अक्सर गलत जानकारीले पूर्वाग्रह निम्त्याउँछ। निम्न उदाहरणहरू विचार गर्नुहोस्:
कसै-कसैले महिलाहरू विज्ञान अनि प्रविधिसम्बन्धी कामहरू गर्न असक्षम छन् भन्ने गलत सोचाइ राख्छन्।
धेरैले तल्लो जातको व्यक्तिसित विवाह गऱ्यो भने अशुद्ध भइन्छ भन्ने गलत धारणा राख्छन्।
थुप्रैले शारीरिक तवरमा अशक्त सबै व्यक्तिहरू निराश हुन्छन् भन्ने गलत सोचाइ राख्छन्।
यस्ता गलत धारणा राख्ने मानिसहरू आफ्नो सोचाइलाई समर्थन गर्ने उदाहरणहरू वा तर्कहरू अघि सार्छन्। अनि आफूसित सहमत नहुने व्यक्तिहरूसित त्यसबारे कुनै ज्ञान छैन भन्ने सोचाइ राख्छन्।
यसबाट के सिक्न सक्छौँ? सत्यतथ्य बुझेका छैनौँ भने हामी गलत निर्णय गर्न पुग्छौँ। यदि हामी तथ्यमा नभई गलत कुरामा विश्वास गर्छौँ भने मानिसहरूप्रति पूर्वाग्रही हुन पुग्छौँ।
सत्यतथ्य बुझ्दा कस्तो फाइदा हुन्छ?
हामीले अरू मानिसहरूबारे सत्यतथ्य बुझेका छौँ भने तिनीहरूबारे फैलिएका गलत कुराहरू पत्याउने छैनौँ। कुनै समूहबारे फैलिएका नकारात्मक कुराहरू गलत हुन् भनेर बुझेपछि हामी त्यस्ता कुराहरूमा विश्वास गरिहाल्ने छैनौँ बरु सत्यतथ्य पत्ता लगाउन कोसिस गर्नेछौँ।
तपाईँ के गर्न सक्नुहुन्छ?
नबिर्सनुहोस्, कुनै जाति वा समूहबारे नकारात्मक हल्ला फैलँदैमा त्यस समूहको हरेक व्यक्ति नै त्यस्तो हुन्छ भन्न मिल्दैन।
तपाईँलाई अरूबारे सबै कुरा थाह नहुन सक्छ भन्ने कुरा मानिलिनुहोस्।