पाठ २
नम्र हुन सिकाउनुहोस्
नम्र हुनु भनेको के हो?
नम्र व्यक्ति आदर पाउन योग्य हुन्छन्। तिनीहरू घमन्डी हुँदैनन् र अरूले आफूलाई विशेष ठानेको पनि चाहँदैनन्। साथै तिनीहरू अरूलाई निष्कपट चासो देखाउँछन् र अरूबाट सिक्न सधैँ इच्छुक हुन्छन्।
कोही-कोही नम्र हुनु भनेको कमजोर हुनु हो भन्ने गर्छन्। तर वास्तवमा नम्रता कमजोरीको चिनारी होइन। नम्र मानिसलाई आफ्नो कमीकमजोरी र आफ्नो सीमितता राम्रोसँग थाह हुन्छ।
नम्र हुनु किन महत्त्वपूर्ण छ?
नम्रताले सम्बन्धलाई सुमधुर बनाइराख्छ। अहम्ताको महामारी (अङ्ग्रेजी) भन्ने किताब यसो भन्छ, “नम्र व्यक्ति अरूसँग घुलमिल हुन सक्छन्। तिनीहरूलाई अरूसँग कुराकानी गर्न र सङ्गत गर्न सजिलो लाग्छ।”
नम्रताले छोराछोरीको भविष्य उज्ज्वल बनाउँछ। छोराछोरी नम्र हुँदा अहिले मात्र होइन, भविष्यमा पनि फाइदा हुन्छ। जस्तै, छोराछोरी नम्र भए भने हुर्के पछि उनीहरूले जागिर पाउने सम्भावना बढी हुन्छ। डा. लियोनार्ड स्याक्स यस्तो लेख्छन्, “यदि जवानहरू आफूबारे मात्रै सोच्छन् अनि आफूले सबै कुरा गर्न सक्छु भनेर विचार गर्छन् भने तिनीहरूले अन्तरवार्तामा राम्रो छाप छोड्न सक्दैनन्। तर अन्तरवार्ता लिने व्यक्तिले के भन्न खोज्दै छन् भनेर राम्ररी बुझ्न चाहने जवानहरूले भने जागिर पाउने सम्भावना धेरै हुन्छ।”a
नम्र हुन कसरी सिकाउन सकिन्छ?
आफूबारे सन्तुलित दृष्टिकोण राख्न मदत गर्नुहोस्।
बाइबलको सिद्धान्त: “किनकि यदि कसैले आफू केही नभए तापनि को-को न हुँ भनी सम्झन्छ भने उसले आफैलाई धोका दिइरहेको हुन्छ।”—गलाती ६:३.
हासिल गर्न सकिने लक्ष्य राख्न प्रोत्साहन दिनुहोस्। “तिम्रा प्रत्येक सपनाहरू पूरा हुनेछन्,” “तिमी जे पनि गर्न सक्छौ” जस्ता भनाइहरू प्रोत्साहनदायी सुनिएला तर वास्तविक जीवनमा यी कुराहरू सधैँ सत्य साबित हुन्छ भन्ने छैन। छोराछोरीले व्यावहारिक लक्ष्य राखेका छन् र त्यो पूरा गर्न मेहनत गर्दै छन् भने मात्र तिनीहरू सफल हुन सक्छन्।
तोकेरै प्रशंसा गर्नुहोस्। ‘तिमीले एकदमै राम्रो गऱ्यौ’ मात्रै भन्यौँ भने छोराछोरीले नम्रता विकास गर्न सक्दैनन्। त्यसैले तिनीहरूले गरेको कुन कामको लागि प्रशंसा गर्नुभएको हो, तोकेरै बताउनुहोस्।
सामाजिक सञ्जालको प्रयोग कम गर्न प्रोत्साहन दिनुहोस्। सामाजिक सञ्जालमा मानिसहरू आफूसँग भएको अनि आफूले हासिल गरेको कुराहरू बढाइचढाइ गरेर पोस्ट गर्छन्। जुन कुरा नम्रतासँग पटक्कै मेल खाँदैन।
गल्ती गर्दा तुरुन्तै माफी माग्न प्रोत्साहन दिनुहोस्। छोराछोरीलाई कहाँ गल्ती भयो भनेर बुझ्न र गल्ती स्वीकार्न मदत गर्नुहोस्।
कृतज्ञ हुन सिकाउनुहोस्।
बाइबलको सिद्धान्त: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” —कलस्सी ३:१५.
सृष्टिका कुराहरूप्रति कृतज्ञ हुन सिकाउनुहोस्। केटाकेटीहरूले सृष्टिमा भएका कुराहरूप्रति कृतज्ञ हुन सिक्नुपर्छ। साथै हामीलाई बाँच्नको लागि यी कुराहरू नभई हुँदैन भनेर पनि बुझ्नुपर्छ। हामीलाई सास फेर्नको लागि हावा, पिउनको लागि पानी र खानको लागि भोजन नभई हुँदैन। प्रकृतिका सुन्दर कुराहरूप्रति कृतज्ञता बढाउन यस्ता उदाहरणहरू चलाउनुहोस्।
अरूप्रति कृतज्ञ हुन सिकाउनुहोस्। अरूहरूसित हामीसँग नभएको क्षमता छ अनि त्यस्तो क्षमता देखेर ईर्ष्या गर्नुको सट्टा तिनीहरूको अनुकरण गर्न छोराछोरीलाई सिकाउनुहोस्।
कृतज्ञता व्यक्त गर्न सिकाउनुहोस्। छोराछोरीलाई मुखले मात्र होइन बरु मनै देखी धन्यवाद भन्न सिकाउनुहोस्। छोराछोरीलाई कृतज्ञता देखाउन सिकाउँदा तिनीहरू नम्र भइरहन सक्छन्।
अरूलाई मदत गर्नु महत्त्वपूर्ण छ भनेर सिकाउनुहोस्।
बाइबलको सिद्धान्त: “विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:३, ४.
छोराछोरीलाई आफ्नो जिम्मेवारी पूरा गर्न लगाउनुहोस्। छोराछोरीलाई कुनै पनि घरायसी काम अह्राएनौँ भने ‘तिमीले यस्तो सानोतिनो काम गर्नु पर्दैन’ भन्ने सन्देश दिइरहेका हुन्छौँ। त्यसैले छोराछोरीलाई खेल्नुअघि घरको काम सिध्याउन लगाउनुहोस्। तिनीहरूको कामले अरूलाई फाइदा हुन्छ अनि अरूले पनि तिनीहरूको प्रशंसा गर्नेछन् भनेर बताउनुहोस्।
अरूलाई मदत गर्न पाउनु सुअवसर हो भनेर जोड दिनुहोस्। अरूलाई मदत गर्दा छोराछोरी परिपक्व हुँदै जानेछन्। त्यसैले छोराछोरीलाई मदतको आवश्यकता परेका व्यक्तिहरू खोज्न प्रोत्साहन दिनुहोस्। के गरेर अरूलाई मदत गर्न सकिन्छ, छोराछोरीसँग कुरा गर्नुहोस्। अरूलाई मदत गर्न तिनीहरूसँगै हात बढाउनुहोस् र तिनीहरूको प्रयासको प्रशंसा गर्नुहोस्।
a The Collapse of Parenting भन्ने किताबबाट साभार गरिएको।