प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अक्टोबर pp. ८-९
  • छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • आत्मसंयम देखाउनुका फाइदाहरू
    ब्यूँझनुहोस्‌!—२०१९
  • इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आत्मसंयम विकास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अक्टोबर pp. ८-९
सानी केटी रिसले चूर भएर भाइतिर औंला तेर्साउँदै आमासँग कराउँछे

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्‌

चुनौती

तपाईंको ६ वर्षको छोरालाई आत्मसंयमबारे केही थाह छैन। आफूलाई मन पर्ने कुरा देख्यो भने उसलाई तुरुन्तै चाहिन्छ। ऊ रिसायो भने चिच्याउन थाल्छ। तपाईंलाई लाग्ला, ‘के सबै बच्चाहरू यस्तै हुन्छन्‌? यो आफै छुट्‌ने बानी हो कि आत्मसंयम देखाउन मैले सिकाउनुपर्ने हो?’a

तपाईंले के बुझ्नुपर्छ?

अहिलेको संसारले आत्मसंयम देखाउन प्रोत्साहन दिंदैन। डा. डेभिड वल्स लेख्छन्‌, “अहिलेको संसारमा वयस्क र बच्चाहरूले आफूलाई जे मनपर्छ, त्यो गर्नुपर्छ भनेर सुन्‍ने गर्छन्‌।”b

सानैदेखि आत्मसंयम देखाउन सिकाउनु जरुरी छ। अनुसन्धानकर्ताहरूले लामो समय लगाएर एउटा अध्ययन गरे जसमा चार वर्षका बच्चाहरूको समूहलाई एउटा-एउटा मिठाई दिइयो। तिनीहरूले त्यो मिठाई तुरुन्तै पनि खान सक्छन्‌ तर केही समय पर्खेमा इनामस्वरूप अर्को एउटा मिठाई दिइनेछ भनियो। चार वर्षको उमेरमा आत्मसंयम देखाएका केटाकेटीहरूले किशोरावस्थामा पुगिसकेपछि भावनात्मक, सामाजिक र शैक्षिक क्षेत्रमा उनीहरूको समूहमा भएका अन्य केटाकेटीले भन्दा राम्रो गर्दै थिए।

आत्मसंयम देखाउन नसिकाउँदा ठूलो मोल चुकाउनुपर्ने हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार केटाकेटीहरूको अनुभवले तिनीहरूको मस्तिष्कमा प्रभाव पार्न सक्छ। यसबारे डा. डान किन्ड्‌लन लेख्छन्‌, “केटाकेटीलाई तिनीहरूले मागेको सबै कुरा दियौं अनि धैर्य गर्न र प्रलोभनको प्रतिरोध गर्न सिकाएनौं भने तिनीहरू बलियो स्वभावको व्यक्‍ति बन्‍न सक्दैनन्‌।”c

तपाईं के गर्न सक्नुहुन्छ?

उदाहरण बसाल्नुहोस्‌। आत्मसंयम देखाउने सन्दर्भमा तपाईंले कस्तो उदाहरण बसाल्नुभएको छ? ट्राफिक जाम हुँदा, कसैले पालो मिच्दा वा कुराकानी बीचैमा काट्‌दा तपाईं झडङ्‌ङ रिसाउनुभएको छोराछोरीले देखेका छन्‌ कि? किन्ड्‌लन लेख्छन्‌, “छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउने सबैभन्दा राम्रो तरिका तपाईं आफैले त्यसो गर्नु हो।”—बाइबल सिद्धान्त: रोमी १२:९.

नतिजाबारे केटाकेटीलाई बताउनुहोस्‌। आफ्नो चाहना तुरुन्तै पूरा नगर्दा हुने फाइदा र तुरुन्तै पूरा गर्दा हुने बेफाइदाबारे केटाकेटीको उमेरलाई ध्यान दिंदै बताउनुहोस्‌। जस्तै: कसैले तपाईंको छोरा वा छोरीलाई नराम्रो व्यवहार गऱ्‍यो र ऊ रिसायो भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्न लगाउनुहोस्‌, ‘जस्तालाई तस्तै गर्दा अवस्था राम्रो हुन्छ कि झन्‌ बिग्रन्छ? समस्या समाधान गर्ने अर्को राम्रो तरिका छ कि? सायद एकदेखि दस गनेर रिस मर्न दिनु अथवा त्यो ठाउँ छोडेर जानु बेस हो कि?’—बाइबल सिद्धान्त: गलाती ६:७.

केटाकेटीलाई प्रोत्साहन दिनुहोस्‌। केटाकेटीले आत्मसंयम देखाउँदा उसको प्रशंसा गर्नुहोस्‌। आफ्ना चाहनाहरू दबाउन सधैं सजिलो हुँदैन तर यसो गर्नु भनेको साहस देखाउनु हो भनेर उसलाई बताउनुहोस्‌। बाइबल यसो भन्छ, “जुन मानिसले आफ्नो रिस थाम्न सक्दैन, त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खालविनाको सहरजस्तै हो।” (हितोपदेश २५:२८) तर त्यसको विपरीत “आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।”—हितोपदेश १६:३२, NRV.

अभ्यास गर्नुहोस्‌। “तिमी भएको भए के गर्थ्यौ?” वा “असल छनौट, खराब छनौट” भन्‍नेजस्ता खेल खेलाउनुहोस्‌। खेलमा विभिन्‍न अवस्था सृजना गर्नुहोस्‌ र त्यस्तो अवस्थामा तपाईंको छोरा वा छोरीले देखाउने प्रतिक्रियालाई “असल” वा “खराब” भनेर इङ्‌गित गर्नुहोस्‌। सृजनात्मक हुनुहोस्‌: खेल रमाइलो र जानकारीमूलक बनाउन गुडिया, चित्र वा यस्तै अरू केही प्रयोग गर्न सक्नुहुन्छ। तपाईंको उद्देश्‍य छोराछोरीलाई आत्मसंयम गुमाउनुभन्दा देखाउनु राम्रो हो भनेर बुझाउनु हो।—बाइबल सिद्धान्त: हितोपदेश २९:११.

धैर्य गर्नुहोस्‌। बाइबल भन्छ, “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ।” (हितोपदेश २२:१५) छोराछोरीले रातारात आत्मसंयम देखाउन सिक्लान्‌ भनेर आशा नगर्नुहोस्‌। केटाकेटीको बारेमा लेखिएको एउटा किताबd यसो भन्छ, “आत्मसंयमजस्तो गुण विकास गर्न धेरै समय लाग्छ। कहिले विफल भइन्छ त कहिले सफल। तर कोसिस गरिरहनु बेस हो। आत्मसंयम देखाउन सक्ने केटाकेटीहरू १२ वर्षमा लागूपदार्थ सेवन गर्ने वा १४ वर्षमा यौनसम्बन्ध राख्ने स्थितिमा पुग्दैनन्‌।” (g15-E 08)

a यस लेखमा बच्चालाई छोरा भनेर सम्बोधन गरिएको छ। तर यहाँ छलफल गरिएको सिद्धान्त छोराछोरी दुवैमा लागू हुन्छ।

b No: Why Kids—of All Ages—Need to Hear It and Ways Parents Can Say It भन्‍ने किताबबाट साभार।

c Too Much of a Good Thing—Raising Children of Character in an Indulgent Age भन्‍ने किताबबाट साभार।

d Teach Your Children Well

मूल शास्त्रपद

  • “तिमीहरूको प्रेम कपटरहित होस्‌।”—रोमी १२:९.

  • “मानिसले जे छर्दैछ, त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७.

  • “मूर्ख मानिसले रिस पोखाउँछ, तर बुद्धिमान्‌ मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।”—हितोपदेश २९:११.

असल व्यवहार देखाउँदा इनाम दिनुहोस्‌

एक-दुई वर्षका केटाकेटीले समेत आत्मसंयम देखाउन सिक्न सक्छन्‌। एउटा किताबe भन्छ, “पसल जाँदा तपाईंको बच्चा मिठाईको लागि रोइकराइ गर्छ र तपाईं दिनुहुन्छ भने आफूले चाहेको कुरा पाउने प्रभावकारी तरिका रुनु हो भनेर उसलाई सिकाइरहनुभएको हुनेछ। अर्को चोटि केही चाहिएमा उसले फेरि रोइकराइ गर्नेछ किनभने पहिला त्यसै गर्दा उसको माग पूरा भएको थियो। बरु उसले राम्रो व्यवहार देखाएमा इनाम दिनुहोस्‌। बच्चाले रोइकराइ गर्दा थुप्रै आमाबुबा उसको माग पूरा गरिदिन्छन्‌। किनभने यसो गर्नु सजिलो लाग्न सक्छ अथवा बच्चालाई कुनै कुराबाट वञ्चित गर्नु राम्रो होइन जस्तो लाग्न सक्छ। तर उसको हरेक माग पूरा गरिदिनुभयो भने उसलाई झन्‌ धेरै कुराबाट वञ्चित गरिरहनुभएको हुनेछ। चाहिएको कुरा मीठो बोली बोलेर माग्ने बच्चालाई इनाम दिंदा उसले समाजमा घुलमिल हुन र आत्मसंयम देखाउन सिकिरहेको हुन्छ।”

e Generation Me

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने