प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अक्टोबर pp. ३-६
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पैसा र पूर्वाग्रह
  • बाइबल के भन्छ?
  • तपाईं पैसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
  • के रुपैयाँ-पैसा सबै किसिमका खराबीको जरा हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पैसाको सदुपयोग कसरी गर्ने?
    सुखी परिवार तर कसरी?
  • पैसाप्रति कस्तो दृष्टिकोण राख्नु बुद्धिमानी हो?
    ब्यूँझनुहोस्‌!—२००७
  • तपाईं कसरी रूपैयाँपैसाप्रति सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अक्टोबर pp. ३-६
एक जना मानिस पैसाको चाङ हेर्दै

आवरण लेख

पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌

मानिसहरू भन्‍ने गर्छन्‌, “जे गर्छ पैसाले गर्छ।” यो भनाइ केही हदसम्म सही पनि हो। आखिर पैसा छ भने मात्र हामी खानेकुरा र लुगाफाटा किन्‍न सक्छौं। घर भाडा तिर्न अथवा घर किन्‍न पनि पैसा नै चाहिन्छ। एक आर्थिक सम्पादकले यसो भने, “समाजमा पैसाले महत्त्वपूर्ण स्थान ओगटेको छ। पैसाको प्रयोग नै हटाइयो भने मानिसहरूबीच त्रास छाउन र युद्ध मच्चिन एक महिना पनि लाग्दैन।”

तर पैसा नै सब थोक होइन। नर्वेली कवि आर्न गाबोर्गअनुसार पैसाले “खाना किन्‍न सकिन्छ तर भोक किन्‍न सकिंदैन; औषधी किन्‍न सकिन्छ तर स्वास्थ्य किन्‍न सकिंदैन; आरामदायी ओछ्यान किन्‍न सकिन्छ तर निद्रा किन्‍न सकिंदैन; ज्ञान किन्‍न सकिन्छ तर बुद्धि किन्‍न सकिंदैन; चमकदमक किन्‍न सकिन्छ तर सौन्दर्य किन्‍न सकिंदैन; आकर्षण किन्‍न सकिन्छ तर न्यानोपन किन्‍न सकिंदैन; रमाइलो किन्‍न सकिन्छ तर आनन्द किन्‍न सकिंदैन; मान्छे किन्‍न सकिन्छ तर घनिष्ठ साथी किन्‍न सकिंदैन; नोकर किन्‍न सकिन्छ तर वफादारी किन्‍न सकिंदैन।”

पैसाप्रति सही दृष्टिकोण राखेमा धेरै हदसम्म सन्तुष्ट हुन सकिन्छ। पैसाप्रति सही दृष्टिकोण राख्नु भनेको यसलाई सब थोक सम्झनुको साटो आवश्‍यकता टार्ने माध्यमको रूपमा हेर्नु हो। बाइबल यसो भन्छ, ‘पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोहीले थुप्रै पीडाले आफूलाई चोटै-चोट पुऱ्‍याएका छन्‌।’—१ तिमोथी ६:१०.

हानि पैसाले होइन, पैसाको प्रेमले गर्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। पैसालाई धेरै महत्त्व दिंदा परिवारका सदस्यहरू र साथीभाइबीच फाटो आउन सक्छ। केही अनुभव विचार गरौं।

पैसा झरेर थुप्रो बन्दै

देवेन्द्र:a “मेरो साथी श्‍याम मिलनसार र इमानदार छ जस्तो लाग्थ्यो। ऊसित मेरो कुनै समस्या थिएन। तर उसले मेरो कार किनेपछि समस्या सुरु भयो। कार ठीकठाक छ भनेर मलाई थाह थियो। कार अहिलेकै अवस्थामा किन्‍ने अनि भविष्यमा कुनै समस्या देखा परेमा फिर्ता गर्ने सर्तमा उसले किन्‍न चाह्‍यो। हामीले कागजपत्र पनि तयार पाऱ्‍यौं। उसले कार किन्यो तर तीन महिनापछि त्यो बिग्रियो। आफू ठगिएको जस्तो श्‍यामलाई लागेछ अनि उसले पैसा फिर्ता गर्न मलाई कर गऱ्‍यो। म त छक्कै परें। यसबारे ऊसित कुराकानी गर्न खोज्दा ऊ रिसले चूर भयो। पैसाको मामिलाले गर्दा श्‍याम मैले सोचेजस्तो मिलनसार रहेन।”

कमला: “सृजना मेरी कान्छी बहिनी हो। हामी असाध्यै मिल्थ्यौं। त्यसैले हामीबीच पैसाको विषयमा झगडा पर्ला भनेर मैले सपनामा पनि सोचेकी थिइनँ। तर त्यस्तै भयो। आमाबुबाको मृत्युपछि उहाँहरूले म र बहिनीको लागि छोडेर जानुभएको केही रकम भागबन्डा गर्नुपर्ने भयो। उहाँहरूको इच्छाअनुसार रकम दुई जनाबीच बराबर बाँड्‌नुपर्थ्यो। आमाबुबाको इच्छाविपरीत बहिनीले आफ्नो भागभन्दा बढी रकम लिन खोजी। तर म आमाबुबाको इच्छाअनुसार गर्न चाहन्थें। त्यसैले ऊ मसित असाध्यै रिसाई अनि मलाई धम्की पनि दिई। यसले गर्दा अहिलेसम्म पनि हाम्रो सम्बन्ध चिसिएको छ।”

पैसा र पूर्वाग्रह

पैसाप्रति सही दृष्टिकोण नराख्ने मानिसहरूले अरूको आलोचना गर्न सक्छन्‌। उदाहरणको लागि, कुनै धनी व्यक्‍तिले गरिबहरू काम गर्न अल्छी मान्छन्‌ भन्‍ने सोचाइ राख्न सक्छ। अथवा कुनै गरिबले चाहिं धनीहरू भौतिकवादी र लोभी हुन्छन्‌ भन्‍ने सोचाइ राख्न सक्छ। सर्मिला धनी परिवारमा हुर्केकी किशोरी हुन्‌। उनी पूर्वाग्रहको सिकार भएकी थिइन्‌। उनी भन्छिन्‌:

पैसाबारे बाइबलमा पाइने सल्लाह बाइबल लेखिंदा जत्ति उपयोगी थियो, आज पनि त्यत्तिकै उपयोगी छ

“म पैसावालकी छोरी भनेर चिनिन्थें। त्यसैले मैले साथीहरूबाट यस्तो भनाइ सुन्‍नुपर्थ्यो, ‘तिमीलाई केही चाहियो भने तिम्रो बुबा छँदै छ नि’ वा ‘हामी तिमीजस्तो धनी छैनौं र तिमीहरूको जस्तो राम्रो गाडी किन्‍ने हाम्रो औकात पनि छैन।’ केही सीप नलागेपछि साथीहरूलाई त्यस्तो टिकाटिप्पणी नगर्नू भनें अनि त्यस्तो टिकाटिप्पणीले मेरो चित्त दुख्छ भनेर पनि बताएँ। अरूहरूले मलाई पैसावाल भनेर होइन, तर दयालु व्यक्‍ति भनेर चिनेको चाहन्छु।”

बाइबल के भन्छ?

बाइबलले पैसा कमाउनु गलत हो भन्दैन वा धेरै पैसा भएको मानिसको आलोचना पनि गर्दैन। पैसा कति छ, त्यो मुख्य कुरा होइन। बरु आफूसित भएको पैसा र आफूले हासिल गर्न खोजेको कुराप्रति कस्तो मनोवृत्ति छ, त्योचाहिं मुख्य कुरा हो। बाइबलले पैसाबारे सही दृष्टिकोण राख्न सल्लाह दिन्छ। पैसाबारे बाइबलमा पाइने सल्लाह बाइबल लेखिंदा जत्ति उपयोगी थियो, आज पनि त्यत्तिकै उपयोगी छ। केही उदाहरण विचार गरौं।

बाइबल भन्छ: “धन-सम्पत्ति कमाउनको निम्ति कमाराजस्तै नघोटी।”—हितोपदेश २३:४.

एउटा किताबअनुसारb पैसा कमाउनमै लग्गू हुने मानिसहरू ‘मानसिक रूपमा स्वस्थ हुँदैनन्‌। यति मात्र होइन, तिनीहरूलाई घाँटी, ढाड र टाउको दुख्नेजस्ता थुप्रै समस्या पनि हुन्छन्‌। साथै तिनीहरू अत्यधिक रक्सी पिउँछन्‌ र लागूपदार्थ सेवन गर्छन्‌। आर्थिक अवस्था राम्रो बनाउने धुनमा तिनीहरूको सुख-चैन हरण हुन्छ।’

बाइबल भन्छ: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, बरु अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।”—हिब्रू १३:५.

आफूसित भएको कुरामा सन्तुष्ट हुने मानिस आफ्नो आर्थिक अवस्थाबारे अनावश्‍यक चिन्ता-फिक्री गर्दैन किनकि जीवनमा महत्त्वपूर्ण कुरा कुन हो भनेर उसले बुझेको हुन्छ। उदाहरणको लागि, सन्तुष्ट मानिस आफ्नो आर्थिक अवस्था कमजोर हुँदा चिन्तामा डुब्दैन। त्यसको विपरीत उसले पावलले भनेजस्तै यस्तो मनोवृत्ति राख्छ, “अभावमा कसरी जीवन बिताउने, त्यो मलाई थाह छ अनि प्रशस्ततामा कसरी जीवन बिताउने, त्यो पनि मलाई थाह छ। पेट टन्‍न हुँदा होस्‌ वा भोकै रहँदा अनि प्रशस्ततामा होस्‌ वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु।”—फिलिप्पी ४:१२.

बाइबल भन्छ: “आफ्नो धन-सम्पत्तिमा भरोसा गर्नेको पतन हुन्छ।”—हितोपदेश ११:२८.

अनुसन्धानकर्ताहरूको भनाइअनुसार वैवाहिक जीवनमा मनमुटाव भएर सम्बन्धविच्छेदको हदसम्म पुऱ्‍याउने एउटा कारण पैसाको समस्या पनि हो। साथै आत्महत्या गर्नुको एउटा कारण पनि पैसाको समस्या नै हो। कसै-कसैलाई आफ्नो वैवाहिक सम्बन्ध र आफ्नो ज्यानभन्दा पनि पैसा नै महत्त्वपूर्ण लाग्छ। तर पैसाप्रति सन्तुलित दृष्टिकोण राख्नेहरू पैसामा मात्र भर पर्दैनन्‌। तिनीहरूले येशूको यो कुरा सही हो भनेर बुझेका छन्‌, “मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।”—लूका १२:१५.

तपाईं पैसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

एक जना मानिस पैसाको चाङको छेउमा उभिएर आफूलाई ऐनामा जाँच्दै

आफैलाई निम्न प्रश्‍नहरू सोधेर परीक्षण गर्नुभयो भने पैसाप्रति सही दृष्टिकोण राख्न मदत पाउनुहुनेछ:

  • के म छिट्टै धनी हुने योजनाहरूमा मन लगाउँछु?

  • के म कन्जुस छु?

  • के म पैसाबारे र आफ्नो जायजेथाबारे मात्र कुराकानी गर्ने मानिसहरूसित धेरै सङ्‌गत गर्छु?

  • के म पैसा कमाउन झूट बोल्छु अथवा अन्य अनैतिक तौरतरिका अपनाउँछु?

  • कतै पैसाले गर्दा म आफूलाई विशेष व्यक्‍ति पो ठान्छु कि?

  • के म जहिले पनि पैसाकै बारेमा मात्र सोच्ने गर्छु?

  • पैसाप्रति मेरो मनोवृत्तिले मेरो स्वास्थ्य र पारिवारिक जीवनलाई नराम्रो असर पो गरिरहेको छ कि?

    अरूलाई दिएर उदारता देखाउनुहोस्‌

यी प्रश्‍नहरूमध्ये कुनैको सकारात्मक जवाफ आउँछ भने भौतिकवादी नहुन र त्यसको पासोमा नपर्न प्रयत्न गर्नुहोस्‌। पैसा र भौतिक सरसाधनलाई अत्यन्तै महत्त्व दिने मानिसहरूसँग सङ्‌गत गर्नबाट जोगिनुहोस्‌। त्यसको साटो नैतिक मूल्यमान्यतालाई महत्त्व दिने मानिसहरूसित सङ्‌गत गर्नुहोस्‌।

पैसाको प्रेमलाई मनमा जरा गाड्‌न नदिनुहोस्‌। पैसालाई भन्दा आफ्नो परिवार, साथीभाइ र स्वास्थ्यलाई महत्त्व दिनुहोस्‌। यसो गर्नुभयो भने पैसाप्रति सही दृष्टिकोण राखेको देखाउन सक्नुहुन्छ।(g15-E 09)

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

b The Narcissism Epidemic

दुई जना स्त्री एकअर्कालाई रिसले हेर्दै

पैसाभन्दा परिवार महत्त्वपूर्ण छ

“हालै बुबाले मेरो अंशबाट केही रकम घटाएर भाइबहिनीलाई थपिदिने इच्छा व्यक्‍त गर्नुभयो। हामीले त्यसबारे कुरा पनि गऱ्‍यौं। उहाँले त्यसो गर्नुको कारण मैले बुझें र उहाँको निर्णयसित सहमत भएँ। पैसाजस्तो सामान्य कुराले परिवारमा फुट ल्याउन म कहिल्यै दिनेछैन।”—५५ वर्षीय होस्वा।

पैसा र भेदभाव

“गरिब मानिस आफ्नै मित्रको निम्ति अप्रिय हुन्छ, तर धनीको ता धेरै मित्रहरू हुन्छन्‌।”—हितोपदेश १४:२०.

यो शास्त्रपदले बताएजस्तै पैसाप्रतिको हाम्रो दृष्टिकोणले मानिसहरूसित गर्ने हाम्रो व्यवहारलाई असर गर्न सक्छ। उदाहरणको लागि, थोरै पैसा भएको र हामीलाई खासै मदत गर्न नसक्ने व्यक्‍तिलाई मन नपराउने झुकाव हामीमा हुन सक्छ। अर्कोतर्फ धनी व्यक्‍तिबाट पैसा अथवा अरू केही पाउन आफूलाई तिनको नजरमा प्रिय बनाउने झुकाव हामीमा आउन सक्छ।

बाइबलले भेदभाव गर्ने मानिसहरूको निन्दा गर्छ, चाहे तिनीहरूले गरिबहरूलाई हेला गरून्‌ या “आफ्नो मतलब पूरा गर्न चापलुसी” गरून्‌। (यहूदा १६; यशैया १०:१, २) सबैलाई समान नजरले हेर्ने र सबैसित समान व्यवहार गर्ने सङ्‌कल्प गर्नुहोस्‌।

बाइबलले दिने बुद्धि

बाइबल यसो भन्छ . . .

  • “रुपियाँपैसा एउटा आश्रय हो।”—उपदेशक ७:१२, NRV.

बाइबल यस्तो चेतावनी दिन्छ . . .

  • “छिट्टै धनी हुन खोज्नेले दण्ड पाउनेछ।”—हितोपदेश २८:२०.

  • “जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौं मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌।”—१ तिमोथी ६:९.

त्यसकारण बाइबल यस्तो प्रोत्साहन दिन्छ . . .

  • “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌।”—हिब्रू १३:५.

  • “हर प्रकारको लालचबाट आफूलाई जोगाओ किनभने मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।”—लूका १२:१५.

  • “भलाइ गर्न अनि अरूसित बाँडचुँड गर्न नबिर्स।”—हिब्रू १३:१६.

यसो गर्दा कस्तो फाइदा हुन्छ?

  • “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

  • “उदार मानिसको उन्‍नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।”—हितोपदेश ११:२५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने