प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • uw chap. १२ pp. ९५-१०२
  • तपाईंको बप्तिस्माको अर्थ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको बप्तिस्माको अर्थ
  • एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यूहन्‍नाले दिएका बप्तिस्माहरू
  • मरणसम्मको बप्तिस्मा
  • मसीही चेलाहरूले पानीमा लिने बप्तिस्मा
  • आफ्ना दायित्वहरू पूरा गर्नु
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • किन बप्तिस्मा लिने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
uw chap. १२ pp. ९५-१०२

अध्याय १२

तपाईंको बप्तिस्माको अर्थ

१, २. (क) हामी प्रत्येकका लागि पानीमा लिइने बप्तिस्मा व्यक्‍तिगत चासोको विषय किन हुनुपर्दछ? (ख) अनुच्छेद २-मा दिएका प्रश्‍नहरूको उत्तर तपाईं सड़ेपमा कसरी दिनुहुन्छ?

सा.यु. २९-मा येशूलाई यर्दन नदीमा डुबुल्की लगाइएको थियो। यो घटना स्वयं यहोवाले हेरिरहनु भएको थियो र उहाँले आफ्नो स्वीकृति पनि जनाउनु भयो। (मत्ती ३:१६, १७) आफ्नो पुनरुत्थान भएको साढे तीन वर्षपश्‍चात्‌ येशूले यसो भन्‍नु हुँदै निर्देशन दिनुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ . . . बप्तिस्मा देओ।” (मत्ती २८:१८, १९) येशूको यस निर्देशनअनुसार के तपाईंले बप्तिस्मा लिइसक्नु भएको छ? अथवा त्यसो गर्न के तपाईं तयारी गर्दै हुनुहुन्छ?

२ ती दुवै स्थितिमा बप्तिस्माबारे स्पष्ट जानकारी हुनु अत्यावश्‍यक छ। यससम्बन्धमा केही विचारणीय प्रश्‍नहरू यसप्रकार छन्‌: के आज मसीहीहरूको बप्तिस्माको अर्थ र येशूको बप्तिस्माको अर्थ एकै हो? बप्तिस्माबारे बाइबलले भनेको प्रत्येक कुरा के तपाईंमा लागू हुन्छ? पानीमा लिइने मसीही बप्तिस्माको अर्थअनुसार जीवन बिताउनुमा कुन कुन कुरा बिथोलित छन्‌?

यूहन्‍नाले दिएका बप्तिस्माहरू

३. यूहन्‍नाले दिने बप्तिस्मा कसका लागि मात्र थियो?

३ येशूले बप्तिस्मा लिनुभन्दा करीब छ महिना अघि, बप्तिस्मा दिने यूहन्‍ना यहूदियाको उजाड स्थानमा गएर यसो भन्दै प्रचार गरे: “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजीक आएको छ।” (मत्ती ३:१, २) त्यस इलाकाभरिका मानिसहरूले यूहन्‍नाको कुरा सुने, आ-आफ्ना पापहरू खुलेआम स्वीकार गरे र यूहन्‍नाद्वारा यर्दनमा बप्तिस्मा लिए। त्यो बप्तिस्मा यहूदीहरूका लागि थियो।—प्रे. १३:२३, २४; लूका १:१३-१६.

४. (क) यहूदीहरूले तुरुन्तै पश्‍चात्ताप गर्नुपर्ने आवश्‍यकता किन थियो? (ख) ‘आगोको बप्तिस्मा’ लिनबाट बाँच्नका लागि तिनीहरूले के गर्नुपर्ने खाँचो थियो?

४ ती यहूदीहरूका लागि पश्‍चात्ताप गर्नु अति नै जरुरी थियो। तिनीहरूका पूर्वजहरूले सा. यु. पू. १५१३-मा यहोवासँग सीनै पर्वतमा राष्ट्रिय तवरमा वाचा बाँधेका थिए। तर त्यस वाचाका शर्तहरूलाई तिनीहरूले पूरा गरेनन्‌। अतः त्यस वाचाले तिनीहरूलाई पापी ठहरायो। तिनीहरूको स्थिति नाजुक थियो। मलाकीद्वारा अगमवाणी गरिएको “परमप्रभुको त्यो महान र डरलाग्दो दिन” नजीकै आइपुगेको थियो र सा. यु. ७०-मा यरूशलेममाथि त्यो दिन विनाशको रूपमा एक्कासि आइलाग्यो। तर त्यो विनाश हुनु अगावै “परमप्रभुको निम्ति योग्य बनाइएका मानिसहरू तयार पार्नालाई” बप्तिस्मा दिने यूहन्‍नालाई पठाइयो। तिनी साँचो उपासनाका लागि एलिया अगमवक्‍ताको जस्तै उत्साह लिएर आए। व्यवस्थाको विरुद्धमा गरिएका पापहरूका लागि मानिसहरूले पश्‍चात्ताप गर्नु परेको थियो। यहोवाले तिनीहरूकहाँ पठाउनु हुने परमेश्‍वरका पुत्रलाई स्वीकार गर्न तिनीहरूले आ-आफ्नो मन र हृदयलाई तयार पार्नु परेको थियो। (मला. ४:४-६; लूका १:१७; प्रे. १९:४) यूहन्‍नाले व्याख्या गरेजस्तै परमेश्‍वरका पुत्रले तिनीहरूलाई पवित्र आत्माद्वारा (जुन बप्तिस्मा विश्‍वासी चेलाहरूले सा. यु. ३३-को पेन्तिकोसमा पहिलो पटक अनुभव गरे) र आगोद्वारा (जुन कुरा पश्‍चात्ताप नगर्नेहरूमाथि सा. यु. ७० मा विनाशको रूपमा आइ पऱ्‍यो) बप्तिस्मा दिनु हुने थियो। (लूका ३:१६) त्यो ‘आगोको बप्तिस्मा’ व्यक्‍तिगत रूपमा अनुभव नगर्नका लागि प्रथम शताब्दीका ती यहूदीहरूले आफ्नो पश्‍चात्ताप जनाउँदै पानीमा बप्तिस्मा लिनु जरुरी थियो। यस बाहेक, मौका खुल्ना साथै तिनीहरू येशू ख्रीष्टका चेलाहरू हुनु परेको थियो।

५. (क) येशू बप्तिस्मा लिन आउनु हुँदा यूहन्‍नाले किन आपत्ति जनाए? (ख) येशूले पानीमा बप्तिस्मा लिनु, कुन कुराको प्रतीक थियो? (ग) येशूका लागि परमेश्‍वरको जे इच्छा थियो सो पूरा गर्ने विषयलाई येशूले कतिको गम्भीर ठान्‍नु हुन्थ्यो?

५ यूहन्‍नाकहाँ बप्तिस्मा लिन आउनेहरूमध्ये येशू स्वयं पनि हुनुहुन्थ्यो। तर किन? येशूले स्वीकार गर्नु पर्ने केही पापै थिएन, सो यूहन्‍नालाई थाह थियो। त्यसैकारण तिनले भने: “मलाई बरु तपाईंबाट बप्तिस्मा लिनु आवश्‍यक छ, र के तपाईं मकहाँ आउनुहुने?” तर येशूको बप्तिस्मा एउटा बेग्लै कुराको प्रतीक हुने थियो। त्यसकारण उहाँले उत्तर दिनुभयो: “अहिले यसै हुनदेऊ, किनभने यसरीनै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” (मत्ती ३:१३-१५) येशूको बप्तिस्मा पापको प्रायश्‍चित्तको प्रतीक हुन सक्‍तैन थियो; नता उहाँले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नु पर्ने खाँचो नै थियो किनभने उहाँ एउटा यस्तो राष्ट्रको सदस्य हुनुहुन्थ्यो जो यहोवाप्रति समर्पित भइसकेको थियो। बरु, ३० वर्षको उमेरमा यहूदी समाजअनुसार वयस्क भएपछि उहाँले लिनु भएको बप्तिस्मा स्वर्गमा हुनुहुने आफ्नो पिताको इच्छानुसार गर्न आफूलाई प्रस्तुत गर्नु भएको कुराको एउटा प्रतीक थियो। “मानव, येशू ख्रीष्ट”-ले परमेश्‍वरको इच्छा गर्नुको अर्थ राज्यसम्बन्धी गतिविधिमा भाग लिनु, मानिसहरूको छुटकाराका लागि मोल चुकाउनु र एउटा नयाँ वाचाको आधार स्थापित गर्न आफ्नो सिद्ध मानव जीवन बलिदानको रूपमा चढाउनु थियो। (लूका ८:१; १७:२०, २१; हिब्रू १०:५-१०; मत्ती २०:२८; २६:२८; १ तिमो. २:५, ६) उहाँले पानीमा लिनु भएको बप्तिस्मा जुन कुराको प्रतीक थियो त्यसलाई येशूले अति नै गम्भीर रूपमा लिनुभयो। उहाँले आफ्नो ध्यानलाई अन्य कुराहरूमा अलमलिन दिनु भएन। आफ्नो पार्थिव जीवनको अन्तसम्मै उहाँ परमेश्‍वरको इच्छा गर्नमा लागिरहनु भयो।—यूह. ४:३४.

मरणसम्मको बप्तिस्मा

६. अरू कुन बप्तिस्मा पनि येशूले लिनु पऱ्‍यो र कति समयावधि भित्र?

६ येशूले पानीमा लिनु भएको बप्तिस्मामै समावेश हुने एउटा अर्को बप्तिस्मा पनि उहाँले लिनुभयो। परमेश्‍वरले उहाँलाई दिनु भएको जिम्मावारी पूरा गर्ने सिलसिलामा उहाँले आफ्नो मानव जीवन बलिदानको रूपमा चढाउनु पर्नेछ तर तेस्रो दिनमा उहाँलाई आत्मामा बिउँताइने छ, सो कुरा उहाँलाई थाहा थियो। यसलाई उहाँले एक प्रकारको बप्तिस्मा नै ठान्‍नु भयो। यो “बप्तिस्मा” सा. यु. २९-मा सुरु भयो तर उहाँको मृत्यु र पुनरुत्थान नहोउञ्जेलसम्म त्यो पूर्ण रूपमा सम्पन्‍न भएन। अतः पानीमा बप्तिस्मा लिनु भएर करीब तीन वर्षपछि उहाँले उपयुक्‍त ढङ्‌गमा यसो भन्‍न सक्नु भयो: “मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ, औ त्यो पूरा नहोउञ्जेल म कस्तो सकसमा हुन्छु!”—लूका १२:५०.

७. (क) अरू कस-कसले मृत्युमा बप्तिस्मा लिन्छन्‌? (ख) यो बप्तिस्मा कसले दिन्छ?

७ ख्रीष्टसित उहाँको स्वर्गीय राज्यमा शासन गर्नेहरूले पनि त्यसैप्रकार मृत्युसम्मको बप्तिस्मा लिनु पर्नेछ। (मर्कूस १०:३७-४०; कल. २:१२) येशूले गर्नु भए झैं तिनीहरूले पनि मरणोपरान्त आफ्नो मानव जीवन सदाका लागि छाड्‌दछन्‌। र पुनरुत्थानपछि तिनीहरूले उहाँलाई स्वर्गीय शासनमा साथ दिन्छन्‌। यो कुनै मानवद्वारा होइन तर स्वयं परमेश्‍वरले आफ्ना स्वर्गीय पुत्रद्वारा सम्पन्‍न गर्नुहुने बप्तिस्मा हो।

८. तिनीहरूले “ख्रीष्टमा बप्तिस्मा” लिनुको अर्थ के हो?

८ येशूको मृत्युमा बप्तिस्मा पाउनेहरूलाई “येशू ख्रीष्टमा बप्तिस्मा” पाउनेहरू पनि भनिन्छ। ख्रीष्टद्वारा सञ्चालित पवित्र आत्माले तिनीहरूलाई उहाँसँग अर्थात्‌ आफ्नो शिरसित एकताबद्ध पार्दछ। साथै तिनीहरू आत्माबाट अभिषिक्‍त उहाँको मण्डली अथवा उहाँको “शरीर”-का सदस्यहरू बन्दछन्‌। त्यो आत्माले तिनीहरूलाई ख्रीष्टको व्यक्‍तित्व प्रतिबिम्बित गर्न सक्षम तुल्याउँछ। जसले गर्दा तिनीहरूलाई “ख्रीष्ट येशूमा एउटै” भएको भन्‍नु मिल्छ।—रोमी ६:३-५; १ कोरि. १२:१३; गला. ३:२७, २८; प्रे. २:३२, ३३.

मसीही चेलाहरूले पानीमा लिने बप्तिस्मा

९. (क) मत्ती २८:१९-मा निर्देशित बप्तिस्मा सर्वप्रथम कहिले सुरु भयो? (ख) बप्तिस्मा लिन चाहने उम्मेदवारहरूले स्वीकार्नु पर्ने जुन कुरालाई येशूले सङ्‌केत गर्नु हुँदै थियो सो कुराको विश्‍लेषण गर्न यस अनुच्छेदमा दिएका प्रश्‍नहरू र शास्त्रीय पदहरूलाई प्रयोग गर्नुहोस्‌।

९ येशूका प्रथम चेलाहरूले यूहन्‍नाद्वारा पानीमा बप्तिस्मा लिएका थिए। यसपछि तिनीहरूलाई येशूकहाँ उहाँको आत्मिक दुलही वर्गका सम्भाव्य सदस्यहरू हुनका निम्ति पठाइयो। (यूह. ३:२५-३०) येशूको निर्देशन बमोजिम तिनीहरूले पनि केहीलाई बप्तिस्मा दिने काम गरे। यस बप्तिस्माको महत्त्व र यूहन्‍नाले दिने बप्तिस्माको महत्त्व एकै थियो। (यूह. ४:१-३) तथापि, सा. यु. ३३-को पेन्तिकोस​देखि तिनीहरूले “पिता, पुत्र, र पवित्र आत्माको नाउँमा” बप्तिस्मा दिनु भनी पाएको आदेश पूरा गर्न थाले। (मत्ती २८:१९) निम्नलिखित प्रश्‍नहरूका साथ उद्धृत गरिएका शास्त्रीय पदहरूलाई ध्यानमा राख्दै त्यस आदेशको अर्थबारे पुनःविचार गर्नु तपाईंका लागि धेरै नै लाभदायक हुनेछ:

“पिताको नाउँमा” बप्तिस्मा लिने व्यक्‍तिले पिताबारे के स्वीकार गर्नु पर्दछ? (२ राजा. १९:१५; भजन. ३:८; ७३:२८; यशै. ६:३; रोमी १५:६; हिब्रू १२:९; याकु. १:१७)

“पुत्रको” नाउँमा बप्तिस्मा लिंदा कुन कुरालाई स्वीकार गर्नु आवश्‍यक छ? (मत्ती १६:१६, २४; फिलि. २:९-११; हिब्रू ५:९, १०)

“पवित्र आत्माको” नाउँमा बप्तिस्मा लिनका लागि एकजना व्यक्‍तिले कुन कुरामा विश्‍वास गर्नु पर्दछ? (लूका ११:१३; यूह. १४:१६, १७; प्रे. १:८; १०:३८; गला. ५:२२, २३; २ पत्रु. १:२१)

१०. मसीहीले पानीमा लिने बप्तिस्मा आज कुन कुराको प्रतीक हो? (ख) येशूको आफ्नो बप्तिस्माभन्दा यो कसरी भिन्‍न छ? (ग) शास्त्रअनुसार योग्य ठहरिएका व्यक्‍तिहरूले बप्तिस्मा लिएपछि तिनीहरू के हुन्छन्‌?

१० येशूले दिनु भएका ती निर्देशनहरू बमोजिम बप्तिस्मा पाउनेहरू प्रथमतः यहूदीहरू (र यहूदी धर्ममा परिवर्तित भएकाहरू) थिए। यिनीहरू एउटा राष्ट्रको रूपमा पहिले देखि नै परमेश्‍वरमा समर्पित भइ सकेका थिए र सा. यु. ३६-सम्म परमेश्‍वरले तिनीहरूलाई विशेष दया देखाउनु भयो। तथापि, मसीही चेला हुने सुअवसर केही समयपछि सामरीहरू र अन्य जातिहरूले पनि पाउने भए। तर बप्तिस्मा लिनुभन्दा पहिले नै तिनीहरूले व्यक्‍तिगत रूपमा यहोवाको पुत्रका चेलाहरू भएर उहाँको सेवागर्न आफूलाई सम्पूर्णतया समर्पण गर्नुपर्ने खाँचो थियो। यहूदीहरू लगायत सबैका निम्ति पानीमा लिने मसीही बप्तिस्माको अर्थ आजसम्म यही नै हो। साँचो मसीहीहरू हुने सबैका निम्ति यो एउटै बप्तिस्मा लागूहुन्छ। तिनीहरू यसप्रकार यहोवाका मसीही साक्षीहरू अर्थात्‌ परमेश्‍वरका नियुक्‍त सेवकहरू हुन्छन्‌।—एफि. ४:५; २ कोरि. ६:३, ४.

११. (क) मसीहीले पानीमा लिने बप्तिस्मा के जस्तै हो र कसरी? (ख) यसप्रकार एकजना मसीही के बाट बाँच्दछ?

११ परमेश्‍वरको नजरमा यसप्रकारको बप्तिस्तमाले ठूलो महत्त्व राख्तछ। प्रेरित पत्रुसले यस कुरामाथि ध्यान आकर्षित गर्दै त्यस घटनाको चर्चा गरे जब नूहले जहाज बनाएर जलप्रलयबाट आफू र आफ्नो परिवारलाई बचाएका थिए। त्यस विषयमा तिनले यसप्रकार लेखे: “तब ठीक त्यही किसिमले, अर्थात्‌ बप्तिस्माले, शरीरको मैल उतारेर ता होइन, तर परमेश्‍वरतर्फ सफा विवेकको सवालले, येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरूलाई बचाउने​छ।” (१ पत्रु. ३:२१) नूहले परमेश्‍वरको इच्छाअनुसार गर्न आफूलाई समर्पण गरेको र अनि परमेश्‍वरले दिनु भएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गरेको कुराको एउटा सुस्पष्ट प्रमाण त्यो जहाज थियो। यसले गर्दा उनको बचाउ हुन सक्यो। त्यही किसिमले येशूको पुनरुत्थानमा विश्‍वास गरेर जसजसले यहोवामा आफूलाई समर्पण गर्दछन्‌, त्यसलाई प्रकट गर्न बप्तिस्मा लिन्छन्‌ र अनि परमेश्‍वरले हाम्रा समयका आफ्ना सेवकहरूका निम्ति तोक्नु भएको इच्छालाई पालन गर्न अग्रसर हुन्छन्‌, तिनीहरू चाहिं वर्तमान दुष्ट रीतिरिवाजबाट बाँच्नेछन्‌। (गला. १:३, ४) यसपछि बाँकी संसारका साथ नष्ट हुने मार्गमा तिनीहरू हुने छैनन्‌। त्यसबाट तिनीहरू बचाइएका छन्‌ र परमेश्‍वरबाट तिनीहरूले एउटा असल अन्तस्करण पाएका छन्‌।

आफ्ना दायित्वहरू पूरा गर्नु

१२. बप्तिस्मा लिनुको अर्थ मुक्‍तिको ग्यारेन्टी किन होइन?

१२ बप्तिस्मा लिंदैमा मुक्‍ति निश्‍चित हुन्छ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। त्यसको महत्त्व तब मात्र हुनेछ जब एक जना व्यक्‍तिले येशू ख्रीष्टमार्फत आफूलाई साँच्चै नै यहोवामा समर्पण गर्छ र अन्तसम्मै विश्‍वासी भएर परमेश्‍वरको इच्छा गर्दछ।—मत्ती २४:१३.

१३. (क) बप्तिस्मा लिएका मसीहीहरूले कुन प्रकारको जीवन बिताउनु पर्दछ, सो विषयमा परमेश्‍वरको इच्छा के हो? (ख) मसीही चेला हुनु हाम्रो जीवनमा कतिको महत्त्वपूर्ण कुरा हुनुपर्छ?

१३ एउटा मानवको रूपमा येशूले आफ्नो जीवन कसरी प्रयोग गर्नु पर्नेछ। सो कुरा परमेश्‍वरले येशूका लागि तोक्नु भएको इच्छामा सम्मिलित थियो। उहाँले मृत्यु भोग्नु भएर आफ्नो जीवन एउटा बलिदानको रूपमा चढाउनु परेको थियो। हामीहरूले चाहिं परमेश्‍वरलाई आफ्नो शरीर चढाउनुको अर्थ, आत्म-त्यागको जीवन बिताउनु हो। हाम्रो शरीर परमेश्‍वरको इच्छा गर्नका लागि मात्र प्रयोग हुनुपर्दछ। (रोमी १२:१, २) यदि हामी समय समयमा, जानीजानी, वरिपरिको संसारले झैं व्यवहार गर्छौं अथवा आफ्नै स्वार्थका निम्ति जीवन सञ्चालन गर्दै परमेश्‍वरलाई नाउँ मात्रको सेवा चढाउँछौं भने हामीले परमेश्‍वरको इच्छा गरेको हुनेछैन। (१ पत्रु. ४:१-३; १ यूह. २:१५-१७) अनन्त जीवन प्राप्त गर्न के गर्नुपर्छ भनी एउटा यहूदीले येशूलाई सोधेको थियो। येशूले उसलाई नैतिक रूपमा शुद्ध जीवन बिताउने आवश्‍यकताबारे सम्झाउनु भएपछि उसले येशूको अनुयायी भएर मसीही चेलाहरू बनाउने कामलाई नै जीवनमा प्राथमिकता दिनुपर्छ भन्‍ने कुरालाई येशूले औंलाउनु भयो। भौतिक कुराहरूलाई प्रथम स्थान दिंदै यसलाई दोस्रो स्थान दिन मिल्दैन।—मत्ती १९:१६-२१.

१४. (क) सबै नै मसीहीहरूले निभाउनु पर्ने राज्यसम्बन्धी जिम्मेवारी के हो? (ख) पाना १०१-मा चित्रित गरिएअनुसार यो काम गर्न सकिने केही प्रभावकारी तरिकाहरू के हुन्‌? (ग) पूर्ण हृदयका साथ यस प्रकारको गतिविधिमा हामीले भाग लियौं भने त्यसले कुन कुराको प्रमाण दिन्छ?

१४ येशूका लागि परमेश्‍वरको इच्छामा राज्यसम्बन्धी महत्त्वपूर्ण गतिविधि पनि समावेश थियो। हामीले यो कुरा बिर्सनु हुँदैन। येशू स्वयं राजा हुनका लागि अभिषिक्‍त हुनुहुन्थ्यो। तर पृथ्वीमा हुनुहुँदा त्यस राज्यको उहाँ स्वयं एकजना उत्साही साक्षी हुनुहुन्थ्यो। त्यस्तै प्रकारको साक्षी दिने काम हामीले पनि गर्नु परेको छ र पूर्ण हृदयका साथ त्यसमा भाग लिने हामीसित हर कारण छ। यस काममा भाग लिंदा हामीले यहोवाको सार्वभौमिकताका लागि आफ्नो मूल्याङ्‌कन र सङ्‌गी मानवहरूप्रति प्रेम प्रदर्शित गर्दछौं। साथै, विश्‍वभरि विश्‍वासमा भएका सङ्‌गीहरूसित पनि हामी एक छौं भन्‍ने कुरा देखाउँदछौं। किनभने तिनीहरू सबै जना नै राज्यका साक्षीहरू हुन्‌ जो त्यही राज्य अन्तर्गत अनन्त जीवन पाउने लक्ष्यतर्फ अघि लम्किरहेका छन्‌।

पुनरावलोकन एवं छलफल

• येशूले लिनु भएको बप्तिस्मा र आजकल पानीमा लिने बप्तिस्मामा के समानता र के भिन्‍नता छ?

• यूहन्‍नाले दिने बप्तिस्मा कसका निम्ति थियो? मृत्युमा बप्तिस्मा कस कसले लिन्छन्‌? र “येशू ख्रीष्टमा बप्तिस्मा” कसले पाउँछन्‌?

• एक जना मसीहीले लिने पानीको बप्तिस्माका दायित्वहरू पूरा गर्नुमा कुन कुन कुराहरू बिथोलित छन्‌?

[पृष्ठ १०१-मा भएको चित्र]

कुन तरिकाहरूद्वारा तपाईं राज्यको घोषणा गर्नुहुन्छ?

ढोका-ढोकामा गएर

चासो देखाउनेहरूलाई पुनःभेट गरेर

गृह बाइबल अध्ययनहरूमा

सडकहरूमा

स्कूलका सहपाठीहरूलाई

आफू काम गर्ने ठाउँका सहकर्मीहरूलाई

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने