स्वच्छताले यहोवाको महिमा गर्छ
१ “सबै मानिसहरू सफा हुनुका साथै चट्ट टाई लगाएका हुन्छन्। स्त्रीहरू शोभायमान भद्र पहिरन लगाउँछन्।” यसप्रकार याद गर्ने अर्का व्यक्ति, सुरक्षा पालेले यसो भने: “उनीहरू शिष्ट, अरूलाई आदर गर्ने र सफासुग्घर बस्ने मानिसहरू हुन्। उनीहरू देख्दा मलाई आनन्द लाग्छ। यस्तो भ्रष्ट संसारमा पनि तपाईंहरू सफासुग्घर बस्न सक्नुभएको छ।” यहाँ कस्तो किसिमको भीडबारे वर्णन गरिएको थियो? के राजनैतिक भेलाबारे? क्रिकेट खेलबारे? वा विवाह भोजबारे? ती कुनै पनि विषयमा होइन! यहाँ त गत साल सम्पन्न विशाल जिल्ला अधिवेशनमा भेला भएका भाइबहिनीहरूको समूहबारे कुरा भइरहेको थियो।
२ हाम्रो विषयमा कस्तो राम्रो साक्षी! हाम्रो भ्रातृत्वबारे यत्तिको प्रशंसा गरिएकोमा के हामी कृतज्ञ छैनौं र? निस्सन्देह, यस्तो राम्रो रिपोर्टको पछाडि त्यहाँ उपस्थित सबैको पनि हात थियो किनभने उनीहरूले रंगशाला सफा गर्नुका साथै उदाहरणीय चालचलन देखाए। हाम्रो चालचलन अरूभन्दा भिन्न भएकोले हामी विश्वव्यापी रूपमा चिनिएका हौं। (मला. ३:१८) किन? किनभने हामी यहोवाले दिनुभएको यो आज्ञा पालन गर्छौं: “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”—१ पत्रु. १:१६.
३ “अपवित्रलाई” पवित्र बनाउने? अधिवेशनको लागि भाडामा लिएर प्रयोग गरिने भवनहरू साधारणतया सार्वजनिक तवरमा दुरुपयोग भएको, तोडफोड, जथाभावी फोहोर-मैला फ्याँकिएको र भताभुंग अवस्थामा रहेको वर्षौं भइसकेको हुन्छ। शौचालय, आराम कक्ष तथा अन्य ठाउँहरू हाम्रा पवित्र परमेश्वरलाई सुहाउने स्तरको नभई यस संसारको “अपवित्र” देवलाई सुहाउने किसिमका हुन्छन्। (२ कोरि. ४:४) यस्तो अवस्थालाई सुधार्न हामी के गर्न सक्छौं?
४ चेन्नाई, कोची र मुम्बई तीनै ठाउँमा कार्यक्रम सुरु हुनुभन्दा दुई वा तीन दिनअघि यी शहरका मानिसहरूले पहिला कहिल्यै नदेखेको किसिमले अधिवेशन स्थल तयारी गर्न हजारौं स्वयम्सेवकहरूको खाँचो पर्नेछ। तीन दिनको दौडान शौचालय सफा गर्न, ग्यालरी बढार्न, सिटहरू पुछ्न तथा अन्य आवश्यक कामहरू गर्न अझ सयौं स्वयम्सेवकहरू खटाइनेछन्। यहोवाको आदर गर्ने यस विशेष सुअवसरमा भाग लिनको लागि काम गर्दा लगाउने एक जोर लुगा आफूसँगै लिएर आउन नभुल्नुहोला।
५ विगतमा हामीले बढार्ने, भुइँ तथा सिटहरू पुछ्ने कामसम्म गरेका हौंला। तर यस वर्ष हामी अधिवेशन स्थलको प्रत्येक कुनाकाप्चाले हाम्रो स्वच्छ परमेश्वरको व्यक्तित्व झल्काएको हेर्न चाहन्छौं। यसो गर्न सबैले भाग लिन सक्छन्। केटाकोटीहरूलाई भुइँमा फोहोर देख्ने बित्तिकै टिपेर फोहोर-मैला फ्याँक्ने भाँडोमा फाल्न सिकाउन सकिन्छ। केही पोखेको वा टुटेफुटेको देख्यौं भने सफा गर्नको लागि सफाइ विभागलाई रिपोर्ट गर्न सकिन्छ। हाम्रा भाइहरूले शौचालयहरू घोटघाट गरेर एकदमै सफा गरिसकेपछि सबैले यसलाई दुरुस्त राख्न सहयोग गर्न सक्छन्।
६ पहिरन था कोरीटी: यसले के संकेत गर्छ? वर्षैपिच्छे हाम्रा भाइबहिनीहरूले बाहिरी रूपरंग सफा, चिटिक्क राख्ने सन्दर्भमा असल उदाहरण बसाल्ने प्रयास गरिरहेका छन्। अधिवेशनहरूमा सबैलाई राम्रो लुगाफाटा लगाउने बानी परिसकेको छ। हाम्रा बहिनीहरूले सारी, कुर्ता-सलवार वा स्कर्ट जेसुकै लगाए तापनि हामी उनीहरूको भद्र पहिरनको प्रशंसा गर्छौं। जवान भाइबहिनीहरूले पनि नयाँ-नयाँ फेसनअनुसारको लुगा नछानेको वा यस संसारको चलनअनुसार नचलेकोमा उनीहरूको पनि प्रशंसा गर्नै पर्छ। (रोमी १२:२) यस स्तरलाई कायम राखेर हामी साँच्चै “परमेश्वरको महिमा” गर्न चाहन्छौं भनी देखाउँछौं।—१ पत्रु. २:१२.
७ पहिरनको सन्दर्भमा एउटा कुन कुरालाई ध्यान दिनुहोस् भने, मुम्बईमा मेचहरूको प्रबन्ध नगरिने भएकोले रंगशालाका सिंढीहरूमा सजिलो गरी बस्न मिल्ने किसिमको लुगा लगाउन नबिर्सनुहोस्। चटाई वा सा-साना चकटी ल्याउनु बेस होला। कोचीमा पनि रंगशालाभित्र मानिसहरू खचाखच हुने भएकोले आरामदायी लुगा लगाउनु बुद्धिमानी हुनेछ।
८ आउनुहोस्, हामी “परमप्रभु [हाम्रा] परमेश्वरको निम्ति एक पवित्र जाति” हौं भन्ने कुरा प्रमाणित गर्न यस वर्षको “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” विषयक जिल्ला अधिवेशनमा आफूले सकेजति गरौं।—व्यव. २६:१९, नयाँ संशोधित संस्करण।
[पृष्ठ ६-मा भएको पेटी]
यहोवाको महिमा कसरी गर्ने:
■ अधिवेशन स्थल सफा गर्न स्वयम्सेवा गर्नुहोस्।
■ सबै कुरा सफासुग्घर राख्न सहयोग गर्नुहोस्।
■ परमेश्वरको सेवकलाई सुहाउने किसिमको पहिरन लगाउनुहोस्।