अध्याय ४
गर्भवती तर अविवाहित
मरियम गर्भवती भएकी तीन महिना भएको छ। गर्भवती भएको बेला सुरुका समय इलीशिबाकहाँ गएर तिनले बिताएकी थिइन् भन्ने कुरा तपाईंलाई यादै होला। तर अब तिनी आफ्नो घर नासरतमा फर्किसकेकी छिन्। चाँडै नै गाउँघरका सबैले तिनको अवस्था थाह पाउनेछन्। साँच्चै तिनी एउटा अप्ठ्यारो स्थितिमा परेकी छिन्!
मरियमको मगनी सिकर्मी यूसुफसँग भइसकेकोले परिस्थिति अझ जटिल हुन गएको छ। इस्राएलमा परमेश्वरको नियमअनुसार मगनी भएकी केटीले कुनै अन्य पुरुषसँग स्वेच्छाले शारीरिक सम्बन्ध राखेमा उसलाई ढुङ्गाले हानेर मार्नुपर्ने कुरा तिनलाई थाह छ। आफ्नो गर्भवती अवस्थाबारे स्पष्टीकरण तिनले यूसुफलाई कसरी दिने?
मरियम नासरतबाट गएकी तीन महिना भइसकेको हुनाले अब तिनलाई भेट्न यूसुफ निश्चय नै बडो इच्छुक छन्। तिनीहरूको भेट भएपछि मरियमले सायद यो समाचार उनलाई भन्छिन्। यो गर्भधारण परमेश्वरको पवित्र शक्तिद्वारा भएको हो भनेर स्पष्टीकरण दिने तिनले हर कोसिस गर्छिन् होलिन्। तर त्यो कुरा पत्याउन यूसुफलाई गाह्रो लाग्छ भनी तपाईं अनुमान लाउन सक्नुहुन्छ।
मरियमको सुनामबारे यूसुफलाई थाह छ। उनी मरियमलाई असाध्यै प्रेम गर्छन्। तथापि मरियमले जे भने तापनि वास्तवमा तिनी कुनै मानिसैद्वारा गर्भवती भएकी हुन् जस्तो देखिन्छ। तापनि तिनलाई ढुङ्गाले हानेर मार्न दिन अथवा सबैको नजरमा खस्न दिन यूसुफ चाहँदैनन्। त्यसकारण तिनलाई गुप्त ढङ्गले त्याग्ने फैसला गर्छन्। त्यसबेलाको चलनअनुसार मगनी भएका व्यक्तिहरू विवाहितसरह ठानिन्थे र मगनी खारेज गर्न पनि सम्बन्धविच्छेद गर्न आवश्यक हुन्थ्यो।
यी सबै कुराहरूबारे विचार गर्दागर्दै उनी निदाउँछन्। सपनामा यहोवाका स्वर्गदूतले यसो भनेर उनलाई दर्शन दिन्छन्: “मरियमसित विवाह गर्न नडराऊ किनभने तिनी पवित्र शक्तिबाट गर्भवती भएकी हुन्। तिनले एउटा छोरो जन्माउनेछिन् र तिमीले उहाँको नाम येशू राख्नू किनभने उहाँले मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”
यूसुफ निद्राबाट ब्यूँझिन्छन् र उनी कति कृतज्ञ हुन्छन्! झट्पट् स्वर्गदूतले भनेबमोजिम गर्छन्। उनले मरियमलाई आफ्नो घरमा ल्याउँछन्। सबैले देख्ने यो कदम एउटा विवाह समारोहजस्तै हुन्छ। यसद्वारा यूसुफ र मरियम अब औपचारिक रूपमा विवाहित भए भन्ने कुराको बोध हुन्छ। तर येशू गर्भमा होउन्जेल मरियमसँग यूसुफ शारीरिक सम्पर्क राख्दैनन्।
हेर्नुहोस्! मरियम दुई जीउकी छिन्, तापनि यूसुफले तिनलाई गधामाथि राख्दैछन्। तिनीहरू कहाँ जाँदैछन् र मरियमले बच्चा पाउन आँटेको बेला तिनीहरू किन यात्रा गरिरहेका छन्? लूका १:३९-४१, ५६; मत्ती १:१८-२५; व्यवस्था २२:२३, २४.
▪ मरियम गर्भवती छिन् भनी सुन्दा यूसुफको मनस्थिति कस्तो छ र किन?
▪ तिनीहरूको विवाह नै नभए तापनि यूसुफले मरियमलाई कसरी सम्बन्धविच्छेद गर्न सक्थे?
▪ सबैले देख्ने कुन कदम यूसुफ र मरियमको विवाह समारोहजस्तै हुन्छ?