प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp अध्या. ३६ पृ. २८९-२९५
  • असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने?
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • टिभी हेर्ने बानीलाई कसरी कम गर्नसक्छु?
  • होसियारीसाथ टेलिभिजन प्रयोग गर्ने
    ब्यूँझनुहोस्‌!—२०००
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp अध्या. ३६ पृ. २८९-२९५

अध्याय ३६

असाध्यै टिभी हेर्ने बानीलाई कसरी कम गर्ने?

जवान होस्‌ या वृद्ध, प्रायजसोलाई टिभी हेर्ने लत लागेको हुन्छ। सर्वेक्षणले देखाएअनुसार १८ वर्ष पुगुञ्जेलसम्म अमेरिकी युवाले लगभग १५,००० घण्टा जति टिभी हेर्न समय बिताइसकेको हुन्छ! अनि त्यसरी टिभी हेर्ने लत लागिसकेकाहरूले त्यो बानी छुटाउन खोज्दा तिनीहरू कत्तिको लग्गू भइसकेका रहेछन्‌ भनेर स्पष्ट हुन्छ।

“टेलिभिजन नहेरी त बस्नै सक्दिनँ। टिभी खुला छ भने नहेरी हुँदैन। बन्द गर्न मनै लाग्दैन। . . . टिभी बन्द गर्न खोज्दा हातहरू नै लल्याकलुलुक भएझैं लाग्छ। त्यसकारण घण्टौंसम्म म टिभी हेरिरहन्छु।” के यो भनाइ कुनै अपरिपक्व युवाको हो? होइन, यो त कलेजका अंग्रेजी प्रशिक्षकको हो! तर युवाहरूलाई पनि टिभी नहेरी नहुने लत लाग्नसक्छ। “टिभी बन्द हप्ता” कार्यक्रममा भाग लिन राजी भएका केही व्यक्‍तिहरूको प्रतिक्रियालाई ध्यान दिनुहोस्‌:

“मलाई त नैराश्‍यले छोइसक्यो . . . बौलाउन लागें जस्तो छ।”—बाह्र वर्षीया सुजन।

“म यो बानी छुटाउन सक्दिनँ जस्तो छ। मलाई टिभी असाध्यै मनपर्छ।”—तेह्र वर्षीया लिन्डा।

“टिभी हेर्न कस्तो सकसक लाग्यो, भनेर साध्यै छैन। राति आठ बजेदेखि १० बजेसम्म त असह्‍य नै भयो।”—एघार वर्षीय लुइस।

त्यसकारण, “टिभी बन्द हप्ता” आह्वान स्वीकार्नेहरूले त्यो हप्ता सिद्धिने बित्तिकै टिभी खोल्न दौडादौड गर्नुको कारण बुझ्नसक्छौं। तर यो कुनै ख्यालठट्टामा उडाउने कुरा चाहिं होइन किनभने टिभी हेर्ने लत लागेपछि थुप्रै समस्याहरू आउनसक्छ। केही समस्याहरू हेरौं:

पढाइमा कमजोर हुन थाल्नु: राष्ट्रिय मानसिक स्वास्थ्य संस्थानले (सं.रा.) रिपोर्ट गरेअनुसार अत्यधिक मात्रामा टिभी हेर्दा “स्कूलको पढाइ बिग्रँदै जान्छ र यसले विशेषगरि पढ्‌ने बानीलाई असर गर्छ।” पढाइमा छल गर्दा (अंग्रेजी) पुस्तक अझ यस्तो आरोप पनि लाउँछ: “टेलिभिजनले बच्चाहरूमा लेखपढ गर्नु सजिलो, धेरै मेहनत गर्नु नपर्ने र रमाइलो हुनुपर्छ भन्‍ने विचार उत्पन्‍न गर्छ।” यसकारण टिभी हेर्ने लत लागेको व्यक्‍तिलाई पढ्‌नु जस्तो गाह्रो काम अरू केही नलाग्नसक्छ।

पढ्‌न अल्छी: तपाईंले कुनै पुस्तक सुरुदेखि अन्तसम्म पढ्‌नुभएको कति भयो? भूतपूर्व पश्‍चिम जर्मनीको पुस्तक बिक्रेताहरूको संगठनका प्रवक्‍ताले यस्तो दुखेसो व्यक्‍त गरे: “हाम्रो सम्पूर्ण राष्ट्र नै साँझ कामबाट घर फर्केपछि टिभी हेर्दाहेर्दै निदाउने मानिसहरू भइसक्यो। हाम्रो पढ्‌ने बानी दिनपरदिन घट्‌दैछ।” अस्ट्रेलियाबाट प्राप्त रिपोर्ट पनि त्यस्तै छ: “एक अस्ट्रेलियाली बच्चाले एक घण्टा पढ्‌न बितायो भने अर्को सात घण्टा टिभी हेरेरै बिताउँछ।”

फितलो पारिवारिक सम्बन्ध: एक मसीही स्त्रीले यसरी लेखिन्‌: “असाध्यै टिभी हेर्ने बानी लागेको हुँदा . . . म एक्लो भएँ र अरूबाट अलग महसुस गर्थें। मेरो परिवारका सबै सदस्यहरू नै पराई जस्तो लाग्थ्यो।” के तपाईं पनि टिभीले गर्दा आफ्नो परिवारसित कम समय मात्र बिताइरहनुभएको छ?

अल्छीपना: कसै कसैको सोचाइमा टिभीले गर्दा “युवाहरू कुनै प्रयास नगरी आफ्ना आवश्‍यकताहरू पूरा हुन्छ भन्ठान्छन्‌ र जीवनलाई हल्कासित लिन्छन्‌।”

हानिकारक असरहरू: केही केबल टेलिभिजनहरूले गर्दा अश्‍लील कुराहरूले घरभित्र प्रवेश पाउँछन्‌। अनि सधैं टिभी हेर्ने बानी लागेको छ भने कार दुर्घटना, विष्फोटन, मारकाट, गोलीवर्षा र कराँतेका चालहरू हाम्रो मनमा निरन्तर प्रवेश गरिरहेको हुन्छ। एउटा अनुमानअनुसार संयुक्‍त राज्यको बच्चाले १४ वर्ष पुगुञ्जेलसम्म टिभीमा १८,००० वटा मारकाटको दृश्‍य हेरिसकेको हुन्छ। गुन्डागर्दी र हुलदंगाका दृश्‍यहरूको त कुरै नगरौं।

बेलाइती अनुसन्धानकर्ता विलियम बेल्सनले पत्ता लगाएअनुसार टिभीमा हिंस्रक कार्यक्रमहरू हेर्न रुचाउने केटाहरू “गम्भीर प्रकारको हिंसामा संलग्न” हुने सम्भावना बढी हुन्छ। टिभीमा देखाइने हिंस्रक दृश्‍यहरूले “किरिया खान, फोहोर बोली बोल्न, खेलकुदमा झगडालु मिजास देखाउन, अर्को केटोमाथि हिंसा गर्ने धम्की दिन, भित्तामा जथाभावी कुराहरू लेख्न र झ्यालहरू तोडफोड गर्न” उस्काउनसक्छ भनेर पनि तिनले दाबी गरे। त्यस्ता कुराहरूले तपाईंलाई असर गर्दैन जस्तो लाग्ला तर बेल्सनको अध्ययनअनुसार त्यस्ता केटाहरूलाई हिंस्रक कुराहरू पनि फासफुसे लाग्न थाल्यो। अनि चौबीसै घण्टा हिंस्रक दृश्‍यहरू मात्र हेरिरहँदा त्यो हिंसा हो जस्तो भानसमेत भएन।

तर, त्योभन्दा बढी चिन्ताको विषय त के हो भने, टिभीको हिंसा हेर्ने लत लाग्यो भने त्यसले परमेश्‍वरसितको सम्बन्धलाई असर गर्नसक्छ किनभने ‘दुष्टता निको मान्‍नेलाई उहाँ घृणा’ गर्नुहुन्छ।—भजन ११:५.

टिभी हेर्ने बानीलाई कसरी कम गर्नसक्छु?

यसको अर्थ, टिभीलाई हेर्नै नहुने खराब चीज ठान्‍नुपर्छ भनेको पनि होइन। लेखक भान्स पाकर्ड यसो भन्छन्‌: “सं.रा.-को टेलिभिजनमा देखाइने धेरैजसो कार्यक्रम लाभदायक छन्‌ . . . न्याउरी, चमेरो, अर्नादेखि लिएर अचम्मका पफर माछाहरूबारे साँझपख असाध्यै राम्रा राम्रा कार्यक्रमहरू देखाइन्छन्‌। सार्वजनिक टेलिभिजनकै कुरा गर्ने हो भने पनि, सुमधुर सांगीतिक कार्यक्रम देखाइन्छ। टिभीले थुप्रै महत्त्वपूर्ण घटनाहरूबारे पनि राम्रो जानकारी दिन्छ . . . कहिलेकाहीं त असाध्यै रमाइला तथा शिक्षावर्धक नाटकहरू पनि प्रदर्शन गरिन्छ।”

तथापि, धेरै भयो भने मह-ले पनि खति गर्छ। (हितोपदेश २५:२७ तुलना गर्नुहोस्‌।) हानिकारक कार्यक्रमहरू नहेर्न तपाईंसित आत्मसंयमको कमी छ भने, प्रेरित पावलका यी शब्दहरू सम्झनु बेस हो: “म कसैको अधीनमा पर्ने छैनँ।” (१ कोरिन्थी ६:१२) त्यसोभए, तपाईं टिभीको दासत्वबाट मुक्‍त भएर टिभी हेर्ने बानीलाई कसरी कम गर्न सक्नुहुन्छ?

लेखिका लिन्डा निल्सन यस्तो टिप्पणी गर्छिन्‌: “लक्ष्यहरू निर्धारण गर्न सिकेपछि आत्मसंयम बढाउन सकिन्छ।” सर्वप्रथम, आफ्नो अहिलेको बानीहरू केलाउनुहोस्‌। टिभीमा कुन कुन कार्यक्रम हेर्नुहुन्छ र कति समय बिताउनुहुन्छ पत्ता लगाउन एक हप्ताको तथ्यांक जम्मा गर्नुहोस्‌। के तपाईं घर पुग्ने बित्तिकै टिभी खोलि हाल्नुहुन्छ? कति बेरपछि बन्द गर्नुहुन्छ? हरेक हप्ता “नहेरी नहुने” कार्यक्रमहरू कति वटा छन्‌? जवाफ पाउनुहुँदा आफै तीन छक पर्नुहोला।

त्यसपछि आफूले कुन कुन कार्यक्रम हेर्ने गर्नुभएको छ, त्यसलाई नियालेर हेर्नुहोस्‌। बाइबलले यस्तो प्रश्‍न गर्छ, “के जिब्रोले खानेकुराको स्वाद लिएझैं बोलेको वचन कानले जाँच गर्दैन र?” (अय्यूब १२:११) त्यसकारण विवेक चलाउनुहोस्‌ (आमाबाबुको सल्लाह पनि लिनुहोस्‌) र साँच्चै हेर्न लायकका कार्यक्रमहरू कति वटा छन्‌, केलाउनुहोस्‌। कसै कसैले भने कुन कुन कार्यक्रमहरू हेर्ने भनेर पहिल्यै निधो गर्छन्‌ र ती कार्यक्रमहरू हेर्न मात्र टिभी खोल्छन्‌! अरूले भने स्कूल जाने दिनहरूमा हप्ताभरि टिभी हेर्दै नहेर्ने नियम वा दिनको एक घण्टा मात्र हेर्ने जस्ता अलि कडा कदमहरू चाल्छन्‌।

तर बन्द रहने टिभीले पनि असाध्यै लोभ्याउन थाल्यो भने नि? एउटा परिवारले यसरी समस्याको समाधान गरे: “हामीले आफ्नो टिभी छिंडीमा राखेका छौं . . . त्यहाँ राखेपछि घर पुग्ने बित्तिकै टिभी खोलिहाल्न त्यत्ति जाँगर लाग्दैन। टिभी हेर्नको लागि मात्रै त्यहाँ जान सबैलाई अल्छी लाग्छ।” टिभीलाई दराजमा राख्दा वा तार छुटाएर राख्दा पनि टिभी हेर्ने बानी अलि कम हुन्छ।

चाखलाग्दो कुरा, “टिभी बन्द हप्ता” कार्यक्रममा भाग लिने केही युवाहरूलाई ‘छटपटी’ भए तापनि टिभी हेर्नुको साटो अन्य फलदायी कुराहरू गर्न सकिंदो रहेछ भनी थाह पाए। एउटी केटीले यसो भनिन्‌: “आमासित कुरा गर्ने समय पाएँ। मलाई उहाँ असाध्यै रमाइलो लाग्न थाल्यो किनभने टेलिभिजनले उहाँ र मबीचको कुराकानीलाई बाधा पुऱ्‍याएन।” अर्की केटीले भने नयाँ नयाँ पकवानहरू बनाएर समय बिताउन थालिन्‌। जेसन नाउँको केटोले “टिभी नहेरी पार्कमा डुल्न जानु” वा माछा मार्न जानु, पढ्‌नु वा तालतिर टहल्न जानु पनि रमाइलो हुँदो रहेछ भनी अनुभव गरे।

वायन्टको (“मलाई टिभी हेर्ने लत लागेको थियो” परिशिष्ट हेर्नुहोस्‌।) अनुभवले देखाएअनुसार टिभी हेर्ने बानीलाई कम गर्ने अर्को तरिका, “प्रभुको काममा प्रशस्त हुँदै” जानु हो। (१ कोरिन्थी १५:५८) परमेश्‍वरसित घनिष्ठ सम्बन्ध राख्दा, अहिले उपलब्ध थुप्रै प्रकाशनहरूद्वारा बाइबल अध्ययन गर्दा, परमेश्‍वरको काममा व्यस्त हुँदा तपाईंले पनि टिभीको लतबाट छुटकारा पाउन सक्नुहुनेछ। (याकूब ४:८) हो, टिभी हेर्ने बानीलाई कम गर्दा आफूलाई मनपर्ने केही कार्यक्रमहरू त्याग्नुपर्ने पनि होला। तर टिभीमा देखाइने भएभरको कार्यक्रम हेरेर त्यसको दास किन बन्‍ने? (१ कोरिन्थी ७:२९, ३१ हेर्नुहोस्‌।) बरु, प्रेरित पावलजस्तै आफूसित ‘कडा हुनु’ बेस हो। तिनले एकचोटि यसो भनेका थिए: “तर म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु।” (१ कोरिन्थी ९:२७) टिभीको दास हुनुभन्दा के यसो गर्नु बेस होइन र?

छलफलका लागि प्रश्‍नहरू

◻ केही युवाहरूलाई टिभी हेर्ने लत लागिसकेको छ भनी किन भन्‍न सकिन्छ?

◻ अत्यधिक मात्रामा टिभी हेर्नुका केही हानिकारक असरहरू के हुन्‌?

◻ टिभी हेर्ने बानीलाई कम गर्ने केही तरिकाहरू के हुन्‌?

◻ टिभी हेर्नुको साटो तपाईं के गर्न सक्नुहुन्छ?

[पृष्ठ २९५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मलाई त नैराश्‍यले छोइसक्यो . . . बौलाउन लागें जस्तो छ।”—“टिभी बन्द हप्ता” कार्यक्रमको सहभागी, बाह्र वर्षीया सुजन

[पृष्ठ २९२ र २९३-मा भएको पेटी]

‘मलाई टिभी हेर्ने लत लागेको थियो’—अन्तरवार्ता

अन्तरवार्ताकार: टिभी हेर्ने लत लाग्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो?

वायन्ट: दश वर्ष जति थिएँ। स्कूलबाट घर पुग्ने बित्तिकै टिभी खोल्थें। सुरुमा म कार्टुन तथा बाल कार्यक्रमहरू हेर्थें। त्यसपछि समाचार आउँथ्यो, . . . त्यतिबेला म भान्छामा खान जान्थें। त्यसपछि फेरि टिभी अगाडि बसेर निद्रा नलागुञ्जेलसम्म हेरिरहन्थें।

अन्तरवार्ताकार: साथीहरूसित कुरा गर्न कहिले फुर्सत निकाल्नुहुन्थ्यो त?

वायन्ट: टिभी नै मेरो साथी थियो।

अन्तरवार्ताकार: त्यसो भए त खेल्ने समय नै थिएन होला?

वायन्ट: [हाँस्दै] म त खेलाडी नै होइन। सधैं टिभी हेर्ने बानी परेको हुँदा खेलसम्बन्धी कुनै योग्यता नै छैन। मलाई त बास्केटबल पनि राम्ररी खेल्न आउँदैन। व्यायाम कक्षामा पनि हतपत मलाई छान्दैनथिए। तर, खेलकुदमा पनि अलि बढी निपुण भएदेखि हुन्थ्यो जस्तो लाग्छ, . . . अरूलाई धाक देखाउन होइन तर त्यसो गर्दा आफूलाई नै रमाइलो हुन्थ्यो कि जस्तो लाग्छ।

अन्तरवार्ताकार: तपाईंको पढाइ नि?

वायन्ट: सानो कक्षाहरूमा त जसोतसो काम चलाएँ। राति ढिलासम्म बसेर पनि गृहकार्यहरू गर्न भ्याउँथें। तर ठूलो कक्षामा भने असाध्यै गाह्रो भयो किनभने मेरो पढ्‌ने बानी नै थिएन।

अन्तरवार्ताकार: त्यति धेरै टिभी हेर्दा के त्यसले तपाईंलाई कुनै असर गरेन?

वायन्ट: कहाँ नगर्नु। कहिलेकाहीं मानिसहरूसित बस्दा कुराकानीमा भाग लिनुको साटो टिभी कार्यक्रम हेरेझैं तिनीहरूलाई टुलुटुलु हेरिरहन्छु। मानिसहरूसित अलि राम्ररी कुरा गर्न सकेको भए हुन्थ्यो जस्तो लाग्छ।

अन्तरवार्ताकार: मसित त राम्रै कुराकानी गरिरहनु भएको छ। तपाईंको टिभी हेर्ने लत छुटिसक्यो जस्तो छ।

वायन्ट: उच्च माध्यमिक विद्यालयमा पुगेपछि मैले टिभीको लत बिस्तारै छुटाउन थालें। . . . मसीही युवाहरूसित संगत गर्न थालें र आध्यात्मिक प्रगति गरें।

अन्तरवार्ताकार: तर टिभी हेर्ने बानीसित त्यसको के सरोकार?

वायन्ट: आध्यात्मिक कुराहरूलाई बढी मूल्यांकन गर्न थालेपछि आफूले हेर्ने गरेको धेरैजसो कार्यक्रम त मसीहीहरूले हेर्न नहुने पो रहेछ भनेर बुझें। साथै, अझ बढी बाइबल अध्ययन गर्ने तथा मसीही सभाहरूको लागि तयारी गर्नुपर्ने आवश्‍यकता पनि देखें। मतलब, टिभी हेर्ने बानीलाई निकै कम गर्नुपऱ्‍यो। तर सजिलो चाहिं भएन। शनिबार बिहान देखाइने कार्टुनहरू मलाई असाध्यै मन पर्थ्यो। तर एक मसीही भाइले मलाई शनिबार बिहान घर-घरको सेवकाईमा जान बोलाउनुभयो। त्यसरी शनिबार बिहान टिभी हेर्ने बानी छुट्यो। अन्तमा गएर मैले टिभी हेर्ने बानीलाई साँच्चै कम गर्न सकें।

अन्तरवार्ताकार: अहिले नि?

वायन्ट: भनौं भने, टिभी खुला छ भने अहिले पनि अरू कुनै काम गर्नै सक्दिनँ। त्यसकारण म प्रायजसो बन्द नै राख्छु। अहिले त मेरो टिभी बिग्रेको पनि केही महिना भइसक्यो, तर बनाउन वास्ता पनि गरेको छैन।

[पृष्ठ २१९-मा भएको चित्र]

केही युवाहरूलाई टिभी हेर्ने नराम्रो लत लागेको हुन्छ

[पृष्ठ २९४-मा भएको चित्र]

टेलिभिजनलाई अप्ठ्यारो ठाउँमा राखिएको छ भने टिभी खोल्न त्यत्ति जाँगर चल्दैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने