अध्याय २
जन्मनुअगावै उहाँ सम्मानित हुनुहुन्छ
अनन्तसम्म राजा हुने एउटा छोरा तरुणी मरियमले जन्माउनेछिन् भनी स्वर्गदूत गब्रिएलले भनेपछि मरियम सोध्छिन्: “यो कसरी हुनसक्छ किनकि कुनै पुरुषसित मेरो शारीरिक सम्पर्क भएको छैन?”
गब्रिएल यसरी बताउँछन्: “पवित्र शक्ति तिमीमाथि आउनेछ र सर्वोच्च परमेश्वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। यो कारणले पनि जो जन्मिनुहुनेछ, उहाँ परमेश्वरको छोरा अनि पवित्र कहलाइनुहुनेछ।”
यस सन्देशलाई मरियमले पत्याउन सकून् भनेर गब्रिएल अझै भन्छन्: “हेर, बाँझी कहलिएकी तिम्रो नातेदार इलीशिबाले पनि बुढेसकालमा गर्भधारण गरेकी छिन् र उनको कोखमा एउटा छोरो छ। उनी अहिले छैटौं महिनामा छिन्। किनकि आफूले बोलेको कुनै पनि कुरा पूरा गर्न परमेश्वरको लागि असम्भव हुँदैन।”
मरियमले गब्रिएलको वचन स्वीकार गर्छिन्। तिनले कस्तो प्रतिक्रिया देखाउँछिन्? तिनी भन्छिन्, “हेर्नुहोस्, म यहोवाकी दासी हुँ! तपाईंले घोषणा गर्नुभएअनुसारै मलाई होस्।”
गब्रिएल गइसकेपछि तुरुन्तै मरियम तयार भएर इलीशिबालाई भेट्न जान्छिन्। इलीशिबा यहूदियाको पहाडी इलाकामा पर्ने गाउँमा आफ्ना पति जकरियासँग बस्छिन्। नासरतमा मरियमको घरबाट यो सायद तीन वा चार दिनको लामो बाटो छ।
जकरियाको घरमा आइपुगेपछि भित्र पसेर तिनले इलीशिबालाई अभिवादन गर्छिन्। त्यतिबेलै इलीशिबा पवित्र शक्तिले भरिन्छिन् र तिनले मरियमलाई भन्छिन्: “स्त्रीहरूमध्ये तिमी धन्यकी हौ अनि तिम्रो गर्भको फल धन्यको हो! मेरो प्रभुकी आमा मकहाँ आइन्, मेरो लागि कत्ति ठूलो सम्मान! किनकि हेर, तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भमा भएको शिशु खुसीले गद्गद भएर उफ्रियो।”
यो सुनेपछि हार्दिक कृतज्ञतासाथ मरियम भन्छिन्: “म यहोवाको गुणगान गाउँछु अनि म मेरो उद्धारक, मेरो परमेश्वरमा अति आनन्दित नभई रहन सक्दिनँ; किनकि उहाँले आफ्नी दासीको निर्धनतामाथि नजर गर्नुभएको छ। हेर, अबदेखि उसो सबै पुस्ताहरूले मलाई धन्यको भन्नेछन्; किनकि शक्तिशाली परमेश्वरले मेरो निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।” तर आफूले यत्तिका कृपा पाए तापनि यसका निम्ति सारा श्रेय परमेश्वरलाई दिंदै मरियम भन्छिन्, “उहाँको नाम पवित्र छ अनि उहाँसित डराउनेहरूमाथि उहाँको कृपा पुस्तौं पुस्तासम्म रहिरहन्छ।”
प्रेरित भविष्यसूचक भजन गाउँदै मरियम परमेश्वरको प्रशंसा गरिरहन्छिन्: “आफ्नो बाहुबलले उहाँले पराक्रमी कामहरू गर्नुभएको छ। अहङ्कारी मनसाय भएकाहरूलाई उहाँले तितरबितर पार्नुभएको छ। शासकहरूलाई उहाँले सिंहासनबाट झार्नुभएको छ र दीन अवस्थामा भएकाहरूलाई उचाल्नुभएको छ। खाँचोमा परेकाहरूलाई उहाँले असल-असल थोकले तृप्त पार्नुभएको छ र धनसम्पत्ति भएकाहरूलाई उहाँले रित्तो हात फर्काउनुभएको छ। आफ्नो सेवक इस्राएललाई सहायता गर्न र त्यस कृपाबारे सम्झना गराउन उहाँ आउनुभएको छ, जुन कृपा उहाँले अब्राहाम र तिनको वंशलाई सधैंभरि देखाउनेछु भनी हाम्रा पुर्खाहरूलाई बताउनुभएको थियो।”
मरियम इलीशिबाकहाँ तीन महिना जति बस्छिन् र इलीशिबाको गर्भावस्थाका यी आखिरी हप्ताहरूमा मरियमबाट तिनले निश्चय नै ठूलो मदत पाउँछिन्। परमेश्वरका कृपाले गर्भवती भएकी यी दुवै विश्वासी आइमाईहरू आफ्नो जीवनको यस्तो सुखद क्षणमा सँगै हुन पाउनु साँच्चै राम्रो हो!
येशू जन्मनुभन्दा पहिले नै उहाँलाई दिइएको सम्मान के तपाईंले याद गर्नुभयो? इलीशिबाले उहाँलाई “मेरो प्रभु” भनिन् र तिनको गर्भमा भएको बालक, मरियमलाई प्रथम पटक देख्दा आनन्दले उफ्रियो। यसको विपरीत, अरूहरूले पछि गएर मरियम र तिनको गर्भमा भएका बालकलाई आदर नगरेको कुरा हामी थाह पाउनेछौं। लूका १:२६-५६.
▪ मरियम कसरी गर्भवती हुनेछिन् भनेर बुझाउन गब्रिएल के भन्छन्?
▪ जन्मनुभन्दा पहिले नै येशू कसरी सम्मानित हुनुभयो?
▪ मरियमले भविष्यसूचक भजनद्वारा कसरी परमेश्वरको प्रशंसा गर्छिन्?
▪ मरियम इलीशिबासँग कति समयसम्म बस्छिन् र यस समयमा मरियम इलीशिबासँगै बस्नु किन उपयुक्त छ?