प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १/०६ पृ. २३-२५
  • के स्टेरोइड लिनु ठीक हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के स्टेरोइड लिनु ठीक हो?
  • ब्यूँझनुहोस्‌!—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अस्वाभाविक क्षमता
  • स्टेरोइडप्रतिको आकर्षण
  • स्टेरोइडका खतरा
  • म किन यस्तो दुब्लो?
    ब्यूँझनुहोस्‌!—२०००
  • विश्‍वव्यापी नैतिक पतन
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००६
g १/०६ पृ. २३-२५

युवाहरू सोध्छन्‌ . . .

के स्टेरोइड लिनु ठीक हो?

“[ स्टेरोइड लियो भने] के हुन्छ मलाई थाह छ। . . . म धेरै दिन बाँच्दिनँ भनेर पनि मैले बुझेको छु। . . . तैपनि म लिन चाहन्छु।”—जोन, भारोत्तोलक।

तपाईंलाई आफ्नो जिउ देख्दा के दिक्कै लागेर आउँछ? के तपाईं सुडौल अनि बलियो शरीर चाहनुहुन्छ? अथवा ख्यातिप्राप्त मोडलको जस्तो आफ्नो जिउ सलक्क परेको सपना देख्नुहुन्छ? के तपाईं खेलकुद भनेपछि हुरुक्कै हुनुहुन्छ? के तपाईं सबैभन्दा तेज अनि बलियो हुने इच्छा गर्नुहुन्छ?

यदि हो, म चाहन्छु भन्‍ने तपाईंको जवाफ छ भने छिट्टै आफ्नो लक्ष्यसम्म पुग्न साथीहरूको कुरा सुनेर कुनै औषधी लिने विचार पनि मनमा खेलाइरहनुभएको होला। पारिवारिक स्वास्थ्यसम्बन्धी एउटा पत्रिकाअनुसार (अमेरिकन एकाडेमी अफ फ्यामिली फिजिसियन्स) “[अमेरिकामा] १२ देखि १७ वर्षका लगभग दस लाख किशोरकिशोरीले खेलमा अरूभन्दा तेज अनि फूर्तिलो हुन हानिकारक लागू औषधी वा डायट सप्लिमेन्ट लिएका छन्‌।”

लोकप्रिय औषधी वा डायटको नाउँ लिनु पर्दा अनाबोलिक स्टेरोइड अग्रपंक्‍तिमा आउँछ। के हो अनाबोलिक स्टेरोइड? मानिसहरू किन लिन्छन्‌? अनि त्यस्तो औषधी लिने दबाबको विरोध कसरी गर्न सक्नुहुन्छ?

अस्वाभाविक क्षमता

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागअनुसार “अनाबोलिक स्टेरोइड लोग्नेमान्छेमा हुने सेक्स हर्मोनसित (एन्ड्रोजिन्स) मेल खाने कृत्रिम पदार्थको लोकप्रिय नाउँ हो। सेक्स हर्मोनले हाम्रो शरीरको हड्डी वरपर टाँसेर बस्ने मांसपेशीको वृद्धि (अनाबोलिक प्रभाव) गराउनुका साथै लोग्नेमान्छेको यौन विकासमा टेवा पुऱ्‍याउँछ।” केटाहरूमा यौवन चढेपछि सेक्स हर्मोनको स्वतः अनि सन्तुलित विकास हुन्छ। फलस्वरूप छोरामान्छेमा विभिन्‍न शारीरिक परिवर्तनहरू हुन्छन्‌ र ऊ केटोबाट पुरुषमा परिवर्तन हुन्छ।—भजन १३९:१५, १६.

शरीरले स्वतः सेक्स हर्मोन उत्पन्‍न गर्नुपर्ने ठाउँमा अन्यथा हुने छोरामान्छेहरूको उपचार गर्न सन्‌ १९३० को दशकमा कृत्रिम स्टेरोइडको विकास गरिएको थियो। आजभोलि एच आइ भी वा अन्य रोगले गर्दा जिउ सुक्दै गएको खण्डमा स्टेरोइड दिइन्छ। तथापि, यस्ता कुनै वैध कारण नहुनेहरूबीच पनि स्टेरोइड लोकप्रिय हुन थालेको छ। सन्‌ १९५० को दशकताका, स्टेरोइडको कालो बजार खुलेपछि महत्त्वाकांक्षी खेलाडीहरूले आफ्नो क्षमता बढाउन त्यसको प्रयोग गर्न थाले।

तर स्टेरोइड लिने मानिसहरूको समूहमा खेलाडी मात्रै पर्दैनन्‌। पिडियाट्रिक्स नामक मेडिकल पत्रिकामा प्रकाशित अनुसन्धानअनुसार अमेरिकामा ९ देखि १३ वर्षका लगभग ३ प्रतिशत केटाकेटीहरूले स्टेरोइड प्रयोग गरिसकेका छन्‌। सन्‌ २००४ मा “हाइ स्कूल पढ्‌ने लगभग ७९,००० केटाकेटीहरूले गत वर्ष आफूले अनाबोलिक स्टेरोइड लिएको स्वीकारेका थिए” भनेर लागू पदार्थ दुरुपयोगको राष्ट्रिय इन्स्टिच्युटकी निर्देशक, डा. नोरा डि. भल्कफले हालै अमेरिकी संसद्‌ सुनुवाइको बेला भनेकी थिइन्‌। बेलाइतमा पनि स्टेरोइडको अत्यधिक दुरुपयोग भइरहेको छ। न्यु स्टेट्‌सम्यान खबरपत्रिकाअनुसार “सन्‌ २००३ मा बेलाइतको मर्जिसाइड अनि चेस्टरमा सञ्चालित सुई साट्‌ने कार्यक्रमबाट लाभ उठाउनेहरूमध्ये हेरोइन लिनेहरूभन्दा स्टेरोइड लिनेहरूको संख्या पहिलो चोटि धेरै भयो।”a

स्टेरोइडप्रतिको आकर्षण

किन स्टेरोइडको यति बिघ्न दुरुपयोग? एउटा कारण त, सफल खेलाडीले स्टेरोइड लिएर एक पलमै नाम अनि दाम दुवै कमाउन सक्नु हो। स्टेरोइड मालामाल हुने चोर बाटो हो। आजभोलि धेरैजसो खेलाडीहरूको मनोवृत्ति नै “सकेसम्म जित्ने नभएर हर हालतमा जित्ने” भइसकेको छ भनी एक नामी खेलकुद कोच टिप्पणी गर्छन्‌। माथि उल्लिखित भल्कफ यसो भन्छिन्‌: “खेलमा सिपालु हुनु होइन कि पुष्ट जिउडाल भएको तागतवार खेलाडी हुनु राम्रो भन्‍ने धारणा समाजमा व्याप्त भइसकेको छ। मानिसहरू जेसुकै गर्नु परे पनि सबैभन्दा पहिलो, सबैभन्दा माथि र सबैभन्दा अगाडि हुनु बढी महत्त्वपूर्ण ठान्छन्‌।”

खेल चिकित्सक बब गोल्डम्यानले गरेको सर्वेक्षणले खेलकुदको यो अँध्यारो पक्षलाई सत्य साबित गर्छ। खेलकुदमा अरूभन्दा तेज अथवा बलियो बनाउने प्रतिबन्धित औषधी लिन को-को तयार छन्‌ भनेर तिनले जवान खेलाडीहरूलाई सोधेका थिए। तिनको सर्त थियो: पाँच वर्षसम्म कुनै खेलमा हार्नै नपर्ने, प्रतिबन्धित औषधी प्रयोग गरेकोमा पक्राउ पनि नपर्ने। तर त्यसपछि भने, औषधीको साइड इफेक्टले गर्दा ज्यान ज्याने। अचम्मलाग्दो कुरा, सर्वेक्षण लिइएका आधाभन्दा धेरै खेलाडीहरूले त्यस्तो औषधी लिने इच्छा देखाए।

तथापि, स्टेरोइडको आकर्षण हर हालतमा खेल जित्न खोज्ने युवायुवतीहरूमा मात्रै सीमित छैन। भल्कफ भन्छिन्‌: “[स्टेरोइडले] शारीरिक क्षमता बढाउनुका साथै बनौटलाई पनि राम्रो बनाउने भएकोले केही व्यक्‍तिहरू स्टेरोइड लिन चाहन्छन्‌।” आज प्रायजसो समाजमा शारीरिक सौन्दर्यलाई निकै महत्त्व दिइन्छ। हार्वड मेडिकल स्कूलको मनोविज्ञानका प्रोफेसर डा. ह्‍यारिसन पोप यस्तो दाबी गर्छन्‌: “समाजले शारीरिक सौन्दर्यमाथि बढ्‌तै जोड दिन थालेकोले लाखौं पुरुषहरू हीन भावले ग्रस्त छन्‌। आफ्नो शारीरिक बनौटले गर्दा उनीहरूले आत्म-सम्मान गुमाएका छन्‌।” यस किसिमको दबाबले पिल्सिरहेको युवकका लागि स्टेरोइड आत्म-सम्मान बढाउने एक मात्र मौका साबित हुन सक्छ।

युवकहरू मात्र होइन युवतीहरू पनि आफ्नो सौन्दर्य निखार्न स्टेरोइडको पासोमा पर्न सक्छन्‌। अमेरिकाको पेन्सिल्भेनिया राज्य विश्‍वविद्यालयमा स्वास्थ्य अनि मानव विकास विषयका प्रोफेसर चार्ल्स यसालस स्टेरोइडको दुरुपयोगबारे यस्तो टिप्पणी गर्छन्‌: “सन्‌ नब्बेको दशकतिर स्टेरोइड लिने युवतीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको थियो। अहिले आएर त्यो संख्या शिखरमा पुगेको छ।” केही युवतीहरू खेलकुदमा अरूभन्दा छिटोछरितो हुन स्टेरोइड लिन्छन्‌। तथापि, धेरैजसो युवतीहरूले स्टेरोइड लिनुको अर्कै कारण छ। उनीहरू फिल्मी दुनियाँका अभिनेत्री अनि नामी मोडलको जस्तो सलक्क परेको अनि कस्सिएको जिउडाल चाहन्छन्‌। रटगर्स विश्‍वविद्यालयका जेफ होर्गअनुसार “युवतीहरू आफ्नो वजनलाई नियन्त्रणमा राख्न र शरीरको बोसो घटाउन” स्टेरोइड प्रयोग गर्छन्‌।

स्टेरोइडका खतरा

यदि तपाईं चिकित्सकको सिफारिसविना स्टेरोइड लिने विचार गर्दै हुनुहुन्छ भने त्यसले पुऱ्‍याउने हानिबारे केही कुरा विचार गर्नुहोस्‌। दुई/चार पटक मात्र स्टेरोइड लिंदा पनि हृदयघात हुने, कलेजो अनि मृगौला बिग्रने र गम्भीर मानसिक समस्याहरू देखा पर्ने सम्भावना बढ्‌छ। युवतीले स्टेरोइड लिएको खण्डमा महिनावारीमा अनियमितता आउँछ, शरीरमा रौं धेरै बढ्‌छ, लोग्नेमान्छेको जस्तो तालु खुइलनुका साथै आवाज पनि सधैंको लागि लोग्नेमान्छेकै जस्तो हुनसक्छ। अर्कोतर्फ स्टेरोइड लिने युवकको आइमाईको जस्तै स्तन बढ्‌नुका साथै अण्डकोष पनि सुकेर जान सक्छ। स्टेरोइड लिएपछि युवायुवती दुवैले विनाकारण झडङ्‌ग रिसाउने स्वभाव बढ्‌न थालेको अनुभव गर्न सक्छन्‌। यो कुरा सुन्दा तपाईंलाई अनौठो लाग्ला, आफ्नो शारीरिक बनौट राम्रो होला भनेर स्टेरोइड लिंदा वास्तवमा हुर्किरहेका किशोरकिशोरीहरूको शारीरिक वृद्धिलाई नै रोक्न सक्छ।

यदि तपाईं यहोवा परमेश्‍वरलाई प्रसन्‍न राख्न चाहने युवक वा युवती हुनुहुन्छ भने बाइबलले स्टेरोइडको अवैध प्रयोगबारे के भन्छ, पक्कै बुझ्न चाहनुहुन्छ होला। जीवन यहोवाको देन हो भनेर बाइबलले प्रस्टै बताएको छ। (प्रेरित १७:२५) तसर्थ, माथि चर्चा गरेजस्तै, स्टेरोइडको अवैध प्रयोग गर्ने युवायुवतीले आफ्नो शरीरलाई हानि पुऱ्‍याइरहेको हुन्छ। आफैलाई सोध्नुहोस्‌, ‘मेरो शरीरलाई हानि गर्ने औषधी लिएर के मैले “आश्‍चर्य रीतिले बनिएको” मेरो शरीर बनाउनुहुने यहोवा परमेश्‍वरको सम्मान गरिरहेको हुन्छु?’—भजन १३९:१४.

विचार गर्नुपर्ने अर्को पक्ष स्टेरोइडको प्रयोगपछि देखा पर्ने क्रुद्ध हुने बानी पनि हो। बुद्धिमान्‌ राजा सुलेमान यसो भन्छन्‌: “गरम-मिजास भएको मानिसले धेरै खराब काम गर्छ।” (हितोपदेश २९:२२) अचाक्ली रिसाउने बानी हुने मानिसहरूले परमेश्‍वरको राज्यमा प्रवेश पाउने छैनन्‌ भनेर प्रेरित पावलले चेतावनी दिएका छन्‌। (गलाती ५:१९-२१) त्यसोभए के क्षणिक लाभका लागि स्टेरोइड लिएर खतरा मोल्नु बुद्धिमानी कुरा हो त?

खेलकुदमा अगाडि बढ्‌न स्टेरोइड लिन सकसकी लागिरहेको छ भने नि? हामी “सबै कुरामा इमान्दारीसाथ” चल्नै पर्छ भनेर बाइबलले स्पष्ट पारेको छ। (हिब्रू १३:१८) तपाईंले खेलमा पाउनुभएको सफलताको कारक स्टेरोइड हो भने, के अरू प्रतिस्पर्धी वा आफैसित इमान्दार व्यवहार गरेको हुन्छ र?

तपाईंका कुनै-कुनै मित्रले तपाईंको शारीरिक सौन्दर्य हेरेर व्यवहार गर्ला। तर यहोवाले त्यसो गर्नुहुन्‍न भनेर नबिर्सनुहोस्‌। उहाँ जिउको बनौट हेरेर हाम्रो मोल गर्नुहुन्‍न। दाऊदलाई इस्राएलको राजा चुन्‍नु हुँदा यहोवाले अगमवक्‍ता शमूएललाई दाऊदको दाजुको सुन्दरतादेखि प्रभावित नहुन यस्तो चेतावनी दिनुभएको थियो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्‌। म त्यसलाई इन्कार गर्छु। परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।”—१ शमूएल १६:७.

तपाईं यहोवाको सेवक हुनुहुन्‍न भने पनि स्टेरोइडको आकर्षणले अन्धा नहुनु नै बेस हुन्छ। कलेजबाट फुटबल खेल्ने एक अमेरिकी खेलाडी यस्तो व्यावहारिक सल्लाह दिन्छन्‌: “तपाईं स्टेरोइड लिने दबाबमा पर्न चाहनुहुन्‍न भने स्टेरोइड लिनेहरूसित संगतै नगर्नुहोस्‌। स्टेरोइडले ‘फाइदा’ हुन्छ भनेर जसले जतिसुकै बखान गरे पनि, वास्तवमा ती सब फोस्रा कुरा हुन्‌।” (g05 12/22)

[फुटनोट]

a स्टेरोइड प्रायः सुई घोचेर लिइन्छ। एउटै सुई प्रयोग गरेर स्टेरोइड लिने मानिसहरूलाई एच आइ भी वा रगतद्वारा सर्ने अन्य रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ।

[पृष्ठ २४-मा भएको चित्र]

आफ्नो शारीरिक बनौटलाई आकर्षक बनाउन केही युवतीहरू स्टेरोइड लिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने