प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ६/१ pp. २८-३१
  • नम्रता किन धारण गर्नु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्रता किन धारण गर्नु?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नम्रता के हो?
  • त्यो निष्कपट हुनु पर्छ
  • यहोवाको दृष्टिकोण
  • परमेश्‍वर र ख्रीष्टले प्रदर्शित गर्नु भएकोछ
  • नम्रताका लाभहरू
  • नम्रता र परमेश्‍वरको सङ्‌गठन
  • नम्रता र अनुशासन
  • नम्रता धारण गरिनै रहनु होस्‌
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • येशूले नम्रताको नमुना बसाल्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • अनुकरणकालागि विनम्रताका उदाहरणहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ६/१ pp. २८-३१

नम्रता किन धारण गर्नु?

अमेरीकी लेखक, एड्‌गर पो ले तिनले लेखेका नया कथा केही मित्रहरूलाई सुनाउन भर्खरै सिद्धयाएका थिए। तिनले कथामा नायकको नाउँ धेरै पटक प्रयोग गरेछन्‌ भनी साथीहरूले ठट्टा गर्दै भने। पो को प्रतिक्रिया कस्तो थियो? एउटा मित्रले यस घटनाको सम्झना गर्दै भने: “तिनको अहङ्‌कारी आत्मा, यस प्रकारको सुधार स्वीकार गर्न तयार भएन। रीसको झोकमा, मित्रहरूले रोक्नु अघि, तिनले कथाको प्रत्येक पाना बल्दो आगोमा फाली दिए।” यस प्रकार, “एउटा अति नै मनोरञ्जक र अकसर तिनका लेखहरूमा पाइने . . . खिन्‍नताबाट सम्पूर्णतया मुक्‍त” कथा हरायो। नम्रताले त्यसलाई बचाउन सक्ने थियो।

अहङ्‌कारले मानिसहरूबाट मूर्ख कुराहरू गराउँछ र संसारमा यो जताततै पाइन्छ। तर यहोवाका सेवकहरू बेग्लै हुन पर्छ। राम्रोसँग मिलाएर सिएको नम्रताको पोशाक तिनीहरूले पहिरनु पर्छ।

नम्रता के हो?

प्राचीन शहर कलस्सीका सङ्‌गी विश्‍वासीहरूलाई पत्र लेख्दा, प्रेरित पावलले नम्रताको यो सुन्दर मसीही पोशाकबारे चर्चा गरे। तिनले आग्रह गरे: “परमेश्‍वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।”—कलस्सी ३:१२.

हो, नम्रता “विनय” हो। त्यो “मनको नम्रता, घमण्डको कमी, विनीत हुने” भाव हो। एक जना नम्र व्यक्‍तिले “आत्मैबाट मर्यादाको पालन गर्छन्‌; तिनी अहङ्‌कारी हुँदैनन्‌।” तिनी “अतिनै शिष्ट र आदरपूर्ण हुन्छन्‌।” (दी वर्ल्ड बुक डिक्शनेरी, वल्युम १, पाना १०३०) नम्रता, कायरता अथवा कमजोरी होइन। वास्तवमा, बरु घमण्ड कमजोरीको चिन्ह हो जब कि नम्रता प्रदर्शित गर्दा अकसर साहस र शक्‍तिको खाँचो पर्दछ।

शास्त्रमा “आफूलाई नम्र तुल्याओ” भन्‍ने वाक्य, त्यो हिब्रू शब्दबाट अनुवाद गरिएको हो जसको अक्षरशः अर्थ “आफूलाई तल टेक्नु” हो। यसकारण, हितोपदेशका बुद्धिमान लेखकले यो सल्लाह दिए: “हे मेरो छोरो, . . . आफ्नै मुखको प्रतिज्ञाले [तँ] बाँधिएको छस्‌ भने, तैंले आफूलाई बचा। जब तँ अरू मानिसको पञ्जामा पर्छस्‌, तब झट्टै गएर घरिघरि बिन्ती [आफूलाई तल टेक्ने] गरिबस्‌।” (हितोपदेश ६:१-३) अर्थात्‌, घमण्ड हटाउनु होस्‌, आफ्नो गल्ती स्वीकार्नु होस्‌ र मामला सुल्झाउनु होस्‌।

त्यो निष्कपट हुनु पर्छ

हेर्नमा नम्र देखिने सबै मानिसहरू नै वास्तवमा नम्र हुँदैनन्‌। नम्र देखिने केही व्यक्‍तिहरू यथार्थमा घमण्डी हुन सक्छन्‌ र आफूले चिताएको कुरा प्राप्त गर्न जे पनि गर्न तयार हुन्छन्‌। फेरि त्यस्ता व्यक्‍तिहरू पनि छन्‌ जसले अरूहरूलाई प्रभावित पार्न झुट्टा नम्रताको ओढ्‌ने ओढ्‌छन्‌। उदाहरणका लागि, प्रेरित पावलले “[झुट्टा, न्यु. व.] नम्रता” देखाउने मानिसहरूको विरोध गर्दै भने कि यस प्रकारका मानिसहरू “दैहिक मनमा व्यर्थमा गम्केर” बस्दछन्‌। यस्तो व्यक्‍तिको विचारमा, परमेश्‍वरको अनुग्रहको प्राप्ति, कुनै कुनै कुरा तिनले खान, पिउन वा छुनमा अथवा धार्मिक रीति-थीति अनुसार केही दिनहरू मान्‍नुमा भर पर्द थियो। हो, तिनी हेर्नमा धर्मी र नम्र देखिन्थिए होलान्‌ तर तिनको झूटो नम्रता व्यर्थको थियो। (कलस्सी २:१८, २३) यथार्थमा यसले गर्दा, भौतिक कुरा त्याग्नेहरूलाई जीवनको पुरस्कार प्रदान गरिनेछ भनी तिनी सोंच्न लाग्द थिए। यस प्रकार, भौतिकवादले एउटा छली रूप धारण गर्‌यो किनभने बैराग्यपूर्ण प्रतिबन्धहरूले तिनै कुराहरूमा मानिसको ध्यान केन्द्रित गर्न थाल्यो जसको उपेक्षा गर्ने दाबी मानिस गर्द थिए।

अर्को तिर, निष्कपट नम्रताले मानिसलाई पहिरन, कोरी-बाटी र जीवन शैलीमा आत्मश्रेष्ठता प्रदर्शित गर्न देखिन्‌ रोक्नेछ। (१ यूहन्‍ना २:१५-१७) जुन व्यक्‍तिले नम्रताको पोशाक ओढेको हुन्छ, तिनले आफू तिर अथवा आफ्ना योग्यताहरू तर्फ बढ़ता ध्यान आकर्षित गर्दैनन्‌। यसको सट्टा, तिनले नम्रताकासाथ अरूहरूसँग विवेकपूर्ण ढङ्‌गमा व्यवहार गर्नेछन्‌ र आफूलाई परमेश्‍वरको नजरबाट हेर्दछन्‌। यो कसरी हुन सक्छ?

यहोवाको दृष्टिकोण

अगमवक्‍ता शमूएलले इस्राएली जातिका लागि एउटा नया राजा अभिषेक गर्न लागेको बेलामा, यिशैको छोरा एलिआबलाई नै यहोवाले रोज्नु भएको होला भनी तिनले ठाने। तर परमेश्‍वरले शमूएललाई भन्‍नु भयो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर। म त्यसलाई इन्कार गर्छु। परमप्रभुले [यहोवाले, न्यु. व.] मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले [यहोवाले, न्यु. व.] हृदय हेरीकन विचार गर्छन्‌।” यिशैका सात जना छोराहरू अस्वीकृत भए। परमेश्‍वरले दाऊदलाई रोज्नु भयो र तिनले आफूलाई एउटा विश्‍वासिलो र नम्र मानिस प्रमाणित गरे।—१ शमूएल १३:१४; १६:४-१३.

नम्रताको पोशाकले हामीलाई अहङ्‌कारी र दुःसाहसी—साथै परमेश्‍वरको सामुन्‍ने अस्वीकृत हुन देखि बचाउँदछ। उहाँले “अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:६) उहाँको दृष्टिकोण भजनसंग्रहको लेखकका यी शब्दहरूमा देखिन्छ: “परमप्रभु [यहोवा, न्यु. व.] उच्च हुनुभए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुन्छ। तर घमण्डीहरूलाई उहाँले टाढ़ैबाट चिन्‍नुहुन्छ।” (भजनसंग्रह १३८:६; १ पत्रुस ५:५, ६) परमेश्‍वरले उहाँका सेवकहरूबाट के चाहनु हुन्छ भन्‍ने कुरा मीका ६:८ मा सोधिएको प्रश्‍नबाट स्पष्टगरी देखिन्छ: “परमप्रभुले [यहोवाले, न्यु. व.] तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिंड्‌नू।”

परमेश्‍वर र ख्रीष्टले प्रदर्शित गर्नु भएकोछ

हामीले नम्रता प्रदर्शित गरेको यहोवा चाहनु हुन्छ! यो उहाँको आफ्नो एउटा गुण हो। दाऊदलाई परमेश्‍वरले तिनका शत्रुहरूबाट बचाउनु भए पछि, तिनले यसो भन्दै गीत गाए: “तपाईंले आफ्नो मुक्‍तिको ढाल पनि मलाई दिनुभएको छ। . . . र तपाईंको नम्रताले मलाई ठूलो तुल्याउनुभएको छ।” (भजनसंग्रह १८:३५; २ शमूएल २२:१, ३६) यहोवा सबै भन्दा उच्च स्वर्गमा हुनु भएर पनि, “आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ, कङ्‌गालीहरूलाई धूलोबाट उहाँलेनै उठाउनुहुन्छ, र दरिद्रहरूलाई घुर्‌यानबाट उचाल्नुहुन्छ। त्यसलाई आफ्नै प्रजाका भारादारहरूको साथमा राख्नालाई।” (भजनसंग्रह ११३:५-८) पापी मानव-जाति प्रति दया दर्साउनु हुँदै, परमेश्‍वरले नम्रता प्रकट गर्नु हुन्छ। उहाँले पापीहरूसँग राख्नु भएको सम्पर्क र पापहरूका लागि आफ्नो पुत्र बलिदान चढ़ाउनु भएको, सबै उहाँको नम्रता, प्रेम र अन्य गुणका अभिव्यक्‍तिहरू हुन्‌।—रोमी ५:८; ८:२०, २१.

“विनयी र नम्र हृदयको” हुनु हुने येशू ख्रीष्टले मानव नम्रताको सबै भन्दा महान उदाहरण कायम गर्नु भयो। (मत्ती ११:२९) उहाँले आफ्ना चेलाहरूलाई भन्‍नु भयो: “जसले आफूलाई ठूलो तुल्याउँछ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्यो चाहिं ठूलो हुनेछ।” (मत्ती २३:१२) यो कुरा कुनै शब्दजाल मात्र थिएन। आफ्नो मृत्यु हुनु भन्दा अघिको साँझमा, येशूले उहाँका प्रेरितहरूको खुट्टा धोइ दिनु भयो। यो एउटा यस्तो काम थियो जुन साधारणतया दासहरूले गर्द थिए। (यूहन्‍ना १३:२-५, १२-१७) पृथ्वीमा आउनु भन्दा अघि, येशूले परमेश्‍वरको सेवा नम्रताका साथ गर्नु भयो र पुनरुत्थान पश्‍चात्‌ स्वर्गमा उच्च स्थान पाउनु भए पछि पनि नम्रता देखाइ नै रहनु भएको छ। यसकारण ‘एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्‍नु’ र येशू ख्रीष्टको नम्र प्रवृत्ति अपनाउनु भनी पावलले सङ्‌गी विश्‍वासीहरूलाई सल्लाह दिए।—फिलिप्पी २:३, ५-११.

परमेश्‍वर र ख्रीष्ट नम्र हुनु भएको हुनकारण, ईश्‍वरीय अनुमोदन चाहने सबैले नै यो गुण प्रदर्शित गर्नु पर्छ। हामी समय-समयमा हठी भएका छौं भने, आफूलाई नम्र तुल्याउँदै परमेश्‍वरबाट क्षमा माँग्नु बुद्धिमानीको कुरा हुनेछ। (२ इतिहास ३२:२४-२६ सँग तुलना गर्नुहोस्‌) र आफ्नो बारे ठूला-ठूला विचार राख्नुको सट्टा, हामीले पावलको सल्लाह प्रयोगमा ल्याउनु पर्छ: “उच्चप्रति मन नलगाओ, तर नम्र कुराहरूतर्फ झुक।” (रोमी १२:१६) तर नम्रता हाम्रालागि र अरूहरूका लागि कसरी लाभदायक हुन सक्छ?

नम्रताका लाभहरू

नम्रताबाट उठ्‌ने एउटा लाभ के हो भने त्यसले हामीलाई आफ्नो बारे धाक लाउन देखि रोक्नेछ। यस प्रकार हामीले अरूहरूलाई दिक्क पार्दैनौं र हाम्रा सफलताहरूबाट तिनीहरू प्रभावित नभएको खण्डमा, हामी लज्जित हुने छैनौं। हामीले यहोवामा घमण्ड गर्नु पर्छ, आफूमा होइन।—१ कोरिन्थी १:३१.

नम्रताले हामीलाई ईश्‍वरीय निर्देशन प्राप्त गर्न मद्दत दिन्छ। दानियल अगमवक्‍ताले निर्देशन र समझशक्‍तिको निम्ति खोजी गर्दा, तिनले परमेश्‍वरको सामुन्‍ने आफूलाई नम्र तुल्याएको हुनाकारण, तिनलाई एउटा दर्शन देखाउन परमेश्‍वरले तिनीकहाँ एउटा दूत पठाउनु भयो। (दानियल १०:१२) यरूशलेमको मन्दिरलाई सुन्दर पार्नका लागि साथमा धेरै सुन र चाँदी लिएर हिंड्‌न लागेका यहोवाका मानिसहरूको अगुवाइ गर्दै एज्राले तिनीहरूलाई बेबिलनबाट लैजान लागेको बेलामा परमेश्‍वरको सामुन्‍ने सबैले आफूलाई नम्र तुल्याउन्‌ भनी तिनले सबैलाई उपवास बस्न घोषणा गरे। यसको परिणाम? यहोवाले तिनीहरूलाई त्यो खतरनाक यात्रामा शत्रुहरूको आक्रमणबाट बचाउनु भयो। (एज्रा ८:१-१४, २१-३२) यसकारण, आफ्नै बुद्धि र बलमा भर पर्दै ईश्‍वर-प्रदत कर्त्तव्यहरू पूरा गर्ने कोशिश गर्नुको सट्टा, दानियल र एज्राले झैं हामी पनि नम्रता प्रदर्शित गरौं।

हामीले नम्रताको पोशाक पहिरेका छौं भने, हामीले अरूहरूको आदर गर्ने छौं। उदाहरणका निम्ति, नम्र केटा-केटीहरूले तिनीहरूका आमा-बाबुलाई आदर गर्छन्‌ र तिनीहरू प्रति आज्ञाकारी हुन्छन्‌। नम्र मसीहीहरूले पनि अन्य राष्ट्रहरू र जातिहरूबाट आएका र विभिन्‍न पृष्टभूमि भएका सङ्‌गी-विश्‍वासीहरूलाई आदर गर्ने गर्छन्‌ किनभने नम्रताले हामीलाई निष्पक्ष तुल्याउँछ।—प्रेरित १०:३४, ३५; १७:२६.

नम्रताले प्रेम र शान्तिलाई बढ़ावा दिन्छ। नम्र मानिसले आफ्नो मनोकल्पित हक जमाउनका लागि विश्‍वासमा भएका आफ्ना सङ्‌गीहरू सित झगड़ा गर्दैन। पावलले अरूहरूको हितहुने कुराहरू मात्र गरे र कुनै पनि भाइको अन्तस्करणलाई चोट पुर्‌याउँदैन थिए। (रोमी १४:१९-२१; १ कोरिन्थी ८:९-१३; १०:२३-३३) अरूहरूले हाम्रो विरुद्धमा गरेका पापहरूलाई क्षमा गर्दै, प्रेम र शान्तिलाई बढ़ावा दिनमा पनि नम्रताले मद्दत दिन्छ। (मत्ती ६:१२-१५; १८:२१, २२) हामीसित चित्त दुखाएका व्यक्‍ति कहाँ गएर आफ्नो गल्ती स्वीकार्न, तिनीबाट क्षमा माँग्न र हामीबाट केही भूल भएको छ भने त्यसको सुधार गर्न, नम्रताले हामीलाई प्रेरणा दिन्छ। (मत्ती ५:२३, २४; लूका १९:८) चित्त दुखाएका कुनै व्यक्‍ति हामी कहाँ आउँदा, हामीमा नम्रता छ भने, प्रेमपूर्वक मामला सुल्झाउन हामी अघि बढ़नेछौं।—मत्ती १८:१५; लूका १७:३.

मुक्‍ति पाइने कुरा नम्रतामा भर पर्दछ। उदाहरणका लागि, परमेश्‍वरको विषयमा, एसो भनिएको छ: “नम्रहरूलाई तपाईं उद्धार गर्नु हुन्छ, अहंकारीहरूलाई तपाईं तुच्छ दृष्टिले हेर्नुहुन्छ।” (२ शमूएल २२:२८) राजा येशू ख्रीष्ट ‘सत्यता, नम्रता र धार्मिकताको निम्ति . . . सवार” हुनु हुँदा, उहाँ र उहाँका पिताका सामुन्‍ने आफूलाई नम्र तुल्याउनेहरूलाई उहाँले बचाउनु हुनेछ। (भजनसंग्रह ४५:४) नम्रता देखाउनेहरूले यी शब्दहरूमा शान्ति पाउन सक्छन्‌: “हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको [यहोवाको, न्यु. व.] खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको [यहोवाको, न्यु. व.] रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:३.

नम्रता र परमेश्‍वरको सङ्‌गठन

नम्रताले परमेश्‍वरका मानिसहरूलाई उहाँको सङ्‌गठनको मूल्याङ्‌कन गर्न र समग्रता-पालकहरू भएर त्यस भित्र बस्न मद्दत दिन्छ। (यूहन्‍ना ६:६६-६९ सँग तुलना गर्नु होस्‌) हामीले पाउने आशा गरेको सेवाका कुनै विशेषाधिकार हामीलाई न दिएमा, मण्डली भित्र जिम्मेवारी उठाउनेहरूसँग सहयोग गर्न हामीलाई नम्रताले मद्दत दिन्छ। र हाम्रो नम्र सहयोगबाट एउटा असल उदाहरण कायम हुन्छ।

अर्को तिर, यहोवाका मानिसहरूको माझमा सेवा गर्ने हाम्रा विशेषाधिकारहरूको सम्बन्धमा सेखी गर्न देखि नम्रताले हामीलाई रोक्नेछ। परमेश्‍वरको सङ्‌गठनमा हामीले जुन कामहरू गर्ने विशेषाधिकार पाएका छौं, हामीमा नम्रता छ भने, ती कामहरूका लागि हामीले प्रशंसा खोज्ने छैनौं। साथै, हामी प्राचीनहरूको हैसियतमा सेवा गर्दै छौं भने, परमेश्‍वरको बगालसँग कोमलताका साथ व्यवहार गर्न, नम्रताले हामीलाई मद्दत दिनेछ।—प्रेरित २०:२८, २९; १ पत्रुस ३:८.

नम्रता र अनुशासन

नम्रताको पोशाकले हामीलाई अनुशासन स्वीकार्ने सहायता पनि दिन्छ। नम्र मानिसहरू यहूदाका राजा उज्जियाह जस्ता हुँदैनन्‌ किनकि तिनको हृदय यति घमण्डी भयो कि पूजाहारीका कर्त्तव्यहरू पनि तिनले जबरजस्ती आफ्नै हातमा लिए। तिनी ‘धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको [यहोवाको, न्यु. व.] मन्दिरमा पसेर परमप्रभु [यहोवा, न्यु. व.] आफ्ना परमेश्‍वरको विरुद्धमा तिनले अपराध गरे।” तिनलाई सुधार गर्ने पूजाहारीहरूसित उज्जियाह क्रोधित हुँदा, तिनी अचानक कोरी भए। नम्रताको अभावको कारण तिनले कति ठूलो मूल्य चुकाउनु पऱ्‍यो! (२ इतिहास २६:१६-२१; हितोपदेश १६:१८) उज्जियाह जस्तो कहिले नहुनु होस्‌ र परमेश्‍वरबाट उहाँको वचन र सङ्‌गठनद्वारा आउने अनुशासन स्वीकार्न तपाईंलाई घमण्डले कहिले न रोकोस्‌।

यस सम्बन्धमा, पावलले अभिषिक्‍त हिब्रू मसीहीहरूलाई भने: “तिमीहरूले त्यस अर्तीलाई बिर्सेका छौ, जसले छोरालाई झैं तिमीहरूसँग कुरा गर्दछ, ‘हे मेरा पुत्र, प्रभुको [यहोवाको, न्यु. व.] अनुशासनलाई हलका नसम्झ, नता उहाँबाटको हप्कीमा हरेस खाऊ, किनभने जसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई कोर्रा लाउनुहुन्छ।’ . . . सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।” (हिब्रू १२:५-११) यो पनि सम्झनु होस्‌: “शिक्षा र सुधारले जीवनको मार्ग देखाउँछन्‌।”—हितोपदेश ६:२३.

नम्रता धारण गरिनै रहनु होस्‌

मसीहीहरूले नम्रताको पोशाक सधैं नै लगाइ राख्नु कति महत्त्वपूर्ण कुरा हो! नम्रताले हामीलाई राज्यका प्रचारकहरूको हैसियतमा, नम्रतापूर्वक घर-घर जाँदै, “अनन्त जीवनका लागि उचित मनोवृत्ति” हुनेहरूलाई खोज्ने काममा धैर्य धारण गर्ने प्रेरणा दिन्छ। (प्रेरित १३:४८, न्यु. व; २०:२०) साँच्चैनै, अहङ्‌कारी विरोधीहरूले हाम्रा धार्मिक मार्गको घृणा गरेता पनि, नम्रताले हामीलाई सबै कुरामा परमेश्‍वरको आज्ञा पालन गर्न मद्दत दिन्छ।—भजनसंग्रह ३४:२१.

नम्रताको कारण हामीले ‘आफ्नो सारा भरोसा यहोवामा राख्दा’ उहाँले नै हाम्रा मार्गहरू सोझो पार्नु हुन्छ। (हितोपदेश ३:५, ६) वास्तवमा, हामीले यो असल गुण धारण गरेका छौं भने मात्र, हामी परमेश्‍वरसँग हिंड्‌न सक्‍तछौं र उहाँको आशिष र अनुमोदनबाट आनन्द उठाउन सक्नेछौं। येशूका चेला याकूबले लेखे झैं: “प्रभुको [यहोवाको, न्यु. व.] सामने आफूलाई विनम्र तुल्याओ, उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।” (याकूब ४:१०) यसकारण हामी यहोवा परमेश्‍वरले रचनु भएको त्यो सुन्दर पोशाक, नम्रता धारण गरौं। (w07/15/92)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने