समानुभूति देखाउनुहोस्
समस्या
अरू हामीभन्दा फरक भएको कुरामा मात्र बढ्तै ध्यान दिन्छौँ भने त्यस्तो भिन्नता तिनीहरूको कमजोरी वा दोष हो भन्ने निष्कर्षमा पुग्न सक्छौँ। यसले गर्दा हामी आफूभन्दा फरक मानिसहरूलाई तुच्छ दृष्टिकोणले हेर्न पुग्छौँ। अरूप्रति यस्तो नकारात्मक दृष्टिकोण विकास गरेपछि समानुभूति देखाउन हामीलाई गाह्रो लाग्न सक्छ। समानुभूति देखाउन गाह्रो हुनु भनेको पूर्वाग्रही भावनाको सङ्केत हुन सक्छ।
बाइबल सिद्धान्त
“रमाउनेहरूसित रमाओ; रुनेहरूसित रोओ।”—रोमी १२:१५.
यसबाट के सिक्न सक्छौँ? यस सिद्धान्तबाट हामीले समानुभूति देखाउनुपर्छ भनेर बुझ्न सक्छौँ। समानुभूति भनेको आफूलाई अरूको ठाउँमा राखेर उनीहरूको भावना महसुस गर्न सक्ने क्षमता हो।
समानुभूति देखाउँदा कस्तो फाइदा हुन्छ?
कसैप्रति समानुभूति देखाउँदा हाम्रो अवस्था पनि उनीहरूको जस्तै रहेछ भनेर बुझ्न सक्छौँ। उनीहरूले पनि हामीले जस्तै महसुस गर्न अनि प्रतिक्रिया देखाउन सक्छन् भनेर थाह पाउन सक्छौँ। समानुभूति देखाउँदा जुनसुकै पृष्ठभूमिका भए तापनि सबै मानिस एउटै मानव परिवारको भाग हुन् भनेर बुझ्न सक्छौँ। हामी र उनीहरूबीचको समानतामा जति-जति ध्यान दिन्छौँ, उनीहरूप्रतिको हाम्रो नकारात्मक भावना त्यति नै कम हुँदै जानेछ।
समानुभूतिशील हुँदा अरूलाई आदर गर्न सजिलो हुन्छ। सेनेगलमा बस्ने आन-मारीले कुनै बेला तल्लो जातिको मानिसहरूलाई तुच्छ दृष्टिकोणले हेर्ने गर्थिन्। समानुभूति देखाउँदा तिनलाई फाइदा भयो। यसबारे तिनी यसो भन्छिन्: “तल्लो जातिको मानिसहरूले भोग्ने दुःख देख्दा म पनि तिनीहरूको ठाउँमा भएको भए कस्तो महसुस गर्थेँ होला भनेर सोचेँ। यसरी सोच्दा म तिनीहरूभन्दा श्रेष्ठ छैन भनेर बुझ्न थालेँ। मैले उनीहरूभन्दा असल हुने कुनै पनि काम गरेको थिइनँ।” हो, हामीले अरूको दुःख बुझ्ने प्रयास गऱ्यौँ भने उनीहरूप्रति आलोचनात्मक हुनुको साटो समानुभूतिशील हुन सक्नेछौँ।
तपाईँ के गर्न सक्नुहुन्छ?
तपाईँ कुनै समूहप्रति पूर्वाग्रही सोचाइ राख्नुहुन्छ भने तिनीहरू र तपाईँबीच कस्ता समानताहरू छन् भनेर खोज्नुहोस्। उदाहरणको लागि, तिनीहरूलाई निम्न कुराहरू गर्दा कस्तो लाग्छ होला भनेर कल्पना गर्नुहोस्
समानुभूति देखाउँदा सबै मानिस एउटै मानव परिवारको भाग हुन् भनेर बुझ्न सक्छौँ
परिवारसित खाना खाँदा
दिनभरि मेहनत गरेर घर फर्कँदा
साथीहरूसित समय बिताउँदा
मन पर्ने गीत सुन्दा
त्यसपछि आफूलाई तिनीहरूको ठाउँमा राखेर हेर्नुहोस्। आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्:
‘कसैले मलाई बेकामको महसुस गराउँदा म कस्तो प्रतिक्रिया देखाउँछु?’
‘मलाई राम्ररी चिन्न नपाउँदै कसैले मेरो बारेमा गलत निष्कर्ष निकालेमा म कस्तो महसुस गर्छु?’
‘म त्यस समूहका मानिसहरूमध्ये एक भएको भए अरूले मसित कस्तो व्यवहार गरेको चाहन्थेँ?’