परमेश्वरले दिनुभएका दस आज्ञा के-के हुन्?
बाइबलको जवाफ
दस आज्ञा परमेश्वरले पुरातन इस्राएल राष्ट्रलाई दिनुभएका नियमहरू हुन्। यो नियमलाई दस वटा वचनको रूपमा पनि चिनिन्छ, जुन हिब्रु अभिव्यक्ति ‘आसरेथ हाद्भरेम’-को शाब्दिक अनुवाद हो। यस अभिव्यक्तिलाई बाइबलको सुरुका पाँच वटा किताबको सङ्ग्रह पेन्टाटुकमा (तोराह) तीन पटक उल्लेख गरिएको छ। (प्रस्थान ३४:२८; व्यवस्था ४:१३; १०:४) यसलाई बुझाउन ग्रीक भाषामा थेका (दस) र लोगस (वचन) भन्ने शब्द मिलेर बनेको शब्द “डेकालोग” चलाइएको छ।
परमेश्वरले सिनै डाँडामा आफ्नो भविष्यवक्ता मोसालाई दस आज्ञा खोपिएका ढुङ्गाका दुई वटा पाटी दिनुभयो। (प्रस्थान २४:१२-१८) यी दस आज्ञा प्रस्थान २०:१-१७ र व्यवस्था ५:६-२१ मा लेखिएका छन्।
दस आज्ञाको सूची
१. यहोवा परमेश्वरको मात्र उपासना गर्नू।—प्रस्थान २०:३.
२. मूर्तिपूजा नगर्नू।—प्रस्थान २०:४-६.
३. परमेश्वरको नाम व्यर्थमा नलिनू।—प्रस्थान २०:७.
४. विश्रामदिन मनाउनू।—प्रस्थान २०:८-११.
५. आफ्नो बुबा र आमाको आदर गर्नू।—प्रस्थान २०:१२.
६. हत्या नगर्नू।—प्रस्थान २०:१३.
७. व्यभिचार नगर्नू।—प्रस्थान २०:१४.
८. चोरी नगर्नू।—प्रस्थान २०:१५.
९. झूटो साक्षी नदिनू।—प्रस्थान २०:१६.
१०. लोभ नगर्नू।—प्रस्थान २०:१७.
दस आज्ञाको सूची किन फरक फरक छ?
बाइबलमा प्रत्येक आज्ञालाई सङ्ख्याको क्रममा छुट्याइएको छैन। परिणामस्वरुप यी आज्ञाहरू कुनकुन क्रमअनुसार हुनुपर्ने हो भनेर मानिसहरुको आ-आफ्नै धारणा छ। माथिको सूची धेरैजसो मानिसहरूले प्रयोग गर्ने क्रमअनुसार नै राखिएको छ। केहीले भने दस आज्ञालाई फरक-फरक क्रममा राख्छन्। उदाहरणको लागि तिनीहरू पहिलो, दोस्रो र अन्तिम आज्ञालाई फरक क्रममा राख्छन्।a
यी दस आज्ञा कुन उद्देश्यले दिइएको थियो?
दस आज्ञा मोसाको व्यवस्थाका भाग थिए। त्यस व्यवस्थामा ६ सयभन्दा धेरै आज्ञाहरू थिए, जुन परमेश्वर र पुरातन इस्राएल राष्ट्रबीचको करार वा सम्झौताका सर्तहरू थिए। (प्रस्थान ३४:२७) इस्राएलीहरूले मोसाको व्यवस्था पालन गरेको खण्डमा उनीहरूको भलाइ हुनेछ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभयो। (व्यवस्था २८:१-१४) तथापि, व्यवस्थाको मुख्य उद्देश्य इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको मसीह अर्थात् ख्रिष्ट आउने समयको लागि तयार पार्नु थियो।——गलाती ३:२४.
के ख्रिष्टियनहरुले दस आज्ञाहरु पालन गर्नु पर्छ?
पर्दैन। परमेश्वरले दस आज्ञा समावेश भएको नियम विशेषगरी पुरातन इस्राएल राष्ट्रलाई दिनुभएको हो। (व्यवस्था ५:२, ३; भजन १४७:१९, २०) ख्रिष्टियनहरु मोसाको व्यवस्थाको अधीनमा छैनन्। यहाँसम्म कि यहूदी ख्रिष्टियनहरू पनि “मोसाको व्यवस्थाबाट मुक्त भइसकेका” थिए। (रोमी ७:६)b मोसाको व्यवस्थाको ठाउँमा “ख्रिष्टको व्यवस्था” स्थापित भयो, जसमा येसुले आफ्ना चेलाहरूलाई दिनुभएका सबै आज्ञा समावेश छन्।—गलाती ६:२; मत्ति २८:१९, २०.
के अहिले पनि दस आज्ञा व्यावहारिक छन्?
छन्। किनभने दस आज्ञामा परमेश्वरको सोचाइ झल्किन्छ अनि ती आज्ञाहरू पढेर हामी लाभ उठाउन सक्छौँ। (२ तिमोथि ३:१६, १७) दस आज्ञा भरपर्दो सिद्धान्तहरूमा आधारित छन् र ती सिद्धान्तहरूको महत्त्व कहिल्यै कम हुँदैन। (भजन १११:७, ८) वास्तवमा नयाँ नियमका धेरैजसो शिक्षाहरू यिनै सिद्धान्तहरुमा आधारित छन्।— “दस आज्ञाका सिद्धान्तहरू नयाँ नियममा झल्किन्छन्” भन्ने भाग हेर्नुहोस्।
दस आज्ञा समावेश भएको मोसाको व्यवस्था दुई वटा मुख्य आज्ञामा आधारित छन् भनेर येसुले सिकाउनुभयो। उहाँले भन्नुभयो: “‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। दोस्रोचाहिँ यही हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ यी नै दुई आज्ञामा सारा व्यवस्था र भविष्यवक्ताहरूको शिक्षा अडिएको छ।” (मत्ति २२:३४-४०) हुनत ख्रिष्टियनहरूले मोसाको व्यवस्था पालन गर्नु पर्दैन, तैपनि तिनीहरूले परमेश्वरलाई र छिमेकीलाई प्रेम गर्नू भन्ने आज्ञा चाहिँ पालन गर्नुपर्छ।—युहन्ना १३:३४; १ युहन्ना ४:२०, २१.
दस आज्ञाका सिद्धान्तहरू नयाँ नियममा झल्किन्छन्
सिद्धान्त |
नयाँ नियममा |
---|---|
यहोवा परमेश्वरको मात्र उपासना गर्नू |
|
मूर्तिपूजा नगर्नू |
|
परमेश्वरको नाम पवित्र पार्नू |
|
नियमित रूपमा परमेश्वरको उपासना गर्नू |
|
आमाबुबाप्रति आज्ञाकारी हुनू |
|
हत्या नगर्नू |
|
व्यभिचार नगर्नू |
|
चोरी नगर्नू |
|
झूटो साक्षी नदिनू |
|
लोभ नगर्नू |
a पुरातन यहूदीहरूको सूचीमा “प्रस्थान २०:२ लाई पहिलो ‘वचन’ र पद ३-६ लाई एउटै अर्थात् दोस्रो वचन भनिएको छ।” (द जिविस इन्साइक्लोपीडिया) अर्कोतर्फ, क्याथोलिकहरूले भने प्रस्थान अध्याय २० को पद १ देखि ६ लाई एउटै आज्ञाको रूपमा हेर्छन्। तसर्थ, तिनीहरू परमेश्वरको नाम व्यर्थमा नलिनू भन्ने आज्ञालाई दोस्रो आज्ञाको रूपमा राख्छन्। अनि आज्ञाहरूको जम्मा सङ्ख्यामा हेरफेर नहोस् भनेर तिनीहरूले छिमेकीको घरको र छिमेकीको पत्नीको लोभ नगर्नू भन्ने आज्ञालाई दुई वटा छुट्टाछुट्टै आज्ञा बनाए।