अध्याय २४
के हामीहरू दस आज्ञाका अधीनमा छौं?
१. मोशाले मानिसहरूसम्म कुन् व्यवस्था पुर्याएका थिए?
कुन नियमहरूको हामीहरूले पालना गरेको यहोवा परमेश्वर चाहनु हुन्छ? बाइबलमा “मोशाको व्यवस्था” वा “व्यवस्था” कहलाइने नियमहरू के हामीहरूले पालन गर्नै पर्छ र? (१ राजा २:३; तितस ३:९) यसलाई “यहोवाको व्यवस्था” पनि भनिन्छ किनकि उहाँलेनै यसलाई दिनु भएको हो। (१ इतिहास १६:४०) मोशाले ता सो व्यवस्था मानिसहरू कहाँ पुऱ्याइ दिएको मात्र हो।
२. यो व्यवस्था के ले बनिएको थियो?
२ मोशाको व्यवस्थामा ६०० भन्दा बढ़ी नियमहरू वा आज्ञाहरू छन्, जसमध्य १० वटा मुख्य छन्। मोशाले भने: “उहाँले [यहोवा] आफ्नो दस आज्ञाको व्यवस्था तिमीहरूले पालन गर्न भनी दिनुभयो, औ उहाँले र्दुइवटा ढुङ्गाका पाटीमा ती लेखिदिनुभयो।” (व्यवस्था ४:१३; प्रस्थान ३१:१८, किंग जेम्स भर्सन) दस आज्ञा समेतको व्यवस्था यहोवाले कसलाई दिनु भएको थियो? यो व्यवस्थाको के उद्देश्य थियो?
इस्राएललाई एउटा खास उद्देश्यकालागि
३. व्यवस्था इस्राएलीहरूलाई मात्र दिइएको थियो भनेर हामी कसरी बुझ्दछौं?
३ यो व्यवस्था सारा मानवजातिकालागि दिइएको होइन। यहोवाले याकूबका सन्तानहरूसँग, जो पछि इस्राएली राष्ट्र भए, एउटा वाचा बाँधनु भयो अर्थात एउटा समझौता गर्नु भयो। यहोवाले उहाँका नियमहरू त्यस राष्ट्रलाई मात्र दिनुभयो। बाइबलले यसलाई व्यवस्था ५:१-३ र भजनसंग्रह १४७:१९, २० मा स्पष्ट पारेको छ।
४. व्यवस्था इस्राएली राष्ट्रलाई किन दिइएको थियो?
४ प्रेरित पावलले यो प्रश्न सोधे: “तब व्यवस्था के रहेछ ता?” हो, कुन उद्देश्यले यहोवाले इस्राएललाई उहाँको व्यवस्था दिनु भएको थियो? पावल ले उत्तर दिए: “जुन वंशलाई प्रतिज्ञा भएको हो सो नआउञ्जेल अपराधको कारणले यो थपिन आएको हो . . . यसैले हामीहरूलाई ख्रीष्टमा ल्याउनलाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।” (गलाती ३:१९-२४) ख्रीष्ट आउँनुहुँदा इस्राएली राष्ट्रले उहाँलाई स्वीकार्न सकून भनेर तिनीहरूलाई संरक्षण र पथ-प्रदर्शन गर्दै हिंड़ाउने खास उद्देश्य व्यवस्थाको थियो। व्यवस्था अन्तर्गत आवश्यक पर्ने अनेक बलिदानहरूले इस्राएलीहरू पापी हुन् र तिनीहरूलाई उद्धारकर्ताको आवश्यकता छ भनेर याद दिलाइ राख्द थियो।—हिब्रू १०:१-४.
“ख्रीष्टनै व्यवस्थाको अन्त्य हुनुहुन्छ”
५. ख्रीष्ट आएर हाम्रालागि मरे पछि, व्यवस्थालाई के भयो?
५ येशू ख्रीष्टनै नि:सन्देह प्रतिज्ञा गरिनु भएको उद्धारकर्त्ता हुनुहुन्थियो, जसवारे स्वर्गदूतले उहाँको जन्मको समयमा भनेको थियो। (लूका २:८-१४) अत: ख्रीष्ट आएर आफ्नो सिद्ध जीवन बलिदान दिनुभए पछि व्यवस्था के भयो? त्यो हटाइयो। “हामी अझै जिम्मावालको अधीनमा छैनौं,” भन्दै पावलले व्याख्या गरे। (गलाती ३:२५) व्यवस्था हटाइए पछि इस्राएलीहरूलाई संचो भयो। व्यवस्थाले तिनीहरूलाई पापीको रूपमा प्रदर्शित गरेको थियो किनकि कसैले पनि त्यस व्यवस्थालाई पूर्ण रूपले पालन गर्न सकेका थिएनन्। “ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो,” पावलले भने। (गलाती ३:१०-१४) अत: बाइबलले अझ यसो भन्छ: “ख्रीष्टनै व्यवस्थाको अन्त्य हुनुहुन्छ।”—रोमी १०:४; ६:१४.
६. (क) व्यवस्थाको अन्त भए पछि, इस्राएली र गैर इस्राएलीमाथि के असर भयो? (ख) व्यवस्था प्रति यहोवाले के कारबाही गर्नु भयो?
६ इस्राएलीहरू र व्यवस्थाको अधीनमा नहुने अन्य मानिसहरूका बीच व्यवस्था वास्तवमा बाधा अथवा एउटा “पर्खाल” थियो। तथापि, आफ्नो जीवनको बलिदान द्वारा, ख्रीष्टले “विधानहरूमा भएका आज्ञाहरूको व्यवस्थालाई . . . खारेज गरेर दुवैलाई [इस्राएली र गैर इस्राएलीहरू] यसरी मिलाप गराउनु भएर आफैमा एउटा नया मानिस उत्पन्न गर्नु भयो।” (एफिसी २:११-१८) मोशाको व्यवस्था प्रति यहोवा परमेश्वरले गर्नु भएको कारबाई सम्बन्धमा हामी पढ़दछौं: “उहाँले धार्मिक-विधानमा हाम्रा विरुद्धमा भएको लेख-पत्र [दस आज्ञा समेत] मेटिदिएर, जो हाम्रो विपरीत थियो, त्यसलाई झिकेर क्रूसमा (काठमा, न्यु.व.) कीला ठोकिदिनुभयो।” (कलस्सी २:१३, १४) अत:, ख्रीष्टको सिद्ध बलिदान द्वारा, व्यवस्थाको अन्त्य भयो।
७, ८. व्यवस्था दुई भागमा विभाजित थिएन भनेर के ले देखाउँछ?
७ तथापि कसै कसैको विचारमा, व्यवस्था दुई भागमा विभाजित छ: दस आज्ञा र बाँकी नियमहरू। तिनीहरू भन्छन्, बाँकी नियमहरूको अन्त भएको छ तर दस आज्ञा यथावत छन्। तर यो सत्य होइन। आफ्नो डाँडाको उपदेशमा येशूले दस आज्ञा र व्यवस्थाको अन्य भागहरू दुबैबाट उद्धरण गर्नु भयो र तिनीहरू बीच कुनै प्रकारको भिन्नता देखाउनु भएन। मोशाको व्यवस्था दुई भागमा विभाजित छैन भनी येशूले यस प्रकार प्रमाण दिनुभयो—मत्ती ५:२१-४२.
८ यसमा पनि ध्यान दिनुहोस्, प्रेरित पावलले परमेश्वर द्वारा प्रेरित भएर के लेखे: “व्यवस्थाबाट हामी मुक्त भएका छौं।” के यहूदीहरू दस आज्ञा वाहेक व्यवस्थाको अन्य नियमहरूबाट मात्र मुक्त भएका थिए? होइन, किनभने पावल अगाड़ि भन्छन्: “व्यवस्था नभएदेखि म पाप थाह पाउने थिइनँ, किनकि ‘तैंले लोभ नगर’ भनी व्यवस्थाले नभनेको भए लोभ थाह पाउने थिइनँ।” (रोमी ७:६, ७; प्रस्थान २०:१७) “तैंले लोभ नगर्” भन्ने नियम दस आज्ञाहरू मध्यको अन्तिम आज्ञा भएकोले, इस्राएलीहरू दस आज्ञाहरूबाट पनि मुक्त भएका थिए भन्ने कुरा यसबाट देखिन्छ।
९. साप्ताहिक विश्रामको दिन पालन गर्ने नियम समाप्त गरिएको थियो भनेर के ले प्रदर्शित गर्दछ?
९ यसको अर्थ, दस आज्ञा मध्यको चौथो आज्ञा, साप्ताहिक विश्रामको दिन पनि हटाइयो ता? हो, हटाइयो। गलाती ४:८-११ र कलस्सी २:१६, १७ मा बाइबलले देखाएको छ कि साप्ताहिक विश्राम दिन र वर्षमा अरू अन्य विशेष दिनहरू मनाउनु पर्ने आवश्यकता भएको जुन व्यवस्था परमेश्वरले इस्राएलीहरूलाई दिनु भयो, त्यो व्यवस्थाको अधीनमा मसीहीहरू छैनन्। रोमी १४:५ बाट पनि साप्ताहिक विश्रामको दिन मनाउनु पर्ने मसीही आवश्यकता होइन भनेर बुझ्न सकिन्छ।
मसीहीहरूलाई लागू हुने नियमहरू
१०. (क) मसीहीहरू कुन व्यवस्था अन्तर्गत् छन्? (ख) यसमा भएका धेरैजसो नियमहरू कहाँबाट लिइएको छ, र त्यहाँबाट लिनु किन उपयुक्त छ?
१० यसको अर्थ, मसीहीहरू दस आज्ञाको अधीनमा छैनन् भने के तिनीहरूले कुनै पनि नियमहरू पालन गर्नै पर्दैन? कदापि पनि होइन। आफ्नो सिद्ध मानव जीवनको उच्चतम बलिदानको आधारमा येशूले एउटा “नया वाचा” कायम गर्नु भयो। मसीहीहरू यस नया वाचाको अधीनमा छन् र तिनीहरूले यी मसीही नियमहरूको पालन गर्नु पर्छ। (हिब्रू ८:७-१३; लूका २२:२०) यी नियमहरू मध्य धेरै जसो मोशाको व्यवस्थाबाट लिइएकाछन्। यो कुनै अप्रत्याशित वा असामान्य कुरा होइन। एउटा देशमा नया सरकारले शासन आफ्नो हातमा लिंदा पनि अक्सर यस्तै हुन्छ। पुरानो सरकार अन्तर्गत भएको सम्बिधानलाई खारेज गरेर त्यसको ठाउँमा नया सम्बिधान ल्याउँदा पुरानो सम्बिधानमा भएका मूलभूत नियमहरू र सिद्धान्तहरू नया सम्बिधानमा राख्न सकिन्छ। त्यसै प्रकारले, व्यवस्थाको वाचा समाप्त भएता पनि, त्यसमा भएका धेरै जसो मौलिक नियमहरू र सिद्धान्तहरू मसीही धर्ममा समावेश गरिएको छ।
११. मसीहीहरूलाई दिइएका कुन नियमहरू र शिक्षाहरू दस आज्ञा जस्तै छन्?
११ उदाहरणकालागि, २०३ पानामा लेखिएको दस आज्ञा पढ़दै तिनीहरूलाई निम्नलिखित मसीही नियमहरू र शिक्षाहरूसँग तुलना गर्नुहोस्: “तैंले परमप्रभू (यहोवा, न्यु.व.) आफ्ना परमेश्वरलाई दण्डवत् गर्नु।” (मत्ती ४:१०; १ कोरिन्थी १०:२०-२२) “मूर्तिहरूबाट जोगिएर बस।” (१ यूहन्ना ५:२१; १ कोरिन्थी १०:१४) “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरियोस् [व्यर्थमा त्यसको प्रयोग नहोस्]।” (मत्ती ६:९) “ए बालक हो, आफ्ना आमा-बाबुको आज्ञा पालन गर।” (एफिसी ६:१, २) र हत्या, व्यभिचार, चोरी, झूट, र लोभ मसीहीहरूलाई दिइएका नियमहरू विरुद्धका काम हुन्।—प्रकाश २१:८; १ यूहन्ना ३:१५; हिब्रू १३:४; १ थिस्सलोनिकी ४:३-७; एफिसी ४:२५, २८; १ कोरिन्थी ६:९-११; लूका १२:१५; कलस्सी ३:५.
१२. विश्रामको दिनको सिद्धान्तलाई मसीही व्यवस्थामा कसरी ल्याइएको छ?
१२ मसीहीहरूलाई साप्ताहिक विश्रामको दिन मान्ने आदेश नभएता पनि, यस व्यवस्थाबाट हामीहरूले केही सिक्दछौं। इस्राएलीहरू अक्षरश: आराम गर्दथिए, तर मसीहीहरूचाहिं आध्यात्मिक रूपले आराम गर्नु पर्दछ। कसरी? साँचो मसीहीहरू विश्वास र आज्ञाकारिताको कारण स्वार्थपूर्ण कामहरू गर्न छाड़ि दिन्छन्। यी स्वार्थपूर्ण कामहरू भन्नाले आफ्नो निजी धार्मिकता स्थापित गर्ने प्रयत्न पनि समावेश हुन्छ। (हिब्रू ४:१०) यो आध्यात्मिक विश्राम हप्तामा एक दिन नभएर सातै दिन हुन्छ। साप्ताहिक विश्रामको नियम अनुसार, हप्ताहमा एक दिन चाहिं आध्यात्मिक काम-कुराहरूकालागि छुट्टयाएर राख्नु पर्दा, इस्राएलीहरू आफ्ना सारा समय आफ्ना निजी भौतिक लाभमा मात्र बिताउनुबाट सुरक्षित थिए। आध्यात्मिक रीतिले प्रत्येक दिन यो सिद्धान्तलाई प्रयोग गर्नाले भौतिकवादबाट अझ प्रभावकारी बचाव हुन्छ।
१३. (क) कुनचाहिं नियमलाई पूरागर्न मसीहीहरूलाई आग्रह गरिएको छ? (ख) येशूले कुन नियमलाई जोर दिनु भयो? (ग) मोशाको सम्पूर्ण व्यवस्था कुन् नियममा आधारित छ?
१३ अत: मसीहीहरूलाई दस आज्ञा पालन गर्नु भन्दा बरू “ख्रीष्टका व्यवस्था पूरा गर्न” आग्रह गरिन्छ। (गलाती ६:२) येशूले धेरै आज्ञाहरू र निर्देशनहरू दिनुभयो, र तिनीहरूलाई पालन गऱ्यौं भने हामीहरूले उहाँका नियमलाई मानेको वा पूरा गरेको हुनेछ। खास गरेर, येशूले प्रेमको महत्वमाथि जोर दिनु भएको छ। (मत्ती २२:३६-४०; यूहन्ना १३:३४, ३५) हो, अरूलाई प्रेम गर्नु मसीही नियम हो। मोशाको सारा व्यवस्थाको आधारनै यही हो, जस्तोकि बाइबल भन्दछ: “समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, यसैमा कि ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर।’”—गलाती ५:१३, १४; रोमी १३:८-१०.
१४. (क) मोशाको व्यवस्थाका सिद्धान्तहरूको अध्ययन र प्रयोग गर्नाले हामीलाई के लाभ हुनेछ? (ख) प्रेमले हामीलाई के गर्न प्रेरित गर्ने छ?
१४ मोशा द्वारा दिइएको दस आज्ञा समेतको व्यवस्था, परमेश्वरबाट आएको न्याययुक्त नियमहरूको एउटा समूह थियो। र यद्यपि हामीहरू आज त्यस व्यवस्थाको अधीनमा नभएता पनि त्यसमा भएका दैवी सिद्धान्तहरू हाम्रालागि अझपनि धेरैनै मूल्यवान छन्। तिनलाई अध्ययन गरेर पालन गऱ्यौं भने, महान विधिकर्ता यहोवा परमेश्वर प्रतिको हाम्रो मूल्याङ्कनमा बृद्धि हुनेछ। तर हामीहरूले खासगरी मसीही नियमहरू र शिक्षाहरूलाई अध्ययन गरेर त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्नु पर्छ। यहोवा प्रतिको हाम्रो प्रेमले गर्दा उहाँले हामीबाट चाहनु भएका सबै कुराहरू पालन गर्न हामी प्रेरित हुनेछौं।—१ यूहन्ना ५:३.
[पृष्ठ २०३-मा भएको पेटी]
दस आज्ञा
१. “म तेरा परमेश्वर हुँ . . . मेरो सामने तैंले अरू कुनै देवता-देवीहरू नमान्नू।
२. “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू . . .
३. “तैंले परमप्रभु (यहोवा, न्यु.व.) आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू . . .
४. “विश्राम-दिन पवित्र मान्नुपर्छ भनी याद राख, छ दिनसम्म परिश्रम गरेर तैंले आफ्ना सबै काम गर्, तर सातौं चाहिं दिन तेरा परमप्रभु (यहोवा, न्यु.व.) परमेश्वरको निम्ति विश्रामको दिन हो। त्यसमा तैंले केही काम नगर्नू—न तैंले, नता तेरो छोरा वा छोरीले . . .
५. “आफ्नो बाबु र आमालाई आदर गर्, र जुन देश तँलाई तेरा परमप्रभु (यहोवा, न्यु.व.) परमेश्वरले दिनु हुन्छ, त्यहाँ तेरो आयु लामो होस्।
६. “तैंले हत्या नगर्नू।
७. “तैंले व्यभिचार नगर्नू।
८. “तैंले चोरी नगर्नू।
९. “तैंले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।
१०. “तैंले आफ्नो छिमेकीको घरको लालच नगर्नू। तैंले आफ्नो छिमेकीकी स्वास्नीको लालच नगर्नू, तेरो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।”—प्रस्थान २०:२-१७.
[पृष्ठ २०४, २०५-मा भएको चित्र]
इस्राएलीहरू र अन्य जातिहरूका बीचमा व्यवस्था एउटा पर्खाल जस्तै थियो