बाइबलको दृष्टिकोण
क्रस
थुप्रै मानिसहरू क्रसलाई ख्रीष्टियन धर्मको चिन्हको रूपमा लिन्छन्। तर क्रस लगाउनुपर्छ अथवा यसलाई घरमा र चर्चमा झुन्ड्याउनुपर्छ भनेर चाहिं सबै जना मानिलिंदैनन्।
के येशूलाई क्रसमा झुन्ड्याएर मारिएको थियो?
मानिसहरू के भन्छन्?
रोमीहरूले येशूलाई दुइटा काठ जोडेर बनाइएको क्रसमा झुन्ड्याएर मारे।
बाइबल के भन्छ?
येशूलाई “खम्बामा टाँगेर” मारिएको थियो। (प्रेषित ५:३०) येशूलाई झुन्ड्याउन प्रयोग गरिएको साधनलाई बुझाउन बाइबलका लेखकहरूले दुई वटा शब्द प्रयोग गरेका छन्: स्टाउरोस र जाइलन। ती दुवै शब्दले एउटा सिङ्गो काठ वा खम्बालाई बुझाउँछ, दुइटा काठलाई होइन। पुरातन समयमा क्रसमा टाँग्ने चलन (अङ्ग्रेजी) भन्ने किताबअनुसार ग्रीक शब्द स्टाउरोस-ले खम्बालाई बुझाउँछ, ‘क्रसलाई’ होइन। प्रेषित ५:३० मा चलाइएको जाइलन शब्दले “रोमीहरूले अपराधीहरूलाई झुन्ड्याउन प्रयोग गर्ने एउटा ठाडो खम्बा वा काठलाई बुझाउँछ।”a
पुरातन इस्राएली नियमसित येशूलाई मारिएको तरिका मेल खाएको कुरा बाइबलले बताउँछ। उक्त नियम यस्तो थियो: “कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई रूखमा झुण्डायौ भने . . . जो झुण्डाइन्छ त्यो परमेश्वरबाट श्रापित हुन्छ।” (व्यवस्था २१:२२, २३) यही नियमको आधारमा येशूको चेला पावलले यसो भने: ‘ख्रीष्ट हाम्रो सट्टामा आफै श्रापित हुनुभयो। किनभने यस्तो लेखिएको छ: “खम्बामा [जाइलन] टाँगिएको हरेक मानिस श्रापित होस्।”’ (गलाती ३:१३) पावलको यो शब्दबाट येशू खम्बामा अर्थात् काठको एउटा फल्याकमा मारिनुभयो भनेर बुझ्न सक्छौं।
“उहाँलाई तिनीहरूले काठमा झुण्डाएर . . . मारे।”—प्रेषित १०:३९, RV.
के येशूका चेलाहरूले ईश्वरको उपासनामा वा ख्रीष्टियन धर्मको चिनारीको रूपमा क्रसको प्रयोग गर्थे?
बाइबल के भन्छ?
सुरु-सुरुका ख्रीष्टियनहरूले धार्मिक चिनारीको रूपमा क्रस चलाएको कुरा बाइबलमा कतै पनि पाइँदैन। बरु त्यस समयका रोमीहरूले चाहिं आफ्ना देवी-देवतालाई चिनाउन क्रसको आकृति प्रयोग गर्थे। अनि येशूको मृत्यु भएको लगभग ३०० वर्षपछि रोमी सम्राट् कन्स्टान्टिनले क्रसलाई आफ्ना सेनाहरूको प्रतीकको रूपमा प्रयोग गरे। त्यसबेलादेखि क्रस “ख्रीष्टियन” चर्चसँग सम्बन्धित हुन थाल्यो।
गैर-ख्रीष्टियनहरूले आफ्ना देवताहरूको उपासनामा क्रस प्रयोग गर्थे। त्यसोभए के येशूका चेलाहरूले पनि साँचो परमेश्वरको उपासना गर्नलाई क्रस चलाए होलान् र? परमेश्वरले कुनै पनि वस्तुको “प्रतिमा बनाएर” गरिएको उपासनालाई तिरस्कार गर्नुहुन्छ र ख्रीष्टियनहरू ‘मूर्तिपूजाबाट भाग्नुपर्छ’ भन्ने कुरा ती चेलाहरूले राम्रोसँग बुझेका थिए। (व्यवस्था ४:१५-१९; १ कोरिन्थी १०:१४) “परमेश्वर अदृश्य व्यक्ति हुनुहुन्छ।” त्यसैले सुरु-सुरुका ख्रीष्टियनहरूले परमेश्वरको नजिक जान दृश्य कुराहरू वा कुनै प्रतीक प्रयोग गरेनन्। बरु उनीहरूले परमेश्वरको अदृश्य “पवित्र शक्तिको निर्देशनमा” र परमेश्वरको वचनमा आधारित “सत्यबमोजिम” उहाँको उपासना गरे।—यूहन्ना ४:२४.
“साँचो उपासकहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्वरको उपासना गर्नेछन्।”—यूहन्ना ४:२३.
येशू ख्रीष्टलाई आदर गरेको कुरा ख्रीष्टियनहरूले कसरी देखाउन सक्छन्?
मानिसहरू के भन्छन्?
“उद्धार पाउन मदत गर्ने साधनलाई विशेष आदर र सम्मान गर्नु स्वाभाविकै हो। . . . त्यो प्रतीकलाई कदर गर्ने मानिसले त्यसले चित्रण गर्ने व्यक्तिलाई पनि कदर गर्छ।”—नयाँ क्याथोलिक विश्वकोश (अङ्ग्रेजी)।
बाइबल के भन्छ?
येशूको मृत्युको कारण आफ्नो पापको क्षमा पाउन, परमेश्वरसँग राम्रो सम्बन्ध गाँस्न र अनन्त जीवन पाउन सम्भव भएकोले ख्रीष्टियनहरू येशूप्रति आभारी छन्। (यूहन्ना ३:१६; हिब्रू १०:१९-२२) यो उपहारप्रति कदर देखाउन येशूको क्रस झुन्ड्याएर वा उहाँमा विश्वास गर्छु भनी मुखले भनेर मात्र पुग्दैन। किनभने “विश्वास . . . कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।” (याकूब २:१७) ख्रीष्टियनहरूले येशूमा विश्वास गरेको कुरा कामद्वारा देखाउनै पर्छ। कसरी?
बाइबल यसो भन्छ: “ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ, किनकि हामी यस्तो निष्कर्षमा पुगेका छौं: सबैका लागि एक जना मानिस मर्नुभयो। . . . बाँच्नेहरू अबउसो आफ्नो लागि होइन तर उहाँकै लागि बाँचून्, जो तिनीहरूका लागि मर्नुभयो र ब्यूँताइनुभयो।” (२ कोरिन्थी ५:१४, १५) येशूले देखाउनुभएको अतुलनीय प्रेमको कारण ख्रीष्टियनहरू उहाँको उदाहरण अनुकरण गर्दै आफ्नो जीवनमा विभिन्न छाँटकाँट गर्न उत्प्रेरित हुन्छन्। यसरी उनीहरूले कुनै धार्मिक चिन्ह प्रयोग गरेर भन्दा अर्थपूर्ण तरिकामा येशूको आदर गर्न सक्छन्।
“मेरो बुबाको इच्छा यही छ कि ज-जसले छोरालाई हेर्छ र ऊमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाओस् र म उसलाई आखिरी समयमा पुनर्जीवित पारूँ।”—यूहन्ना ६:४०.
a अङ्ग्रेजी तथा ग्रीक नयाँ नियमको समालोचनात्मक शब्दकोश तथा अनुक्रमणिका (अङ्ग्रेजी), ११ औं संस्करण, इथलबर्ट विलियम बुलिङ्गर, पृष्ठ ८१८-८१९।