प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wt chap. १२ pp. ११०-११९
  • तपाईंको बप्तिस्माको अर्थ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको बप्तिस्माको अर्थ
  • एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यूहन्‍नाले दिएका बप्तिस्मा
  • मसीही चेलाहरूको पानीद्वारा बप्तिस्मा
  • हाम्रो जिम्मेवारीअनुरूप जीवन बिताउने
  • तपाईंको बप्तिस्माको अर्थ
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • बप्तिस्मा के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • किन बप्तिस्मा लिने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
wt chap. १२ pp. ११०-११९

अध्याय बाह्र

तपाईंको बप्तिस्माको अर्थ

१. हामी प्रत्येकको लागि पानीमा बप्तिस्मा लिनु किन व्यक्‍तिगत चासोको विषय हुनुपर्छ?

सा.यु. २९ मा येशूले यर्दन नदीमा बप्तिस्मा दिने यूहन्‍नाद्वारा बप्तिस्मा लिनुभयो। यहोवाले यो हेरिरहनुभएको थियो र यसमा आफ्नो स्वीकृति जनाउनुभयो। (मत्ती ३:१६, १७) यसरी येशूले आफ्ना चेलाहरूले पछ्याउनुपर्ने नमुना बसाल्नुभयो। साढे तीन वर्षपछि येशूले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ।” (मत्ती २८:१८, १९) के तपाईंले येशूले दिनुभएको निर्देशनअनुरूप बप्तिस्मा लिनुभएको छ? छैन भने, के तपाईं तयारी गर्दै हुनुहुन्छ?

२. बप्तिस्माको सन्दर्भमा कस्ता प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ?

२ तपाईंले बप्तिस्मा लिनुभएको होस्‌ या नहोस्‌, यहोवाको सेवा गर्न चाहने र उहाँको धार्मिक नयाँ संसारमा बाँच्न चाहने सबैले बप्तिस्मा भनेको के हो भनेर स्पष्टसित बुझ्नु महत्त्वपूर्ण छ। यी प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ: के आज लिइने मसीही बप्तिस्मा र येशूको बप्तिस्माको अर्थ एउटै हो? “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनुको अर्थ के हो? मसीहीहरूले पानीको बप्तिस्माअनुरूप जीवन बिताउनुमा के-के समावेश छन्‌?

यूहन्‍नाले दिएका बप्तिस्मा

३. यूहन्‍नाको बप्तिस्मा कसको लागि मात्र थियो?

३ येशूले बप्तिस्मा लिनुभन्दा लगभग छ महिनाअघि बप्तिस्मा दिने यूहन्‍नाले यहूदियाको जंगलमा यसो भन्दै प्रचार गरे: “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजीक आएको छ।” (मत्ती ३:१, २) मानिसहरूले यूहन्‍नाको कुरा सुने र त्यसलाई स्वीकारे। तिनीहरूले खुलेआम आफ्नो पाप स्वीकारेर प्रायश्‍चित गरे अनि यूहन्‍नाद्वारा बप्तिस्मा लिन यर्दन नदीमा आए। यो बप्तिस्मा यहूदीहरूको लागि थियो।—लूका १:१३-१६; प्रेरित १३:२३, २४.

४. प्रथम शताब्दीका यहूदीहरूले किन पश्‍चात्ताप गरिहाल्नु जरुरी थियो?

४ ती यहूदीहरूले पश्‍चात्ताप गर्नु अति नै जरुरी थियो। सा.यु.पू. १५१३ मा सीनै पर्वतमा तिनीहरूका पितापूर्खाहरू एउटा राष्ट्रिय करारमा बाँधिएका थिए र यो यहोवा परमेश्‍वरसित गरिएको औपचारिक अनि गम्भीर सम्झौता थियो। तर तिनीहरूको घोर पापले गर्दा तिनीहरूले त्यस करारले माग गरेको जिम्मेवारीअनुरूप जीवन बिताएनन्‌ र यसैकारण तिनीहरूलाई दोषी ठहराइयो। येशूको समयसम्ममा तिनीहरूको अवस्था एकदमै नाजुक भइसकेको थियो। मलाकीले भविष्यवाणी गरेको “महा र डरलाग्दो दिन” नजिकै थियो। सा.यु. ७० मा त्यो “दिन” आयो जब रोमी सेनाले यरूशलेमलगायत त्यहाँको मन्दिर र दस लाखभन्दा बढी यहूदीहरूको विनाश गऱ्‍यो। साँचो उपासनाको लागि जोसिला, बप्तिस्मा दिने यूहन्‍नालाई “परमप्रभुको निम्ति योग्य बनाइएका मानिसहरू तयार” पारेर विनाशलाई पर्खन पठाइयो। तिनीहरूले मोशाको व्यवस्थाको करार विरुद्ध गरिएका पापहरूको लागि प्रायश्‍चित गरेर यहोवाले तिनीहरूमाझ पठाउनुभएको परमेश्‍वरको पुत्र, येशूलाई स्वीकार्न तयार हुनुपर्थ्यो।—मलाकी ४:४-६; लूका १:१७; प्रेरित १९:४.

५. (क) येशू बप्तिस्मा लिन आउनुहुँदा यूहन्‍नाले प्रश्‍न गर्नुको कारण के थियो? (ख) येशूको बप्तिस्मा कुन कुराको प्रतीक थियो?

५ यूहन्‍नाबाट बप्तिस्मा लिन आउनेहरूमध्ये स्वयम्‌ येशू पनि हुनुहुन्थ्यो। तर किन? येशूले प्रायश्‍चित गर्नुपर्ने कुनै पाप थिएन भनी थाह भएको हुँदा यूहन्‍नाले यसो भने: “मलाई बरु तपाईंबाट बप्तिस्मा लिनु आवश्‍यक छ, र के तपाईं मकहाँ आउनुहुने?” तर येशूको बप्तिस्मा अर्कै कुराको प्रतीक थियो। त्यसकारण येशूले यस्तो जवाफ दिनुभयो: “अहिले यसै हुनदेऊ। किनभने यसरीनै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” (मत्ती ३:१३-१५) येशू पापरहित हुनुभएकोले उहाँको बप्तिस्मा पाप प्रायश्‍चितको प्रतीक थिएन; न त उहाँले परमेश्‍वरलाई समर्पण गर्नु आवश्‍यक थियो किनभने उहाँ यहोवाप्रति समर्पित राष्ट्रको सदस्य हुनुहुन्थ्यो। बरु, ३० वर्षको उमेरमा उहाँले बप्तिस्मा लिनुहुँदा त्यसको बेग्लै अर्थ थियो र यो स्वर्गमा हुनुहुने पितासमक्ष आफूलाई अर्पण गरेर उहाँको इच्छा अझ बढी गर्न तयार छु भन्‍ने कुराको प्रतीक थियो।

६. परमेश्‍वरको इच्छाअनुरूप गर्न येशू कत्तिको गम्भीर हुनुहुन्थ्यो?

६ ख्रीष्ट येशूले परमेश्‍वरको इच्छाअनुरूप गर्नुपर्ने कार्य परमेश्‍वरको राज्य गतिविधिसित सम्बन्धित थियो। (लूका ८:१) यसमा छुडौतीको लागि उहाँको सिद्ध मानव शरीर बलिदान दिनुका साथै नयाँ करारको लागि आधार तयार पार्नु समावेश थियो। (मत्ती २०:२८; २६:२६-२८; हिब्रू १०:५-१०) आफूले लिएको पानीको बप्तिस्मालाई येशूले एकदमै गम्भीरतापूर्वक लिनुभयो। उहाँले आफ्नो ध्यान अरू कुराहरूमा अलमलिन दिनुभएन। आफ्नो पार्थिव जीवनको अन्तसम्मै उहाँले परमेश्‍वरको इच्छा गरिरहनुभयो र परमेश्‍वरको राज्यको प्रचारकार्यलाई आफ्नो प्रमुख काम बनाउनुभयो।—यूहन्‍ना ४:३४.

मसीही चेलाहरूको पानीद्वारा बप्तिस्मा

७. सा.यु. ३३ पेन्तिकोसदेखि मसीहीहरूलाई बप्तिस्माको सन्दर्भमा के गर्ने आज्ञा दिइएको थियो?

७ येशूका प्रारम्भिक चेलाहरूलाई बप्तिस्मा दिने यूहन्‍नाले बप्तिस्मा दिए अनि तिनीहरू स्वर्गको राज्यका सम्भाव्य सदस्यहरू हुन येशूतर्फ डोऱ्‍याइए। (यूहन्‍ना ३:२५-३०) येशूको निर्देशनमा यी चेलाहरूले पनि बप्तिस्मा दिने कार्य गरे अनि यो बप्तिस्मा दिने यूहन्‍नाले दिएको बप्तिस्माजस्तै थियो। (यूहन्‍ना ४:१, २) तथापि, सा.यु. ३३ पेन्तिकोसदेखि तिनीहरूले “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा दिने काम पूरा गर्न थाले। (मत्ती २८:१९) त्यसको अर्थ के हो भनेर बुझ्नु तपाईंको लागि निकै लाभदायी हुनेछ।

८. ‘पिताको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो?

८ ‘पिताको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो? यसको अर्थ, उहाँको नाउँ, ओहदा, अख्तियार, उद्देश्‍य र नियम स्वीकार्नु हो। यसमा के-कस्ता कुरा मुछिएका छन्‌, विचार गर्नुहोस्‌। (१) उहाँको नाउँबारे भजन ८३:१८ यसो भन्छ: “तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ। (२) उहाँको ओहदाबारे २ राजा १९:१५ यसो भन्छ: “हे परमप्रभु, . . . तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।” (३) उहाँको अख्तियारबारे प्रकाश ४:११ यसो भन्छ: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए र सृजिए।” (४) यहोवा नै हामीलाई पाप र मृत्युबाट छुटकारा दिनुहुने जीवनदाता हुनुहुन्छ भनेर हामीले स्वीकार्नुपर्छ: “उद्धार परमप्रभुमा छ।” (भजन ३:८; ३६:९) (५) हामीले यहोवा सर्वोच्च कानूनदाता हुनुहुन्छ भनेर स्वीकार्नुपर्छ: “परमप्रभु हाम्रा न्यायकर्त्ता हुनुहुन्छ। परमप्रभु हाम्रा शासक हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ।” (यशैया ३३:२२) उहाँमा यी सबै अख्तियार भएको हुँदा हामीलाई यस्तो आग्रह गरिएको छ: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।”—मत्ती २२:३७.

९. ‘पुत्रको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो?

९ ‘पुत्रको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो? यसको अर्थ येशू ख्रीष्टको नाउँ, ओहदा र अख्तियार स्वीकार्नु हो। उहाँको नाउँ, येशूको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।” उहाँ परमेश्‍वरको एक मात्र पुत्र, परमेश्‍वरको सृष्टिको जेठो हुनुभएकोले उक्‍त ओहदा पाउनुभएको हो। (मत्ती १६:१६; कलस्सी १:१५, १६) यस पुत्रबारे यूहन्‍ना ३:१६ मा यसो भनिएको छ: “परमेश्‍वरले [उद्धारयोग्य मानवजातिको] संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” येशू विश्‍वासी भई मर्नुभएको हुँदा परमेश्‍वरले उहाँलाई मृत अवस्थाबाट बिउँताउनुभएर थप अख्तियार दिनुभयो। प्रेरित पावलले बताएअनुसार परमेश्‍वरले “[येशूलाई] अति उच्च पार्नुभयो” अर्थात्‌ ब्रह्‍माण्डमा यहोवापछि दोस्रो महत्त्वपूर्ण ओहदा दिनुभयो। त्यसैकारण, “हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलिप्पी २:९-११) यसको मतलब यहोवाले येशूमार्फत दिनुभएको आज्ञा पालन गर्नु हो।—यूहन्‍ना १५:१०.

१०. “पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनुको अर्थ के हो?

१० “पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनुको अर्थ के हो? यसको अर्थ, पवित्र आत्माको भूमिका र गतिविधि स्वीकार्नु हो। अनि पवित्र आत्मा भनेको के हो? यो यहोवाको सक्रिय शक्‍ति हो जसद्वारा उहाँले आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ। येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [“सहायक,” NW] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ।” (यूहन्‍ना १४:१६, १७) यसले तिनीहरूलाई के गर्न मदत गर्ने थियो? येशूले तिनीहरूलाई अझ यसो भन्‍नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (प्रेरित १:८) पवित्र आत्माद्वारा परमेश्‍वरले बाइबल लेखन कार्यलाई पनि प्रेरित गर्नुभयो: “मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोल्दथिए।” (२ पत्रुस १:२१) अतः हामी बाइबल अध्ययन गर्दा पवित्र आत्माको भूमिकालाई मानिलिन्छौं। हामीले पवित्र आत्मालाई मानिलिने अर्को तरिका “आत्माको फल” फलाउन यहोवाको मदत मागेर हो। ती फलहरू हुन्‌, “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम।”—गलाती ५:२२, २३.

११. (क) हाम्रो समयमा बप्तिस्माको साँचो अर्थ के हो? (ख) बप्तिस्मा भनेको कुन अर्थमा मर्नु र फेरि बिउँताइनुजस्तै हो?

११ येशूको निर्देशनअनुरूप पहिला यहूदीहरू अनि पछि सा.यु. ३३ यता धर्म परिवर्तन गरेर यहूदी मत स्वीकार्नेहरूले बप्तिस्मा लिए। त्यसको केही समयपछि मसीही चेला हुने सुअवसर सामरीहरूलाई दिइयो। अनि खतना नगरिएका अन्यजातिहरू पनि सा.यु. ३६ देखि यसमा सामेल गराउन थालियो। बप्तिस्मा लिनुअघि सामरी तथा अन्यजातिहरूले यहोवालाई व्यक्‍तिगत समर्पण गरेपछि मात्र उहाँको पुत्रका चेलाहरूको हैसियतमा सेवा गर्न सक्थे। अहिले हाम्रो समयसम्म पनि मसीही पानी बप्तिस्माको यस्तै महत्त्व छ। व्यक्‍तिगत समर्पणको लागि पानीमा चुर्लुम्मै डुब्नु उपयुक्‍त प्रतीक हो किनभने बप्तिस्मा भनेको प्रतीकात्मक अर्थमा अन्त्येष्टिजस्तै हो। तपाईंले बप्तिस्मा लिनुहुँदा पानीभित्र जानुको मतलब पुरानो जीवन शैलीमा मर्नुजस्तै हो। पानीबाट बिउँताइनु भनेको परमेश्‍वरको इच्छा गर्न जीवित हुनुजस्तै हो। यो “एउटै बप्तिस्मा” सबै साँचो मसीहीहरूलाई लागू हुन्छ। बप्तिस्मा लिएपछि तिनीहरू यहोवाका मसीही साक्षीहरू, परमेश्‍वरका अनुमोदित सेवकहरू हुन्छन्‌।—एफिसी ४:५; २ कोरिन्थी ६:३, ४.

१२. मसीहीहरूको पानीको बप्तिस्मा कुन कुरासित दाँज्न सकिन्छ र कसरी?

१२ परमेश्‍वरको नजरमा त्यस्तो बप्तिस्माले ठूलो बचाउको काम गर्छ। उदाहरणका लागि, जलप्रलयमा नूहले आफू र आफ्नो परिवार बच्नको लागि बनाएको जहाजबारे बताइसकेपछि प्रेरित पत्रुसले यस्तो लेखे: “तब ठीक त्यही किसिमले, अर्थात्‌ बप्तिस्माले, शरीरको मैल उतारेर ता होइन, तर परमेश्‍वरतर्फ सफा विवेकको सवालले, येशू ख्रीष्टको पुनरुत्थानद्वारा अब तिमीहरूलाई बचाउनेछ।” (१ पत्रुस ३:२१) परमेश्‍वरले अह्राउनुभएको काम नूहले दुरुस्त गरेका थिए भन्‍ने ठोस प्रमाण, जहाज थियो। जहाज बनाउने काम पूरा भएपछि “त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो।” (२ पत्रुस ३:६) तर नूह र तिनको परिवार गरी “आठ जना पानीद्वारा बाँचेको थिए।”—१ पत्रुस ३:२०.

१३. पानीको बप्तिस्माद्वारा मसीहीहरू केबाट बचाइन्छन्‌?

१३ आज, पुनरुत्थान हुनुभएको येशू ख्रीष्टमा विश्‍वास राखेको आधारमा यहोवालाई समर्पण गर्नेहरूले आफ्नो समर्पण जनाउँदै बप्तिस्मा लिन्छन्‌। तिनीहरू हाम्रो समयको लागि परमेश्‍वरको इच्छा के हो, त्यो गर्छन्‌ अनि वर्तमान दुष्ट संसारबाट बचाइन्छन्‌। (गलाती १:३, ४) तिनीहरू वर्तमान दुष्ट रीतिरिवाजसँगसँगै विनाश हुनेछैनन्‌। तिनीहरू यो विनाशबाट बचाइनेछन्‌ र परमेश्‍वरसमक्ष असल अन्तस्करण राख्न सक्छन्‌। प्रेरित यूहन्‍नाले परमेश्‍वरका सेवकहरूलाई यस्तो आश्‍वासन दिन्छन्‌: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७.

हाम्रो जिम्मेवारीअनुरूप जीवन बिताउने

१४. बप्तिस्मा नै उद्धारको लागि ग्यारेन्टी किन होइन?

१४ बप्तिस्मा नै उद्धारको लागि ग्यारेन्टी हो भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। कसैले येशू ख्रीष्टमार्फत साँच्चै यहोवालाई समर्पण गरेर अन्तसम्म विश्‍वासी हुँदै परमेश्‍वरको इच्छा गरेको खण्डमा मात्र त्यसको कुनै मोल हुनेछ। “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती २४:१३.

१५. (क) अहिले हाम्रो समयमा बप्तिस्माप्राप्त मसीहीहरूबाट परमेश्‍वर के चाहनुहुन्छ? (ख) हाम्रो जीवनमा मसीही चेला हुनुको जिम्मेवारी कत्तिको महत्त्वपूर्ण हुनुपर्छ?

१५ येशूको लागि परमेश्‍वरको उद्देश्‍य उहाँले पृथ्वीमा हुनुहुँदा आफ्नो जीवन कसरी बिताउनुभयो, त्यो पनि बिथोलित थियो। उहाँको जीवन बलिदानको रूपमा अर्पण गर्नुपर्ने थियो। हाम्रो सन्दर्भमा भने आफ्नो शरीर परमेश्‍वरलाई अर्पण गर्नुपर्छ अनि परमेश्‍वरको इच्छा गर्दै आत्म-त्यागी जीवन बिताउनुपर्छ। (रोमी १२:१, २) हामीले कहिलेकाहीं जानाजानी आफू वरपरको संसारजस्तो व्यवहार गऱ्‍यौं वा परमेश्‍वरलाई नाउँ मात्रको सेवा चढाउँदै आफ्नो स्वार्थपूर्तिमा जीवन केन्द्रित गऱ्‍यौं भने, हामीले अवश्‍य परमेश्‍वरको इच्छाअनुरूप गरिरहेका हुनेछैनौं। (१ पत्रुस ४:१-३; १ यूहन्‍ना २:१५, १६) एक जना यहूदीले अनन्त जीवन पाउन के गर्नुपर्छ भनी प्रश्‍न गर्दा येशूले नैतिक तवरमा स्वच्छ जीवन बिताउनुपर्ने महत्त्वलाई प्रस्ट पार्नुभयो। तर त्यसपछि उहाँले अझ महत्त्वपूर्ण कुरा औंल्याउनुभयो: मसीही चेला, येशूको अनुयायी हुनुपर्ने आवश्‍यकता। त्यो हाम्रो जीवनको प्रमुख लक्ष्य हुनुपर्छ। यसलाई भौतिक कुराहरूपछि दोस्रो स्थानमा राख्न सकिंदैन।—मत्ती १९:१६-२१.

१६. (क) सबै मसीहीहरूको राज्यसम्बन्धी जिम्मेवारी के हो? (ख) पृष्ठ ११६ र ११७ मा देखाइएझैं राज्यसम्बन्धी काम गर्ने केही प्रभावकारी तरिकाहरू के-के हुन्‌? (ग) साक्षीकार्यमा तनमनले भाग लिंदा त्यसले कुन कुराको प्रमाण दिन्छ?

१६ परमेश्‍वरको इच्छा पूरा गर्न येशूले गर्नुपर्ने कुरामा परमेश्‍वरको राज्यसित सम्बन्धित अत्यावश्‍यक गतिविधि पनि समावेश छ भनेर फेरि जोड दिनु उचित छ। येशू राजा हुनको लागि अभिषिक्‍त हुनुभयो। तर पृथ्वीमा हुनुहुँदा उहाँले राज्यबारे जोसिलो साक्षी दिनुभयो। हामीले त्यस्तै साक्षीकार्य गर्नुपर्छ अनि यस कार्यमा पूरा तनमनले भाग लिनुपर्ने प्रशस्त कारणहरू छन्‌। यसो गरेर हामी यहोवाको सार्वभौमिकताप्रति मूल्यांकन र सँगी मानवहरूप्रति प्रेम देखाइरहेका हुनेछौं। (मत्ती २२:३६-४०) हामी संसारभरिका सँगी उपासकहरू जो सबै राज्य उद्‌घोषकहरू हुन्‌, तिनीहरूसित एकताबद्ध छौं भनेर देखाइरहेका हुन्छौं। सबैसित एक भएर हामी त्यस राज्यको पार्थिवजगत्‌मा अनन्त जीवन प्राप्त गर्ने लक्ष्यतर्फ अघि बढ्‌छौं।

पुनरावृत्ति छलफल

• येशूको बप्तिस्मा र अहिले लिइने पानीको बप्तिस्माबीच कस्ता समानता तथा भिन्‍नताहरू छन्‌?

• “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनुको अर्थ के हो?

• मसीहीहरूले पानीको बप्तिस्माअनुरूप जिम्मेवारी वहन गर्दै जीवन बिताउनुमा के-के समावेश छन्‌?

[पृष्ठ ११६,११७-मा भएको चित्रहरु]

परमेश्‍वरको राज्यबारे उद्‌घोषणा गर्ने केही तरिकाहरू

नातेदारलाई

सहकर्मीलाई

सहपाठीलाई

सडकमा

घर-घर

जिज्ञासुलाई पुनः भेट्‌न गएर

गृह बाइबल अध्ययनमा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने