प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. ११ पृ. ९०-९६
  • के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सही सन्देश?
  • “साथीहरू जसो जसो गर्छन्‌, म पनि त्यसै गर्छु”
  • आज “छ” भोलि “छैन”
  • ‘साधा र भद्र पहिरन’
  • उपयुक्‍त ढंगमा लुगा लगाउनुका लाभहरू
  • “भित्री मनुष्यत्वको” पहिरन
  • के तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामीले लगाउने लुगाहरू—के यसले कुनै फरक पार्छ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • स्वच्छताले यहोवाको महिमा गर्छ
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. ११ पृ. ९०-९६

अध्याय ११

के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?

“त्यति छोटो कहाँ छ र,” पेगीले आमाबाबुलाई जवाफ फर्काइन्‌। “तपाईंहरू त कस्तो पुरानो फेसनको हुनुहुँदो रहेछ!” यति भनेर ऊ कोठातिर दौडिहाली, उनलाई लाउन मन परेको स्कर्टको कथा त्यही झगडामा टुंगियो। अनि तपाईंले पनि आफूलाई मन परेको लुगा लगाउँदा आमाबाबु, शिक्षक वा मालिकले त्यस्तै टीकाटिप्पणी गर्नुभएको होला। अरू युवाहरूले जस्तै लुगा लगाउनुहुँदा उहाँहरूलाई त्यो असाध्यै फ्याङलांगे लाग्यो। आफूलाई असाध्यै चिटिक्क लागेको लुगा उहाँहरूलाई भद्दा वा उत्ताउलो लाग्यो।

हो, सबैलाई एउटै प्रकारको लुगा मन पर्दैन। आफूलाई मन परेको कुरा रोज्ने अधिकार तपाईंसित पनि छ। तर के यसो भन्दैमा ‘जस्तो पायो त्यस्तै’ लुगा लगाउन मिल्छ र?

सही सन्देश?

पाम नाउँकी केटी यसो भन्छिन्‌, “तपाईंले लगाउनुहुने लुगाले तपाईं वास्तवमा कस्तो प्रकारको व्यक्‍ति हुनुहुन्छ र तपाईं आफूलाई कस्तो ठान्‍नुहुन्छ भनी देखाउँछ।” हो, हाम्रो पहिरनले एउटा सन्देश दिन्छ, तपाईंको विषयमा अरूलाई केही बताउँछ। पहिरनले व्यक्‍तिको सोझोपना, स्थिरता तथा उच्च नैतिक स्तरको आभास दिनसक्छ। अथवा त्यसले विद्रोही तथा असन्तुष्ट मनोभाव पनि झल्काउनसक्छ। पहिरन नै एक प्रकारको चिनारी हुनसक्छ। केही युवाहरू च्यातिएको लुगा, पंक छाँटको वा ख्यातिप्राप्त व्यक्‍तिहरूले बनाएका महँगा डिजाइनर लुगाहरू लगाएर आफ्नो चिनारी दिन खोज्छन्‌। अरू कतिपय भने विपरीत लिंगको व्यक्‍तिलाई आकर्षित गर्ने वा आफूलाई अलि ठूलो उमेरको जस्तो देखाउने लुगाहरू लगाउँछन्‌।

त्यसकारण युवाहरूले लुगाफाटालाई असाध्यै महत्त्वपूर्ण ठान्‍नुको कारण सजिलै बुझ्नसक्छौं। तर सफलताको लागि लुगाफाटा-का (अंग्रेजी) लेखक, जोन टि. मोलोइ यस्तो चेताउनी दिन्छन्‌: “हामी जस्तो लुगाफाटा लगाउँछौ, त्यसले मानिसहरूमा सकारात्मक वा नकारात्मक असर पार्नसक्छ र हामीप्रति गरिने व्यवहारमा पनि आकाश जमीनको फरक पर्नसक्छ।”

अतः आमाबाबुहरू तपाईंको लुगाफाटाबारे बिना कारण त्यत्तिकै चिन्तित हुनुभएको होइन! उहाँहरूका लागि यो व्यक्‍तिगत रुचि, अरुचिको कुरा मात्रै होइन। उहाँहरू तपाईंले अरूलाई सही सन्देश दिनुभएको अर्थात्‌ सन्तुलित तथा जिम्मेवार व्यक्‍ति हुनुहुन्छ भनी अरूले थाह पाएको चाहन्छन्‌। तर के तपाईंको लुगाफाटाले यो देखाउँछ? तपाईं कुन कुरा विचार गरेर लुगाहरू छान्‍नुहुन्छ?

“साथीहरू जसो जसो गर्छन्‌, म पनि त्यसै गर्छु”

धेरैजसो युवाहरू आफ्नो पहिरनले स्वतन्त्रताको चाहना तथा आफ्नो व्यक्‍तित्व झल्काउन खोज्छन्‌। तर पाको भइसक्नु नभएको हुँदा तपाईंको व्यक्‍तित्व पूर्णतया बनिसकेको छैन। नयाँ बनिने र परिवर्तन हुने प्रक्रिया चलिरहेको हुन्छ। तपाईं आफ्नो एउटा चिनारी बनाउने सुरमा त हुनुहुन्छ होला तर कस्तो चिनारी दिने, कसरी दिने जस्ता कुराहरू तपाईंलाई राम्ररी थाह नहुनसक्छ। यसकारण केही युवाहरू अनौठो, भड्‌किलो लुगा लगाउँछन्‌। तर त्यसो गर्दा तिनीहरूले आफ्नो ‘व्यक्‍तिगत चिनारी’ दिनुको साटो आफ्नो अपरिपक्वतातर्फ ध्यानाकर्षण गरिरहेका हुन्छन्‌। र त्यसले आमाबाबुलाई कत्ति लाजमर्दो बनाउँछ, त्यो भनेर साध्यै छैन।

अरू कतिपय युवाहरू भने आफ्ना साथीहरूले जसो जसो गर्छन्‌, त्यसै गर्न खोज्छन्‌। त्यसो गर्दा आफ्नो समूहबाट सुरक्षा तथा चिनारी पाएको ठान्छन्‌। निस्सन्देह, अरू मानिसहरूसित घुलमिल हुन खोज्नु नराम्रो भनेको होइन। (१ कोरिन्थी ९:२२ तुलना गर्नुहोस्‌।) तर कुनै मसीही अन्य धर्म मान्‍ने युवाहरूजस्तै देखिन चाहनु ठीक हो? अनि हर हालतमा साथीहरूको वाहवाह खोज्नु बुद्धिमानी हो र? एउटी केटीले यसो भनिन्‌: “साथीहरूले टीकाटिप्पणी नगरोस्‌ भनेर म उनीहरूले जे जे गर्छन्‌, त्यसै गर्छु।” सधैं अरूको इशारामा नाच्ने व्यक्‍तिलाई तपाईं के भन्‍नुहुन्छ? बाइबल यस्तो जवाफ दिन्छ: “के तिमीहरूलाई थाह छैन, . . . दासजस्तै भई तिमीहरू आफैलाई समर्पण गर्दछौ, त उसैका दास तिमीहरू हौ, जसको आज्ञा पालन गर्दछौ?”—रोमी ६:१६.

युवाहरूमा “आफ्ना साथीभाइहरूले जसो जसो गर्छन्‌, त्यसै गर्ने चाहना यति प्रबल हुन्छ कि तिनीहरू साथीभाइहरूले बनाएका नियमहरूको कैदी नै हुन्छन्‌। लुगा लगाइ, बोलीचाली, के गर्ने, के नगर्ने र के सोच्ने अनि विश्‍वास गर्ने जस्ता कुराहरूमा समेत साथीभाइको लहैलहैमा लाग्छन्‌।”—यौवन: बाल्यावस्थादेखि परिपक्वतासम्म (अंग्रेजी)।

तर कुरा आउँछ, त्यस्तो सल्लाह दिन तपाईंका साथीहरू कत्तिको निपुण छन्‌? (मत्ती १५:१४ तुलना गर्नुहोस्‌।) के तिनीहरूले पनि तपाईंले जस्तै भावनात्मक उथलपुथलहरू भोगिरहेका छैनन्‌ र? त्यसो हो भने, असाध्यै सुधो भएर तिनीहरूलाई तपाईंको स्तर निर्धारण गर्न दिनु बुद्धिमानी हो त? तपाईंको सुद्धिबुद्धि वा तपाईं र तपाईंका आमाबाबुको इच्छा विपरीत कुरा गर्नुपर्दा पनि नूनको सोझो भन्दै साथीहरूको कठपुतली हुनु बुद्धिमानी हो र?

आज “छ” भोलि “छैन”

अरू युवाहरू भने फेसनको पछि पछि दौडन्छन्‌। तर त्यो लहड कत्ति चाँडचाँडो हेरफेर भइरहन्छ! हामीलाई बाइबलका यी शब्दहरू पुनः स्मरण गराइन्छ, “यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:३१) आज एकदमै “जगजगी” भइरहेको कुरा भोलि गएर एकाएक नामोनिसान हराउनसक्छ (महँगी त छँदैछ)। कहिले लामो लुगाको फेसन चल्छ त कहिल्यै असाध्यै छोटो, कहिले टिनिक्क परेको सुरुवालजस्तो त कहिले हातीपाइले। यसरी सजिलै भुलाउन सकिने जनसाधारणलाई लट्ठ बनाएर निर्माता तथा डिजाइनरहरू आफ्नो खल्ती भर्छन्‌।

उदाहरणका लागि, केही वर्षअघि चलेको डिजाइनर जीनलाई विचार गर्नुहोस्‌। एकाएक जीन एकदमै फेसनदार हुनगयो। क्याल्भिन क्लाइन र ग्लोरिया भ्यान्डरबिल्टजस्ता निर्माताहरूको नाउँ ढल्काएको जीन किन्‍न मानिसहरूले निकै पैसा खर्च गरे। “सर्जियो भालन्टी” जीन निर्माण कम्पनीका अध्यक्ष, एली काप्लानले यसो भने, “मानिसहरूलाई खालि एउटा नाउँ चाहिएको छ।” त्यसो भए जीन पाइन्टको खल्तीमा ढल्काइने भालन्टी भन्‍ने महाशय को हुन्‌ त? न्युजवीक-ले भन्यो, “त्यो नाउँको मान्छे नै छैन।” अनि काप्लानले अझै यसो भने: “यसो विचार गर्नुहोस्‌ त, एली काप्लान जीन भन्यो भने कसले किन्छ र?”

तर तपाईं भन्‍नुहोला ‘के स्टाइलअनुसारको लुगा लगाउनु गलत हो?’ त्यसो होइन। परमेश्‍वरका बाइबलकालीन सेवकहरूले स्थानीय चलनचल्तीअनुसारको लुगा लगाउँथे। उदाहरणका लागि, तामारले धर्के लुगा लगाइन्‌ भनी बाइबलले बताउँछ किनभने त्यतिबेला “विवाह नगरेकी राजकुमारीले . . . [त्यस्तै] लुगा” लगाउने चलन थियो।—२ शमूएल १३:१८.

तर के त्यसको मतलब जस्तो स्टाइल चल्छ, त्यस्तै गर्नुपर्छ र? एउटी ठिटीले यसरी दुखेसो पोखिन्‌: “सबैले लाउने गरेजस्तै खालको एउटा शानदार पाइन्ट पसलमा झुन्ड्याएको देख्छु। त्यसपछि आमालाई कचकच गर्छु, ‘आमा, मलाई त्यो पाइन्ट किन्दिनुस्‌ न,’ तर उहाँ भन्‍नुहुन्छ, ‘पर्दैन, म तिमीलाई त्यस्तै पाइन्ट घरमै सिलाइदिन्छु।’ म फेरि कचकच गर्छु, ‘हत्तेरी, कस्तो कुरा नबुझ्नुभएको भने। हैन, मलाई त्यही पाइन्ट चाहियो।’ ” तर तपाईंले फेसन डिजाइनरहरूको मात्र लुगा लगाउँदा त्यसले तपाईंको व्यक्‍तिगत चिनारीलाई ढाकछोप गरेर वास्तविकता लुकाउँदैन र? विज्ञापन, नारा तथा डिजाइनर नाउँहरूको किन पुच्छर लाग्ने?

बाइबल रोमी १२:२ मा यसो भन्छ: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” लुगा लगाउने सन्दर्भमा ‘परमेश्‍वरलाई मनपर्ने इच्छा’ के हो?

‘साधा र भद्र पहिरन’

पहिलो तिमोथी २:९ ले मसीहीहरूलाई “साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌” भन्‍ने सल्लाह दिन्छ। “साधारण पहिरन” चिटिक्क तथा सफा त भइहाल्छ। “भद्र” पोशाकले परिस्थितिलाई विचार गर्छ। सुचिकारले चिटिक्क पारेर सिलाएको लुगा कुनै जागिरको लागि उपयुक्‍त होला तर समुद्री किनारामा टहल्न भने असाध्यै अनुपयुक्‍त हुनेछ! त्यसरी नै, अफिस जान स्वीमसुट लगाइयो भने असाध्यै हाँसउठ्‌दो हुनेछ।

अतः, यहोवाका जवान साक्षीहरू मसीही सभाहरू वा प्रचारकार्यमा लगाउने लुगाबारे ध्यान दिन्छन्‌ किनभने तिनीहरू असाध्यै अनौपचारिक लुगा लगाउन चाहँदैनन्‌। बरु, आफूलाई परमेश्‍वरका जवान साक्षीहरू भनी चिनाउने खालको लुगा लगाउन चाहन्छन्‌। दोस्रो कोरिन्थी ६:३, ४ मा लिपिबद्ध पावलका यी शब्दहरूलाई सम्झनुहोस्‌: “हाम्रो सेवामा कलंक नलागोस्‌ भनेर हामी कुनै कुरामा केही बाधा दिन्‍नौं, तर हरेक कुरामा हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं।”

विनयी स्वभाव भएको व्यक्‍तिले अरूका भावनाहरूलाई पनि विचार पुऱ्‍याउँछ। प्रेरित पावलले भनेझैं एक मसीहीले आफ्नै अन्तस्करणको लागि मात्र होइन “तर अरूको खातिर” पनि विचार पुऱ्‍याउनुपर्छ। (१ कोरिन्थी १०:२९) के तपाईंले अझ विशेषगरि आफ्ना आमाबाबुको अन्तस्करणलाई विचार गर्नुपर्दैन र?

उपयुक्‍त ढंगमा लुगा लगाउनुका लाभहरू

बाइबलले रानी एस्तरको एउटा घटनाबारे बताउँछ जब तिनी आफ्नो पति तथा राजाको सामु हाजिर हुनु परेको थियो। तर राजाको आदेशबिना त्यसरी हाजिर हुँदा मुत्युदण्ड पनि पाउन सकिन्थ्यो! निस्सन्देह, एस्तरले मदतको लागि परमेश्‍वरलाई व्यग्र प्रार्थना गरिन्‌। तर तिनले अवसरलाई सुहाउँदो “राजकीय पोशाक” लगाएर आफ्नो बाह्‍यरूपलाई पनि ध्यान दिइन्‌! “जब राजाले एस्तर रानीलाई दरवारमा उभिरहेका देखे तब राजाको निगाह तिनीमाथि भयो।”—एस्तर ५:१, २.

तपाईंले आकर्षक तर सुहाउँदो लुगा लगाउनुभएको छ भने जागिरको लागि अन्तरवार्ता दिंदा पनि राम्रो प्रभाव पार्न सक्नुहुन्छ। पेशा विकास केन्द्रका निर्देशक भिक्की एल. ब्राउन यसो भन्छिन्‌: “अन्तरवार्ताको लागि जाँदा केही युवतीहरूलाई के गर्ने, नगर्ने राम्ररी थाह हुँदैन। तिनीहरू आफ्नो प्रेमीलाई भेट्‌न गएजस्तो ठान्छन्‌ र भड्‌किलो लुगा लगाउँछन्‌।” परिणाम? “वास्तवमा तिनीहरू जागिर खान त्यति इच्छुक नभएजस्तो देखिन्छ।” उनी “कस्सिएको वा उत्ताउलो लुगा” नलगाउने सुझाउ दिन्छिन्‌।

त्यसरी नै, जागिर खोज्दा युवकहरूले पनि चिटिक्क परेको लुगा लगाउनुपर्छ। जोन टि. मोलोइ भन्छन्‌, व्यापारीहरूले “कपाल राम्ररी कोरेका हुन्छन्‌ र तिनीहरूको जुत्ता टिलिक्क टल्केको हुन्छ। अनि तिनीहरू अरूबाट पनि त्यस्तै आशा गर्छन्‌।”

तर भड्‌किलो पहिरनले तपाईंको सम्बन्धलाई बिगार्नसक्छ। साइकोलोजी टुडे-ले युवाहरूसित लिइएको सर्वेक्षणलाई संकेत गर्दै भन्यो, “असाध्यै खुल्ला ब्लाउज, छोटो कट्टु, कस्सिएको जीन लगाउँदा वा ब्रा नलगाउँदा” केटाहरूले त्यसलाई यौनसम्बन्ध राख्न लोभ्याएको भन्ठान्छन्‌। एक युवकले यसो भने: “युवतीहरूले लगाउने लुगाहरू देख्दा अशुद्ध विचारहरू आउन नदिन मलाई गाह्रो हुन्छ।” भद्र पहिरनले अरूलाई तपाईंका भित्री गुनहरूको मूल्यांकन गर्ने मौका दिन्छ। कुनै लुगा भद्रजस्तो नलागेमा आमाबाबुसित सल्लाह माग्नुहोस्‌।

“भित्री मनुष्यत्वको” पहिरन

“नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस” हुने सिंगारपटार गर्न प्रेरित पत्रुसले मसीहीहरूलाई प्रोत्साहन दिए, “जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।” हो, अरूको नजरमा पनि ठूलो मोलको हुन्छ! (१ पत्रुस ३:४) फेसनदार लुगाले तपाईंका केही मित्रहरू मुग्ध होलान्‌। तर त्यस्तो लुगा लगाउँदैमा अरूको हृदय जित्न वा साँचो मित्रहरू बनाउन सकिंदैन। “भित्री मनुष्यत्व” सुहाउँदो पोशाक लगाएर मात्र अरूको मन जित्न सकिन्छ। आफ्ना भित्री गुनहरू विकास गरेर अरूको प्रिय हुन सकिन्छ। (२ कोरिन्थी ४:१६) नविनतम फेसन वा डिजाइनरहरूको रंगीविरंगी “छाप” भएका लुगाहरू नलगाए तापनि राम्रा गुनहरू भएको व्यक्‍ति सधैं आकर्षक हुन्छन्‌।

अर्को चोटि कस्तो फेसनको लागि युवाहरू तँछाडमछाड गर्नेछन्‌, कसलाई के थाह। तर तपाईं भने त्यसरी अरूको पछि दौडि नहाल्नुहोस्‌। पहिरनमा उच्च स्तर कायम गर्नुहोस्‌। यौनलाई जोड दिने खालका फेसनदार लुगाहरू नलगाउनुहोस्‌। नयाँ फेसन चल्यो कि त्यो किनिहाल्ने पहिलो व्यक्‍ति हुनुपर्दैन। तर त्यसको मतलब सीमसीम बाजेको पालाको जस्तो फेसन गर्नुपर्छ भन्‍ने पनि होइन। दुइ दिनमै हराइ हाल्ने खालको नभई फेसनबाट चाँडै नहराउने गुणस्तरीय लुगा खोज्नुहोस्‌। तपाईंको पहिरनले सही सन्देश दिइरहेको छ कि छैन, विचार गर्नुहोस्‌। अनि तपाईंको पहिरनले सञ्चार माध्यम वा साथीहरूले बनाएको नक्कली रूप नभई तपाईंको वास्तविक रूप झल्काओस्‌!

छलफलका लागि प्रश्‍नहरू

◻ पहिरनले कसरी सन्देश दिन्छ?

◻ केही युवाहरू किन अनौठो लुगाहरू रोज्छन्‌?

◻ लुगाको सन्दर्भमा तपाईं आफ्ना साथीहरूको बहकाउमा कत्तिको पर्नुहुन्छ?

◻ सधैं स्टाइलअनुसारकै लुगा लगाउन खोज्नुका केही नकारात्मक पक्षहरू के हुन्‌?

◻ कुनै लुगा ‘साधा र भद्र’ हो भनेर कुन कुराले बताउँछ?

[पृष्ठ ९४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“तपाईं वास्तवमा कस्तो प्रकारको व्यक्‍ति हुनुहुन्छ र तपाईं आफूलाई कस्तो ठान्‍नुहुन्छ, तपाईंको पहिरनले देखाउँछ”

[पृष्ठ ९१-मा भएको चित्र]

छोराछोरीले लगाउने लुगाहरू आमाबाबुलाई प्रायजसो चित्त बुझ्दैन। के आमाबाबुहरू पुरानो फेसनको हुन खोजेका हुन्‌?

[पृष्ठ ९२-मा भएको चित्र]

धेरैजसो जवानहरू आफ्नो व्यक्‍तिगत चिनारी दिन भड्‌किलो लुगा लगाउन खोज्छन्‌

[पृष्ठ ९३-मा भएको चित्र]

अवसर सुहाउँदो लुगा लगाउनुहोस्‌। तपाईंको पहिरनले तपाईंको चिनारी दिन्छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने