प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 सङ्‌ख्या २ पृ. १२-१३
  • पाको व्यक्‍तिको डोऱ्‍याइ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाको व्यक्‍तिको डोऱ्‍याइ
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • छोराछोरी हुर्काउने जिम्मेवारी कसको हो?
  • पाको व्यक्‍तिको डोऱ्‍याइ किन महत्त्वपूर्ण छ?
  • कसरी डोऱ्‍याउन सकिन्छ
  • आमाबुबाको भूमिका
    परिवारका लागि
  • छोराछोरी हुर्काउन भरपर्दो सल्लाह
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • छोराछोरीसितको बिछोड सहन सिक्ने
    ब्यूँझनुहोस्‌!—१९९८
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 सङ्‌ख्या २ पृ. १२-१३
एक महिला सानो नानीलाई आफ्नो पुरानो फोटोहरू देखाउँछिन्‌

पाठ ५

पाको व्यक्‍तिको डोऱ्‍याइ

छोराछोरी हुर्काउने जिम्मेवारी कसको हो?

साना केटाकेटीहरूलाई पाको व्यक्‍तिहरूको सल्लाह, सुझाव र डोऱ्‍याइको आवश्‍यकता पर्छ। आमाबुबा हुनुभएकोले छोराछोरीलाई डोऱ्‍याउने मुख्य जिम्मेवारी तपाईँहरूकै हो। तर अरू पाको व्यक्‍तिले पनि तपाईँको छोराछोरीलाई सल्लाह दिन र मदत गर्न सक्छन्‌।

पाको व्यक्‍तिको डोऱ्‍याइ किन महत्त्वपूर्ण छ?

प्रायजसो साना केटाकेटीहरूले पाको व्यक्‍तिसँग थोरै समय मात्र बिताउन पाउँछन्‌। यी कुराहरू विचार गर्नुहोस्‌:

  • केटाकेटीहरूले धेरै समय स्कुलमा बिताउँछन्‌, जहाँ शिक्षक र अरू अनुभवी व्यक्‍तिहरूभन्दा विद्यार्थीहरू नै धेरै हुन्छन्‌।

  • आमाबुबा काममा जाने भएकोले केटाकेटीहरू स्कुलबाट फर्कँदा घरमा कोही पनि हुँदैनन्‌।

  • एउटा अध्ययनले देखाएअनुसार अमेरिकामा आठ देखि बाह्र वर्षका केटाकेटीले हरेक दिन औसतमा लगभग छ घण्टा इलेक्ट्रोनिक साधन चलाउँछन्‌।a

एउटा किताब (Hold On to Your Kids) यसो भन्छ, “आजकालका युवायुवती सल्लाह, सुझाव र निर्देशनहरू आमाबुबा, शिक्षक र अरू अनुभवी व्यक्‍तिबाट नभई  . .  आफ्ना साथीभाइबाट खोज्ने गर्छन्‌।”

कसरी डोऱ्‍याउन सकिन्छ

छोराछोरीसँग समय बिताउनुहोस्‌।

बाइबलको सिद्धान्त: “बालकलाई सही बाटोमा लगाऊ; बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।”—हितोपदेश २२:६.

छोराछोरी स्वाभाविक रूपमै आमाबुबाबाट सल्लाह खोज्छन्‌। किशोरावस्थामा प्रवेश गरेका छोराछोरीले समेत आफ्नो साथीले दिने सल्लाहभन्दा आमाबुबाले दिने सल्लाहलाई महत्त्व दिन्छन्‌ भनेर विज्ञहरू बताउँछन्‌। डा. लरेन्स स्टेनबर्ग आफ्नो किताबमा (You and Your Adolescent) यस्तो लेख्छन्‌, “किशोरावस्थाबाट वयस्क हुँदै गरेका छोराछोरीको स्वभाव र आनीबानीमा आमाबुबाले निकै प्रभाव पार्छन्‌।” तिनी अझै यस्तो लेख्छन्‌, “तपाईँको हरेक कुरामा सहमत नभए तापनि तपाईँ के सोच्नुहुन्छ र के भन्‍नुहुन्छ भनेर किशोरावस्थाका छोराछोरी बुझ्न चाहन्छन्‌।”

तपाईँका छोराछोरी स्वाभाविक रूपमै तपाईँबाट सल्लाह-सुझाव पाउन चाहन्छन्‌। त्यसैले यस्तो मौका खेर नफाल्नुहोस्‌। छोराछोरीसँग समय बिताउनुहोस्‌ र आफ्नो विचार, मूल्यमान्यता अनि अनुभव छोराछोरीलाई बताउनुहोस्‌।

अनुभवी व्यक्‍तिसँग सङ्‌गत गराउनुहोस्‌।

बाइबलको सिद्धान्त: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ।”—हितोपदेश १३:२०.

तपाईँको छोराछोरीको लागि राम्रो उदाहरण बसाल्न सक्ने अनि तिनीहरूलाई कुनै हानि नपुऱ्‍याउने भरोसायोग्य वयस्क व्यक्‍ति कोही छ कि? छ भने छोराछोरीलाई तिनीसँग सङ्‌गत गराउने प्रबन्ध मिलाए कसो होला? तर यसको मतलब तपाईँ छोराछोरीलाई सिकाउने आफ्नो जिम्मेवारीबाट मुक्‍त हुनुभयो भन्‍ने चाहिँ होइन। ती अनुभवी व्यक्‍तिबाट तपाईँका छोराछोरीले प्रोत्साहन पाउन सक्छन्‌, जसले छोराछोरी हुर्काउन तपाईँले गर्ने प्रयासमा मदत पुग्नेछ। तिमोथीले वयस्क भइसकेपछि पनि प्रेषित पावलबाट निकै प्रोत्साहन पाएको अनि पावलले पनि तिमोथीको सङ्‌गतबाट निकै लाभ उठाएको विवरण बाइबलमा उल्लेख गरिएको छ।—फिलिप्पी २:२०, २२.

अहिले धेरै परिवारहरू एउटै घरमा वा एउटै टोल-छिमेकमा बस्दैनन्‌; हजुरबुबा-हजुरआमा, काका-काकी र अरू आफन्तहरू निकै टाढा हुन सक्छन्‌, जसले गर्दा केटाकेटीलाई तिनीहरूसँग सङ्‌गत गर्ने मौका त्यति मिल्दैन। तपाईँको परिवारको अवस्था पनि यस्तै छ भने आफ्नो छोराछोरीले जस्तो गुणहरू देखाएको चाहनुहुन्छ, त्यस्तै गुणहरू भएको व्यक्‍तिसँग छोराछोरीलाई सङ्‌गत गराउने मौका मिलाउनुहोस्‌।

a सोही अध्ययनले देखाएअनुसार किशोरकिशोरीले भने हरेक दिन औसतमा नौ घण्टा इलेक्ट्रोनिक साधन चलाउँछन्‌। यस तथ्याङ्‌कमा साना केटाकेटी र किशोरकिशोरीले स्कुलमा र होमवर्क गर्न इलेक्ट्रोनिक साधन प्रयोग गरेको समय जोडिएको छैन।

एक महिला सानो नानीलाई आफ्नो पुरानो फोटोहरू देखाउँछिन्‌

अहिल्यैदेखि सिकाउनुहोस्‌

अनुभवी व्यक्‍तिको डोऱ्‍याइ खोज्ने केटाकेटी पछि गएर बुद्धिमान्‌ र परिपक्व हुने सम्भावना धेरै हुन्छ

आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌

  • के मैले छोराछोरीको लागि राम्रो उदाहरण बसालेको छु?

  • मैले आफूभन्दा अनुभवी व्यक्‍तिसँग सल्लाह मागेको के मेरा छोराछोरीले देखेका छन्‌?

  • के मैले छोराछोरीसँग समय बिताएर तिनीहरू मेरो लागि महत्त्वपूर्ण छन्‌ भनेर देखाइरहेको छु?

हामीले यसो गऱ्‍यौँ . . .

“कहिलेकाहीँ कुनै काममा एकदम व्यस्त हुँदा छोरी मकहाँ आएर कुरा गर्न चाहेको बताउँछिन्‌। त्यतिबेला म सधैँ तिनको कुरा सुन्छु। तिनको कुरा ध्यान दिएर सुन्‍न सकियोस्‌ भनेर म कहिलेकाहीँ तिनलाई एकछिन पर्खन लगाउँछु। म र मेरी श्रीमतीले छोरीलाई सिकाएको कुरा आफ्नो व्यवहारमा पनि उतारेर तिनको लागि राम्रो उदाहरण बन्‍ने कोसिस गरिरहेका छौँ।”—डेभिड

“छोरी जन्मेपछि तिनलाई हुर्काउन मैले काम नगर्ने निर्णय गरेँ। यस्तो निर्णय गरेकोमा मलाई कुनै पछुतो छैन। छोराछोरीको लागि सकेजति धेरै समय दिनु निकै महत्त्वपूर्ण छ। यसो गर्दा छोराछोरीले आवश्‍यक डोऱ्‍याइ पाउनेछन्‌। अझ महत्त्वपूर्ण कुरा, तपाईँ तिनीहरूको ख्याल राख्नुहुन्छ भनेर तिनीहरूले महसुस गर्नेछन्‌।”—लिसा

पाको व्यक्‍तिसँग समय बिताउनुको महत्त्व

“मेरा छोराछोरी विभिन्‍न उमेरका अनि विभिन्‍न व्यक्‍तित्व भएका वयस्कहरूमाझ हुर्के। यसले गर्दा तिनीहरूले अरूको अनुभवबाट धेरै कुरा सिक्ने मौका पाए। उदाहरणको लागि, मेरी हजुरआमाले आफू सानो छँदा पूरै गाउँमा उहाँहरूको घरमा मात्रै बिजुली बत्ती थियो भन्‍ने कुरा बताउनुहुँदा मेरा छोराछोरी छक्क परेका थिए। अनि वरिपरिका मानिसहरू बत्ती बलेको र निभेको हेर्न त्यहाँ आउँथे भनेर पनि उहाँले तिनीहरूलाई बताउनुभयो। यसले मेरो छोराछोरीलाई त्यतिबेलाको जीवन अहिलेको भन्दा कत्ति फरक थियो भनेर बुझ्न मदत गऱ्‍यो। आफ्नो जिजुबज्यैको यस्ता अनुभवहरू सुनेकोले तिनीहरूले उहाँको र अरू पाका व्यक्‍तिहरूको अझ धेरै आदर गर्न सिके। केटाकेटीले आफ्ना साथीहरूभन्दा पाको व्यक्‍तिसँग धेरै समय बिताउँदा तिनीहरूले जीवनलाई फरक दृष्टिकोणले हेर्न सक्छन्‌।”—मेरेन्डा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने