डामाडोल संसारमा
१ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्
यस विषयमा किन चासो राख्नुपर्छ?
समस्या वा प्रकोप आइपर्दा त्यसले मानिसहरूको स्वास्थ्यमा विभिन्न तरिकामा असर गर्न सक्छ।
समस्याहरू आइपर्दा मानिसहरूलाई तनाव हुन्छ अनि तनाव लिइरहँदा तिनीहरू बिरामी पर्न सक्छन्।
कुनै विपद् वा महामारी आइपर्दा अस्पतालमा बिरामीहरूको चाप बढ्ने भएकोले तिनीहरूले राम्रो उपचार पाउन सक्दैनन्।
विपद् आइपर्दा अत्यावश्यक कुराहरू, जस्तै: पोसिलो खानेकुरा अनि औषधी किन्न गाह्रो हुन्छ।
तपाईँले के बुझ्नुपर्छ?
गम्भीर रोग लाग्यो र तनाव भयो भने हामी ठीकसित सोच्न सक्दैनौँ। त्यसो हुँदा आफ्नो स्वास्थ्यलाई हेलचेक्र्याइँ गर्न पुग्छौँ र झन्झन् बिरामी पर्दै जान्छौँ।
स्वास्थ्य समस्याहरू हुँदा बेलैमा उपचार गरिएन भने ज्यानसमेत जान सक्छ।
तपाईँ स्वस्थ हुनुहुन्छ भने विपद् वा महामारी आइपर्दा सही निर्णय गर्न सक्नुहुन्छ।
धनी भए पनि गरिब भए पनि तपाईँ आफ्नो स्वास्थ्यको ख्याल राख्न केही कदम चाल्न सक्नुहुन्छ।
तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?
बुद्धिमान् मानिस पछि आइपर्न सक्ने खतराहरूबारे सकेसम्म सजग हुन्छ र त्यसबाट जोगिन कदम चालिहाल्छ। यही कुरा स्वास्थ्यको सन्दर्भमा पनि लागू हुन्छ। सरसफाइमा ध्यान दियौँ भने प्रायजसो अवस्थामा रोग लाग्ने खतरा कम हुन्छ अथवा रोग लागिहाल्यो भने पनि त्यत्ति गम्भीर हुन पाउँदैन। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस!
“हामीले आफ्नो र घरको सरसफाइमा विशेष ध्यान दिँदा त्यति अस्पताल जानु परेको छैन अनि औषधी-उपचारको खर्च पनि बचेको छ।”—आदित्य।a
a यस पत्रिकामा केही नाम परिवर्तन गरिएका छन्।