अध्याय ८
क्रूर शासकबाट बचाइयो
अत्यन्त जरुरी खबर सुनाउन यूसुफले मरियमलाई उठाउँछन्। यहोवाका स्वर्गदूत यूसुफकहाँ भर्खरै देखा परेर यसो भनेछन्: “उठ, सानो बालक र तिनकी आमालाई लिएर मिश्र देशमा भाग अनि मैले नभनेसम्म त्यहीं बस; किनकि हेरोदले यस बालकलाई खोजेर मार्न आँटेको छ।”
तुरुन्तै तीनै जना त्यहाँबाट निस्किहाल्छन्। तिनीहरू बेलैमा हिंडिहाल्छन् किनकि ज्योतिषीहरूले आफूलाई धोका दिएर देश छाडेछन् भन्ने कुरा हेरोदले चाल पाइसकेको छ। याद गर्नुहोस्, येशूको पत्ता लागेपछि तिनीहरूले उसलाई खबर दिनुपर्ने थियो। हेरोद साह्रै क्रोधित हुन्छ। त्यसकारण हेरोदले येशूलाई मार्ने नियतले बेतलेहेम र त्यस वरिपरिका जिल्लामा दुई वर्ष र त्यस मुनिका सबै बालकहरूलाई मार्ने आदेश दिन्छ। उसले यो उमेरको अन्दाज पूर्वबाट आएका ज्योतिषीहरूले दिएको सूचनाको आधारमा लगाउँछ।
सबै साना बालकको हत्या भएको हेर्नु कस्तो बीभत्स दृश्य हुन्छ! हेरोदका सिपाहीहरू घर-घरको तलासी लिन्छन्। अनि छोरो बालक देख्नेबित्तिकै त्यसलाई आमाको काखबाट खोस्छन्। कति बालकहरूलाई तिनीहरूले मारे हामीलाई कुनै अन्दाज छैन, तर आमाहरूको रुवाबासी र अलाप-विलापले परमेश्वरका भविष्यवक्ता यर्मियाद्वारा बाइबलमा गरिएको एउटा भविष्यवाणी पूरा हुन्छ।
यसैबीच यूसुफ र तिनका परिवार सकुशल मिश्र पुगिसकेका हुन्छन् र तिनीहरू त्यहीं बसिरहेका छन्। तर एक रात सपनामा फेरि यहोवाका एउटा स्वर्गदूत यूसुफकहाँ देखा परेर भन्छन्: “उठ, सानो बालक र तिनकी आमालाई लिएर इस्राएलतिर लाग किनकि बालकको ज्यान लिन खोज्नेहरू मरिसके।” अतः परमेश्वरका छोरालाई मिश्र देशबाट बोलाइनेछ भन्ने बाइबलको अर्को भविष्यवाणी पूरा हुन्छ र त्यस परिवार आफ्नो देश फर्किन्छन्।
यूसुफ यहूदियाको बेतलेहेम सहरमै बस्न चाहन्छन् होला, जहाँ तिनीहरू भागेर मिश्र जानुअघि बस्थे। तर यहूदियामा हेरोदको दुष्ट छोरा अर्खिलाउस राजा भएका छन् भनी तिनले थाह पाउँछन् र फेरि एउटा अर्कै सपनामा यहोवाले त्यहाँ हुने खतराबारे चेतावनी दिनुहुन्छ। त्यसकारण यूसुफ र तिनको परिवार उत्तरतर्फ यात्रा गर्छन् र गालीलको नासरत सहरमा बसोबास गर्छन्। यहीं, यसै समाजमा यहूदी धार्मिक जीवनको केन्द्रभन्दा टाढा येशू हुर्किनुहुन्छ। मत्ती २:१३-२३; यर्मिया ३१:१५; होशे ११:१.
▪ ज्योतिषीहरू नफर्किएपछि राजा हेरोदले के भयानक कुरा गर्छ तर येशूको बचाउ कसरी हुन्छ?
▪ मिश्रबाट फर्किएपछि यूसुफ किन फेरि बेतलेहेममा बस्दैनन्?
▪ त्यस अवधिमा बाइबलका कुन भविष्यवाणीहरू पूरा हुन्छन्?