अध्याय २३
परमेश्वरको दृश्य सङ्गठन
१. परमेश्वरको अदृश्य सङ्गठनवारे बाइबल के भन्दछ?
परमेश्वरको एउटा दृश्य सङ्गठन छ भनेर हामी किन निश्चित हुन सक्छौं? एउटा कारण यो हो कि उहाँको एउटा अदृश्य सङ्गठन छ। यहोवाले करूबहरू, सराफहरू र अन्य अरू स्वर्गदूतहरूको सृष्टि गर्नु भएको छ। (उत्पत्ति ३:२४; यशैया ६:२, ३; भजनसंग्रह १०३:२०) येशू ख्रीष्ट यिनीहरू सबैमाथिको प्रधान दूत हुनुहुन्छ। (१ थिस्सलोनिकी ४:१६; यहूदा ९; प्रकाश १२:७) बाइबलको वर्णन अनुसार “सिंहासनहरू, राज्यहरू, प्रधानताहरू, प्रभुत्वहरूमा” स्वर्गदूतहरू सङ्गठित छन्। (कलस्सी १:१६; एफिसी १:२१) यी सबैनै यहोवाको आज्ञा अनुसार सेवा गर्छन्, र सबै संयुक्त भएर उहाँले दिनुभएको काम तिनीहरू गर्छन्।—दानियल ७:९, १०; अय्यूब १:६; २:१.
२. जुन ढ़ङ्गले हाम्रो भौतिक ब्रह्माण्डको सृष्टि परमेश्वरले गर्नु भयो त्यसबाट उहाँ सङ्गठनलाई ठूलो महत्व दिनु हुन्छ भनेर कसरी बुझ्न सकिन्छ?
२ परमेश्वरको भौतिक सृष्टिहरूलाई विचार गर्दा उहाँ सङ्गठनलाई कत्तिको महत्व दिनुहुन्छ भन्ने कुरा थाह हुन्छ। उदाहरणकालागि, ब्रह्माण्डमा भएका अरबौं तारागणहरू बेग्ला-बेग्लै समूहमा व्यवस्थित गरिएका छन्। ती समूहहरूलाई आकाशगङ्गाहरू भनिन्छ। यी आकाशगङ्गाहरू अन्तरिक्षमा व्यवस्थित ढङ्गले एकबाट अर्को बिन्दुमा जान्छन्। त्यसैगरी प्रत्यक ताराहरू र ग्रहहरू पनि आफ्ना आफ्ना आकाशगङ्गाहरू भित्र हिड़छन्। उदाहरणकालागि, हाम्रो पृथ्वीले, सबैभन्दा नजिकको ग्रह, सूर्यको परिक्रमा वर्षमा एक पटक, ठीक ३६५ दिन, ५ घन्टा, ४८ मिनेट र ४५.५१ सेकेन्डमा गर्ने गर्छ!
३. परमेश्वरको अदृश्य सृष्टि र उहाँको भौतिक ब्रह्माण्डमा भएको सङ्गठनले हामीलाई के शिक्षा दिन्छ?
३ परमेश्वरको अदृश्य सृष्टिहरूका बीच र भौतिक ब्रह्माण्डमा रहेको यो अचम्मको सङ्गठनबाट हामी के शिक्षा पाउँछौं? यहोवा सङ्गठनमा विश्वास गर्ने परमेश्वर हुनुहुन्छ, र निश्चयनै यस प्रकारका परमेश्वरले उहाँलाई प्रेम गर्ने पृथ्वीका मानिसहरूलाई निर्देशन र सङ्गठन बिना छाड़नु हुनेछैन।
परमेश्वरको दृश्य सङ्गठन—भूतकाल र वर्तमानमा
४, ५. अब्राहाम र इस्राएली राष्ट्रको समयमा परमेश्वरले आफ्ना जनहरूलाई सङ्गठित रूपमा नेतृत्व गर्नु भयो भनेर हामीहरू कसरी जान्दछौं?
४ यहोवाले सदैब आफ्ना सेवकहरूलाई एउटा सङ्गठित तरीकाले डोऱ्याउनु भएको छ भनेर बाइबलले देखाउँछ। उदाहरणकालागि, अब्राहाम जस्ता विश्वासी मानिसहरूले आफ्ना परिवारहरू र सेवकहरूलाई यहोवाको उपासना गर्न डोऱ्याए। अब्राहामसँग बोलेर यहोवाले आफ्नो इच्छा तिनलाई जाहेर गर्नुभयो। (उत्पत्ति १२:१) र यो सूचना अरूहरूलाई पनि दिनु भनेर परमेश्वरले उनलाई आदेश दिनुहुँदा यसो भन्नुभयो: “किनभने त्यसले आफ्ना छोरा-छोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको [यहोवाको, न्यु.व.] मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई [अब्राहामलाई] छानेको छु।” (उत्पत्ति १८:१९) मानिसहरूको एउटा समूहले यहोवाको उपासना सही ढङ्गले गरून् भन्ने एउटा सुव्यवस्थित प्रबन्ध यसमा थियो।
५ पछि, इस्राएलीहरूको सङ्ख्या बढ़ेर लाखौं भए पछि, यहोवाले प्रत्येकलाई एउटा सुव्यवस्थित प्रबन्ध भन्दा बेग्लै प्रकारले आफ्नै ढङ्गमा उपासना गर्न दिनु भएन। इस्राएलीहरू एउटा सङ्गठित उपासकहरूको राष्ट्रको रूपमा गठित् भए। इस्राएली राष्ट्रलाई “यहोवाको समुदाय” (मण्डली, न्यु.व.) पनि भनिन् थियो। (गन्ती २०:४; १ इतिहास २८:८) यदि तपाईं त्यस बेला यहोवाको साँचो उपासक हुनु भएको भए, तपाईं उपासकहरूको मण्डलीको भाग हुनु पर्ने थियो। त्यस भन्दा बेग्लै भएर उपासना गर्न पाइने थिएन।—भजनसंग्रह १४७:१९, २०.
६. (क) ख्रीष्टका चेलाहरूमाथि उहाँको अनुग्रह थियो भनेर परमेश्वरले कसरी जाहेर गर्नु भयो? (ख) मसीहीहरू उपासनामा सङ्गठित थिए भन्ने के प्रमाण छ?
६ प्रथम शताब्दीमा के स्थिति थियो? यहोवाको कृपादृष्टि उहाँका छोरा येशू ख्रीष्टका अनुयायीहरू माथि थियो। यहोवाले तिनीहरू माथि आफ्नो पवित्र आत्मा खन्याइ दिनुभयो। इस्राएली राष्ट्रको ठाउँमा अब उहाँले मसीही सङ्गठनलाई प्रयोग गर्नु भएको छ भनेर देखाउँन, उहाँले केही प्रारम्भिक मसीहीहरूलाई बिरामी निको पार्ने, मृतकलाई बिउँताउने र अरू चमत्कारहरू देखाउँने शक्ति दिनुभयो। मसीही युनानी पवित्र शास्त्र पढ़ेर मसीहीहरूको सङ्गठित उपासनावारे बुझ्दा तपाईं प्रभावित नभइ रहनै सक्नु हुनेछैन। यथार्थमा, यसै उद्देश्यकालागि एक ठाउँमा भेला हुने आदेश तिनीहरूलाई दिइएको थियो। (हिब्रू १०:२४, २५) अत: यदि प्रथम शताब्दीमा तपाईं यहोवाको साँचो उपासक हुनु भएको भए, तपाईं त्यस मसीही सङ्गठनको सदस्य हुनै पर्ने थियो।
७. कुनै पनि खास समयावधिमा यहोवाले एउटा भन्दा बढ़ी सङ्गठन प्रयोग गर्नु भएन भनेर हामीहरू कसरी जान्दछौं?
७ के यहोवाले कुनै पनि समयमा एउटा भन्दा बढ़ी सङ्गठनलाई कहिले प्रयोग गर्नु भएको छ? नूहको समयमा, नूह र जहाज भित्र तिनीसँग हुनेहरू मात्रले परमेश्वरको संरक्षण पाए र जल-प्रलयबाट बाँचे। (१ पत्रुस ३:२०) अनि, प्रथम शताब्दीमा पनि दुई वा त्यस भन्दा बढ़ी मसीही सङ्गठन थिएन। परमेश्वरको सम्बन्ध एउटासँग मात्र थियो। त्यस समयमा “एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा” मात्र थियो (एफिसी ४:५) त्यस्तै प्रकारले हाम्रो समयकालागि, येशू ख्रीष्टले भविष्यवाणी गर्नु भएको थियो कि परमेश्वरका जनहरूकालागि आध्यात्मिक निर्देशन दिने एउटै मात्र स्रोत हुनेछ।
८. हाम्रो समयमा एउटा मात्र दृश्य सङ्गठन हुने छ भनेर येशूले कसरी प्रदर्शित गर्नु भयो?
८ राज्य शक्तिका साथ आफ्नो उपस्थिति वारे भन्दा, येशूले भन्नुभयो: “तब विश्वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस् भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछन्। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्त गर्नेछ।” (मत्ती २४:४५-४७) १९१४ सालमा आफ्नो राज्य शक्तिमा फर्कनु हुँदा, ख्रीष्टले आध्यात्मिक “भोजन” वा सूचना दिइ रहेका एउटा “विश्वासी र बुद्धिमान” वर्गलाई फेला पार्नु भयो ता? हो, उहाँले उहाँका १४४,००० “भाइहरू” मध्य पृथ्वीमा बाँचेकाहरूबाट गठन भएको त्यस प्रकारको “नोकर” फेला पार्नु भयो। (प्रकाश १२:१०; १४:१, ३) र १९१४ देखिन्, तिनीहरूले दिएको “भोजन” लाखौं मानिसहरूले स्वीकार गरेकाछन्, र तिनीहरूसँगै मिलेर साँचो धर्मको पालन गर्न शुरू गरेकाछन्। परमेश्वरका सेवकहरूको त्यो सङ्गठन यहोवाका साक्षीहरूको नाउँबाट परिचित् छन्।
९. (क) परमेश्वरका सेवकहरूले यहोवाका साक्षी भन्ने नाउँ किन धारण गरेकाछन्? (ख) आफ्नो उपासना गर्ने ठाउँलाई तिनीहरू राज्य सभा-गृह किन भन्दछन्?
९ यहोवाका साक्षीहरू आफ्ना प्रत्यक काममा परमेश्वर र उहाँको वचनबाट निर्देशित् हुन्छन्। तिनीहरूको मुख्य गतिविधि, ख्रीष्टले गर्नुभएको जस्तै, यहोवा परमेश्वरको नाउँ र उहाँको राज्यवारे साक्षी दिनुनै हो भन्ने कुरा, तिनीहरूको नाउँ यहोवाका साक्षीहरू भएकोलेनै देखिन्छ। (यूहन्ना १७:६; प्रकाश १:५) साथै, तिनीहरूले उपासना गर्ने ठाउँलाई राज्य सभा-गृह भन्दछन् किनभने मसीह अथवा ख्रीष्ट द्वारा सञ्चालित परमेश्वरको राज्यनै सम्पूर्ण बाइबलको मूल विषय हो। प्रथम शताब्दीको मसीही धर्ममा परमेश्वरको स्वीकृति प्राप्त थियो भन्ने कुरा स्पष्ट भएको ले, यहोवाका साक्षीहरूले पनि आफ्नो सङ्गठनलाई त्यसै नमूना अनुसार सञ्चालन गर्दछन्। प्रथम शताब्दीको त्यस मसीही सङ्गठन तर्फ सङ्क्षिप्त रूपमा हेरौं र त्यसलाई आजको परमेश्वरको दृश्य सङ्गठनसँग तुलना गरौं।
प्रथम शताब्दीको नमूना
१०. प्रथम शताब्दीका मसीहीहरूका सङ्गठनका केही विशेषताहरू के थिए?
१० प्रथम शताब्दीमा जहाँ कहीं पनि मसीहीहरू हुन्थिए, तिनीहरू उपासनाकालागि एउटा समूहमा एकत्रित हुन्थिए। ती मण्डलीहरू मैत्रीभाव र अध्ययनकालागि नियमित रूपले भेला हुन्थिए। (हिब्रू १०:२४, २५) तिनीहरूको मुख्य गतिविधि, ख्रीष्टले गर्नु भएको जस्तै, परमेश्वरको राज्यवारे प्रचार गर्नु र शिक्षा दिनु थियो। (मत्ती ४:१७; २८:१९, २०) मण्डलीको कुनै सदस्यले खराब जीवन-शैली अपनाएको खण्डमा, उसलाई मण्डलीबाट बहिष्कार गरिन्थियो।—१ कोरिन्थी ५:९-१३; २ यूहन्ना १०, ११.
११, १२. (क) प्रारम्भिक मसीही मण्डलीहरूले यरूशलेम स्थित प्रेरितहरू र “धर्मगुरू” बाट पथ-प्रदर्शन र निर्देशन पाउँथिए भन्ने तथ्य कसरी प्रमाणित हुन्छ? (ख) “ईश्वरतन्त्रीय” निर्देशन भनेको अर्थ के हो? (ग) यस प्रकारको निर्देशनलाई स्वीकार गर्दा के परिणाम भयो?
११ के प्रथम शताब्दीका ती मसीही मण्डलीहरू एक अर्कासँग स्वतंत्र हुन्थिए, र मण्डली सम्बन्धी विषयहरूमा प्रत्येकले आफ्नो निजी निर्णय लिन्थिए? होइन, तिनीहरू एउटै मसीही विश्वासमा बाँधिएका थिए। सबै मण्डलीहरू एउटै स्रोतबाट पथ-प्रदर्शन र निर्देशन प्राप्त गर्दथिए। त्यसैले, खतना सम्बन्धी विवाद उठ्दा, के गर्ने भनेर मण्डलीहरू, वा व्यक्तिहरूले आफै निर्णय गरेनन्। बरू, प्रेरित पावल, बर्णाबास, र अरूहरूलाई “यस सवालको विषयमा यरूशलेममा प्रेरितहरू र धर्मगुरुहरू कहाँ जानलाई नियुक्त गरे।” परमेश्वरको वचन र उहाँको “पवित्र आत्माको” सहायताले ती परिपक्व मानिसहरूले निर्णय गरेपछि, मण्डलीहरूलाई सूचना गर्न विश्वासी जनहरू पठाए।—प्रेरित १५:२, २७-२९.
१२ मण्डलीहरूले यो ईश्वरतन्त्रीय पथ-प्रदर्शन र निर्देशन पाउँनाले के परिणाम भयो? बाइबल भन्दछ: “अब तिनीहरू शहर शहरका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र धर्म-गुरुहरूबाट तोकिएका विधिहरू प्रतिपालन गर्नू भनी तिनीहरूलाई बताए। यसरी मण्डलीहरू विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।” (प्रेरित १६:४, ५) हो, यरूशलेममा हुने धर्म-गुरुहरूबाट निर्णय भएका कुराहरूसँग मण्डलीहरूले सहमति देखाउँदा, तिनीहरू विश्वासमा बलियो हुँदैगए।
वर्तमानमा ईश्वरतन्त्रीय निर्देशन
१३. (क) पृथ्वीको कुन ठाउँबाट र मानिसहरूको कुन निकायबाट परमेश्वरको दृश्य सङ्गठनले आज पथ-प्रदर्शन पाइरहेछ? (ख) “विश्वासी र बुद्धिमान दास” सँग संचालक समितिको के सम्बन्ध छ?
१३ परमेश्वरको दृश्य सङ्गठनले ईश्वरतन्त्रीय पथ-प्रदर्शन र निर्देशन आज पनि पाउँदछ। ब्रुकलिन, न्यु यॉर्कमा स्थित यहोवाका साक्षीहरूको मुख्यालयमा पृथ्वीको विभिन्न भागहरूबाट आएका प्रौढ़ मसीही व्यक्तिहरूको एउटा संचालक समिति छ जसले परमेश्वरका जनहरूको विश्व-व्यापी गतिविधिको आवश्यक रेखदेख गर्दछ। यो संचालक समिति “विश्वासी र बुद्धिमान दासका” सदस्यहरू द्वारा बनिएको छ। यसले त्यो “दासको” प्रवक्ताको रूपमा काम गर्दछ।
१४. परमेश्वरका जनहरूको संचालक समिति आफ्नो निर्णय लिंदा के मा भर पर्दछन्?
१४ यरूशलेममा हुने प्रेरितहरू र धर्म-गुरुहरू जस्तै, यो संचालक समितिका सदस्यहरूको पनि परमेश्वरको सेवामा धेरै वर्षको अनुभव छ। तर निर्णय गर्दा तिनीहरू मानव बुद्धिमा भर पर्दैनन्। होइन, ईश्वरतन्त्रीय रूपले शासित भएका हुनाले, तिनीहरू यरूशलेमको प्रारम्भिक संचालक समितिको उदाहरणलाई अनुसरण गर्दछन्, जसले गरेका निर्णयहरू परमेश्वरको वचनमा आधारित र पवित्र आत्माको निर्देशनको अधीनमा हुन्थिए।—प्रेरित १५:१३-१७, २८, २९.
एउटा विश्वव्यापी सङ्गठनलाई निर्देशन दिनु
१५. अन्तको समयमा पृथ्वीमा परमेश्वरको एउटा ठूलो सङ्गठन हुनेछ भनेर मत्ती २४:१४ मा भएको येशूको वचनले कसरी प्रदर्शित गर्दछ?
१५ यो अन्तको समयको दौडानमा पृथ्वीमा हुने परमेश्वरको सङ्गठनको विस्तारको अन्दाज येशू ख्रीष्टले यसो भनेर दिनुभयो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) पृथ्वीका करोड़ौं मानिसहरूलाई परमेश्वरको स्थापित राज्यवारे बताउँन कति विशाल मात्रामा काम गर्नुपर्ने आवश्यकता छ त्यसवारे विचार गर्नुहोस्। के आधुनिक मसीही मण्डली जो पथ-प्रदर्शन र निर्देशनकालागि सञ्चालक समिति तर्फ हेरिरहन्छ, यत्तिको महान काम भियाउन सुसज्जित छ?
१६. (क) यहोवाका साक्षीहरूले ठूलठूला छापाखानाहरू किन स्थापित गरेका छन्? (ख) यी छापाखानाहरूमा के छापिन्छन्?
१६ यहोवाका साक्षीहरू अहिले पृथ्वीका २०० भन्दा बढ़ी देशहरू र टापुहरूमा राज्यको प्रचार गरिरहेकाछन्। ४०,००,००० भन्दा बढ़ी राज्यका प्रकाशकहरूलाई (१९९० मा) यो कार्य पूरा गर्नमा मदद दिन अनेक देशहरूमा ठूला ठूला छापाखानाहरू स्थापित गरिएका छन्। यहाँ बाइबल र बाइबल सम्बन्धी साहित्य धेरै मात्रामा छापिन्छन्। यी कारखानाहरूबाट काम गर्ने प्रत्यक दिनमा, सरदर, बीस लाख भन्दा बढ़ी प्रहरीधरहरा र अवेक! पत्रिकाहरू छापिन्छन् र बाहिर पठाइन्छन्।
१७. (क) बाइबल साहित्य किन तैयार गरिन्छन्? (ख) के गर्नकालागि तपाईंलाई आमंत्रित गरिन्छ?
१७ यी सारा बाइबल साहित्य परमेश्वरको महान उद्देश्यहरू वारे मानिसहरूको ज्ञान बढ़ाउनमा सहायता दिनकालागि तैयार गरिन्छन्। यथार्थमा, “यहोवाको राज्यको घोषणा गर्दछ” भन्ने शब्दहरू, प्रहरीधरहरा पत्रिकाको शीर्षकको एउटा भाग छ। यो बाइबलका साहित्यलाई वितरण गर्ने र यसमा भएका बाइबलका सत्य कुराहरू अरूहरूलाई व्याख्या गर्ने काममा भाग लिन तपाईलाई आमंत्रित गर्दछौं। उदाहरणकालागि, पार्थिव प्रमोदबनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ भन्ने यो पुस्तकबाट सिक्नु भएको अति आवश्यक कुराहरू तपाईंले कुनै अरू व्यक्तिलाई सुनाउन सक्नु हुन्छ?
१८. (क) परमेश्वरको सङ्गठन आज कुन प्रकारको सङ्गठन हो? (ख) परमेश्वरका जनहरूलाई अहिले धेरैनै प्रोत्साहनको किन खाँचो छ?
१८ प्रथम शतब्दीमा भए जस्तै, आजको परमेश्वरको सङ्गठन पनि समर्पित र बप्तिस्मा लिएका राज्य प्रचारकहरूको एउटा सङ्गठन हो। र प्रचार कार्यमा भागलिन आफ्ना सबै सदस्यहरूलाई मदद होस् भनेर यसको स्थापना भएको हो। शैतान र उसको प्रभावमा पर्नेहरूले राज्यको सुसमाचारको विरोधगर्ने भएकाले, यी सदस्यहरूलाई प्रोत्साहन र आध्यात्मिक ताकतको धेरैनै खाँचो पर्दछ। यस प्रकारका विरोधीहरूले येशूको हत्या गरे, किनभने उहाँले राज्य सन्देश प्रचार गर्नु भयो र उहाँका अनुयायीहरू पनि सताइनेछन् भनेर बाइबलले चेतावनी दिएको छ।—यूहन्ना १५:१९, २०;२ तिमोथी ३:१२.
१९. (क) परमेश्वरका जनहरूलाई मदद गर्ने र दह्रो बनाउने जिम्मेवारी अहिले कसलाई प्रदान गरिएको छ? (ख) भ्रष्टपार्न सक्ने दुष्ट प्रभावबाट मण्डलीलाई कसरी बचाइन्छ?
१९ प्रथम शताब्दी जस्तै आज पनि प्रत्येक मण्डलीलाई मदद दिन र बलियो बनाउन “धर्म-गुरुहरू”, वा प्राचनीहरू नियुक्त गरिन्छ। अनेक प्रकारका समस्याहरूलाई सामना गर्न बाइबलबाट सल्लाह दिएर तपाईंलाई तिनीहरूले मदद दिनेछन्। यी प्राचीनहरूले “परमेश्वरको बगालको” संरक्षण पनि गर्दछन्। यसरी, यदि मण्डलीको एउटा सदस्य खराब जीवन-शैली तर्फको बाटोमा लाग्छ र त्यसबाट फर्कन इन्कार गर्छ भने, “धर्म-गुरुहरूले” त्यसलाई मण्डलीबाट हटाउनेछन्, वा बहिष्कृत गर्नेछन्। यसबाट एउटा स्वस्थ, आध्यात्मिक रूपमा स्वच्छ मण्डली कायम रहने छ।—तितस १:५; १ पत्रुस ५:१-३; यशैया ३२:१, २; १ कोरिन्थी ५:१३.
२०. (क) प्रथम शताब्दीमा यरूशलेम स्थित संचालक समितिले कसलाई बाहिर ठाउँ-ठाउँमा पठाए र के कारणले गर्दा? (ख) संचालक समितिले आज कसलाई पठाउँछन्?
२० यसै प्रकार, यरूशलेममा हुने संचालक समितिले परमेश्वरका जनहरूलाई प्रोत्साहित पार्न, जसरी विशेष प्रतिनिधि पावल र सिलासलाई पठाए, त्यसैगरी, यो अन्तको समयमा आजका संचालक समितिले पनि त्यसै गर्दछन्। (प्रेरित १५:२४-२७, ३०-३२) वर्षमा दुई पटक एउटा अनुभवी सेवकले जसलाई परिभ्रमण अध्यक्ष भन्दछन्, प्रत्यक मण्डलीमा एक हप्ता समय बिताउन निर्देशन पाउँछन्।
२१. परमेश्वरका जनहरूको मण्डलीहरूलाई परिभ्रमण अध्यक्षले कसरी मदद दिन्छन्?
२१ सारा संसारमा यहोवाका साक्षीहरूको ६०,००० भन्दा बढ़ी मण्डलीहरू छन्। यिनीहरूलाई सर्किटहरूमा विभाजित गरिएको छ र प्रत्यक सर्किटमा २० वटा जति मण्डलीहरू हुन्छन्। आफ्नो सर्किटका मण्डलीहरूको भ्रमणमा जाँदा, राज्यका साक्षीहरू सँग-सँगै तिनीहरूका प्रचार र शिक्षा कार्यहरूमा भागलिएर परिभ्रमण अध्यक्षले तिनीहरूलाई प्रोत्साहन दिन्छन्। यस प्रकारले प्रोत्साहित पार्नु बाहेक, तिनीहरूको सेवकाईको उन्नतिमा मदद गर्ने सुझावहरू पनि दिन्छन्।—प्रेरित २०:२०, २१.
२२. (क) परमेश्वरका जनहरूलाई दह्रो बनाउन वर्षमा दुई पटक अरू के कुराको प्रबन्ध गरिएको छ? (ख) तपाईंलाई केकालागि आमंत्रण गरिएको छ?
२२ अझ बढ़ी प्रोत्साहन दिन र दह्रो बनाउनकालागि, वर्षमा सामान्यतया दुई पटक, प्रत्यक सर्किटका मण्डलीहरू एक वा दुई दिने सर्किट सम्मेलनमा जम्मा हुन्छन्। यस्ता अवसरहरूमा, दुई वा तीन सय देखि लिएर २,००० वा त्यस भन्दा पनि बढ़ी मानिसहरू भेला हुन सक्छन्। तपाईंको क्षेत्रमा हुनेवाला अर्को सम्मेलनमा उपस्थित हुन तपाईंलाई आमंत्रण गरिन्छ। तपाईंले त्यस सम्मेलनमा आध्यात्मिक जोश प्राप्त गर्नु हुनेछ र त्यसबाट व्यक्तिगत रूपमा तपाईंलाई फायदा हुनेछ भनेर हामीहरू विश्वस्त छौं।
२३. (क) प्रत्यक वर्ष एक पटक अर्को कुन सम्मेलन हुन्छ? (ख) यी सम्मेलनहरू मध्य एउटा कत्तिको विशाल थियो?
२३ अनि, वर्षमा एक पटक, अनेक दिनसम्म चल्ने एउटा ठूलो सम्मेलन हुन्छ जसलाई जिल्ला सम्मेलन भनिन्छ। यस प्रकारको सम्मेलन कत्तिको आनन्ददायक र आध्यात्मिक रूपले लाभप्रद हुँदो रहेछ भनेर आफै अनुभव गर्न त्यहाँ भेलाहुन एउटा साँच्चैकै प्रयत्न किन गर्नु हुन्न? यी जिल्ला सम्मेलनहरूका अलावा कति वर्ष सम्म ठूला राष्ट्रिय वा अन्तर्राष्ट्रिय सम्मेलनहरू पनि भए। एक ठाउँमा हुने सबैभन्दा ठूलो सम्मेलन १९५८ सालमा आठ दिनसम्म न्यु यॉर्कको यांकी स्टेडिएम र पोलो ग्राउन्ड्समा सम्पन्न भएको थियो। त्यस अवसरमा “परमेश्वरको राज्यले शासन गर्दछ—के संसारको अन्त नजीक छ?” भन्ने जन-भाषण सुन्न, २,५३,९२२ जना जम्मा भएका थिए। त्यस पछि, यतिका ठूलो भीड़ आँट्ने कुनै एउटा ठाउँको सुबिधा नभएकोले, ठूला सम्मेलनहरूकालागि अनेक मुख्य शहरहरूमा पाइने सुबिधाहरूको व्यवस्था गरिन्छ।
मण्डलीहरूमा हुने सभाहरू
२४. परमेश्वरका जनहरूको मण्डलीहरूमा हप्तामा कुन कुन पाँचवटा सभाहरू हुन्छन्?
२४ बाइबल शिक्षाको समरूप कार्यक्रमको व्यवस्था यहोवाका साक्षीहरूको संचालक समितिले यहोवाका जनहरूका मण्डलीहरूकालागि प्रबन्ध गर्दछ। प्रत्यक मण्डलीमा पाँचवटा सभाहरू हुन्छन्। यिनीहरू ईश्वरतन्त्रीय सेवकाई पाठशाला, सेवकाई सभा, प्रहरीधरहराको अध्ययन र मण्डली पुस्तक अध्ययन हुन्। तपाईं यी सभाहरूवारे शायद अहिलेसम्म परिचित नहुनु भएकोले, हामी सङ्क्षिप्त रूपमा तिनीहरूको वर्णन गर्ने छौं।
२५, २६. ईश्वरतन्त्रीय सेवकाई पाठशाला र सेवकाई सभाहरूको के उद्देश्य हो?
२५ परमेश्वरको राज्यवारे विद्यार्थीहरूले अरूहरूलाई अधिक प्रभावशाली ढङ्गमा बोल्न सकुन् भनेर मदद दिनु ईश्वरतन्त्रीय सेवकाई पाठशालाको उद्देश्य हो। समय समयमा, यो पाठशासलामा भर्ना भएका विद्यार्थीहरूले बाइबल विषयहरू बारे छोटो भाषण सारा समूहलाई दिन्छन्। अनि एउटा अनुभवी प्राचीनले त्यसमा अझ उन्नति ल्याउन सकिने सुझावहरू दिन्छन्।
२६ साधारणतया त्यसै साँझ सेवकाई सभा पनि हुन्छ। त्यस सभाको खाका संचालक समितिले सम्पादन गरेको दुई वा त्यो भन्दा बढ़ी पानाहरू भएको आवर किंगडम मिनिस्ट्री अथवा हाम्रा राज्य सेवकाई भन्ने एउटा मासिक प्रकाशनमा पाइन्छ। यस सभामा राज्य सन्देशबारे प्रभावकारी ढङ्गले अरूहरूसँग कुरागर्ने तरीकालाई, व्यवाहारिक सुझावहरू र प्रदर्शनहरू द्वारा प्रस्तुत गरिन्छ। यसै प्रकारले ख्रीष्टले आफ्ना अनुयायीहरूलाई प्रोत्साहित गर्नु भयो र आफ्नो सेवकाई कसरी संचालन गर्ने निर्देशन दिनुभयो।—यूहन्ना २१:१५-१७; मत्ती १०:५-१४.
२७, २८. जन भाषण, प्रहरीधरहरा अध्ययन र मण्डलीको पुस्तक अध्ययन कुन प्रकारका सभाहरू हुन्?
२७ जन-भाषण र प्रहरीधरहरा अध्ययन सामान्यतया आइतवारका दिन हुन्छन्। एउटा योग्य सेवक द्वारा दिइने बाइबल सम्बन्धी यस जन-भाषणका निम्ति, भर्खर, भर्खर चासो देखाउन लागेका मानिसहरूलाई आमंत्रण गर्ने विशेष प्रयत्न गरिन्छ। प्रहरीधरहरा पत्रिकाको नया अङ्कमा दिइएको बाइबल विषयको लेखमाथि प्रश्नोत्तर द्वारा प्रहरीधरहराको अध्ययन गरिन्छ।
२८ माथि उल्लेखित सभाहरूकालागि, सम्पूर्ण मण्डली एउटा राज्य सभा-गृहमा भेला हुन्छन्। हप्तावारी मण्डलीको पुस्तक अध्ययन अथवा बुक स्टडीका लागि चाहिं निजी घरहरूमा सानो सानो समूहमा भेला हुने गर्छन्। एक घन्टा सम्म हुने त्यस अध्ययनमा, जुन पुस्तक तपाईं अहिले पढ़दै हुनुहुन्छ, त्यस्तै प्रकारको एउटा बाइबल बुझ्न सहायता दिने पुस्तकको छलफल गरिन्छ।
२९. (क) साँचो मसीहीहरू प्रत्यक वर्ष के सम्झनाको कुन स्मरणार्थ मनाउछन्? (ख) कसले उचित रूपमा रोटी र दाख-मधुबाट खान्छन् र पिउछन्?
२९ यी नियमित सभाहरूका अतिरिक्त, यहोवाका साक्षीहरू प्रत्यक वर्ष येशूको मृत्युको स्मरणार्थ मनाउन एउटा विशेष सभाको आयोजना गर्दछन्। उहाँको मृत्युको सम्झनाकालागि प्रथम प्रबन्ध गर्नु हुँदा येशूले भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९, २०) एउटा साधारण समारोहमा येशूले मानवजातिकालागि बलिदान दिन लाग्नु भएको आफ्नो शरीरको प्रतीकको रूपमा मदिरा र अखमीरी रोटीको प्रयोग गर्नु भयो। अत: यस वार्षिक स्मरणार्थको भोजमा ख्रीष्टका १४४,००० अभिषिक्त अनुयायीहरू मध्य पृथ्वीमा बाँकी रहेकाहरूले रोटी र दाख-मधु ग्रहण गरेर आफ्नो स्वर्गीय आशालाई प्रदर्शित गर्दछन्।
३०. (क) अरू को पनि यो स्मरणार्थको समारोहमा उपस्थित हुन्छन् र तिनीहरूको के प्रत्याशाहरू छन्? (ख) यस प्रकारका मानिसहरूको वर्णन येशूले कसरी गर्नु भएको छ?
३० संसारभरिका राज्य सभा-गृहहरूमा यस स्मराणार्थ समारोहमा भेलाहुने अन्य लाखौं मानिसहरू त्यसमा पर्यवेक्षकको रूपमा बस्न पाएकोमा आनन्द मनाउछन्। यहोवा परमेश्वर र येशू ख्रीष्टले पाप र मृत्युबाट तिनीहरूको छुटकारा सम्भव पार्नु भएको कुरा तिनीहरू सम्झने गर्छन्। स्वर्गीय जीवनको आशा राख्नुको सट्टा, पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउँने सम्भावनामा नै तिनीहरू रमाउछन्। तिनीहरू बप्तिस्मा दिने यूहन्ना जस्ता हुन्, जसले आफूलाई ख्रीष्टकी दुलही वर्गका १,४४,००० सदस्यहरूको भाग नठानेर “दुलहाको मित्र” ठाने। (यूहन्ना ३:२९) यी लाखौं मानिसहरू येशूले भन्नुभएको “अरू भेड़ाका” भाग हुन्। तिनीहरू “सानो बगालका” सदस्य होइनन्। तथापि, येशूले भन्नु भए अनुसार, तिनीहरू “सानो बगालकाहरू” सँगसँगै मिलेर सेवा गरिरहेछन्, ताकि तिनीहरू सबैनै “एकै बगालका हुनेछन्”।—यूहन्ना १०:१६; लूका १२:३२.
उहाँको सङ्गठनसँग मिलेर परमेश्वरको सेवा गर्ने
३१. झूटो धर्मको अङ्ग भएर पनि बस्ने र साथै परमेश्वरको सङ्गठनको भाग पनि हुने प्रयास गर्नेहरूलाई परमेश्वरले स्वीकार गर्नु हुन्न भन्ने के प्रमाण छ?
३१ बितेका समयमा जस्तै, आज पनि यहोवा परमेश्वरको एउटा दृश्य सङ्गठन छ भन्ने कुरा कति स्पष्ट छ! उहाँको नया न्याययुक्त रीतिरिवाजमा जीवन पाउनकालागि मानिसहरूलाई शिक्षा दिने काममा उहाँले यो सङ्गठनलाई प्रयोग गर्दै हुनुहुन्छ। तथापि, हामीहरू एकातिर परमेश्वरको सङ्गठनको अङ्ग र अर्को तिर झूटो धर्मको अङ्ग हुन सक्दैनौं। परमेश्वरको वचनले भन्दछ: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्गति? . . . कि विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा?” यसकारण, परमेश्वर आज्ञा दिनुहुन्छ: “तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।”—२ कोरिन्थी ६:१४-१७.
३२. (क) “तिनीहरूबाट निस्केर आउँने हो” भने हामीले के गर्नै पर्छ? (ख) परमेश्वरको दृश्य ईश्वरतन्त्रीय सङ्गठनसँग मिलेर उहाँको सेवागर्न निश्चयात्मक कदम उठायौं भने हामीहरूले के आशिष पाउँने छौं?
३२ “तिनीहरूका बीचबाट निस्केर आउँनुको” के अर्थ हो? यहोवाले प्रयोग गरिरहनु भएको सङ्गठन भन्दा भिन्न धार्मिक सङ्गठनको भाग भएर रहिरहनाले वा त्यसलाई समर्थन दिनाले हामीहरूले उहाँको आदेश पालन गरेको हुनेछैनौं। अत: अझै पनि हामीहरू त्यस्ता धार्मिक सङ्गठनसँग सम्बन्धित छौं भने, त्यस सङ्गठनबाट हामीहरूले आफ्नो नाउँ हटाउने सूचना दिन आवश्यक छ। यदि झूटा धर्म पालन गर्नेहरूबाट निस्केर आएर परमेश्वरको दृश्य ईश्वरतन्त्रीय सङ्गठनका साथ मिलेर परमेश्वरको सेवा गर्ने निश्चित कदम उठायौं भने, हामीहरू तिनीहरू मध्य हुनेछौं जसवारे परमेश्वर भन्नुहन्छ: “म तिनीहरूमा बास गर्नेछु, र तिनीहरूका बीचमा हिंड़डुल गर्नेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्।”—२ कोरिन्थी ६:१६.
[पृष्ठ १९२-मा भएको चित्र]
जलप्रलयको समयमा परमेश्वरको के एउटा भन्दा बढ़ी सङ्गठन थियो?
[पृष्ठ १९६-मा भएको चित्र]
यहोवाका साक्षीहरूको विश्व मुख्यालय
कार्यकारी कार्यालय
कम्प्यूटर प्रणालीहरू
रोटरी प्रिटिंग
बुक बाइंडरी
प्रेषण
ब्रुकलिनको छापाखाना
[पृष्ठ १९७-मा भएको चित्र]
अन्य अरू वाचटावर छापाखानाहरू
ब्राजील
इङ्गलैन्ड
दक्षिणी अफ्रीका
वॉलकिल, न्यू यॉर्क
कनाडा
[पृष्ठ १९८-मा भएको चित्र]
न्यू यॉर्कमा यहोवाका साक्षीहरूको सम्मेलनमा सम्मिलित २,५३,९२२ मध्यका केही व्यक्तिहरू
पोलो ग्राउंड्स
यांकी स्टेडियम
[पृष्ठ २०१-मा भएको चित्र]
यहोवाका साक्षीहरूका सभाहरूमा बाइबल शिक्षाको लाभप्रद कार्यक्रम