउन त्यति नै धेरै समय लाग्छ। यसले गाडी हाँक्न झनै चुनौतीपूर्ण बनाइदिन्छ किनभने ट्राफिक तथा बाटोका अवस्थाहरू निरन्तर बद्‌लिरहेका हुन्छन्‌। समयमै उचित कदम चाल्ने हो भने यी परिवर्नतहरूप्रति तुरुन्तै सचेत हुनुपर्छ।

कार एण्ड ट्राभल नामक पत्रिकाले दिएको प्रतिवेदनअनुसार “धेरैजसो हुने गम्भीर दुर्घटनाहरू वृद्ध चालकहरूले ट्राफिक नियन्त्रण उपकरणहरूको संकेतलाई तोडेर जाने भएकोले हुने गरेको छ।” किन? सोही रिपोर्ट यसो भन्छ: “वृद्ध चालकहरूले कुनै बाटाहरूको संगमस्थलमा गाडी अघिबढाउनु भन्दा पहिला दायाँ-बायाँ बद्‌लिंदो परिस्थितिबारे सजग हुनुपर्ने अवस्थामा सजग हुन नसक्दा त्यस्तो दुर्घटना भएको देखिन्छ।”

यस्तो ढिलो प्रतिक्रिया देखाउने अवस्थासित कसरी जुझ्न सकिन्छ? बाटाहरू संगमस्थलहरूमा पुग्नलाग्दा होसियार हुनुहोस्‌। अघिबढ्‌नुभन्दा पहिला ट्राफिक अवस्थालाई दुईपल्ट जाँच्नुहोस्‌। अझ विशेष गरी मोड्‌नुपर्दा होसियार हुनुहोस्‌। बाटोहरूको संगमस्थलमा गाडी मोड्‌दा खतरनाक हुन सक्छ विशेष गरी तपाईंले गाडी मोड्‌ने दिशातिर जाँदा अरू सीधा गाडी आउने बाटो छ भने त झनै प्राणघातक हुन सक्छ।

संयुक्‍त राज्यमा त्यस्तो मोडमा हुने ७५ वर्ष माथिका चालकहरू सम्मिलित ४० प्रतिशत गम्भीर दुर्घटनाहरू देब्रेतिर मोड्‌दा हुने गरेको पाइन्छ। ए ए ए फाउन्डेशन फर ट्राफिक सेफ्टीले त्यस देशका चालकहरूलाई यस्तो सुझाउ दिएको छ: “तपाईंले कहिलेकाहीं आफ्नो गन्तव्य स्थानमा पुग्न एक चोटि मात्र बायाँ मोड्‌नुको सट्टा तीनपल्ट दायाँतिर मोड्‌न सक्नुहुन्छ।” यस सिद्धान्तलाई तपाईं बसोबास गर्नुहुने ठाउँको परिस्थितिअनुसार अपनाउन सक्नु होला। समयअगावै सानो योजना बनाइयो भने त्यस्ता बाटोहरूको संगमस्थलहरूमा आइपर्ने चुनौतीहरूलाई हटाउन सकिन्छ।

विचार गर्नुपर्ने निर्णय

तपाईंको आफ्नो गाडी चलाउने क्षमताको मूल्यांकन गर्न केले मदत गर्न सक्छ? सायद तपाईं आफ्नो सम्माननीय साथी वा परिवारका कुनै सदस्यलाई तपाईंसँगै गाडीमा बस्न र तपाईंको दक्षताबारे बताउन आग्रह गर्न सक्नुहुन्छ। त्यसपछि, तिनीहरूले दिने कुनै पनि सुझाउलाई ध्यान दिएर सुन्‍नुहोस्‌। तपाईंले सुरक्षित गाडी चलाउने विषयमा कुनै आधिकारिक शिक्षा पनि हासिल गर्न सक्नुहोला। थुप्रै यातायात संघहरूले विशेष गरी वृद्धहरूको लागि भनेर छुट्टै प्रशिक्षणहरू दिने गर्दछ। दुई वा सोभन्दा बढी पटक तपाईं कुनै गम्भीर खतरामा पर्न लाग्नुभएको थियो भने, तपाईंको गाडी चलाउने क्षमता पहिलेको जस्तो रहेनछ भन्‍ने कुराको चेताउनी हुन सक्छ।

यथार्थ कुरालाई ध्यान दिने हो भने कुनै-कुनै अवस्थामा तपाईंले गाडी नचलाउनु नै बेस हुन्छ। यो निर्णयको सामना गर्न निकै कठिन होला। अघिनै उल्लेख गरिएकी मार्टेललाई आफूले कुनै दिन गाडी चलाउन ठप्पै बन्द गर्नुपर्छ भन्‍ने थाह छ। त्यो दिन नजिकिंदै गएकोले तिनी अक्सर अरूले चलाएको गाडीमा चढ्‌ने गर्छिन्‌। अरूले चलाएको गाडीमा बस्दा तिनलाई कस्तो लाग्छ? “गाडी चलाउँदा महसुस गर्नुपर्ने तनाउबाट मुक्‍त भएर गाडी चढ्‌नुमा निकै मजा रहेछ,” भनेर तिनी बताउँछिन्‌।

यस विषयलाई होसियारीसाथ विचार गरिसकेपछि तपाईंले पनि त्यस्तै महसुस गर्नुहोला। किनमेल गर्न अनि भेटघाट र सभा तथा भेटघाट गर्न जाँदा कसैलाई साथै लैजानु अझ आनन्ददायी हुन सक्छ। त्यस साथीले तपाईंलाई राखेर तपाईंको गाडी हाँक्न सक्लान्‌। कहीं एक्लै जानुभन्दा त्यसरी जाँदा सुरक्षित र रमाइलो हुन्छ। उपलब्ध भएमा सार्वजनिक यातायातका साधनहरू चढ्‌नु पनि अर्को विकल्प हुन सक्छ। नबिर्सनुहोस्‌ तपाईंको मूल्य गाडी चलाउने क्षमतामा आधारित हुँदैन। तपाईंका असल गुणहरूले नै तपाईंलाई आफ्ना परिवार तथा मित्रहरू र परमेश्‍वरसामु साँच्चै मूल्यवान्‌ तुल्याउँछ।—हितोपदेश १२:२; रोमी १४:१८.

तपाईं चाहे वृद्ध होस्‌ वा जवान, अनुभवी चालक होस्‌ वा सिकारु, सवारी-दुर्घटनाका खतराहरूबाट तपाईं मुक्‍त हुनुहुन्‍न। गाडी चलाउँदा वहन गर्नुपर्ने गहन जिम्मेवारीहरू थाह पाउनुहोस्‌। दुर्घटनामा पर्न सक्ने सम्भावनाहरूलाई कम गर्न सावधानी अपनाउनुहोस्‌। यसो गरेर तपाईंले अझ तय गर्नुपर्ने लामो यात्राहरूमा आफू र अरूको सुरक्षा गर्नुहुनेछ। (g02 8/22)

[फुटनोट]

a यस लेखमा नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २८-मा भएको चित्र]

तपाईंको शरीरले प्रशस्त मात्रामा रातको निद्राद्वारा “इन्धन” पाएको छ वा छैन यकिन गर्नुहोस्‌

[पृष्ठ २९-मा भएको चित्र]

एक निद्रा सुत्नाले ढिला त होला तर यसले जीवन बचाउन सक्छ

[पृष्ठ २९-मा भएको चित्र]

वृद्ध चालकहरू धेरै अनुभवी हुन्छन्‌ तर तिनीहरूले विशेष प्रकारका चुनौतीहरू सामना गर्नुपर्छ

[पृष्ठ ३०-मा भएको चित्र]

कुनै साथीसित यात्रा गर्नुमा थुप्रै फाइदाहरू छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने