प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ia chap. १८ pp. १५३-१६१
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बेतलेहेमको यात्रा
  • ख्रीष्टको जन्म
  • एउटा भ्रमणले दिएको प्रोत्साहन
  • मनमा राख्नुपर्ने थप कुराहरू
  • येशूकी आमाको उदाहरणबाट हामी के सिक्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “हेर्नुहोस्‌, म यहोवाकी दासी हुँ!”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • मरियम—गर्भवती तर अविवाहित
    येसु—बाटो, सत्य र जीवन
  • तिनले तरवारको चोट सहिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
ia chap. १८ pp. १५३-१६१
मरियम

अध्याय अठार

त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”

१, २. मरियमको यात्राबारे बताउनुहोस्‌। तिनलाई यात्रा गर्न किन गाह्रो भइरहेको थियो?

मरियम गधामाथि चढेर यात्रा गर्दैछिन्‌। सकीनसकी तिनी हल्का ठाउँ सर्छिन्‌। अब त यात्रा गरेको पनि चार-चार घण्टा भइसक्यो। यूसुफ बिस्तारै तिनको अघि-अघि हिंड्‌दैछन्‌। तिनीहरू दुवै जना बेतलेहेमतिर जाँदैछन्‌। मरियम आफ्नो पेटमा भएको बालक फेरि चलेको अनुभव गर्छिन्‌।

२ बाइबल विवरण हेर्ने हो भने तिनले बालक जन्माउने बेला भइसकेको थियो। (लूका २:५, ६) तिनीहरू यात्रा गरिरहँदा वरपर काम गरिरहेका खेतालाहरू कत्ति छक्क परे होलान्‌! सायद ती खेतालाहरूले यस्तो सोचे होलान्‌, ‘हेर, हेर, यस्तो अवस्थामा पनि किन यात्रा गरिराखेको होला?’ साँच्चै, आफ्नो नासरतको घर छोडेर मरियम किन यत्ति लामो यात्रा गर्दैछिन्‌?

३. मरियमले कस्तो जिम्मेवारी पाएकी थिइन्‌? हामीले तिनीबारे कुन कुरा थाह पाउनुपर्छ?

३ केही समयअघि यी स्त्रीको जीवनमा अनौठो घटना घटेको थियो। सायद मानव इतिहासमा यस्तो कहिल्यै भएको छैन। तिनले एउटा जिम्मेवारी पाएकी थिइन्‌। तिनले मसीहलाई जन्म दिनुपर्ने थियो, परमेश्‍वरको छोरालाई! (लूका १:३५) बच्चा जन्माउने बेला हुनै लाग्दा तिनीहरूले यस्तो यात्रा गर्नुपर्ने हुन्छ। यो यात्रामा मरियमले आफ्नो विश्‍वासलाई थामिराख्न अनेकौं चुनौतीको सामना गर्नुपर्ने हुन्छ। आफ्नो विश्‍वासलाई बलियो बनाइराख्न तिनलाई कुन कुराले मदत गऱ्‍यो, आउनुहोस्‌ हेरौं।

बेतलेहेमको यात्रा

४, ५. (क) यूसुफ र मरियम किन बेतलेहेमको यात्रामा निस्के? (ख) सिजरको उर्दीले गर्दा कुन भविष्यवाणी पूरा भयो?

४ यो यात्रामा निस्कने व्यक्‍तिहरू यूसुफ र मरियम मात्र होइनन्‌, अरू पनि छन्‌। सिजर अगस्तसले जनगणना लिने उर्दी निकालेका थिए। यसको लागि सबैले आ-आफ्नो जन्मभूमिमा गएर नाम दर्ता गर्नुपर्ने थियो। यूसुफले के गरे? विवरण यसो भन्छ: “यूसुफ दाऊदकै घराना अनि वंशका थिए। त्यसैले गालीलको नासरत सहरबाट निस्केर यहूदियामा पर्ने बेतलेहेम भनिने दाऊदको सहरमा तिनी पनि मरियमसित नाम दर्ता गराउन गए।”—लूका २:१-५.

५ सिजरले यही बेला यस्तो उर्दी निकाल्नु कुनै संयोग थिएन। लगभग ७०० वर्षअघि मसीह बेतलेहेममा जन्मिनेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो। हुन त, नासरतभन्दा ११ किलोमिटर मात्र पर बेतलेहेम भन्‍ने एउटा ठाउँ थियो। तर भविष्यवाणीमा मसीह जन्मिने ठाउँ “बेतलेहेम एप्राता” हो भनेर किटेरै लेखिएको थियो। (मीका ५:२ पढ्‌नुहोस्‌) नासरतबाट सामरिया हुँदै पहाडी इलाकामा पर्ने त्यो सानो सहर बेतलेहेम एप्राता पुग्न करिब १३० किलोमिटर यात्रा गर्नुपर्थ्यो। अनि यूसुफ जानुपर्ने ठाउँ पनि यही बेतलेहेम थियो। किनभने बेतलेहेम एप्राता दाऊदको पुर्ख्यौली थलो थियो। अनि मरियम र यूसुफ पनि दाऊदकै वंशका थिए।

६, ७. (क) बेतलेहेमको यात्रा मरियमको लागि किन चुनौतीपूर्ण थियो? (ख) मरियम यूसुफकी पत्नी भइसकेपछि तिनको निर्णयमा कस्तो असर पऱ्‍यो? (फुटनोट पनि हेर्नुहोस्‌)

६ यो उर्दी पालना गर्न के मरियमले यूसुफलाई साथ दिइन्‌? आखिर, यात्रा गर्न गाह्रो त तिनलाई नै हुने थियो। सायद यो अक्टोबर महिनाको सुरु-सुरुतिरको समय हुनुपर्छ। सुक्खा मौसम सकिंदै गएकोले हल्काफुल्का पानी परेको हुन सक्छ। त्यतिमात्र होइन, बेतलेहेम ७६० मिटरको उचाइमा पर्थ्यो। त्यसैले यस्तो उकालो चढ्‌न निकै दिन कठिन यात्रा गर्नुपरेको हुन सक्छ। त्यसमाथि पनि यूसुफ र मरियमलाई यो यात्रा गर्न अघिपछिभन्दा बढी समय लागेको हुनुपर्छ। किनभने मरियमलाई बाटोमा थुप्रै चोटि आराम गर्नुपऱ्‍यो होला। सुत्केरी बेथा लाग्दा तिनलाई मदत गर्ने परिवार अनि साथीभाइ सबै नासरतमै थिए। त्यसकारण मरियमलाई घरमै बस्न मन लागेको हुन सक्छ। त्यसैले यस्तो यात्रा गर्न तिनलाई पक्कै पनि चानचुने साहसले पुग्दैन थियो।

मरियम र यूसुफ बेतलेहेमतिर यात्रा ग

बेतलेहेमको यात्रा चुनौतीपूर्ण थियो

७ जेहोस्‌, लूकाले लेखेअनुसार यूसुफ “मरियमसित नाम दर्ता गराउन गए।” मरियम “त्यतिखेर तिनकी पत्नी भइसकेकी थिइन्‌।” (लूका २:४, ५) यूसुफकी पत्नी भइसकेकीले अब मरियम एक्लैले निर्णय गर्न मिल्दैन थियो, यूसुफको पनि उत्तिकै भूमिका हुने थियो। तिनले आफ्नो श्रीमान्‌लाई परिवारको शिर मानेकी थिइन्‌। यहोवाले दिनुभएको जिम्मेवारी स्वीकार्दै तिनले यूसुफलाई सहयोग गरिन्‌ र हरेक निर्णयमा साथ दिइन्‌।a पतिप्रति आज्ञाकारी हुँदै तिनले विश्‍वासको उत्कृष्ट नमुना बसालिन्‌।

८. (क) मरियम यूसुफसितै बेतलेहेम जान तयार हुनुको पछाडि के-कस्ता कारण हुन सक्छन्‌? (ख) हाम्रो लागि मरियमको उदाहरण किन मार्गदर्शक बन्‍न सक्छ?

८ आज्ञाकारी हुन मरियमलाई अरू कुन कुराले मदत गऱ्‍यो? मसीहको जन्म बेतलेहेममा हुनेछ भन्‍ने भविष्यवाणी के मरियमलाई थाह थियो? त्यसबारे बाइबलमा केही बताइएको छैन। तैपनि तिनलाई यो कुरा थाह हुन सक्छ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं। किनभने त्यतिबेलाका धर्मगुरु अनि जनसाधारणलाई पनि त्यस भविष्यवाणीबारे थाह थियो। (मत्ती २:१-७; यूह. ७:४०-४२) धर्मशास्त्रको ज्ञानबारे कुरा गर्ने हो भने त मरियम त्यसमा एकदमै पोख्त थिइन्‌। (लूका १:४६-५५) मरियमले श्रीमान्‌को आज्ञा मान्दै यात्रा गरेकी हुन सक्छिन्‌ वा सरकारी उर्दी पालन गर्नलाई यात्रा गरेकी हुन सक्छिन्‌ अथवा यहोवाको भविष्यवाणीलाई सम्झँदै यात्रा गरेकी पनि हुन सक्छिन्‌। कुरा जेसुकै होस्‌, तिनको उदाहरण उल्लेखनीय थियो। पुरुष होऊन्‌ या स्त्री, नम्र अनि आज्ञाकारी व्यक्‍तिहरूको यहोवा कदर गर्नुहुन्छ। अहिले अरूको अधीनमा बस्ने कुरालाई मानिसहरूले कुल्चीमिल्ची नै पारिसके भन्दा पनि हुन्छ। यस्तो समयमा मरियमको उदाहरण हाम्रो लागि एउटा मार्गदर्शक बन्‍न सक्छ।

ख्रीष्टको जन्म

९, १०. (क) बेतलेहेम नजिकै पुग्दा मरियम र यूसुफलाई कुन कुरा याद आएको हुन सक्छ? (ख) यूसुफ र मरियम कहाँ बास बसे? किन?

९ पहिलो चोटि बेतलेहेमलाई टाढाबाट देख्दा मरियमले कत्ति चैनको सास फेरिन्‌ होली! डाँडाहरू हुँदै अनि वर्षको अन्तमा कटनी गरिने जैतुनका रूखहरूले भरिभराउ बगान हुँदै यात्रा गर्दा मरियम र यूसुफलाई त्यो सानो सहरको इतिहास झलझली याद आइरहेको हुन सक्छ। मीकाले भनेझैं यो सहर यहूदाका सहरहरूमध्ये एकदमै नगण्य थियो। तैपनि यही ठाउँमा एक हजार वर्षअघि बोअज, नाओमी अनि दाऊद जस्ता विश्‍वासी व्यक्‍तिहरूको जन्म भएको थियो।

१० बेतलेहेम सहर मानिसहरूले खचाखच भरिएको थियो। किनभने मरियम र यूसुफभन्दा अघि नै त्यहाँ अरू थुप्रै मानिसहरू आ-आफ्नो नाम दर्ता गराउन पुगिसकेका थिए। त्यसैले बास पाउन निकै मुस्किल थियो।b तिनीहरू तबेलामा बास बस्न बाध्य हुन्छन्‌। यसै त मरियमलाई सकस परिरहेको थियो, त्यसमाथि यस्तो आपत्‌! बिचरा यूसुफलाई आफ्नी पत्नीको कत्ति चिन्ता लाग्यो होला! यस्तो अप्ठेरो ठाउँमा नै मरियमलाई सुत्केरी बेथा लाग्छ।

११. (क) संसारको जुनसुकै कुनाको स्वास्नीमान्छेले पनि मरियमको बेथा बुझ्न सक्छन्‌, किन? (ख) येशू कुन अर्थमा जेठो सन्तान हुनुहुन्थ्यो?

११ संसारको जुनसुकै कुनाको स्वास्नीमान्छेले पनि मरियमको बेथा बुझ्न सक्छन्‌। वंशानुगत पापको कारण सबै स्त्रीहरूलाई बच्चा जन्माउन गाह्रो हुनेछ भनेर यहोवाले मरियमको समयभन्दा लगभग ४,००० वर्षअघि नै भविष्यवाणी गर्नुभएको थियो। (उत्प. ३:१६) मरियम यो कुराबाट अछुतो थिइनन्‌। तर लूकाले तिनको पीडाबारे केही उल्लेख गरेका छैनन्‌, खाली यति मात्र भनेको छन्‌, “उनले एउटा छोरो, आफ्नो जेठो सन्तानलाई जन्म दिइन्‌।” (लूका २:७) हो, तिनले “जेठो सन्तान” जन्माएकी थिइन्‌, कम्तीमा पनि सात जना छोराछोरीमध्ये सबैभन्दा जेठो! (मर्कू. ६:३) यी जेठा छोरा अरूभन्दा फरक थिए। तिनी मरियमका मात्रै जेठा छोरा थिएनन्‌ तर यहोवाको पनि जेठा छोरा अर्थात्‌ “सारा सृष्टिमध्ये जेठो सन्तान” थिए!—कल. १:१५.

१२. मरियमले कस्तो ठाउँमा बालक जन्माइन्‌? नाटकहरू, चित्रहरू तथा दृश्‍यहरूभन्दा वास्तविकता कसरी फरक थियो?

१२ अब यसपछिको विवरण एकदमै चर्चित छ। जहाँ यस्तो लेखिएको छ: “उनले तिनलाई कपडाले बेरेर डुँडमा राखिन्‌।” (लूका २:७) येशूको जन्मसित सम्बन्धित नाटकहरू खेल्दा, चित्रहरू बनाउँदा र दृश्‍यहरू देखाउँदा यो विवरणलाई एकदमै बढाइचढाइ गरेर रमाइलो तरिकाले प्रस्तुत गरेको पाइन्छ। तर एकछिन वास्तविक घटनालाई विचार गर्नुहोस्‌। डुँड भनेको जनावरहरूलाई आहारा दिने भाँडो हो। अनि नबिर्सनुहोस्‌, यूसुफ र मरियम तबेलामा बसेका थिए। अनि तबेलाको वातावरण कस्तो हुन्छ, त्यो त सबैलाई थाह भएकै कुरा हो। अरू राम्रो ठाउँ पाएको भए कुनचाहिं आमाबाबुले यस्तो ठाउँमा बच्चा जन्माउँथे होलान्‌ र? जुनसुकै आमाबाबुलाई पनि आफ्नो सन्तानलाई संसारको सबैभन्दा उत्तम कुरा दिन मन लाग्छ। मरियम र यूसुफको त झन्‌ कुरै नगरौं! परमेश्‍वरको छोरालाई सबैभन्दा राम्रो कुरा दिने तिनीहरूको चाहना कत्ति तीव्र थियो होला!

१३. (क) मरियम र यूसुफले आफ्नो तर्फबाट कसरी सक्दो प्रयास गरे? (ख) मरियम र यूसुफले जस्तै आजका बुद्धिमान्‌ आमाबाबुले पनि कसरी प्राथमिकता निर्धारण गर्छन्‌?

१३ यस्तो नाजुक अवस्थामा भए पनि तिनीहरूले नकारात्मक कुरामा ध्यान दिएनन्‌। तिनीहरूले आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गरे। जस्तै, बालक न्यानो र सुरक्षित होस्‌ भनेर मरियम उनलाई कपडाले बेर्छिन्‌ र सुताउनलाई बिस्तारै डुँडमा राख्छिन्‌। यस्तो गाह्रो परिस्थितिमा समेत मरियमले आफ्नो तर्फबाट सक्दो प्रयास गरिन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको येशूलाई यहोवाप्रतिको प्रेम विकास गर्न मदत गर्नु नै हो भनेर पनि मरियम र यूसुफले बुझेका थिए। (व्यवस्था ६:६-८ पढ्‌नुहोस्‌) यहोवाको सेवा नगर्ने अहिलेको संसारमा छोराछोरी हुर्काउँदा बुद्धिमान्‌ आमाबाबुहरूले आध्यात्मिक कुरालाई नै प्राथमिकता दिन्छन्‌।

एउटा भ्रमणले दिएको प्रोत्साहन

१४, १५. (क) गोठालाहरू बालकलाई हेर्न किन आतुर थिए? (ख) येशूलाई तबेलामा देखेपछि गोठालाहरूले के गरे?

१४ शान्त वातावरणमा अचानक हल्लाखल्ला सुनिन्छ। गोठालाहरू हतारिंदै तबेलामा आउँछन्‌। उनीहरू यूसुफको परिवारलाई भेट्‌न आएका थिए, विशेषगरि बालकलाई हेर्न। ती गोठालाहरू खुसी हुँदै गुनगुन-गुनगुन गरिरहेका थिए र उनीहरूको अनुहारमा पनि अनौठो चमक थियो। चउरमा भएको आफ्नो बगाललाई छोडेर उनीहरू स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै त्यहाँ आएका थिए।c छक्क परेका यी आमाबाबुलाई अब उनीहरू भर्खरै घटेको अनौठो घटना सुनाउँछन्‌। उनीहरूले पाखामा आफ्नो बगालको रेखदेख गर्दै गर्दा मध्यराततिर अचानक एक जना स्वर्गदूत देखापरेका थिए। त्यतिबेला चारैतिर यहोवाको गौरव चम्किएको थियो। बेतलेहेममा ख्रीष्ट अर्थात्‌ मसीहको जन्म भएको छ भनेर ती स्वर्गदूतले उनीहरूलाई बताएका थिए। ती बालकलाई डुँडमा राखिएको र कपडाले बेरिएको पाउनेछौ भनेर पनि ती स्वर्गदूतले बताएका थिए। त्यसपछि एकदमै अनौठो घटना घट्यो। स्वर्गदूतहरूको एउटा ठूलो पल्टन देखापऱ्‍यो र तिनीहरूले परमेश्‍वरको महिमा गरे। लूका २:८-१४.

१५ यी विनम्र गोठालाहरू बेतलेहेममा दौडँदै आउनु कुनै छक्कलाग्दो कुरा थिएन। स्वर्गदूतले भनेझैं भर्खरै जन्मेको शिशुलाई डुँडमा राखिएको भेट्टाउँदा उनीहरू कत्ति खुसी भए होलान्‌! उनीहरूले यो कुरा आफूमै सीमित राख्न सकेनन्‌। उनीहरूले “स्वर्गदूतले भनेका सबै कुरा [मानिसहरूलाई] बताइदिए। अनि गोठालाहरूको कुरा सुन्‍नेजति सबै छक्क परे।” (लूका २:१७, १८) त्यतिबेला धर्मगुरुहरू गोठालाहरूलाई तुच्छ ठान्थे। तर यहोवाले ती विनम्र अनि वफादार गोठालाहरूको कदर गर्नुभयो। गोठालाहरूको यो भ्रमणले मरियमलाई कस्तो प्रभाव पाऱ्‍यो?

यहोवाले विनम्र अनि वफादार गोठालाहरूको कदर गर्नुभयो

१६. मरियम हरेक कुरालाई गहिरिएर सोच्ने गर्थिन्‌ भनेर कसरी देखियो? तिनले आफ्नो विश्‍वास बलियो बनाउन सक्नुको कारण के थियो?

१६ भर्खरै सुत्केरी भएकीले मरियम एकदमै शिथिल भएकी थिइन्‌। तैपनि तिनी ती गोठालाहरूले भनेको एक-एक कुरा ध्यान दिएर सुन्छिन्‌। त्यति मात्र होइन तिनले “यी सब कुरा मनमा राखिन्‌ र त्यसको अर्थ के होला भनेर मनमनै गुन्‍न थालिन्‌।” (लूका २:१९) यी जवान स्त्री कुनै पनि कुरालाई गहिरिएर सोच्ने गर्थिन्‌। ती स्वर्गदूतले भनेका शब्दहरू महत्त्वपूर्ण छन्‌ भनेर तिनलाई थाह थियो। मरियमले आफ्नो छोराको परिचय र उनको असाधारण भूमिका बुझून्‌ भन्‍ने यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो। त्यसैले आफूले सुनेको कुरालाई मरियमले एक कानले सुनेर अर्को कानले उडाइनन्‌। तिनले ती कुराहरू आफ्नो मनमा राखिन्‌ ताकि आगामी दिनहरूमा ती कुराहरू फेरि मनन गर्न सकियोस्‌। मरियमले आफ्नो जीवनभरि विश्‍वास देखाउन सक्नुको एउटा उल्लेखनीय कारण पनि यही नै थियो।—हिब्रू ११:१ पढ्‌नुहोस्‌।

मरियम र यूसुफ तबेलामा। मरियम येशूलाई बोकिरहेकि छिन्‌ र तिनीहरू गोठालाहरूको कुरा सुनिरहेका छन्‌।

गोठालाहरूले भनेको एक-एक कुरा मरियमले ध्यान दिएर सुनिन्‌ र ती कुराहरू मनमा राखिन्‌

१७. मरियमले जस्तै हामीले पनि बाइबलका सत्य कुराहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१७ के तपाईं मरियमको उदाहरण पछ्याउन चाहनुहुन्छ? यहोवा परमेश्‍वरले आफ्नो वचनमा निकै अनमोल सत्यहरू लेखिदिनुभएको छ। तर हामीले ती सत्य कुराहरूमा ध्यान लगाएनौं भने केही फाइदा हुँदैन। त्यसैले हामीले दिनदिनै बाइबल पढ्‌नुपर्छ—साधारण किताब ठानेर होइन तर परमेश्‍वरको वचन सम्झेर। (२ तिमो. ३:१६) मरियमले जस्तै हामीले ती वचनहरू आफ्नो मनमा राख्नुपर्छ र मनन गर्नुपर्छ। बाइबलमा पढेका कुराहरू मनन गऱ्‍यौं र जीवनमा अझै लागू गर्ने कोसिस गऱ्‍यौं भने हामी आफ्नो विश्‍वासलाई झनै बलियो बनाउन सक्छौं।

मनमा राख्नुपर्ने थप कुराहरू

१८. (क) मरियम र यूसुफले मोशाको व्यवस्थामा तोकिएको कुन नियम पालन गरे? (ख) मन्दिरमा चढाएको बलिदानबाट तिनीहरूको आर्थिक अवस्था कस्तो थियो भनेर देखिन्छ?

१८ बालक आठ दिनको भएपछि मरियम र यूसुफले मोशाको व्यवस्थाअनुसार येशूको खतना गर्छन्‌ र उहाँको नाम स्वर्गदूतले भनेअनुसारै येशू राख्छन्‌। (लूका १:३१) त्यसपछि ४० औं दिनमा तिनीहरूले येशूलाई यरूशलेमको मन्दिरमा लैजान्छन्‌। यो मन्दिर बेतलेहेमबाट लगभग १० किलोमिटर पर पर्थ्यो। व्यवस्थाको नियमबमोजिम चोख्याउने दिन पूरा गर्न आमाबाबुले एउटा भेडा र त्यससँगै एउटा ढुकुर अथवा एउटा परेवा चढाउनुपर्थ्यो। तर यूसुफ र मरियमले गरिबहरूका लागि भनेर तोकिएको बलिदान चढाउँछन्‌—एक जोडी ढुकुर वा परेवाको दुईवटा बचेरा। यसले गर्दा तिनीहरूलाई अप्ठ्यारो महसुस भयो होला। तैपनि तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्मको राम्रो बलिदान चढाए। त्यसैले मन्दिरमा छउन्जेल तिनीहरूले ठूलो प्रोत्साहन पाए।—लेवी १२:६-८, NRV; लूका २:२१-२४.

१९. (क) शिमियोनले मरियमलाई कस्तो अनमोल सत्य बताए? (ख) हन्‍नाले येशूलाई देखेपछि के गरिन्‌?

१९ त्यति नै खेर शिमियोन नाम गरेका एक जना मानिस तिनीहरू भएको ठाउँमा आउँछन्‌ र मरियमको मनमा अमेट छाप पार्ने एउटा अनमोल सत्य बताउँछन्‌। शिमियोन मर्नुभन्दा अगाडि उनले मसीहलाई देख्नेछन्‌ भनेर उनीसित प्रतिज्ञा गरिएको थियो। बालक येशू नै भविष्यवाणी गरिएका उद्धारक हुन्‌ भनेर पवित्र शक्‍तिले उनलाई सङ्‌केत दिएको थियो। मरियमले पछि असह्‍य पीडा भोग्नुपर्नेछ भनेर शिमियोन चेतावनी दिन्छन्‌। एउटा लामो तरवारले मरियमको मुटु वारपार हुनेगरि छेड्‌नेछ भनेर उनी बताउँछन्‌। (लूका २:२५-३५) ती भविष्यसूचक शब्दहरूले दुःखलाग्दो घटनाबारे सङ्‌केत गरे तापनि ३३ वर्षपछि ती शब्दहरू वास्तविकतामा परिणत हुँदा मरियमले पक्कै पनि सहने बल पाइन्‌। शिमियोनले त्यसो भनिसकेपछि हन्‍ना नाम गरेकी भविष्यवक्‍ताले येशूलाई देख्छिन्‌ र यरूशलेमको छुटकाराको बाटो हेरिरहेका सबैलाई ती बालकको विषयमा बताउन थाल्छिन्‌।—लूका २:३६-३८ पढ्‌नुहोस्‌।

मरियम र यूसुफ मन्दिरमा। शिमियोनले येशूलाई बोकिरहेका छन्‌ र भविष्यवक्‍ता हन्‍नाले तिनीहरूलाई हेरिरहेकी छिन्‌

यरूशलेममा भएको यहोवाको मन्दिरमा गएर मरियम र यूसुफले ठूलो प्रोत्साहन पाए

२०. येशूलाई यरूशलेमको मन्दिरमा लैजानु राम्रो निर्णय थियो भनेर हामी किन भन्‍न सक्छौं?

२० येशूलाई यरूशलेममा भएको यहोवाको मन्दिरमा ल्याएर यूसुफ र मरियमले कत्ति राम्रो निर्णय गरे! येशू ख्रीष्ट जीवनभर यसरी नै विश्‍वासी हुँदै मन्दिरमा धाउने कुराको यो त एउटा सुरुवात मात्र थियो। मन्दिरमा छउन्जेल तिनीहरूले आफ्नो तर्फबाट सक्दो गर्ने कोसिस गरे र थुप्रै निर्देशन तथा प्रोत्साहनहरू पनि पाए। त्यो दिन मन्दिरबाट निस्कँदा मरियमको विश्‍वास पहिलाभन्दा झनै बलियो भएको हुनुपर्छ। तिनले त्यहाँ थुप्रै अनमोल सत्यहरू पाएकी थिइन्‌। तिनी ती कुराहरूमा मनन गर्न सक्थिन्‌ र अरूलाई बताउन सक्थिन्‌।

२१. मरियमले जस्तै आफ्नो विश्‍वास बलियो बनाउन हामी के गर्न सक्छौं?

२१ अहिले पनि थुप्रै आमाबाबुले यूसुफ र मरियमको अनुकरण गरिरहेका छन्‌। यो कत्ति खुसीको कुरा हो! यहोवाका साक्षी बनेका थुप्रै आमाबाबुले वफादार हुँदै आफ्ना छोराछोरीलाई सभामा लिएर जान्छन्‌। तिनीहरू आफ्ना सँगी विश्‍वासीहरूलाई प्रोत्साहनका दुई-चार शब्द व्यक्‍त गरेर आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्छन्‌। त्यसैले सभा सकिसकेपछि तिनीहरू सबैको अनुहार उज्यालो हुन्छ, विश्‍वास बलियो हुन्छ अनि तिनीहरूसित अरूलाई बताउनुपर्ने राम्रा कुराहरू पनि थुप्रै हुन्छन्‌। तिनीहरूसित भेट्‌न पाउनु कत्ति खुसीको कुरा! यसो गर्दा मरियमले जस्तै हामीले पनि आफ्नो विश्‍वास बलियो बनाउन सक्नेछौं।

a यो विवरण र योभन्दा अगाडिको विवरणबीचको भिन्‍नता याद गर्नुहोस्‌। यसअघिको विवरणमा “मरियम तयार भइन्‌” र इलीशिबालाई भेट्‌न “गइन्‌” भनेर लेखिएको थियो। (लूका १:३९) त्यतिखेरसम्म यूसुफसित मरियमको विवाह भइसकेको थिएन, मगनी मात्र भएको थियो। त्यसैले मरियमले यूसुफसित नसोधीकन पनि निर्णयहरू गरेकी हुन सक्छिन्‌। तर विवाहपछि भने यात्राबारे निर्णय गर्ने व्यक्‍तिको रूपमा यूसुफको नाम नै उल्लेख गरिएको छ, मरियमको होइन।

b त्यतिबेला त्यस्ता सहरहरूमा बटुवा र यात्रुहरूलाई बास दिन एउटा साझा कोठाको प्रबन्ध गरिदिने चलन थियो।

c गोठालाहरू बाहिर चउरमा बसेर रातभरि आफ्नो बगालको सुरक्षा गरिरहेका थिए भन्‍ने बाइबल विवरणबाट एउटा कुरा पक्का हुन्छ: येशू डिसेम्बर महिनामा जन्मनुभएको थिएन। किनभने डिसेम्बर महिनामा जाडो हुने भएकोले बगालहरूलाई चउरमा होइन तर घर नजिकैको गोठभित्र राख्ने गरिन्थ्यो। त्यसैले उहाँको जन्म अक्टोबरको सुरुतिर भएको हुनुपर्छ।

यसबारे सोच्नुहोस्‌ . . .

  • अधीनमा बस्ने र आज्ञाकारी हुने सन्दर्भमा मरियमले कस्तो उदाहरण बसालिन्‌?

  • गरिब भए पनि मरियमले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको कुराबाट हामी के सिक्न सक्छौं?

  • मरियम हरेक कुरालाई गहिरिएर सोच्ने गर्थिन्‌ अनि परमेश्‍वरप्रति भक्‍त थिइन्‌ भनेर कसरी प्रमाणित हुन्छ?

  • तपाईं मरियमको उदाहरण कसरी अनुकरण गर्न चाहनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने